Ajit Chhetri – Prem Ek Antaheen Yatra

अजित क्षेत्री – प्रेम-एक अन्तहीन यात्रा

महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।

उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

उ झुकी
बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको
मृग सरी आत्मसमर्पण गरें
लाग्दैथ्यो
उसले सिकार गरिसकि
र, अब खान्छे पनि
काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको
समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
ब्यग्र प्रतिक्षा थियो
उग्र चाहना थियो
मिठो मिलन थियो
उ ममा र म उमा
कैद थियौ बेकसुर
प्रेमको अन्तहीन जेलमा

छोरा टिभी हेर्दै थियो
हामी एक अर्कालाई बेर्दै थियौं,

लाग्दैथ्यो-
यो समयको सुई यहिँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा
यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौं
बिना पाइला
बिना बाटो
प्रेमको एक सुदुर यात्रामा ।

हामी सिमानामा थियौं
दुई ज्यानको
दुई मनको ।
तर निसंकोच उ हस्तक्षेप गर्दै थि
मेरो सिमाना माथी
मेरो अस्तित्व माथी
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन-यो कस्तो खेल हो
न हार हुने न जीत ?

अनायसै उसले सोधी-
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशंकोच जवाफ दिएँ-आमा

प्रेमको यो महासागरमा
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिन
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढि मायाँ गर्छु
प्रिय,तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आईपुग्छ
आफ्नी आमाको काखमा
र,लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी
मेरो छोराको पहिलो प्रेम हौ
र,मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।।

-युएई

Ajit Chhetri – Bukhyancha Haru

अजित क्षेत्री – बुख्याँचाहरू

धेरै पहिले
हातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दाबाद
मुर्दाबाद
भिड जम्मा भयो
भिडमै मिसिएँ म पनि ।

बुख्याँचाहरू भन्दै थिए-
यो पुरानो सामन्ती महलमा
सेता माकुराले जालो लगाएको छ
यहि जीर्ण महलमा लुकेर
दुष्ट सेतो माकुराले
गाउँलेलाई सताएको छ
बाटो छेकेको छ
बाली बिगारेको छ
गाउँलेलाई डसेको छ

गाउँलेले आगो लगाए
सेता माकुराको जालोमा,
घर जल्यो- सेता माकुरा जले
जीर्ण घर ढल्यो
सेता माकुराको साम्राज्य पनि ढल्यो

भिड रमायो
म पनि रमाएँ
गाउँलेले भने मुक्त भयौं
हामीले जित्यौं ।

समय बित्यो
गाउँबाट बुख्याँचा गायव भए
थाहा भयो
बुख्याँचाहरूले जलेको महलको
खण्डहरमा नयाँ महल बनाए
र, आँफूलाई सर्वश्रेष्ठ प्राणी
घोषित गरे

महलको सम्पन्नताले अहिले
बुख्याँचा मातेका छन्
एक आपसमै लडेका छन्
गिरेका छन्
गिराएका छन्
मरेका छन् मारेका छन्

गाउँमा नयाँ आतँकको
जन्म भएको छ
सेतो माकुरो होइन
काला बुख्याँचाहरू
सेतो बर्को ओढेर
गाउँलेहरुलाई सताएका छन्
उसैगरी
जसरी हिँजो सेता माकुराले
गाउँलेलाई सताएका थिए ।

स्याङ्जा
हाल:युएई

Ajit Chhetri – Ansha

अजित क्षेत्री – अंश

मैले नौ महिना गर्भमा पालेको
मेरो रगतको एक अंश
जसको पहिलो स्पर्शमा
म आफ्ना पीडा भुलेर
अल्हादीत भएकी थिएँ
जसको पहिलो रुवाईमा
म आमा बनेको खुसीले रोएथें
जसलाई तातेताते गराउँदा
मैले हिँड्न सिकेथें
जसको पापा मामा शब्दले
म पुलकीत भएथें
जसले खाँदा म अघाएथें
जसले निदाएसी निदाएथें
त्यही छोरो तिमी
आज भन्दैछौ
अंश चाहियो आमा म छुट्टिन्छु ।

