Bodh Raj Pant – Bhram

बोध राज पन्त ‘अनागत’ – भ्रम

किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

दिउसै रात पार्न घाम नै छेक्नु पर्छ र ?
तिमीले आँखा चिम्लिदा
मैले समय बिर्षेको थिएँ
झटारो हानेर पहराको काखमा
हामीले मारेको मलेवा
एकैछिनपछि फेरि उडेको हाम्रै आँखाले देखेका त हौं नि
अब पनि के भनिरहनु पर्छ
किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

दलिनमा
गौंथलीको गुँड थियो
गौंथली थिएन
झरीमा बरालिएको भंगेराले
बेलौतीको हाँगामा बसेर कागसंग कुरा गर्यो
मात्र सन्चो बिसन्चोको कुरा
झरी बतासको कुरा
कुन्नि किन उसले त्यो खाली गुँडको कुरा गरेन
कुन्नि किन उसले गौंथलीको अनुपस्थितिको कुरा गरेन
हामीले मारेको जस्तो
उसले त्यो मलेवाको पनि कुरा गरेन
अहिले तिमी रिसाएको बेला
म सोंच्दै छु
किन म त्यो भंगेरा हुन सक्दिन
किन तिमी त्यो भंगेरा हुन सक्दिनौ
किञ्चित
मनमा भाव लिएर मैले छोएको हात
भ्रममा नपरे हुन्छ
त्यो स्पर्शका लागि थिएन ।

मणिग्राम, रुपन्देही