Biplav Pratik – Apratyaashit

बिप्लव प्रतिक – अप्रत्याशित

सपनाहरू
कति कुहिएका पनि छन् सायद
तैपनि म बोकिरहेछु काँधमा
छातीमा प्रीत छ
मैले चाहेको मेरो संसार
मेरै आँगनमा म खोज्दै बसेको पनि छु
म यात्रामा थाकेर सुस्ताएको पनि होइन
तर, म भड्की पनि रहेको छु कताकता
लक्ष्यको परेवा समाते पनि
कहिले समात्दैछु, कहिले फुत्किँदैछ ।
नभेटेका कुरा त छँदैछ
कति भेटेका वस्तु पनि नभेटेका जस्ता देखिन्छन्
त्यतिखेर किन चिच्च्याउन मन नलागोस् त मलाई ?
किन आँधीझैँ वेग नमारूँ ?
अनि किन आगोझैँ हुरहुरिँदै नबलूँ त म ?

तर, एक्कासि सेलाएँ भने म ?
हँ, अचानक म मरेँ भने, भरे राति नै ?
कहाँ बात मार्छन् होलान्
यी मभित्रका मेरा अर्न्तर्द्वन्द्व
आर्तनाद अनि अनुभवहरू ?

साँच्चै, म मरेँ भने, के हुन्छ होला, भरे राति नै ?

घट्टेकुलो, २८ मार्च १९९१