Samarthya – Kaka Ko Dalin

सामर्थ्य – काकाको दलिन

फरक पर्दैन यो बाटो बेचियोस् बेरङ्गीन या रातो भएर;
सडकछेउका चियापसलहरु अबेरसम्म जाग्ने गरेकै छन्,
मदिराका बोतलहरु कुनै कम्युनिष्ट नामधारी दलझै बेपर्वाह फुट्ने गरेकै छन्,
फुटपाथमा रोपिएका कादम्बरी फूलका बिरुवाझैँ मुलुक फुल्ने कोशिशमा तत्पर छ,
तर फुल,केवल त्यसमा बनाइएका भ्रष्टाचारी माउ गौँथलीहरुले मात्र पारेका छन्;
विस्तारका नाममा,
फुटपाथ मिचिएको छ,
मिचिएको फुटपाथ
काकाको बलेसीकै साँधमा आइपुग्छ,
बलेसीमा झर्ने पानी कता बग्दछ उहाँलाई पत्तो छैन,
काकालाई थाहा छैन,
यो विस्तारले वाद अँगालेको
काकालाई यो पनि थाहा छैन,
बलेसीको पानी कसले काटेको,
तर उहाँलाई डर छ,
(उहाँको भाषामा-लोकतन्त्रे डर),
कि बाटो दुईतिर बाँडिदा
आघौँ कता राखेर धान दाउनी गर्ने,
कि माटो यसरी नै फाटिँदा
बा को वाक्य बस्नेबेलामा कता निकालेर विधिपूजा गर्ने,
बाटोलाई देश दाँज्ने हो भने,
देश
बुख्याँचा मन लिएर बसेको छ काकाको अगाडी माटो बनेर,
तर काका निश्चिन्त छन्,कारण,
उनलाई पनि भ्रम छ
कि देश बनाइने भोटले हो
तथाकथित वामपन्थी अठोटले हो,
त्यसैले काका निश्चिन्त छन्
अब
फरक पर्दैन उनलाई
देश ठिङ्ग उभियोस उनैको बाँकी बलेसीमा बाटो भएर,
फरक पर्दैन उनलाई यो बाटो बेचियोस् बेरङ्गीन या रातो भएर ॥

-सामर्थ्य

Samarthya – Jhanda

सामर्थ्य – झण्डा

हेर्दाहेर्दै धेरै भयो
तिमीले यहीँ आगो रोपेर गएको
अहिले तिमी फेरि मसँग
आफैँभित्रको आगोले पोलेर आएका छौ
मेरो फरफराहटले यदि
तिम्रो आगो निभ्छ भने
ठीक छ
म मण्डलाको झण्डा
तिमीलाई निभाउने भरपुर कोसिस गर्नेछु

आउ एकछिन बात गरौँ तिम्रा लप्काहरुका बारेमा
जसको बलले
तिमीले सडक मात्र ततायौ
रगत मात्र ततायौ
तात्नुपर्ने चुल्हाहरु चिसै छन्
चम्काहरु चिसै छन
उता चामल कुहिएर गएका छन्
तिमी पाल ओछ्याएर कृत्रिम भोकमरी बस्छौ
र भन्छौ सरकार खान पुगेन
तिमी सर्वाङ्ग नाङ्गिन्छौ
अनि झण्डा ओढेर आउँछौ
र भन्छौ झण्डाले लाज छोप्दैन
उता बिरामी शय्यामा छाडेर तिमी
डाक्टर बन्न दे भन्दै आएका छौ
उता दिनभरीको काम छाडेर तिमी
रोजगार दे भन्दै आएका छौ
यस बुझाइमा
मैले त तिमीलाई बुद्धसँग उभिएको देख्नु थियो
मधेससँग बाझिएको होइन
या त तिमीले बिर्सेको हुनुपर्छ
कि अहिले भागबन्डा हुन्थ्यो भने
बुद्ध तिमीले नै घृणा गर्ने पात्र हुन जान्थ्यो
तर तिमी माटो देख्दैनौ
बगर बनेका गाउँ देख्दैनौ
सुकेका नहरहरु
बाँझा खेतहरु
हराएका पिल्लरहरु
क्रुद्ध परेडहरु
तिमी देख्दैनौ
तिमीलाई देशको माया छ
तर देश के हो देख्दैनौ
सीमानाको माया छ
सीमाना खोज्छौ तर देख्दैनौ
तिमीलाई लाग्छ
कि स्वयम्भूका दुई आँखाले सबै देख्छन्
तर तिमीलाई थाहा नहोला
कि उपत्यकाले कहिल्यै मधेस देखेको छैन
तिमीले पनि देख्दैनौ
अभाव नै हेर्ने हो भने
दुखाई नै दुख्ने हो भने
तिमीले बुझ्नुपर्छ
कि मण्डलाबाट निस्केर तिमी
कहिलेकाहीँ आफ्नो इमानको सगरमाथा चढ्नुपर्छ
र तल तराई हेर्नुपर्छ
कहिलेकाहीँ उपत्यकाबाट ओर्लिएर
को कति पानीमा छ बुझ्नुपर्छ
तिमी देख्नेछौ
देश आधा डुब्नै लागेको छ
तिमी भने
मेरो फरफराहट मुनि
मण्डलामा
कुन्नि के को प्राप्तिका लागि
आगो बाल्न खोजिरहन्छौ

