Baldev Bhatta – Bayask Ichchha Haru

बलदेव भट्ट -बयस्क इच्छाहरु

मान्छेमाथि मान्छेका पर्खालहरु
यत्र-तत्र साइनाइडको घैंटो बोकेर
सामुहिक आत्महत्याको बिजारोपण गर्दैछन,
मैदानमा निथ्रुक्क भिज्दै मृतकहरुका घरसम्म
छाता माग्न दौडिदैछन एकहुल कालभैरवहरु !

बयस्क इच्छाहरु कामातुर फूलका मैदानहरूमा
आफ्ना भत्केका अनुहारहरु खोज्दैछन
उपसर्ग र प्रत्ययहरुका ऐनाभित्र
आफ्ना इच्छाहरु नियाल्दैछन,
दुर्घटनाका आँखाहरु निला सपनाहरु बोकी
लोभ्याउदैछन सृष्टिका चलायमान पाइलाहरु !

आकारको निम्ति धरातल चाहिन्छ
धरातलबिहिन दाँतको कडापन क्षय हुँदै
ओठका परिधिभित्रै आफ्नो चिहान खोज्दैछ
बिचारहरुको निरीह सहिछाप लगाएर
पूर्णबन्न सक्दैन आकारको धुमिल साम्राज्य!

म एम्बुसका मैदानहरुमाथि
एकहुल मानिसहरुका पदचाप बोकेर दौडिदैछु
मेरो किनारका बालुवाका घरहरुमा
नदिका छालहरुलाई आमन्त्रित गर्छु,
यस बस्तिको नालायक पात्र म
विष्फोटक तर्कहरुसँगै नयाँ बस्तिखोज्दै छु!

तमोरका छालहरूसँग पानीको रंग नियाल्दै
स्वप्निल आँखाहरु सूदुर समयसँग
एकाकार गर्जनहरुको पैंचो मग्दैछ्न,
सुखद दुर्घटनाहरुको घडी पर्खिदै
पुष्पगुच्छाहरुमा लहराउँदो छ
मेरो देशको स्वर्णिम साहित्य !