Kedar Shrestha ‘Gagan’ – Mutu Dukhda Chhati Bhitra (Nepali Gajal)

केदार श्रेष्ठ ‘गगन’ – मुटु दुख्दा छातीभित्र

मुटु दुख्दा छातीभित्र आँसु खस्यो आँखाबाट
वेइमानीले धोका दिदा खसेँ म त छाँगाबाट ।

वैरीले नि माफ दिन्थ्यो यसो गरी शरण पर्दा
शत्रु पनि आफ्नो हुन्थ्यो यति धेरै माया गर्दा
छायाँ पर्यौ किन तिमी आज मेरो आँखाबाट

बिर्सुं भन्दा किन आउँछ सम्झनामा घरिघरि
आलो घाउमा नुन छर्न छायाँ बनि वरिपरी
वहार खोज्दा भएँ म त झर्या पात हाँगाबाट ।

Rabindra Nath Thakur – Pukar [From Geetanjali]

पुकार
म तिमीलाई नै चाहन्छु, तिमीलाई चाहन्छु, यही शब्द सधैँ मेरो
अन्तःकरणले आह्वान गर्दै भनिरहेछ !
जो यमि वासनाहरुले मेरो मनलाई दिनरात बेचैन पारिदिन्छन्,
यमि सर्वथा झूटा छन्, निःसार छन् अनि निष्प्रयोजन छन् ।
मलाई ता तिम्रो चाह छ, ईश्वर ! तिम्रो चाह छ !

जसरी अँध्यारो रातको मर्ममा प्रकाशको प्रार्थना रहन्छ,
त्यसरी नै मेरो अतृप्त वासनामा पनि तिम्रो चाह रहन्छ ।
आङ्खनो अन्तःकरणको चेतनामा पनि मैले निरन्तर यही सुनिरहेको
छु, ‘मलाई तिम्रो चाह छः तिम्रो चाह छ । ’

जसरी बादलले पूरा शक्तिका साथ शान्तिलाई आघात गर्दै आङ्खनो
लक्ष्यको प्राप्ति शान्तिमा नै सम्झन्छन्,
त्यसरी नै मेरो विद्रोह तिम्रो प्रेमलाई आघात गर्छ अनि भनिरहेछ :
‘म तिमीलाई नै चाहन्छु । ’

Tanka Subba – Paitalaharu

टंक सुब्बा – पाइतालाहरु

आजभोलि म सँग सम्वन्धित
मेरा एकजोर पाइतालाहरु
स्वतन्त्र मार्गमा गतिशील भैरहेकाछन्
जुनवेला उसको स्वतन्त्रता खोसीएको थियो
त्यो स्वतन्त्रता अहिले प्राप्त भएकोछ
त्यसैले पाईतालाहरु
आयतनको खोजिमा दौडीरहेकाछन्
पहिचानको खोजिमा लम्किरहेकाछन्
गाउँवाट विलाएका पाइतालाहरु
शहरवाट हराएका पाइतालाहरु
आज पाईतालाहरु कै कोलाहलबाट
नयाँ यात्राको तय गरीरहेछन्
हिजो विर्सीएका पाइतालाहरु
हिजो छोडिएका पाइतालाहरु
आज परीवर्तनको वाटोमा
हुरीवतास भएर वेगीदैछन्
जो यहि देशमा उपेक्षित थिए
तीनै पाईतालाहरु
आज हरेक ध्रुववाट
आज हरेक दिशावाट
आज हरेक स्तरवाट
केन्द्रतिर क्रमश नयाँ सोच लिएर
निरन्तर वढीरहेकाछन्
नयाँ घामको उज्यालो वोकेर
निरन्तर उदाईरहेकाछन्
जुनवेला यिनै पाईतालाहरु
शासकहरुको कालो नियमले
निषेधित थिए
वाञ्चित थिए
पीडीत थिए
तर तिनै शासकहरुको विरुद्धमा
आन्दोलन छेडे पछि
र्इतिहासले नयाँ मोड लिएकोछ
त्यसैले त ती नदेखिएका पाईतालाहरु
आफ्नो अस्तित्व खोज्दै
आफ्नो र्इतिहास खोज्दै
मुल सडकमा आईपुगेका हुन्
त्यसकारण प्रत्येक पाईतालालाई
पाईतालाको सरोकार वढेकोछ
प्रत्येक पाईतालालाई
पाईतालाको अधिकार चाहिएको छ
किनकी पाईतालाहरुलाई थाहा छ
पाईतालाहरुको सम्मान हुनुपर्छ भनेर
पाईतालाहरुको स्थान हुनुपर्छ भनेर
यसरी मसँग सम्वन्धित
मेरा एकजोर पाईतालाहरु पनि
आजभोलि यहि सडकमा मिसीएकाछन
किनकी यो सडक सम्म आईपुग्नलाई
पाईतालाहरुले वलिदान चडाएकाछन्
त्यसैले अव यो सडकमा
हरेक पाईतालाहरुको उपस्थिती
अनिवार्य भएकोछ
यर्सथ यो सडक
हरेक पाईतालाहरुको लागि हो
त्यसैले त पाईतालाहरु
कहिल्यै नटेकिएका ठाउँहरुमा टेकिएकाछन्
कहिल्यै नपुगेका ठाउँहरुमा पुगेकाछन्

