आहुति – बाइसौं शताब्दीमा
घामको उज्यालो यहीँ हुनेछ
यहीं रहनेछ रातको जून
घुमिरहनेछ माटोलाई म्वाई खाएर शीतल पवन
तर रहने छैनन् कतै बादशाहहरू
बज्ने छैनन् धतुराका फूलजस्ता विषालु बिगुलहरू
बाध्य हुने छैनन् बनाउन शिशुहरू
बाँसुरीजस्ता नलीहाडलाई बन्दुकका नाल
पसिना र रगतको आगामी सय वर्षको नदीले
पखाल्नेछ धर्तीको धेरै धेरै कुरूप शेष
बाइसौं शताब्दीमा
इतिहास बनिसक्नेछ जड्डबहादुरहरूको आजको अवशेष ।
हामी त हुनेछैनौं
हाम्रो रगत र पसिना पढिरहेका नानीहरू हुनेछन्
यस शताब्दीका अत्याचार लेखाजोखा गर्ने सन्तानहरू हुनेछन्
गर्वले सुनाउँदै संघर्षका गाथाहरू
शिशुहरूलाई दुध चुसाइरहेका पनातिनीहरू हुनेछन्
उन्मुक्त हाम्रा सन्ततिको भीडमा
आजको बादशाहको झोक्राइरहेको पनाति हुनेछ
पुर्खालाई धिक्कारिरहेको त्यो निर्दोष प्राणी पनि हुनेछ।
आजको वादशाह त रहनेछैन
पुर्खाको क्रूरता भुल्न चाहने बादशाहको पनाती रहनेछ
पढ्नेछ उसले जब आजको बीभत्स इतिहास
देख्नेछ पहिलो पानामा
जिजुबाजेका षड्यन्त्रका काला शीर्षकहरू
दोस्रो पानामा भेट्नेछ उसले
मान हरिएका अपमानित सन्तप्त दलितहरू
तेस्रो पानामा चिच्याउनेछन्
अन्यायले थिल्थिलिएका जनजातिहरू
चौथो पानाको शिरदेखि पाउसम्म
झाङ्काल गर्नेछन् नाड्डोझार लुटिएका नारीहरू
पाँचौं पानामा त्यतिबेला पनि रोइदिनेछ
बन्धक पर्न लागेको आजको सगरमाथाको प्रदेश ।
पढ्न नसकेर आनै खालको बदनाम इतिहास
बन्द गर्नेछ उसले इतिहासको पुस्तक
तर रातको पहिलो प्रहरको सपनीमा आउनेछन्
थानाभित्र मारिएका यस शताब्दीका कविहरू
दोस्रो प्रहरमा बोल्नेछन्
उसको जिजुबाजेले काटेका कलमका ओठहरू
तेस्रो प्रहरको लहरमा तैरिनेछन्
निरपराध मारिएका लासका खातहरू
चौथो प्रहरमा रुनेछन्
आज मारिएका अभागी सिपाहीका विधुवाहरू
अन्तिम प्रहरको सपनीमा ऐøया–आत्था गरिरहनेछ
उसको जिजुबाजेले युद्ध लादेको रक्ताम्मे अभागी देश ।
बाइसौं शताब्दीमा हरेक दिन
हरेक बाहशाहीका भग्नावशेषमाथि खेल्नेछन् शिशुहरू
त्यतिबेला बन्नेछौं हामी बच्चाहरूका प्रेरणा–स्रोत
बाहशाहहरू बन्नेछन् आनै सन्ततिको पीडा–केन्द्र
जूनको मन्द किरणमा तृप्त निद्रा भोग्नेछन् प्राणीहरू
तर निन्द्राबाट झस्केर हरेक रात
छटपिटन बाध्य हुनेछ बादशाहको पनाती
सम्झेर आनो खलकको यस शताब्दीको अत्याचार
पसिनाले निथु्रक्क भिज्नेछ उसको शरीर
आँशुले लतपतिनेछ अनुहार
झुक्नेछ एकान्तमा पनि पटक–पटक शिर
ग्लानिले फत्फत् कुहिनेछ उसको हृदयको मानव–गर्व ।