Abir Khaling – Asmita Ko Geet

अबीर खालिङ्ग – अस्मिता को गीत

हतभागी मेरा कति अनुर्वर बेलाहरू
फल नलागी सुकिसके /
देशको उर्वरा माटोमा ।
म देश जोतिरहेछु।
खडेरीग्रस्त मौसममा पसीना को के मूल्य हुंदछ
गोडीरहेछु बियाड धानको
हिल्याईरहेछु देश
खनिरहेछु देश

मलबांसले हानेको मेरो चिसो आंगमा घाम कहिले लाग्छ ?
पर्खाईको रित्तो लामो संगीतमा
हाम्रा आकांक्षाका शब्दहरु शहीद भईसके ।
देशले गाएको हर्षगानामा
खोई मेरो चिनारी
कोरस गाउँदै राजमार्गमा हिंड्न पाऊं ।

देश बिणामा मैले
आफ्नै धून बजाउनमात्र चाहेको हूँ
आफ्नै राप अलाप्न चाहेको हूँ
आफ्नै संगीतको स्वर्गीय आनंद अनुभूत गर्न चाहेको हूँ
बिणाका तारमा मैले
हाम्रा अस्मिताका सूरहरु झंकृत पार्न चाहेको हूँ ।

अखवारका हेडलाइनहरुद्वारा बहिस्कृत
मेरा अदम्य चाहना र तृष्णाहरु
छटपटीको मरुभूमिमा किन हराउंछ ?
न्यायको न्यानो घाम नपाई
अवहेलनाको बाढीले बगाउंछ?

मलाई कौसीमा उभ्याएको कति भयो?
मूलप्रवाहबाट उच्छेदित
अगर बगर सुकेको कति भयो?
म तिम्रो मुटुमा श्वासप्रश्वासमा
तिम्रो विगत , वर्तमान र भविष्य हुन चाहन्छु ।
तिम्रो बानी र व्यवहार हुन चाहन्छु ।

विविधतामा एकता भन्दै
कति हिंडीसकें म तिमी संग तिम्रो हात समाएर ।
हरेक पल्ट तिमीले सोध्यौ मेरो नाम ।
मेरो जात, थर र गोत्र
हाँसेर खेल्न दिएनौ त्यो घरको मझेरीमा ।
आँगन को डीलमा उभिएर तिम्रो हात सामाउन खोज्दै
यति यति पानी घेघेरानी खेलीरहें
सर्वांग पानीमा डुब्दा पनि
म बिचमा उभियेकी रानी हुन पाइन ।

(Sent to Sanjaal Corps via Email)