अनुप जोशी – निन्द्रा नलागेपछि (कविता)
निन्द्रा नलागेपछि
मैले खाटबाटै सिरक कसेर
माथिको सिलिङलाई हेरेँ
र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ
सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा,
तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश ।
निन्द्रा नलागेपछि
मैले दम लागेकी आफ्नै आमाको अनुहार सम्झेँ
रक्तचाप आकाशिएको बुढो बावुलाई सम्झेँ
घर छोड्दा अनायास चुहिएको एक नदी आँशुलाई सम्झेँ
र तेस्तैमा आधा मुरी पनि अन्न नफल्ने पाखोबारीलाई सम्झेँ ।
निन्द्रा नलागेपछि
नेताका मिठामिठा आश्वासनलाई सम्झेँ
मैले जनआन्दोलनमा गुमाएको दाहिने खुट्टालाई सम्झेँ
सिरानीमुनी थन्किबसेको डिग्रीको प्रमाणपत्रलाई सम्झेँ
र सम्झेँ जागिर छुट्दा र माग्न जाँदा गलहत्याइएको तिक्तानुभूति ।
निन्द्रा नलागेपछि
पोइल गएकी प्रथम प्रेमिकालाई सम्झेँ
विलिन हुँदै गएको यौनाकांक्षाका बारेमा सम्झेँ
र जुरुक्क उठेर
पल्टाएँ कविताको डाएरी ।
निन्द्रा नलागेपछि
सोच्न थालेँ निन्द्रा नलाग्नुका कारण
र यी सबै सम्झनाको आगमन ।
भोलिपल्ट त सहर छाडेर गाउँ फर्कनु थियो ।