भूपिन ब्याकुल – सपनाहरुको रङ
मेरो देशका प्रिय सपनाहरु
भेटिन्नन यो देशका साँघुरा सीमानाहरूभित्र
उनीहरुको यात्रा
बिदेशमा जीवनको खोजीबाट सुरु हुन्छ
र आत्महत्याको योजनामा पुगेर टुंगिन्छ !
सपनाको छातीभित्र
हरदम बजिरहन्छ एउटा अन्तरास्ट्रिय धून
जहाँ हुँदैन कुनै राष्ट्रिय ढुकढुकी
आँखाभित्र
निरन्तर नाचिरहन्छ एउटा बिदेशी उज्यालो
जसले देखाउन सक्दैन अँध्यारोमा बाटो
राखेर एउटा पाइला देशको सीमानामाथि
अर्को खुट्टाले नापिरहन्छ बिदेशी आकाश
ऊ अब आशाको झ्यालबाट
घामको मलामी गएको देख्छ पहाडहरुलाई
मुक्त भएको छ ऊ अब प्रेमको नसाबाट
निकालेर फालिसकेको छ
हृदयको कुनाबाट एउटा तस्बिर उसले
आफ्नो प्रेमीको
जसलाई हेरेर ऊ अब कुनै रसिलो सपना देख्दैन
रङ्गीन बन्न
कसले सिकायो सपनाहरुलाई
स्वदेशी चस्मा आँखाबाट झिक्न
र बिदेशी चश्मा लागाएर निस्फिक्री सुत्न
किन केहि भन्दैन यो देशको पार्लियामेन्ट
किन चाहेनन सपनाहरुले
बिहानसम्मको यात्रा गर्न
किन चाहेनन सपनाहरुले
सपनाहरुझैं सुन्दर बन्न ?