पाईतालाहरु हिजो सम्म
सपनाको खोजीमा थिए
स्वधिनताको खोजीमा थिए
स्वतन्त्रताको खोजीमा थिए
तर आज तिनै पाईतालाहरु
सफलताको मार्गमा पुगेकाछन्
अव मसँग सम्वन्धित
मेरा एकजोर पाईतालाहरु मात्र नभएर
सवै पाईतालाहरुले यो सडकमा हिड्ने
समान अधिकार पाएकाछन्
त्यसैले यो सवैको साझा सडक हो

Damodar Pudasainee – Mrit Sagar Ma Tairiyeko Bela

दामोदर पुडासैनी किशोर – मृत सागरमा तैरिएको बेला

पहिलोपटक
आमाको पेटको नूनीलो पोखरीबाट
सँसार हेर्न झरेको थिएँ म
त्यतिबेला
नूनीलोको स्वाद
पत्तै थिएन मलाई
आज मृत सागरमा
नूनको स्वादको सौन्दर्य बुझेपछि
आमाको त्यो नूनीलो पोखरीको स्वाद
किन अनुभूत गर्न सकिन ,पछुताइरहेछु
सायद नूनको असीम स्वादले
लठ्ठिएको थिएँ होला म
आमाको पेटमा
पृथ्वीका सबै प्राणदार खनिजहरूको
छानिदै छानिदै
सम्मेलन भएको छ
इजरायल र जोर्डनका काखहरूमा
सँसारका सबै जिवीत लवणको भेलालाई
जिवीत सागर भन्नु पर्ने हो
तर मान्छेहरू
मृत सागर भनेर चिच्याइरहेछन्
जन्मेका हरेकको
हुँदोरहेछ आ आफ्नै जिउँने कला
सबै लवण एकै ठाउँमा ब्युँतिएपछि
भाग्दारहेछन् सबै ज्यूँदा जीबहरू
जिन्दगीभरि गुलियोको स्वादलाई
पछ्याइरहेँ मैले
नूननै नूनको सागरमा डुबेपछि
जिन्दगीको खास स्वाद त
नूनीलो हुनेरहेछ
बुझिरहेछु
याद छ तिमीलाई
तिम्रो र मेरो प्रेमको
अन्तिम स्वादको मीठास पनि
गुलियो होइन
ब्युँझिन्छ सधैं नूनीलो बनेर
ध्यानबाट निदाउँनुमा होइन
ध्यानबाट ब्यूँझनुमा छ जिन्दगीको आनन्द
मृत सागरमा तैरिएपछि
मृत्युलाई जित्न
म अझै सबल बनिरहेछु
मृत सागर जस्तै मृत्युपनि
साँच्चै नूनीलो,तैरिने र फैलिने
हुने हो भने
कति मीठो हुन्थ्योहोला मृत्युको स्वाद
मृत्यु पनि
निर्मल ,नीलो ,शान्त र स्पन्दित होस्
डुबेर हराउँनुको सट्टा
तैरेर फैलियोस् टाढा टाढा
कामना गरिरहेँ मैले
मृत सागरमा तैरिएको बेला