Samarthya – Hawa Haru

सामर्थ्य – हावाहरु

हावाहरुमा सत्तामोह
छ,
कणहरु यत्रतत्र छन्,
फुट्दै,
भेट्दै,
एकीकृत हुँदै
हावामा मिस्सिदै छन्,
सबैलाई यत्ति थाहा छ,
हावाबिना जिउन
बिछट्टै गाह्रो छ….
कणहरु व्यग्र छन्,
चियापसलमा,
भट्टीमा,
कणहरुकै हावा-सम्मेलन
हुन्छ,
कणहरु रक्सीका पेग
थप्तछन्,
तर
मात चढ्छ हावा
राजनीतिको…
भट्टीमै,
एक कण,
जसको छोरो बेपत्ता छ,
उस्का आफ्नै दस्तावेज
हुन्छन्,
प्रतिवेदन हुन्छन्,
भन्छ-
राजनीति नशा हो,
कारण,
उसको छोरो शहीद
नायक भएको छ,
अर्को कण,
उस्का भिन्नै आदर्श छन्,
फरक घोषणापत्र,
फरक प्रतिवेदन छन्,
भन्छ-
राजनीति जन्मदै एकखुट्टे
जन्मिएको कुखुरोको
उफ्राई हो,
कारण,
कणकै समाजबीच ऊ
नालायक भएको छ…
यसरी नै,
देशभरिका भट्टीबाट
विचार ओढेका कणहरु
तात्दछन्,
अनि हावा तात्दछ,
कणहरु बहकिन्छन्,
अनि हावाले गति पाउछ,
प्रक्रिया चलि नै रहन्छ,
फुट्दै,
भेट्दै,
एकीकृत हुदै,
वामपन्थी हावाहरुको
बृहत वाम एकता हुन्छ,
कणहरु एकीकृत हुन्छन्,
र बन्दछन् चट्टान,
हावाहरुमा चट्टान खेप्ने
तागत हुदैन….
चट्टान बाँच्नलाई हावा
चाहिन्न ।

-सामर्थ्य

Samarthya – Angikrit Yo Jamana (Nepali Gajal)

सामर्थ्य – अङ्गिकृत यो जमाना

अङ्गिकृत यो जमाना अजीब
हुदैछ,
प्रत्येक प्रहर कोही एक गरिब
हुदैछ,
दूर भास्सिदै छ विद्रोहको ओठ,
र त सामन्तलाई दावत नसीब
हुदै छ,
पर क्षितिजमा देखिने केवल
मृगतृष्णा हुन्छ,
मृगलाई त्यसै तृष्णा करिब हुदैछ,
प्रकाशको सामर्थ्य अब
रत्तिभर छैन,
आखालाई दीप तकलिफ हुदैछ….
-सामर्थ्य

Samarthya – Ijalaas

सामर्थ्य – इजलास

अनियन्त्रित भइ
मेरा गोडा पैतालाहरुले
केवल
चप्पलका फित्ता फेर्न
चाहेकाले
एच डी स्वप्निल
दुनियाँमा
आँखाहरुले थ्री डि सपना
चाहेकाले
छोरीको नेलपोलिश अनि
छोरोको पेन्सिल मेट्ने
इरेजरका निम्ति
केवल टेबुल तल हात
फिँजाएको न हुँ,
दाताहरुले दिन्छन् त के
गरुँ
श्रीमान्
म बिल्कुल निर्दोष छु
अस्तिमात्र,
ठीक अस्तिमात्र
बिटक्वाइन नराम्ररी
घटेको छ,
ट्रम्पनीतिले विक्षुप्त
मगजलाई
तिम्रो वृद्ध भत्ताले
गिज्याइरहन्छ,
शेयरबजारले
अत्याइरहन्छ,
समाज आलाप गर्दछ कि
घरअगाडिको गुम्बज पनि
भुइचालोले भत्काइरहन्छ,
यस्तो अवस्थामा
देशको निम्ति,
समाजको निम्ति,
अग्रजको निम्ति,
गुम्बजको निम्ति,
केही गरुँ गरुँ झैँ लाग्छ
योभन्दा बर्ता केही
लाग्दैन,
लगाव भन्ने कुरा ठीक
पनि
होइन
र त यदाकदा
शुभचिन्तकहरुमार
्फत
पसिनाको मूल्य माग्ने
गरेको हुँ,
दिनेले दिन्छन् त के गरुँ
श्रीमान
म बिल्कुल निर्दोष छु
यसरी नै
एक युग बितिसक्यो,
एवम् प्रकारले चप्पलका
फित्ताहरु
चाहनाहरु
गुम्बजका भित्ताहरु
बहानाहरु बनेका हैनन्
श्रीमान्,
फेरिँदा कुर्सीहरु,
अभिरुचिहरु,
केवल पैसाको स्वाद
फेरेको मात्र हुँ,
कठघराको यो घडीमा
जे बोल्छु सत्य बोल्छु,
दिनेहरुले दिन्छन् त के
गरुँ,
श्रीमान
म बिल्कुल निर्दोष छु ।

-सामर्थ्य(बिशव पोखरेल)