विद्याप्रसाद घिमिरे – अन्नपूर्ण, गुराँस र सगरमाथा
सगरमाथा हेरेँ—गर्व गरेँ
लालीगुराँस हुर्काएँ—गौरव गरेँ
आँखामा अन्नपूर्ण राखेँ— शिर उठाएँ ।
मेरो सगरमाथाको शान
आज बस्तीबस्तीमा पग्लिएको देख्दैछु ।
गुराँसको लाली धुवाँमा उडेको हेर्दैछु ।
अनि, अन्नपूर्णको अस्मिता
चूर्णचूर्ण र खण्डित हुँदै गएको महसुस गर्दैछु ।
लुम्बिनी—बागमा हुर्किएका
एक जोडी सेता परेवा
आज, बीच बजारमा
लिलाम भइरहेछ,
खुल्लमखुल्ला मोलतोल भइरहेछ ।
अनि म र महरू
लाचारी, बाध्यता र विवशता बाँचिरहेका छौं ।
म आँखामा लगाउँछु—
घट्दै गएको कोसी
ध्यानमा राख्छु —
छोटिँदै गएको महाकाली
र, कानमा राख्छु—
आवाज हराएको नारायणी र सुस्ता ।
हिजोको
सूर्य, चन्द्र, तारा
आज पनि उस्तै छ ।
तर, चौडा छाती खोलेर हाँस्ने आकास
खण्डित छ, दण्डित छ ।
स्वच्छन्दतामा नाच्ने धर्ती
रातो धुवाँ र कालो रगत बाँच्दैछ ।
वर्तमानमा सुदूर चिच्याउँछ र भन्छ—
दासत्व–उन्मुक्ति नारामा
समेटिएको तिम्रो भूगोल—
कतै अर्काको दास हुने त होइनं
सासविनाको लाश बन्ने त होइनं
कतै, दुनियाँको उपहास बन्ने त होइन ।