सुशीला खड्का हसिना – सुन्दर सपनाहरू
मेरी आमाले
पैतलामा काँडा बिझाउँदै
भोको पेट कसेर
भालेको डाकसँगै
वनमा पुगेर ल्याएकी
डोकोभरिको घाम
हेरेर म खुसी हुन्थेँ,
मेरो बुबाले
झिसमिसे उज्यालोमा
आँखा
मिच्दै
चरचर चिरिएको हातले
गोबर पन्छाउँदै
गोठभरि छरेको जून
हेरेर म दङ्ग पर्थें,
एकातिर
मेरी आमा
निभेको चुलो बाल्न बस्थिन्
उद्देश्यका दीपहरू सल्काउँदै
डालीभरि चाहनाका ताराहरू बटुल्दै
हरेक साँझ जाँतोमा
सुख, दुःख पिस्थिन्
प्रत्येक बिहान पँधेरीमा
गाग्रीभरि आशा भर्थिन्
अर्कोतिर
हलोजुवा काँधमा बोकेर
हलगोरु खेद्दै ओरालो लाग्थे बुबा
बाँझो बारीसँगै जोतिन्थे
उहाँका अनगिन्ती इच्छाहरू
खेतका आलीसँगै लेप्सिन्थे
भोकमा सिस्नु र खोलेमै रमाउथे
जुन दिन समयले कोल्टे फे¥यो
झरेन आँगनीमा
कुनै नौलो बिहानी
उनिएन खुसीहरू
सम्झौताको डोरीमा
भरिएन सुख–शान्ति,
ममताको अँगालोमा
सधैँ–सधैँ
उस्तै दुःख उस्तै पीडा
झन्झन् थपिँदै जाँदै छ
उहाँहरूको जीवनमा
अझै अप्ठ्यारो
अझै अँध्यारो
अब कैयौँ
बाधा र व्यवधानका बाबजुद् पनि
लड्ने छु म नियतिसँग
कोर्ने छु भाग्यरेखा
सुकाउने छु, आँसुको तलाउ
बनाउने छु आफ्नै सुन्दर संसार
जहाँ प्रगाढ माया र स्नेहले
सुरक्षित जेलेर राख्ने छु
सुख, शान्ति र हर्षसँग
मेरी आमा र मेरो बुबाको
सुन्दर सपनाहरू
सजाउने छु क्षितिजको पानाभित्र ।
दोलखा, हाल ः काठमाडौँ ।
– बिहीबार, 19 भाद्र, 2071