-२०७५ फागुन ३० विहीबार(२०१९ मार्च १४)
मृत सागर,इजरायल

Krishna Prasai – Gham Sanga

कसरी गर्नु युद्ध घामसँग
प्रकाण्ड ताप,
सहश्र शक्तिका,
अजश्र ओज,

अविरल आगोसँगै
अनन्त योजन अग्लाइको,
अग्नि पिण्ड जो छ
सधै तातो भएर बलिरहेछ
माफ पाऊँ
मैले अंश खोजिरहेकै थिइन घामसँग,
करोडौ अंशियारको
बराबर अंश भएर,
छरिएर,
बाडिएर,
मेरो टाउकोमा
अझै आगो लादिरहेछ ,

घाम स्वयं,
मसंग युर्द्धगर्न खाज्दैछ ।
म भागिरहेछु
रापको आतंक झेलेर
ओत खाज्न हिडिरहेछु
कुइनेटाहरु
गुफाहरु
अलिकति जोगाउनु छ,
छाँद हालेर ।
मात्र बस्ने बासको,
मात्र छेलिने छानाको
खोजिमा छु ।

सेप खोज्दै
ताप भन्दा पर कुदिरहेछु ।
यद्यपि पछयाइरहेछ ऊ
पोलिरहेछ ऊ,
युद्ध गर्ने सहास नै कहा छ र
घाम सँग ?
ए, कुनै उपाए भए बताइदेउ,
म कसरी जोगिन सक्छु ?
मैले आफै माया गरेको ,
मेरो पृय घामसँग ।

Anmol Mani – Jaba Marchhan Mandirkai Dhoka Aghi (Nepali Gajal)

अनमोलमणि – जब मर्छन् मन्दिरकै ढोकाअघि (गजल)

जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू

पखालिन्न पीडाको खत नपुज निर्जीव ढुङ्गा
तिमीलाई नै गिज्याउँदछन् ती पीडाका Continue reading “Anmol Mani – Jaba Marchhan Mandirkai Dhoka Aghi (Nepali Gajal)”

Rakesh Karki – Garo Bho (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – गाह्रो भो (गजल)

आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो
पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो

मुटु चल्यो नशा चल्यो जताततै असर
गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो

बगीरह्यो माया उर्ली आफ्नै विचार भित्र
यसो छोई मुटु खोस्री पटाउन गाह्रो भो

हिँडिरहेँ माया बोकी अँजुली मेरो भरी
जति जुक्ती गरे पनि चटाउन गाह्रो भो

कति कुरो मनभरी अड्किगो कण्ठमा
सन्के पनि रन्के पनि छटाउन गाह्रो भो

लस् एन्जेलस्

Manoj Bogati – Tirkha Ra Pokhari

एफ्रोदाईतको
नग्न फोटो मुन्तिर
लागेको छ आगो ।

त्यो तातेको आनन्दस्थानमा छ
ठूल्ठूलो सास ।

पहाडको रंगहरु बिग्रिएको छ
वर्खा लागेको छ पोखरीमा ।

निभ्दै गैरहेको दुईटा जून छ
अनुहारको रातो आकाशमा ।

निद्रा होईन त्यो पीडा त्यो
सृष्टि कम्पन छ ।

निःशब्द ओठभिर
चर्को उठेको तिर्खा सल्केको छ ।

दुर्गन्धहरुको सुवास फैलिएको कोठामा
दौडिरहेको छ तरंग
बिजुलीको नांगा तार भएर ।

बत्ति जलेको छैन ।
भित्र ऊ / बाहिर म
ढोका खोलेको छैन ।

वारि तिर्खा
पारि पोखरी
पुल लागेको छैन ।

Yuva Baral ‘Ananta’ – Shreemati Ka Sauta Haru

युवा बराल ‘अनन्त’ – श्रीमतीका सौताहरू !

