Bimal Rai – Samabedana

बिमल राई – समवेदना

हो,
मृत्युलाई बिर्सेर कायापलट फेर्न खोज्ने हामी मान्छे
दनदनी आगोले नजल्ने बिचार पनि-
एक दिन अवश्य मर्छ
हिटलर मरे
मार्क्स मरे
नित्से मरे
अनि,
बिचरी मैना सुनार पनि त मरी
र हामी, अनि हामीले देख्ने विश्व मर्छ
बाँच्नुको बिकल्पबाट हारेको जीवन सबै मर्छ
त्यस्तै गरी
धेरै लामो जिवनको अध्यायबाट
कुटनैतिक चालबाजीको खुल्ला आकाश नाघ्ने दौरानमा
मान्छेको अन्तिम सत्यले तिमीलाई पनि छाडेन
कृष्ण र गणेशलाई सडकमा पु-याउने तिमी बहादुर
अन्तत तिमी मर्यौ
र-
मरे, शिखर हुँ भन्ने तिम्रो मानसीकता
तिता मीठा परिघटनाका एकांकीहरू छाड्दै
जो अरुजस्तै,
सहज र असहज मृत्युको भुमरीले
तिम्रो पार्थिव शरिरलाई आज यो लोकबाट
सदाको लागि बिसर्जन गरिदीयो
अब रहेन तिम्रो दैनिकीहरू
रहला त अब केवल,
बंशौली आडम्बरीतामा लम्केको तिम्रा पदचापहरू
सेतोमा कालो पोत्ने तिम्रो अपूर्ब कौशलता
भोका नाङ्गाको पुकारा गर्दै आफ्नो दुनो सोजाउने कुटिलताहरू
देशको रेखाङ्कन बेचेर मित्रता देखाउने अभिभाकत्व
अनि बहुलतालाई निषेध गरी
पारिवारिक्तालाई अप्नाउने राजनेता
इतिहासको पानाहरूमा ज्वलन्त अङ्कित रहनेछ-
पछिल्लो पुस्तासम्म,

भावी सन्ततीले तिम्रो सक्कली बिचारको अन्दाज गर्नेछन्
मृत्यु भन्दा पनि तिम्रो नेपथ्यका चेहराहरू
तर पनि, मृत्यु अवश्यभावी छ
यसर्थ,
यो पलमा म पनि समबेदनामा समाहित छु
शब्दका दुइफूल चढाउनलाई
तिम्रो निधनको दुःखदतामा ।