भोजराज बराल – मेरो मलामी आउन पर्दैन!
एउटै मूलको पानी,
एकै टोलका हामी,
तिम्रो बिशाल रङगमन्चमा
म कहिले अटाइन!
तिमीले रोपेको कांडो
मेरो आगनमा लत्रिदा सम्म,
बरु तर्केरै हिंडे,
मैले कहिले हटाइन!
कहिले जात र भातले अटाइन
कहिले रङ, उमेर र उचाइले अटाइन
संसार अटाउंदा पनि म अझै अटाइन,
अनभिग्य छु, किन अटाइन!
तिम्रो परिसरमा
म कहिल्यै अटाइन!
खाचो पर्दा तिमीलाई
टार्न सकिन,
तिमीले गुहारेको बेला
हार्न सकिन,
केही गर्न सकिन तिम्रो लागि,
त्यसैले तिम्रो रङमन्चमा
म कहिले अटाइन!
सयौ जन्तीमा पनि अटाइन,
जन्मोत्सव र चाड पर्वमा अटाइन,
प्रगतिमा फूल को गुच्छा नभएर अटाइन,
अधोगतिमा सहानुभुती नभएर अटाइन,
आसुँ रित्तिए, रोदन मा पनि अटाइन,
दशा थियो वा नशा, म कहिले अटाइन!
दशै र क्रिस्मसमा पनि अटाइन,
बन्द सत्र र गोपनियता को के कुरा
टुंडिखेल र खुलामन्चमा पनि अटाइन,
गाउ शहर त के,
देशमा नै अटाइन!
कहीं नअटाएको म
सात समुद्रमा पारी अल्झिराछु,
ज्युदोमा नअटाएको म
मरेपछी त के कुरा!
मन फेरिएछ भने पनि,
बिराएछौ भने पनि,
साथी, तिमी मेरो मलामी आउन पर्दैन!
बिन्ती, तिमी मेरो मलामी आउन पर्दैन!
– London