बिहान बेलुकैको उनको असहज हावभावले
त्रस्त् बनेका कविताहरु
उनी आएको मन्द आहट नसुन्दै
छरपष्टै यत्रतत्र भाग्न खोज्छन्
दिमागको हाँगाबाट एकाएक हाम फालेर
समाउँदा समाउँदै फुत्किएर
सम्हाल्दा सम्हाल्दै उछिटिएर
छताछुल्ल यत्र-तत्र अदृष्यतिर विलीन हुँदै
कोहि भाँड़ाधुने बेसिनको नलीबाट
कोहि चुल्हाको धूवाँ जाने चिम्निबाट
कविताहरु हक पाएकी सौतादेखि
दशहात परै पन्छिनछन् ।
सम्झौता विफलै रहन्छ प्रत्येक प्रयाशमा
वास्तविक्ता कि भावुक्ता
दुइमा एक चुन्नु पर्ने शर्त लाग्दा
आफैले बैठक बहिष्कार गरेर
आफ्नै अनुपस्थितिको बहनामा
सम्पूर्ण समर्थन उनैलाई हो भनी
फकाइ फुस्ल्याइ सम्झाईराखेको
भित्रि गुड़ कुरा
आज यसरी खोल्दैछु…।
कवितासंग रम्ने मान्छे दुःखी हुन्छ भन्छिन
कविता रचेर बस्ने मान्छे
निस्क्रिय एवं नितान्त एकलो हुन्छ भन्छिन ।
तसर्थ, उनी प्रेममाथि अतिरिक्त माया थप्छिन
मलाई हरक्षण व्यस्त राख्न, किसिम उपायहरु रच्छिन।
म अघाउँदिन उनको अघोर मायाले
यथेष्ट बन्दैन उनको पगितो माया
कुन्नि कस्तो असन्तोक !
खुस्रुक्कै भावुक समय मिल्यो कि
शब्दका थुँगा गुँथेर
कविता गाँस्न थालिहाल्ने श्रीमानको
पितुर्के आत्मा सम्मानमा सोझै ठेश नलागोस
त्यति सावधानि व्यवहारमा राख्दै
कानको छेवैमा चपक्क अधिकार जमाउँछिन्
न्यानो मायाको त्यही झरिलो मौसममा
एक नाङ्लो वर्तमान केलाउन राखिदिन्छिन
मेरो अघि।
म घरि त्यो अर्धलिखित कविता,
घरि उनको त्यो नाटकीय दुस्साहस निहार्दै
जीवनको अञ्जान परिवेशले प्रदानगरेको
अमिलो उपहास निःशब्द निलिरहन्छु ।
कविता पनि कस्ती लबस्तरी, जिद्दि !
आरतीको घण्टीको आवाज सुनेर
मीठो प्रशादको आशामा भेलाभएका
ती मसिना निश्छ्ल बच्चाहरु झैं
देउता र देवीको प्रतिरुपमा लाम लागेर
मेरो संलघ्नताको बारम्बार साउति गरिरहन्छन
मेरो संरक्षणको निरन्तर अनुनयन गरिरहन्छन ।
म पागल प्रेमि…
कैले श्रीमतीको भइ
उनको अंगालोभरि झुमिरहन्छु
म कायल कवि…
सदैव कविताको भएर पनि
उनकै गालाभरि चुमिरहन्छु ।

Damodar Pudasainee – Jaitun Ka Ankha Haru

दामोदर पुडासैनी किशोर – जैतुनका ऑखाहरू

बर्षौदेखि रौहरू नखौरेर
जिँगरिँग परेको एउटा बुढो मान्छे
भोटबाट खजाना ल्याएका
एक हुल थकित खच्चरहरू
नून ओसारेर नूनिलिएका भेडाका बथान
सबै सबै सुस्ताएका छन् मेरै छहारीमा
र, उत्खनन् गर्न खोज्दैछन्
जिजीबिषाका रेखाहरू

हरेक प्रहरमा रूप फेर्ने पहाड जस्तो
म भने एकै ठाउँमा ठिँग उभिएर
खोज्दैछु बाँच्नुको कलिलो सौन्दर्य

जीवनभरी नयाँ नयाँ भूगोल चहारेर पनि
अतृप्त टाउको भिरेर
अतृप्तिकै अन्तिम सागरमा छटपटाइरहन्छ मान्छे
हिँडदा हिँडदै साथी खोज्छ
संकल्प र बिकल्पको दोसाँधमा भौंतारिएर
बिकल्पका अनेकौं बाटाहरू रोज्छ
पाइलानै नचालेर जीबन सिध्याउनु
र,कसैलाई कानेखुशी र स्पर्शनै नगरी
जीवन भोगें भन्नु
आफ्नै जीवन बन्धकी राखेर
भुर्र उडिरहेका चराका प्वाँखहरू सुमसुम्याउँदै
फूलका कथाहरू लेख्न तम्सनु भइरहेछ

