विक्रम सुब्बा – तिम्रो मन
… कस्तो बलियो रहेछ तिम्रो मन
हरेक चुस्त-दुरुस्त-जवान अंगहरूलाई
ठीक-ठीक आदेश दिन सक्ने तिम्रो मन
जसले अह्राएपछि
बाटो लाग्ने पाउहरू छम्छमाउँछन्
र मसम्म पुग्ने तिम्रो महान यात्रा पूर्ण हुन्छ
तिम्रो मनकै हुकुम मुताबिक
हाम्रो हरेक एकान्तमा तिम्रा जोर हत्केला
आकाशतिर तरवारझैँ जुरुक्कै उठ्छन्
र मेरो काँधमा वरमाला हाल्ने साइत छोपिन्छ
तिम्रो मनकै निर्देशनमा
नजरका पखेटा हालेर
तिम्रा आँखाहरू क्षितिजतिर उडान भर्छन्
तर हर साँझ धर्ती-आकाशको मिलन नियाल्दै
मेरै छातीको बाँसझ्याङमा बास बस्न आइपुग्छन्
त्यसो त तिम्रो मनले आदेश दिएपछि
जिन्दगीको सुन्दर सपनाजस्तो
जवानीले उम्लिरहेका तिम्रा पाखुरा ममा बेरिन्छन्
अनि गुन्गुनाउँन थाल्छन् तिम्रा अधरहरू
र मेरै ओठका नोटेशन मुताबिक चुम्बन गाउँछन्
पत्तैबिना तिमी लहराझैँ हल्लिँदै बेरिन्छौ
म रुख, बेस्सरी तिम्रो कब्जामा कैद हुन्छु
वतासमा सुखैसुखको सुगन्ध मग्मगाउँन थाल्छ
आकासमा मेघ मडारिँदै गर्जिन थाल्छ
अहो ! क्या गजबको नाता हाम्रो
महाकाव्य र त्यसभित्र रगतझैँ बग्ने कथाजस्तो
जहाँ छन्द र सर्गको लय भएर बगिरहन्छौ तिमी
ढुकढुकीसँग मिलाएर ताल ठोकिरहन्छु म
र छटपटिको आदिम हरफमा बर्सिन्छन् चट्याङहरू
हामी एकपछि अर्को प्रहारले अनेक पल्ट मृत्यु वरण गर्दै
चरम चुली भीरबाट खस्दछौँ र गर्ल्याम्मै झरेर मीठो मर्छौँ
जसरी ध्वस्त भएर मृत्यु अँगाल्छन् विउहरू – नौलो उमार्न
जसरी फतक्कै गलेर सकिन्छन् फुलहरु – नयाँ फलाउँन
यत्तिबेला, शरिरभरि चलेको आँधी पुराणको
एक अध्याय इतिश्री भएपछि
पल्टाएरै राखेको ग्रन्थको दुई फ्याकझैँ
हामी लामो लामो सास फेरिरहेछौँ
र अर्को अध्याय थाल्ने तैयारी गरिरहेछौँ
यस्तो आत्मीय महा-अनुष्ठानको कुशल आयोजक
… कस्तो शान्त तर कति विशिष्ठ तिम्रो मन