Basanta Shrestha – Malai Bitholna Na Aau

बसन्त श्रेष्ठ – मलार्इ बिथोल्न नआऊ

समयको लामो सुरुंग भित्र
मन संधै संधै बादलले ढाकिएर
जीबन बायूपंखी घोडा चढेर
जोड जोडले लगाम खिच्दै, एडी ठोक्दै
बेतमास जीबन दौडिरह्यो !
कहिले चकमन्न अन्धकारमा
एक मुठी उजेलो छर्दै
मैनबत्ती बनेर तप तप रुदै झर्यो !
कहिले अँध्यारो लामो यात्रामा
ठेस लाग्दै भुइँमा पछारिदै
उठ्ने कोशिशमा लर्बरिदै
भिर पहिरो बाट ओरालो झर्दै रह्यो !
एक मुठी उजेलोको रहरमा
एक सास उन्मुक्त हासोको लोभमा
एक रात मिठो निन्द्राको चाहमा
सम्पूर्ण जीबन अल्मलिरह्यो !
खै यो गन्थन कसलाई कति सुनाउ
सुन्नेहरु पनि अब त थाकिसके
उज्यालोको रहरमा आकाश फेरियो
सुगन्धको आशमा माटो फेरियो
मुक्तिको चाहनामा गैर छानियो
तर आफ्ना आवाजहरु मलिन बनेर यहाँ पनि थुनिए
गुलाबको फूलहरु काँडा काँडा बनेर यहाँ पनि झुलिए
भाबना हरु निरुत्तर उजाड बनेर यहाँ पनि फैलिए
खै म आफैलाई कति सम्झाउन कोशिस गरूँ
खै म डांडापारीको उज्यालोको मोह कति देंखु
म आफै थाकेर चुर यस घडीमा
नआऊ मलाई बिथोल्न नआऊ
भो मलाई अब सपनाको महल खडा गर्नु छैन
म जे छु निश्चिन्त छुं
मेरो भाग्यमा कर्म निश्चित गर्ने तिमि
जाऊ कतै पर पर !
म जे छु अन्धकार भित्र पनि हाँसेकै छु
मेरो हाँसो खोस्न यहाँ नआऊ
दौडन नसके पनि घस्रियेर पनि हिडेकै छु
मेरो गति बिथोल्न तिमि यहाँ नआऊ

त्यसैले म बिन्ति भन्छु
मलाई छोडी जाऊ पर पर !
म जे छु खुशी छुं
त्यसैले मलाई बिथोल्न कदापी नआऊ !

– बिहीबार, 12 आसाढ, 2071

Basanta Shrestha – Ma Yuddha Ko Ghosana Garchhu

बसन्त श्रेष्ठ – म युद्धको घोषणा गर्छु

म भित्र आक्रोशको
ज्वालामूखी फुटेको छ
म भित्र धैर्यको
बाँध फुटेको छ
त्यसैले म अब
भीषण युद्धको तयारीमा छुँ ।

सुतेको ठानेर थिच्दा थिच्दै
लाटो सम्झेर मिच्दा मिच्दै
सोझो भनेर हेप्दा हेप्दै
सह्यको सीमा नाघेपछि
म अब
पुनर्जीवनकोलागी
एउटा भीषण युद्धको
घोषणा गर्छु ।

पानीको अभावमा
जसरी धरती फाटी दिन्छ
आकाश र बादलको सँघर्षमा
जसरी आँधिबेरी आईदिन्छ
पहाड रिसाएर जसरी
ठुलो पहिरो ल्याईदिन्छ
अनि
मौसमसँगको अंतर्द्वन्दमा
सागरले जसरी
समुद्री तुफान ल्याईदिन्छ
त्यसरी नै
म भित्रको मान्छेत्व
जिवित भएको छ
अनि म घोषणा गर्छु
म सम्पूर्ण निर्माणकोलागी
एउटा भिषण युद्धको तयारीमा छुँ ।

सँयमलाई कमजोर ठानेर
सेवालाई अधिकार भनेर
मित्रतालाई व्यापारसँग साटेर
चारैतिरबाट चिथोर्दा चिथार्दै
भित्र भित्रैबाट छिया छिया बनेर
फाटेपिछ
अब म भित्र
आक्रोशको ज्वालामुखी फाटेको छ ।

अनि म पुनर्जागरणकोलागी
नयाँ ईतिहास निर्माणको लागी
आर्थिक, सामाजिक, राजनैतिक
अतिक्रमणको विरुद्धमा
एउटा विद्रोह बोल्दै
अन्तिम लडाई लड्दै छुँ
अब म युद्धको घोषणा गर्छु ।