मान्छेहरू फेरिन्छन् क्षणक्षणमा
र हिंडिरहन्छन् नौलो तरँगको खोजीमा
यी डाँडा,मैदान र समुद्रहरूपनि
सधै लालायित छन् आ-आफ्ना अनुहार फेर्न
जसरी फेर्दै फेर्दै नवीन बनाउँन चाहन्छिन्
आफ्नो अनुहार एउटी युबतीले
म भने बगिरहेको समयमा एक्लै उभिएर
आफ्नै डाँठ,हाँगा र पातमा समयलाई खेलाउँदै
समयका हरेक मुहुनाहरूमा
बेग्लै कोणहरू थपिरहेछु

आफ्नै जराहरूमा समयलाई पोको पारेर
फैलाउँदैछु समयको रँग
आकाशका नबीन आयतनहरूमा

समय र सँसार दुबै
रमाइरहेछन् यतिखेर
मेरै आँखाका नानीहरूमा

म संसारसंग प्रेम गर्छु
र ,संसारमा भएका सबैसंग प्रेम गर्छु
मैले तिमीसँग गरेको प्रेम पनि
प्रेमनै हो तिमी मार्फत सबैसँग गरेको
मेरो प्रेममा तिमी र तिम्रो संसार छ
चाहेजत्ति निकाल जीवनका उज्याला रँग
गोल सँसारमा
म गोल दाना बनेर हल्लिइरहेछु

म भित्र पनि
उर्लिरहेछ सागर
जमिरहेछ चट्टान
दबिरहेछन् अनेकौ लाभा र म्याग्माहरू
तिम्रो नवीन स्पर्श पाएको क्षण
म पुरै घुमाइदिन्छु यो सारा संसारलाई
बेग्लै ब्रह्माण्डका ढुकढुकीहरूमा

मेरै फेदको चौतारोमा तिमीलाई भेटेपछि
पसेको छ एक मुस्लो घाम मेरै जराहरूमा
र सम्झौता गर्न खोज्दैछ जूनले पनि
मेरै स्पन्दनका आँकुराहरूसँग

पहाडको टुप्पाबाट
गोरेटोसँगै झरिरहेको हावा
थाहा छ त्यो तिमी बनेर ओर्लिएको छ

दुनै, डोल्पा, २०७४ आश्विन २ गते सोमबार ।

Bipin Singhal – Timi Mero Jindagi

बिपिन सिंघल – तिमी मेरो जिन्दगी

निदाउ तिमी सपनिमा म आउनेछु
रिसाउ मात्र सधै म फकाउनेछु ,

चुच्चे नाकले आभास गर
म सुगन्धित फुल बनँला ,
आफ्नु मुटुमा स्वागत गर
तिम्रो दिलको राजा बनँला ,
प्रकृतिको सुन्दरता सजाउ
म प्रितको बहार बोकि आउँला ,

मायाको रङ्गले महल सजाउ,
बिबाहको प्रस्ताव लिइ आउँला
बस् तिमी अंगालोमा म निदाउनेछु
अज्ज्मबरी को साथ म निभाउनेछु ||

Bipin Singhal – Ankha Rundai chha

बिपिन सिंघल – आँखा रुदै छ

यी आँखाभरीका,
अनेकौं सपनाहरु
ती सजाइएका मखमली
दृश्यहरु आफैंसग बिछडि
आज रुदै छ ,

त्यो मिलेर बस्ने वाचा
आफैसग तोडि ,
रुदै छ यि आँखा ,
ती ठुलाठुला ताराको
अवलोकन गराउदै
त्यस्तै ठुलो मान्छे
बनन्न्नि साचेको यो
आँखा आज पछाडि पर्दै छ ,

न त दुखको साथ खोज्दै छ
न त सुखको हात थामदै छ
हेर ! आज यी आँखा रुदै छ ,

जबजब सपना बुनथ्यो
बेग्लै जीवन लेखन कोसिस गरथ्यो
ति जीवन लेखन कोसिस गर्दा-गर्दै
आफैमा सडी मरेछ आज ,

खै ! अब सपना पनि बुन्छ कि नाइ ,
खै ! आजभोलि आकास कै तारा सग बस्छ कि ,
अत: आज भोलि आँखाे आँखा रुदैन्न ,
हेर ! अब यी आँखा रुदैन्न ।।

