Bishwa Sigdel – Ekkai Chhin Sano Paridhi Malai

विश्व सिग्देल – एक्कैछिन सानो परिधि मलाई

हेर है !
नछोए नि मेरा कविता
नसँगाले छरिएका पन्नाहरु
भुईं/टेबुल/किताबका पत्र/गोजी
रहन दिए
यथास्थान

सडक
राता हरिया बत्ती
आदेश दिन्छ
म लुरुक्क हुन्छु

अफिस
करेन्ट चरो, पाले
आदेश दिन्छ
म लुरुक्क हुन्छु

चामल पसल
बाँकी बक्यौता
आदेश दिन्छ
म लुरुक्क हुन्छु

अरु त अरु
तिमी
भान्छा,सयनकक्ष
आदेश दिन्छेऊ
म लुरुक्क हुन्छु

अब
आदेशमाथि आदेश सहेर
सधिएको गोरुको पिठ्यूँ
सिधा गर्न
छर्न/बढंगी बनाउन/भत्याङ भूतुङ गर्न
मैले नपाउने लेख्ने बेला ?

म छरिन्छु
सेता सूर्य किरण पन्ना
लुकाउँछ
अन्तर कुन्तर घाम
मात्तिन्छु/लड्खडाउँछु ,हदयको छाल
ठोक्किएर लड्छु, छरिएका कविता
चिप्लिन्छु, हिलो कविता
उ कमल…पख ! पख !

एक्कैछिन
सानो परिधि
तिम्रो के जान्छ ?
बरु ढोका लगाउँछु नि हुन्न !

हेर है !
नछोए नि मेरा कविता
नसंगाले छरिएका पन्नाहरु
भुईं/टेबल/किताबका पत्र/गोजी
रहन दिए
यथास्थान