Bhumi Raj Bastakoti – Om Brahmha

भूमिराज बस्ताकोटी – ॐ ब्रह्म

नयाँ सम्भावनाहरूसँगै
नयाँ वृन्दावनमा
आज डेरिडासँग
नाचौँ भैmँ लाग्यो ।

ए ! कौन्तेय कर्ण
आज चाहिएको छ नयाँ गर्भाधान
तिम्रो दानवीरता रूपान्तरित भएर
मानवतामा मानव बोल्नु छ
मलाई सिकन्दरदेखि घृणा छ
ती स्वतन्त्रताका जेलहरू
म किन नमागूँ, बुद्धका मुक्तिहरू
म किन नमागूँ आल्हादित रजनिशका आँखाहरू
जहाँबाट मौनताको चरम चुली चढ्न सकूँ म
ॐ ब्रह्म ।

ए ! नारी
तिम्रो कोमलतामा ‘सुनकेशरी’ पीडा बोल्छ
कति सहने हो त्यो निलो पीडा
घोट घोट ढुङ्गा घोट
आगो निकाल आदिमताको
जङ्गल जङ्गल स्वतन्त्र हिँड्नु छ
महान् यात्रा गर
ए ! कोलम्बस, शून्यबाट हेर
त्यो यात्रा बाटो नबिरायोस् ।

यात्रा शून्यकै हो ए आकाश
तिम्रा अनन्त सम्भावनाहरू
अनन्त मार्गमा रूपायित भएर
बोलाऊ यी भावनाका लहरहरू
तिमी शून्य, म शून्य
आनन्द शून्य
यो शून्यताको अनन्ततामा
एक पटक फेरि भन्छु
ॐ ब्रह्म ।