सामर्थ्य – वास्तविकता
आजको प्रमुख समाचार!
गाँसहरुको जोखिम उठाउँदैछ सरकार,
लाखमरि अनि चटामरिका दिवास्वप्नबीच
भोकमरि लोकभरी व्याप्त छ,
लार्भामानव झुसिल्किरो जीवन बाँच्दछ,
त्यसलाई पनि डर छ
टोड्को परिसकेको बुढो रुख समाजमा,
चल्ने हो हैन त्यसको जीवनचक्र,
फुल्ने हो हैन करबीरेको फूल,
पाउने हो हैन त्यसले रात्रिभोज
आह!
यो अमन चैनबीच जीवन
कत्ति निरीह,निस्सार,निरस
बडो अदबका साथ कामरेडबाट,
मनाइनेछ त्यागदिवस;
सपनाहरुको मूल भोटमै सुकेको खबर छ,
आँकडाअनुसार
अब स्वप्नाकारहरूबीच हाहाकार हुनेछ,
हतार,
कतार,
अनि शून्य घरबार हुनेछ;
अलिखित प्रतिवेदन-
जीजीविषाहरु टाट पल्टिन सक्छन्,
अश्रुग्याँसको असरले ज्ञानचक्षु अन्धा छन्;
योपल्ट,
बर्खा नलाग्दै योगमाया समाधिस्थ भइन्,
एकपाथी निराशाका साथ,
गङ्गामाया परास्त भइन्,
कुन्नि कुन क्लाइन्टमार्फत,
चरिमाया उम्केर आइछन्,
घरैछेउकी हर्कमाया छ्याङ्ग बेचिरहिछ,
उसका निम्ति यी सब,
मानौँ
मातपश्चात्तको शुभप्रभात
या बेमौसमको बर्सात,
आघात गर्दै उसको सपना हाराकिरी गरिरहेछ;
समय चलायमान छ,
बडेमानको सपना देख्ने राममानकी छोरी पनि ठूली भएकी छ,
उसलाई अब गाउँघरको सट्टा छाउघर पढाइनेछ,
उसका सपना देखिनुअगावै तिनलाई कठै भनिनेछ,
राममानकी छोरी बग्नुअगावै उसलाई दुलही भनिनेछ
आशा:
समाज अब गठबन्धित भएको छ
वानर विद्रोह शून्य,
सत्तामोह शून्य,
आरोह अवरोह शून्य,
यसै शून्यताबीच
म चाहन्छु
करबीरेको फूल फक्रियोस
राममानकी छोरीको बैँसको आहुतिका साथ,
झुसिल्किरो जीवन पुतली बनोस्,
जीवन्त सपनाले कहिल्यै हाराकिरी नगरोस्,
ज्ञानचक्षुको सम्मानहेतु,
भोकमरि निर्दोष ठहरियोस्॥