Damodar Pudasainee – Maun Bata Haru

दामोदर पुडासैनी किशोर – मौन बाटाहरू

एक साँझ भेंट हुँदा
सेतो चुवा फूलबाट ओर्लेर
हामी दुबैसँग कानेखुशी गरेथ्यो
ममतामयी वतासले
अहिले सँसारको जुनसुकै कुनामा पुग्दा
त्यही बतासले सुमसुम्याइरहन्छ

तिम्रो सामु
पेश गरिरहेछु एउटा निवेदन
कि ,आँखाको सत्यलाई
नगरियोस् नाटकमा रूपान्तरण

तिमी रारामा जाँदा
उडाउँनु रँग रँगका चँगाहरू
ती चँगाहरूमा नझुण्याइयोस्
सपना र प्रेमका हत्याराहरूका ताज़ा तस्बिर

तिमीले लेख्ने हिमालेखमा
कसरी ब्युँझायौ मान्छेलाई
तिमीले फर्केर दिने उपहारमा खोतल्छु मैले

आगोको मुस्लोबाट ओर्लेर
तिमी
हिमरसमा अक्षर रोप्न हिंडेको खबर छ
हिउँका कण कणमा
आगोका फिलिँगा,फुलका थुंगा,हिँडिरहेको चन्द्रमा
र,बोल्नै नसकेका मान्छेहरूका दमित आवाजहरू  छन्
त्यो तिमीले ल्याउँनुपर्छ पोल्टाभरि

तिमीले छाता नओडेको राम्रो
तिमीले छाता ओडेको बेला
छाताले खुरूखुरू चोर्दोरहेछ तिम्रो  मुहारको इन्द्रेणी
पर्दा बनेर छाता मुस्कुराइरहेको थाहा पाएर
रक्तचापमा रिँगिएर एक्लै आगों जल्न थाल्दोरहेछ घाम

उकालो चढने बाटाहरू
घुमाउरा र अप्ठेरा छन्
तिम्रा स्वाभिमानका चेतहरूमा
घाउ ठड्याउनेहरूपनि भेटिन सक्छन्
हिँडदाहिँडदै टुँगिन सक्छ बाटो
बाटो टुँगिदैमा कहाँ टुँगिन्छ जिन्दगी

अरू कसैले निर्माण गरेको बाटो टुँगियो भने सम्झ
तिमी सामु उभिएकोछ सँभावनाको बिशाल घाम

घाम र जिन्दगी दुबैलाई
नयाँबाटोबाट उकालो चढाउँन सक्नुपर्छ अब

एउटा जादुई सहरलाई
निसास्सिदो धूलो,बेहोशी दुर्गन्ध
र मान्छेका जालसाजीले
खण्डहरमा रूपान्तरण गरिरहेछन्
त्यही देखेर
दाह्रा किटिरहेछु म

तिम्रो आगमनले कमसेकम निम्त्याओस्
कँचन तरल र बिजुली झट्काको रूपान्तरण

आगोका फिलिंगाहरूबाट
हिमज्योति खोतल्न निस्किएकोछु म
हिमतालहरूमा आगों ब्युँझाइरहेको बेला
भेट हुनेछ कतै तिम्रो र मेरो

हिउँ र आगोको जुहारीमा
किन तेल थपिरहेका छैनौ हामीले?

बाटाहरू मौन छन्

-२०७६ बैशाख २० शुक्रवार
जेनल होटल,बिराटनगर

Keshav Baniya – Mero Antim Bheti

केशव बानिया – मेरो अन्तिम भेटी

निर्भरताको पनि हद हुन्छ,
बेइज्जती र बेशर्मिको,
कात्रो ओढेका हरुझैँ,
मेरो निश्चिति कालदेखी डराएर,
हरेक बिहान,
आशावाद्को नाउँमा,
भोलि बाच्ने रहर जप्दै,
कालभैरबको खुशीका निम्ति,
काँतर हरुको लाममा,
मेरो घडीका पलाहरु खेर जाँदा,
ढुङ्गो अघि घण्टी बजाउन,
मन्दिर,
किन पो जान्थे र म !

