Biplav Pratik – Praman

बिप्लव प्रतिक – प्रमाण

युद्ध जित्नकै लागि
यदि हतियार उठाएको भए तिमीले
जाऊ एकपल्ट
योद्धाहरूको चिहानमा
र सुन रातको सुनसानमा
त्यहाँ गुन्जिएको मौनता ।

कुन मान्छेले कोसँग जितेर
कति सीमा र समयसम्म
आफ्नो जितको झन्डा फहराएको छ ?
मान्छेले जितेँ भनेर
कतिसम्म चिच्च्याउन सक्छ र !
जितको झन्डा लिएर
कुन युद्धपुरुष अहिलेसम्म जिउँदै छ ?

मान्छे केवल आफ्नो जितको उन्मादमा
मात्तिएर मुर्दा भएको
तिमीले हामी हिँड्दै गरेको
यही धूलोमा देख्न सकेनौ भने
कुनै अर्को धूलो छैन मसँग
प्रमाणका लागि ।
कुनै नयाँ चिहान छैन मसँग
सबुदका लागि ।

नयाँसडक, २८ जनवरी १९८७