बाबु किन चाहियो अंश ?
यो सबै तिम्रै त हो
लैजाउ पुरै लैजाउ ।

यो आँगन लैजाउ
यो मझेरी लैजाउ
जहाँ तिमी खेल्ने गर्थेउ
र म खेलिदिन्थेँ,
तिम्रा लागी बच्चा बनिदिन्थेँ
त्यो बालापन लैजाउ ।
तिम्रै खुसीमा लुटाएथें मैले जो
त्यो यौवन लैजाउ
लैजाउ सबैथोक लैजाउ
बस् मलाई नलैजाउ

किन माग्छौ अंश बाबु
लैजाउ पुरै लैजाउ ।

तिमीलाई बाह्रखरी लेख्न सिकाएथें
आँगन बाहिर टेक्न सिकाएथें
तिम्रा कलिला दाँत दुख्लान् भनि
चपाएर खुवाएथें
तिमीले आकाश छुने जिद गर्दा
मैले टाउकोमा बसाएथें
घाम लाग्दा छाता बनेथें
पानी पर्दा ओत बनेथें ।

बाबु सम्झना छ कि छैन ?
मेरो काख तिमीलाई
बिशाल संसार हुन्थ्यो
बिशाल रंगमन्च हुन्थ्यो
तिमी खेलेर थाक्दैनथ्यौ
निदाउँथ्यौ र लात्तिले हान्थ्यौ
छातिमै मेरो
म असह्य पीडा पनि बिर्सन्थें
र चुमिदिन्थें तिम्रा कलिला पाउ
अनि माडिदिन्थे दुख्यो कि भनि
मेरो छातीमा हान्दा ।

तिमीलाई लोरी सुनाएका
ति साँझ लैजाउ
आमा, म ठुलो भएसी पाल्छु भन्थ्यौ नी
अनि म आँखा टिल्पिलाउँदै मुस्कुराउथें
ति सबै याद लैजाउ ।

मात्र छाडी देउ मलाई
तिम्रो सहारा बनि बिताएको
मेरो एकल र उधारो जवानी ।

मलाई याद छ त्यो सुनौलो बिहान
जुन दिन तिमी गर्भमा बसेको थाहा पाएर
म पेट मुसारी मुसारी रोएथें ।
तिम्रो जन्ममाथी शंका गर्दै
तिम्रो कालो रंगमा कटाक्ष गर्दै
तिम्रा बाबु तिमी जन्मेकै दोस्रो दिन हिँडेथे
त्यसपछि कहिल्यै आएनन्
घरको हेला र समाजको तिरस्कार सहें
घाम पानी र पसिना सहें
बेश्या बनें
बोक्सी बनें
अलक्षिनी बनें
जे जे म थिईन ति सबै बनें
ति सबै मलाई छाडिदेउ ।
लैजाउ तिम्रो स्वाभिमान लैजाउ
लैजाउ तिम्रो अभिमान लैजाउ
तिमी पेटमा हुँदा तिम्रै खातिर सम्झने
मेरा प्रिय भगवान लैजाउ ।

तिम्ले टेक्ने अलग्गै धर्ती छ भने लैजाउ
सास फेर्ने अलग्गै बतास लैजाउ
तिम्लाई चाहिएला यो आकास लैजाउ ।

मलाई बाँच्न एक मुठ्ठी सास भए पुग्छ
बाँकी सबै तिमी लैजाउ
किन माग्छौ अंश छोरा
यो सबै तिम्रो हो सबै लैजाउ
जो म तिम्री हुन सकिन
मलाई मसंगै छाड
बाँकी तिम्रै हो सबै लैजाऊ ।

स्याङ्जा,
हाल:युएई