Bimala Tumkhewa – Hiun Ko Atit

बिमला तुम्खेवा – हिउँको अतीत

हिउँको छातीमा
किनार हुँदै बग्नु
बगिरहनु सन्दिग्ध हुन सक्छ
घाउले बिथोलिएको मुटु
त्यो साँझ यो बाटोमा दुख्दै हिँडेको विगत
र —
साउनको उपल्लो रात
रोएको आँखा
पुरानो भैसक्यो होला
उसको छातीमा …….
सपनाले वृद्ध भएकी कुमारी केटी
बैँस कुँजिएको देश
म,
अग्लो पहाडलाई हेर्छु
ऊमाथि बगेको झरना
र उसले रोएको बाँसुरीसँग
जीवनका पछिल्ला रातहरु रोएका छन् ।