अबिर खालिंग – बांसुरी
(Sent to Sanjaal Corps via Email)
नबजाउ मलाई
रिक्तता बजिरहेछु म
ऐन्द्रियक प्वालहरुबाट ।
अस्तित्वको चीरहरण मेरो रूप
तिम्रा औंलीहरुको लागी आनन्दको मार्ग
नखेल मेरा घाउहरूसंग।
थाक्न देउ मेरा चोटहरूलाई।
सासको कपासले छोपेर राखेको छौ
मैले बजिदिनु पर्छ / बगिदिनु पर्छ
तिम्रा अनन्त ध्वनित मृदंगको तालमा
मैले नाचिदिनु पर्छ।
बजाईरहन्छौ निरन्तर
बगाईरहन्छौ निरन्तर ।
प्रार्थनाका प्रहर जस्ता पबित्र म कहिले हुनु ?
हे ईश्वर ! तिमीले नछुएको
चन्द्रमासीको चोखो चन्द्रमा कहिले हुनु ?
कुमारित्वको प्रमाणत्रसंग
झंकृत हुनै सक्दैन
तिमीबाट बलात्कृत मेरो धुन।
कहिले बज्नु म
मेरो आफ्नै गीत?