निर्दयी भन मलाई या कठोर,
तिम्रा ती खोक्रे शब्दहरुले,
मेरो दिमागमा ठाउँ पाउने छैनन्,
भावनाले रित्तिएको मनलाई,
मृत्युराज यमको गर्जनको पनि त्राश हुँदैन ।

आन्द्रा बटारीँदा,
डाँडा गन्दै, खोल्छा उछिन्दै,
अँध्यारो उज्यालो, असिना पानीमा,
मनलाई धितो राख्दापनी,
जिन्दगीमा धर्मले छहारी दिनसकेन,
मन चुँडेर मरेतुल्य हुँदा,
शरीरका हातपाउ लुछिएर,
आकाशबाट गिद्धेनजरले,
शिघ्र पतनको संकेत पाउँदा समेत,
सास निभेको आशलाई,
जमिन खनी,
कतिचोटी व्युँताएर,
बादल ढुक्दा पनि,
खडेरी परेको जिवनमा,
वर्षातको मिठास छर्न सकेन।

सायद,
आज धर्म भ्रष्ट भैसक्यो,
या त,
देवतामा विश्वास राख्नु,
आफ्नै बेवकुफी हो,
जे होस,
कर्मको मेलो खान सिकिसकेँ मैले,
त्यसैले,
अब धर्मले घचघचाउन न आउ मलाई,
जिस्किएको सिम्हले,
सारा धर्म नै लछारिएला नी,

लक्ष्यबिहिन आत्मा सरि भट्केको म,
धर्म छाडेपछि शान्ती मिल्यो,
बल्ल ज्ञात भो मलाई,
मेरो गन्तव्य के हो,
मेरो कर्म के हो,
कसैको हितको प्रवाह छैन मलाई,
र हित गरेर,
यो पापी संसारलाई,
गुण लगाई,
नर्कको भाग्य को चाहना पनि छैन,
मलाई।

सबल भै बाँच्न सिकिसके मैले,
कसैको आश राख्नु,
मेरै कमजोरि गनिन्छ यहाँ,
कर्मले नभ्याएको दुई निमेषको पनि,
जरुरत छैन मलाई,
भोलि बाँच्नका निम्ति खाने भातमारा हरुको,
कायरता पूर्ण मार्गलाई चुनौती गर्न चाहन्छु म,
आज,
मेरो पवित्र कर्मको ढुकुटी मा,
मिलाउन चाहन्न म,
धर्मको धमिलो आश,
कर्मले नभ्याए,
सागर तर्न तयार मेरो तनले,
खेद प्रकट गर्नु पर्ने छैन,
धर्मको साथ नपाउदा ।

यो स्वार्थी संसारका, स्वर्थी मानिसले,
बनाएको स्वर्थी भगवान सामु,
म स्वर्थी बन्न चाहन्न,
झुक्न चाहन्न म यी दल्ले मसिहा हरु अघि,
पटकपटक दु:खका घनले,
ठटाइएर,
फलाम बनिसकेको मेरो भाग्यका,
नवग्रह माथि ,
शनिचर प्रवेश गरेतापनी,
मेरो मृत्युले समेत,
कसैको आशको प्रतिक्ष्या गर्नु पर्दैन,
न केही गुमाउनु छ, न केही पाउन कसैको,
त्यसैले,
मन्दिर, किन पो जान्थे र म !

Samarthya – Nitse

सामर्थ्य – नित्से

“भगवान खोज्न
नित्से दिउँसै लालटीन लिएर निस्कन्थे”
दर्शनशास्त्रको एक कक्षामा प्राध्यापक भन्दैथिए
सबै अचम्मित भएर सुनिरहेकै बेला
कोही कुनाबाट बोल्न चाह्यो
उसले हावामा बिस्तारै हात हल्लायो
र भन्यो
“भगवानको परिभाषा के हो?”,
“देख्यौ! यस्तो छ स्थिति!
दानवहरु!”
उसले भगवान मान्ने गरेको
गुरुको कुराले उसलाई
देवतामाथि शङ्का उत्पन्न भयो
कहिल्यै नआउने गरी
उ कक्षाबाट निस्कियो

त्यसपछि उसलाई जसले देख्यो
उ भन्ने गर्थ्यो
“उसको हातमा ठूलो लालटिन थियो”

Samarthya – Pati

सामर्थ्य – पाटी

गन्तव्य बोकेर हिँडेका
केही हुल छापामारहरुले
शहीदका नाममा
एउटा पाटी बनाइ छाडेका थिए
जसमा
बालकहरु युद्धको सिको खेल खेल्थे
युवकहरु जम्मा हुन्थे र घण्टौँ टोलाउँथे
अनि वृद्धहरु मृत्यु पुकार्थे
यो प्रकृया चलिनैरह्यो
जबसम्म
केही लेख्न बुझ्न सक्नेहरुले सोचे
अब यो पाटीका भित्ताहरुमा केही लेख्नुपर्छ
उनीहरुले निक्कै मर्मस्पर्शी लेख्ने प्रयासमा
लेखे-
“यहाँ बस्ने तपाईं
या गन्तव्यमा हराउनु भएको छ
या गन्तव्य हराउनु भएको छ”

उनीहरुले यो बिर्सिसकेका थिए कि
गन्तव्य बोकेर हिँडेका
केही हुल छापामारहरुले
शहीदका नाममा
एउटा पाटी बनाइ छाडेका थिए

Shekhar Dhungel – Mauka Ma Chauka Hana

भन्नेहरु भन्दै गर्छन्
सक्ने ले गर्ने हो
खाको लाको पाको
नेपाली को उखान सबै ले थाहा पाको

लुट्नेहरु निर्धक लुट
कानुन देखे पार्टी को झन्डा लुटक
हत्यारा लाई शाहीद घोषणा भएको
देश मा अपराध लाई कस्ले रोक्छ ?

माग माग आजै क्षति पुर्ती माग
जेको पनि माग्ने भए
आमाले ९ महिनासम्म पेटमा
कब्जा गरेकी थिइन त्यस्को पनि माग

खोतल खोतल मौका यही हो
जता ततै खोतल
जहाँ सम्म आफु आएको ठाउँ देखिन्न
तब सम्म खोतल

तिम्रो आँशु मात्र मोती
अरुको आँशु बर्षा को पानी
कतिसम्म लुट्छोउ लुट देश
नेता रुपी देश का बेइमानी

तोपी फालेउ दौरा फालेउ
पात्रो पनि फाल्ने भन्छोउ
फाल् फाल् पालै पालो
पशुपती बुद्ध र देशै फाल्

Basanta Mohan Adhikari – Manchhe Kahan Tarchhan Hola [Nepali Gajal]

बसन्त मोहन अधिकारी – मान्छे कहाँ तर्छन होला

मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला
रगतको खोला बिच मान्छे कहाँ तर्छन होला

जन्मपछि मृत्यु हुन्छ, मानवको शरीर यो
मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला

पर्दा भित्र बसि मान्छे रगतको होली खेल्दै
मरेको यो लास माथि फूल किन छर्छन होला

आकाश रोयो धर्ती रोयो तर मान्छे रोए छैन
मान्छे मार्ने मान्छेहरु राक्षसमा पर्छन होला

मर्ने त यो शरिर हो मानव आत्म मर्ने छैन
आत्मा चिन्दै धर्म गर्न कैले मान्छे मर्छन होला

Deepak Jadit – Ek Tukra Kagaj

एउटा टुक्रा कागज
धेरै अघिदेखि म
कोर्दै मेट्दै कोर्दै मेट्दै
थोत्रे पारिरहेथेँ
गज्याँङ्ग मज्याँङ्ग अक्षरहरुको
केरमेट केरमेट चित्र कोर्दै
कागजमा खुरुखुरु
मैलाई सारिरहेथें
लाग्थ्यो
मान्छेले यस्लाई बुझ्न नसक्लान्
त्यसैले हो क्यार
हुर्याईदियौ तिमीले
त्यो चिर्कटो पढ्न नसकेर
र भुईँमा म यतिखेर
त्यही टुक्रा कागज दुखेको छु ।

Bigyan Darshan – Yesai Gari Usai Gari (Nepali Gajal)

विज्ञान दर्शन – यसै गरी उसै गरी (गजल)

यसै गरी उसै गरी बाँच्नु छ
अझै कति मरी मरी बाँच्नु छ

सधैँ सुखै सुख कहाँ मिल्छ र,
कष्ट सही थरी थरी बाँच्नु छ

नजाने कहाँ टुंगिन्छ जिन्दगी,
हरिकै भरोसा परी Continue reading “Bigyan Darshan – Yesai Gari Usai Gari (Nepali Gajal)”