छविरमण सिलवाल – कथा
कसरी भनौँ यो
एकादेशको कथा
आजकल
हरेक साँझ
हरेक प्रहर
ती बस्तीमा
गुन्जिरहेको व्यथा हो !
पाखुरी बजारेर
पसिना बगाउने
खेतका गरा
बारीका पाटाहरू
बाँझिएका छन् !
निर्धक्क हातमा
बज्ने चुराहरू
विधवा बनेका छन्
लालीभैmँ निर्धक्क रम्ने
राता सारीहरू
विधवा बनेका छन्
अब कसरी भनौँ
यो एकादेशको कथा हो ?
समयसँग सम्झौता गर्दा गर्दै
खोसिएका खुसीहरू
अब कहिल्यै फर्किने छैनन्
डाक्टर र इन्जिनियर बनाउने
बाचा पूरा नगरी
उनी कसैको सिकार भइसकेछन्
अब कसरी भनौँ
यो एकादेशको कथा हो !
महलको न्यानोपनमा
पहरागणको माझमा
यसलाई कथामात्र ठान्नेहरू
सिंहदरबारको कुनामा बसेर
कागजमा उतार्छन्
छिमेकीसँग
सहायताको भिख माग्छन् र खान्छन्
लाग्छ उनीहरू
नवधनाढ्य माग्ने हुन्
आफ्नो स्वाभिमान बन्धक राख्नु
उनीहरूको नियति हो
कर्ममा भन्दा
बाहुबलमा विश्वास गरेर
रावणझैँ अहम् पोख्छन्
सिहदरबारको पटाङ्गिनीमा
अनि कथाका पात्र बन्छन्
ती बस्तीका व्यक्तिहरू
जो हरेक प्रहर
हरेक साँझ
सेरिइरहेका हुन्छन्
आफ्नै घर आँगनमा !
वर्तमानको यो
चित्कार
कदापि कथा बन्न सक्दैन
अब
एक पटक सोचेर भनौँ
यो एकादेशको कथा
कसरी बन्न सक्ला ?