Bibek Dulal Chhetri ‘Damak’ – Bholi Ko Sundar Bhabisya Ko Lagi

विवेक दुलाल क्षेत्री “दमक” – भोलिको सुन्दर भबिस्यको लागि

सस्ता सिरियलहरूमा
लगाएको उस्को समय
म चोर्नेछु कुनै दिन
र लगाउनेछु ढिलो नगरी
यो देशलाई उर्बर बनाउन ।
अरुको भजन गाउन प्रयोग हुने
उस्का शब्दहरू
म बटुल्नेछु कुनैदिन
र लेख्नेछु
एउटा स्वभिमान उमार्ने
उत्साही पुस्तक।
आँफै मात्र सही र अरु होचो देख्ने
उस्को दरिद्र सोचाइ
म बदल्नेछु कुनै दिन
र भर्नेछु सबैमा
एउटा समाबेसी मुस्कान।
अब ठान्नुहोस्
यो मेरो कार्यसूची हो
तर फेरि बदल गर्न नमिल्ने
र अन्तिम भने होइन
तसर्थ यहाँको सुझाबको
अपेक्षा गरिनेछ।
किनकि मेरो मान्यता छ
यहीँबाट भोलिको सुन्दर बिहानीको
जन्म हुँदैछ यसैले।

अस्तु: