पुस्कर बिष्ट – भ्रम
यो सृष्टिकै कुरुप सिर्जना मान्छे हो जस्तो लाग्छ
मस्तिष्कको भ्रममा
विवेकको भ्रममा
चेतनाको भ्रममा
मान्छे यहाँ मान्छे हुन बिर्सेको छ
उधारेर आँखाहरुको झिल्ली
हावाको सतहमा रोप्ने प्रयत्न गर्दैछ मान्छे यतिखेर सपनाका भ्रमित फूलहरु ।
पक्रिएपछि भ्रमको आँचल
मान्छे इश्वर बन्छ
मान्छे सैत्तान बन्छ
पुरानो कुनै रुखको टोड्कामा देख्न
थाल्छ आफ्नै सभ्यताका अबशेषहरु र
बजाउन थाल्छ बेसुरो धून
जस्तो कि
दुर्योधन बजाइरहेथ्यो
महाभारतमा बाहुबलको भ्रमित मुर्च्छना
जस्तो की
दु:शासन खिचिरहेथ्यो
पांचालीको भ्रमित लाजको फेरो
भ्रमकै सिहासनमा बसेर
खाक गरेथ्यो रावणले आफ्नो लंका ।
भ्रमको चस्मा लगाएपछि
मान्छे रहँदैन मान्छे जस्तो
बिर्सिन्छ आफै उभिएको धरातल
पोैडन थाल्छ मिराजको सतहमा
जस्तो कि
म कविता लेख्नुको भ्रममा
गरिरहेको छु भावावेगको आत्महत्या
यार यस्तो लाग्छ भ्रम अन्तिम सत्य हो ।
सल्यान नेपाल