भूपिन ब्याकुल – फोहोर
के प्राण बाँकी हुन्छ र ती घरहरुमा
जहाँ कुनु फोहोर हुँदैन !
जीवन केवल
नमेटिने तृष्णा हो सौन्दर्यको
फोहोरको नदी किनारमा
फोहोर त त्यहाँ पनि हुन्छ
जहाँ पुग्छन सपनै सपनामा
उचाइ टेकेरफर्किरहेका जाँगरिला खुट्टाहरु
जहाँ छिर्छन रहरको बन्द ढोकाबाट
गहिराइ छोएर उत्रिएका सुन्दर आँखाहरु
फोहोर त्यहीं हुन्छ
जहाँ फुल्छन अदृश्य सम्भावनाहरु
असमर्थ छन् फोहोर गर्न
मुखियाको लौरिलाई झैं
समयको जी-हजुरी गरिरहेका अमुक गाउँहरु
श्रमिकका आवाजहरु निल्ने हृदयविहीन सहरहरु
कोठाभित्र अचेत पल्टिएका रोगि हावा
र मानिसको स्पर्श पर्खिरहेका किताबहरु !
गरिबीलाई झैं
चरम असफलतालाई झैं
र मेरा अभावका अनन्त परतहरुलाई झैं
फोहोरलाइ घृणा गर्ने मेरो सभ्य मित्रहरु
म कसरी सम्झाउँ तिमीहरुलाई
कि फोहोरको क्षितिजबाट उदाउँछ
कानुन र राज्यसत्ताको नयाँ घाम
फोहोरकै आकाशमा टिम्टिमाउँछन
कला र समस्त सौन्दर्यका जुनतारहरु
कसरी सम्झाउँ
कि फोहोरकै कडा आवरण फुटालेर
चल्लाझैं निस्कन्छ स्वयम् सफा पनि !
फोहोर रुमालले अनुहार पुछने पृथ्वीमा
फोहोर गरेरै जन्मिन्छ मानिस पनि !
निरपेक्ष कहाँ हुन्छ र स्वच्छता
बाँच्नको लागि फोहोर गर्नु जरूरी हुन्छ … … !