Ashok Parthib Tamang – Fusion Pratibimba

अचेल
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन् प्रतिबिम्व !

बस्ती-बस्तिका इट्टाहरु ,
चोइटिएर भिख माँगीरहेछ ,
खै कस्ले उठाउँनेर ?
बिजुलीका खम्बाहरु !
सावाखोला र ब्वाँजरखोलाहरु
मसानघाट फैलाउने अठोटमा ,
कात्तिकेको भिरहरु बगाँउछ ।
अनि
जुलुस गर्न खोज्छ
मेरो सिरानी नेर
एउटा
फ्युजन् प्रतिबिम्व !

युगका हातहरु
छर्लप्पै हत्केलामा गिँडिंन्दा
आकाशले आगो निल्छु भन्दै
बादललाई बटुलेर
चट्याँङ हिर्काउँछ ।
त्यस पछि
बस्ती बल्छ ,बस्ती बग्छ , बस्ती रुँन्छ
अनि
सहन नसकेर
जुलुस गर्न खोज्छ ।
मेरो सिरानी नेर
एउटा
फ्युजन् प्रतिबिम्व !

बिचारको मझधारमा उभिएर
पुलको सिमा नाँप्नु खोज्दा ,
यथार्थले बगाइ किनारामा तैरिँन्दा
एउटा सानो बाँसको
दाउराले पनि सम्मान माँग्छ ।
अनि
फेरि
मेरो सिरानीनेर
जुलुस गर्न खोज्छ
एउटा
फ्युजन् प्रतिबिम्व !

समयको बाछिट्टाहरूले चुटेर
निथ्रुँक्क पार्दा
पिडाँलु र मानेको झ्याँङहरूमा
ओतिन्छु भन्यो
हरेउ र सिरिष साँपहरू ,
स्वागत गर्न तम्सिन्छन् ,
अनि
त्यहि बेला
मेरो सिरानीनेर
जुलुस गर्न खोज्छ
एउटा
फ्युजन् प्रतिबिम्व !

गुफाहरू भित्र
सानो घाम बोकेर गयो
हुरी बतास हुँइकिन्छ
त्यहिंबेला निभाउँछ
मेरो टिनको
मट्टीतेलले बल्ने लालटेन ,
अनि
प्रत्युत्तरमा
जुलुस गर्नखोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन् प्रतिबिम्व !

जब नयाँ लुगा र चस्माहरू नै
पुराना जंगली दिनको यादमा
मानव सभ्यताको ब्याख्या गर्छन्
मन भित्रका तितेसो वाक् गर्दै
अनि
संभावनामा
जुलुस गर्नखोज्छ
मेरो सिरानी नेर
एउटा
फ्युजन् प्रतिबिम्व !

बर्तमान कठघरामा
दोषी भएर उभिनुपर्दा ,
चील र गीद्दहरूले
परेवालाइ नै लखेट्दै मार्दा ,
भाग्य पिट्ने ह्याम्मरले
दलिंन भत्काउँन मन लाग्छ ।
अतः
भावावेषमा
जुलुस गर्न खोज्छ
मेरो सिरानी नेर
एउटा
फ्युजन् प्रतिबिम्व !

तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )