Mohan Banjade – Maghe Sankranti Ra Tarul Ko Chinta

मोहन बन्जाडे –  माघेसंक्रान्ति र तरुलको चिन्ता

ऊ बेला सूर्यास्त नहुने उपनिवेशले
आँखा लगाएको मेरो माटोलाई
दुई ढुङ्गा बीचको तरुल भनेर
तिमीले त्यो बेलाको समय चिन्यौ
बाइसी चौबीसी टुक्रामा बाँडिएको भूमिलाई
मुलुकको नूनको सोझो गर्ने अभियानमा
ठिही र पशिना खप्दै
चार वर्ण छत्तिस जातका निम्ति
बाह्र हजार घरधुरीको आशिर्वाद लिएर
तिमी तरुललाई ढुंगा बनाउन हिड्यौ
तोपको जबाफ दिन
खुकुरी बोकेर हिड्यौ
अरु तीर्थाटन गर्न जाने ठाउमा
तिमी बन्दुक खोज्न पुग्यौ
बिसे नगर्चीहरुले जोगाएको खर्चबाट
जुटाएको रसदपानी एवं बन्दोवस्तीका सामान र
भिन्न विश्वासका दुई मिस्त्री समेतले
बनाएका बन्दुकबाट
जोगाएको त्यो तरुललाई
ढुङ्गो( त्यो बेला देशलाई ढुङ्गो पनि भनिन्थ्यो) बनाउन
कालु पांडे र झागल गुरुङ रोज्यौ
न्यायका निम्ति पण्डित, ठकुरी र मगर
अर्थात् ज्ञान, साहस र इमान्दारी खोज्यौ
युद्धमा नेतृत्व कसको गराउने भनेर सोध्यौ
घुस रिसवत लिनेको त धनजीव गर्नुपर्ने भन्यौ
खेति गर्ने , खानी चलाउने ठाउँ छान्यौ
अंग्रेज वैरीलाई सिन्धुलीगढीमा रोक्यौ
कश्मिरको वैरीलाई मकवानपुरमा छेक्यौ
देसी महाजनलाई गोड प्रसाह मै तगारो हाल्यौ
यतै तुन्न भन्यौ, यतै बुन्न भन्यौ
आफैले खन्न भन्यौ आफैले जोतौँ भन्यौ
जडीबुटी बेचेर नगद खैचन भन्यौ
झोली थाप्न होइन आत्मनिर्भर बन्न भन्यौ
यतैका नाच हेर्न सिकायौ
यहीको लागि सास फेर्न फकायौ
वैरीका जासुस बेतिया पठायौ
थिति र न्यायका कुराबाट कानूनी राज सिकायौ
प्रजा बलियो बनाउने कुराले प्रजातन्त्र चितायौ
यो सबै नपचेर
ऊ बेला चोला फेरेर आएका जासुसले
उताको श्रीपेचमा दाखेल गरेको
घृणा पत्र पढेर
तिमीले ढुङ्गो बनाउन खोजेको
त्यो बेलाको तरुल विरुद्ध
कुण्ठा वान्ता गर्दै छन् रे कोही
र पनि अरु महरु, मनहरु
यो माघेसंक्रान्तिमा
अझै ढुङ्गो बन्न नसकेको तरुल
जासुसका सन्तान र तिनका खेतालाबाट जोगाउन
जाग्दै छन् जुर्मुराउदै छन्
हुन सक्छ कुनै दिन
असभ्य र सैतानको पगरीबाट दिक्क भएर
तिनमा पनि प्रायोजित घृणा र कुण्ठा सकिने छ र
तरुललाई ढुङ्गो बनाउन
तिनीहरु मध्ये कैयौ
यतै पंक्तिवद्ध हुनेछन् |

(स्रोत : सदृश्य डट कम)

Bhimidhi Tiwari – Baalak

भीमनिधि तिवारी –  बालक

देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि
दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते !
फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी !
देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको !(१)

झुत्राझुत्रा तान्द्रातान्द्रा हा ! वस्त्रविशेष थियो उसको । सारा लट्टा,
जमठ भएको कपिल कपाल थियो उसको । शुष्क ओष्ठ बीचमा
सस्मित दंत थियो उसको, आँखाको डिलमंतिरचाहिं आँसु-थोपा
टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको ! (२ )

यस दुनियाँमा गरीबहरुको पीरपिराउ हेन को ? निःसहाय
अनाथहरुको आर्त्तनाद सुन्ने को ? मर्नेचाहिं मरिरहेछन् ।
एक वचन बोल्ने को ? सहानुभूति, सहायता गर्ने को ? कस्तो न्याय
विधाताको । रोईरोई विचरो बालक चुस्थ्यो दूध मृत माताको ! (३ )

रात्री झन् झन् चढ्दै आयो, कर्कश स्वर –ध्वनि उलूकको । सब
सडक सुनसान मसान समान भो, बहन्छ वायु हिमगिरिको !
कता कताबाट सुदूर स्यालको आउँछ आवाज प्रतिध्वनिको ।
घाँटी टप्पटप्प सुकाई टुहुरो बालक चुस्थ्यो दूध मृत माताको ।(४ )

उषाकाल भो । चराहरु बोले घण्ट सुनियो मन्दिरको । दूर पूर्व
पहाडमा मधुर लालिमा, रंग बदलियो धरातलको । पहिलो
ज्योति त्यही पाटीमा आयो, हेर्यो , भास्करको । देख्यो के ?-क्षुधित
नग्न, कृशतनु, प्रायः मृत बालक चुस्थ्यो दूध मृत माताको !!! (५ )

(कविता सङ्ग्रह “कविता-‘नन्द’” बाट )

Bhimnidhi Tiwari – Aakhir Sab Ho Maato

भीमनिधि तिवारी –  आखिर सब हो माटो

आखिर सब हो माटो
श्रीपेच हुमाउ, झुत्रो टोपी, को ठूलो ? को सानो ?
पुग्नु पर्ने ठाउँ उही हो सबको उही हो बाटो

आखिर सब हो माटो
रानीले पनि राजा छोड्छन्, अनि राजाले पनि रानी
गरीबहरुको पनि यसरी नै हुन्छ एक दिन फाटो

आखिर सब हो माटो
ताश, कुचिन, मखमल अदि थोत्रा बोरा, भाङ्ग्रा हुन्
गहना गुरिया, व्याज र तक्मा केहो ? – कालो टाटो !

आखिर सब हो माटो
सारा रत्नहरु, सुन,चाँदी पत्थरका हुन् प्रतिमूर्ति
महल, झुपडीमा फरक देख्छ जो त्यही हो अंधो लाटो

आखिर सब हो माटो
तेरो मेरो मेमे तेते गर्नु भारी भ्रम हो है !
आउने जाने, जाने आउने यो संसार दोबाटो
आखिर सब हो माटो

(भीमनिधि तिवारी भजन सङ्ग्रह “बयासी भजन” बाट )

Shree Bhakta Paudel Afanta – Harayeka Sapana Haru

श्रीभक्त पौडेल “आफन्त” – हराएका सपनाहरु

हराएका छन्,
यहिं कतै
मेरा निर्दोश सपनाहरु
कतै सागरका लहरहरुमा
कतै रहरका शहरहरुमा
मरेका त अझै छैनन्
भरोशाको खम्बाहरु मजबुत् छन्।

तै पनि धमिलिएका छन्
शुभ बिहानीका प्रहरहरुमा।
तारा झैं छरिएका थिए
निला गगनमा, टिलपिल टिल्पिल
हेर्दा हेर्दै मधुरिएका छन्
सांघुरिएका छन्,
पर्वतिय डगरहरुमा।

बेजोड मेरा सपनाहरु
कतै कठाङ्ग्रिए, कतै पग्लिए
रेगिस्तानी नगरहरुमा।
निर्दोश मेरा सपनाहरु
शरदका जून झैं हांसेका थिए
बषन्तका फूल झैं फक्रिएका थिए
परन्तु, हिजोआज
डराएका छन्,थर्थराएका छन्
अग्रिम सूनामीका हल्लाहरुले झैं
यहाँका हरेक नजरहरुमा।

थाहा थिएन मलाई
यहाँ सपनाहरु बिक्दा रहेछन्
बेचिंदा रहेछन्
लिलाम् बढाबढको सुचना बिनै
त्यही सपनाका बजारहरुमा।
सायद, त्यसैले
गुमनाम छन् मेरा सपनाहरु
बद्नाम छन् मेरा सपनाहरु
भबितब्यका जहरहरुमा।

हराएका छन्
मेरा निर्दोश सपनाहरु
यहिं कतै
सागरका लहरहरुमा
कतै रहरका शहरहरुमा…

Bhawani Tawa – Manshahari Ful

भवानी तावा – मांशाहारी फूल

फूलको परिभाषा उहिले बाजेले सुनाउँदा
अर्कै सुनेको थिएँ –
फूल त सुन्दर/कोमलताले मस्किएर
लोभ्याउँदै फुल्छ/हाँस्छ लुकेर
अनि प्राणप्रिय बन्छ रे ।

रगतको भेलमा उत्पत्ति भएको
युद्धपिपासुहरूको अनुहार बेस्मारी चपाएर
मान्छेको सिङ्गो अवयवले अघाएको
आलो रगतहरूको बाढीले मातेको
पप्पीको इतिहास सुन्छु
कहाली लागेर आउँछ ….
मान्छेहरूले वीरताको प्रतीक मानोस्
या विश्वयुद्वले परेड खेलको रगतको आहालमा
चपाइएका अनुहारहरूको स्मृति दिवसको ऐतिहासिक गाथा भनेर
पप्पी ‘डे’ मनाओस्
तर त्यो फूललाई
म त हिंसाले अघाएको फूल भन्छु
र, सबै फूलको पछाडि त्यस्तै यौटा
कहालिलाग्दो इतिहास छ जस्तो लाग्छ ।

समयले मान्छेलाई
परिवर्तनशील बनाउँदो रहेछ
जमानाको इडिपसजस्तै
हगेपछि दैलो देखेर के गर्ने – तर
आजकल त जानी-जानी दैलो हग्ने शक्तिको बानी छ
हो, त्यो दुर्गन्धले पालेको वर्तमानमा
पर्यावरणको कथा च्यातिएर
धुजाधुजा भएको छ, र
मैले कल्पेको सुन्दर फूलभन्दा
मांशाहारी फूल इतिहासले नटालिने भएको छ ।

त्यसैले परागसेंचन गर्ने ज्यामी मौरीहरूले
भाले मौरीले जस्तै
त्यो फूलको सामु मृत्यु स्वीकार्नुपर्छ
फूलको इतिहासमा –
क्षेप्याश्त्र रस बेस्मारी पिउनै पर्छ, र
यो अणु/परमाणुको रगतले सिंचिएर
निरपराध जैविकहरूको हत्या गरेर
यौवनको उल्लासमय आकर्षामा लोभ्याउने
प्रत्येक फूलको युग फलाक्नु पनि अपराध हुने भएको छ
त्यसैले अब पप्पीको कथालाई कसरी सुनाउने ?
कैयौं प्रजातिका मांशाहारी फूललाई के भन्ने ?

फूलको यो प्रश्नले
मानव समुदायमा पनि प्रश्न खडा भएर
प्रश्नलाई हत्केलामा खेलाउँदै
आफ्नै मुटुको एक भाग भनौं या नभनौं
मैले स्वीकारेको
मेरो यौटा मृत्युमा
श्रद्धास्वरूप तिगेजङ्नाजस्तै क्रन्दन घन्काएर
दाह-संस्कार गर्ने शुनःशेपको अगाडि
म अजीगर्तको हिम्मत लिएर आज
आफ्नै छोराको हत्या गर्दै छु ।

लोभ-लालचले मलाई यहाँसम्म गिराएको छ
परिवर्तनशील यो वर्तमानमा/बाध्यतावश
मान्छेले फूलको इतिहास पढेर कहालिनुपर्छ
मांशाहारी फूलसँग जोगिनै पर्छ, र
अजीगर्तलाई घृणाले तिरस्कार गर्नुपर्छ ।

आज म –
सबैसँग कहालिएर भाग्दै छु
निर्बिघ्न बाँच्नुको लागि
तीतेपातीको पानीले अवयवभरि छिट्याएर
आफ्नो माङ्गेना गर्दैछु ।

मेरो आयु त थपिन्छ थपिन्न –
थाहा छैन –
तर भावनामा पग्लेर
सुन्दरताको मोहले झण्डै म
स्फिंक्सको आहारा भएको छु
मेरो कायाकल्प चपाएर त के भो ?
एकमुठी माटोमा बिलाउने नश्वर देह
कालयात्राको टुङ्गाउनी पर्खंदार्-पर्खंदै
अकालयात्राको चक्रव्यूहमा रुमल्लिएर
यहाँ माङ्साहारी फूलमा बली चढेका ज्यामी मौरीजस्तै
प्रलोभनमा फस्दा-फस्दा
अब मृत्युको खाडलबाट हाम्फालेर
निर्वाध बाँच्न यहाँ गाह्रो भइसकेको छ
तर फूलसँग घृणाको संकल्प जपेर
अझै पनि –
यहाँ हिङ्स्रक र
शान्त विचारको अन्त्याक्षरीहरू हेर्दै छ
हारजीतको फैसला सुन्नलाई स्प्रिmङ्सको मूर्तिलाई बोलाउँदै छु ।

र, मूर्तिको पाइलाले नापेको यात्रामा –
कैयौं दिन मरुभूमिको बाटो हिँडेर
मैले पढेको पाठशाला र
बेविलोनको हेङ्गिङ् गार्डनको पाठमा
मरुभूमिको बालुवा केलाउँदै
शोक सन्तप्त र उद्विग्न कथाहरू पढ्दा
नेबुचोड्नेचरले बगैंचाभरि
सुन्दर/कोमल फूल रोपेका छन् भन्थे ।

तर मेरो प्रत्यक्ष यात्राको अनुभूतिले त भन्छ –
यस परिवर्तनशील भू-भागहरूमा
बगदादको बगैंचामा सद्दाम र बुशले रोपेको
लादेनको अस्थिरपञ्जर चपाउन
तालेवानले हुर्काएको
खिनौटिएका मांशाहारी फूलहरूले
धेरै मान्छेहरूलाई क्वाप्प-क्वाप्प निलेका छन्
म सम्झनाले रन्थनाउँछु
बेविलोनको फूल मायालु रानीको थियो होला
तर बगदादको फूल स्वार्थको थियो
कन्धाहारको फूल आतङ्क र दमनको थियो
वर्तमानको शक्ति विमोचनलाई लोकार्पण गर्न
यौटा माखेसाङ्लोको फन्दामा फसेका
ज्यामी मौरीहरूको अन्त्यको साक्ष्य इतिहास थियो
अत्याचार मुक्त दासत्वको न्यानो थाङ्नाको थियो ।

र, शान्ति र हिंसाको यो पृथकताले
आफै अचम्मित भएर
कहिलेकहीँ कल्पनामा डुब्छु
यो हिङ्स्रक उपार्जक भूमिको
कहालीलाग्दो मृतक इतिहास सुन्दै
शून्य आकाशमाथि कावा खाएर
क्षत-विक्षत धर्तिको कायाकल्प खोतल्ने
हिङ्स्रक कावाबाजीहरूलाई प्रतिक्षण रमिता हेर्दै
सन्त्रासको भूमरीमा जिउनुभन्दा
बेकसुर सत्यताको कायाकल्प टक्टक्याउँदै
कता-कता अर्काडियामा हराउन मन लाग्छ ।

Baidyanath Upadhyaya – Maya

वैद्यनाथ उपाध्याय – माया

पीडाले छताछुल्ल भएर
पोखिएको छ दूख
मेरो जीवनको फाँटभरि
म त्यो आकाशलाई
माया गर्छु
म यो धरतीलाई
माया गर्छु
म त्यो फूललाई
या कि त्यस्को सौन्दर्यलाई
माया गर्छु ?
यो माया
कहाँबाट उब्जन्छ
अनि कहाँ बिलाउँछ ?
अप्ठ्यारो भएर
काँडा जस्तै
कहीं बल्झिरहेछ
समय !

Bipin Singhal – Maun Ankha

बिपिन सिंघल – मौन आँखा

आँसु कलकल बगिरहेछ
आँखा मौनतामै पुरिएकोछ |

अनेकौं सपना….
सैद्धान्तिक चाहना…
जिन्दगीको छ ठुला ठुला रहरहरु ?
जिन्दगीको मरण हुने वित्तिकै ?
शरीर को खरानी संगै नष्टिन्छ सारा रहरहरु,
शरीरको आत्मा संगै उडेर जान सक्छ ती सपना |

बेचैनि छ केही सपनालाइ
बिपनामा परिवर्तन गर्ने मन्द,
जबसम्म साँस र दिमाग
छैन बन्द ,
जाबो झन भरिको मौजाको लागि
यत्रो मेहनत गर्दै छु…
आखिर एकै साँस ले जिन्दगी खोस्नेछ |

ढकमक्क सज्न नसके पनि
सजेका थिए केही सपना
समयको कलकल संगै
ओइलेर गयो ती सजिएका सपना |

सालिक पुरिएको धूलोमै
मिसियो मेरो शरीरको खरानी ,
खै किन भग्वनले मान्छे बनाउछ ?
खै किन मान्छेले सपना बुन्छ ?
खै किन सपना कै लागि आँखा रुन्छ ?
खै किन आँखा मौनतामै पुरिन्छ ?

Abhi Subedi – Maya Ko Dhisko

धेरै बगेपछि
आँशु जस्तो पानी
सुकेर गए पनि
आकाशमा कटक्क माया लाग्ने
ढिस्को बनाएर जाँदो रहेछ ।

Nawaraj Subba – Yo Sadak Kasko ho?

नवराज सुब्बा – यो सडक कसको हो ?
(मधुपर्क बैशाख, २०६७)

अपहरित यो सडकमा
पहिलो कुरो त
गुड्नलाई पेट्रोल छैन
छैन इन्धन गाडीमा, छैन कहिले पेटमा
कहिलेसडकजाम छ, कहिले चक्काजाम
यस्तै खाल्डाखुल्टी छन् सडक र छातीमा

अरुसित कहिले आफैसित छेलिएर
अनगिन्ति खाडलहरू छिचोल्दै हिँड्नु छ यात्रामा
आइपुगियो आज यहाँ
सायद पर्खदै होलान् कसैले मलाई कतै
मुख्य कुरो भोक निभाउनु छ घरको
अनि धेरैको आँखा लागेको यो स्वतन्त्रताको यौवन
बचाइ हिँड्नुको पीडा सुनाउनु छ सबैलाई
आज अचानक म र मेरो घरबीच बाटोमा
कˆर्यूको फणा फिँजाएर निर्लज्ज बसेको
यो सडक कसको हो ?

जीवनलाई सडक बनाएरै हिँडियो यतिन्जेल
तर गन्तव्य सर्दै गयो क्षितिजसँगै परपर
यो यात्रा, पङ्चर टाल्दै जानुपर्ने चक्का अनि
घरिघरि बन्द भइरहने इञ्जिन चलाएर
घिसार्दैछु म यता जीवन
टायरको धूँवामा निस्सासिएका आशा निल्दै
सिकारीझैं यात्री ढुकेर बसेको छ उता सडक
जो अमिलो, अपच, सन्त्रासका फाल्साहरू
बाटाभरि छताछुल्ल बमन गरेर
बेमौसम लम्पसार छ आज
जहाँ यात्रीले बिना अपराध
जरिबाना तिर्दै हिँड्नु छ
म त साँच्चै अल्मलिए
यसरी मन माड्दै हिड्ने
यो सडक कसको हो ?
मनहरू भाँड्दै हिड्ने
यो सडक कसको हो ?

Chandani Shah – Aanshu Ra Suskeraka Bacha Haru

चाँदनी शाह – आँसु र सुस्केराका बाचाहरु

आँसु र सुस्केराका बाचाहरु
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
हाँसो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)X2
माया र विश्वासमा कहिले ( बाचा बाँधिन्नन्)X२
साक्षी चाहिन्नन् त्यहाँ किरिया खाइन्न
आँसु र सुस्केराका बाचाहरु
हाँसो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)X2

(लाग्दछ माया त्यो लाएर कँहा लाइने होर)X2
(खोसेर पाइन्न त्यो न त माग्दैमा दिइन्छ)X२
(समय बद्लिँदैमा बद्लिने त्यो होइन)X2
(जिवनको परिधिभित्र सिमित त्यो छैन)X2
आँसु र सुस्केराका बाचाहरु
हासो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)x2

(सम्झाउन सिकिन्न केही परिभाषा दिएर
पिरतिको छैन यहाँ खोजेर उपमा कुनै)X2
(देखाउन सकिँदैन केही प्रमाण दिएर
तेस्को छँदैछैन पाइन्न यहाँ आकृती कुनै)X2
आँसु र सुस्केराका बाचाहरु
हासो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)x2

शब्द : चाँदनी शाह
सङ्गीत : नातिकाजी
स्वर : तारादेवी

Giri Shrees Magar – Prashna

गिरी श्रीस मगर – प्रश्न

लग्यो पानी विदेशीले हाम्रो धारा उजाड छ।
न जिउमा लुगालत्ता मुखमा त्यो न माड छ।।
बिजुली सपना झैं भो देश नै अन्धकार भो।
सोध्दछ आज नेपाली यो कस्को सरकार हो?

दुखेको जनवस्तीमा Continue reading “Giri Shrees Magar – Prashna”

Chandani Shah – Yeti Thulo Sansar Ma

चाँदनी शाह – यति ठुलो संसारमा

यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन
यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो – तिम्रो माया
कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने
कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए

मन मानिसको कहिलेकाहीँ सानै कुरामा चस्किएर दुख्छ
यस्तै समय हो मनको बह पोख्न तिम्रो म सहारा खोज्छु
खुसी मानिसको कहिलेकाहीँ यति अथाह चुलिदिन्छ
यस्तै समय त्यो खुसीको टह रोप्न तिमीमा बाँड्न खोज्छु
यति चोखो पिरतीको मेरो भन्नु एउटै चिज छ – तिम्रो निष्ठा
यति थुप्रै कल्पनाका मेरो भन्नु एउटै साथी – तिम्रो साथ
यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन

एकाबिहानै के गुनासो पोखूँ भनी हाँसेरै बिताई दिन्छु
कहाँ समय छ व्यस्त ठाउँ भरदिन कसरी म केही भनूँ
बस्छु पर्खेर म ढल्केको रातसँग फर्किन्छौ अतीत भई
हेर्छु टोलाई म मुहार तिम्रो कुन मन दिई मुटु मुस्कुराउँ
यति सुखसयलमा मेरो भन्नु एउटै खुसी – तिम्रो खुसी
यति व्यस्त जीवनमा मेरो भन्नु एउटै शान्ति – तिम्रो छाया

यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन

शब्द : चाँदनी शाह
स्वर : तारादेवी
सङ्गीत : नातिकाजी

Kedar Shrestha – Itihas Ma Sainla Dai

ए साँइला दाइ
म तिमीलाई भन्दैछु
हो तिमीलाई
यी धानका बालाहरु
बहेली खेल्दा
तिमी आलीमा बसेर
मन किन फुलाउँछौ
किन देख्छौ
भकारीका सपनाहरु
हो यो तिम्रै पसिनाको बीज हो
होइन भनेको छैन मैले
यो तिम्रै Continue reading “Kedar Shrestha – Itihas Ma Sainla Dai”

Bishnu Neupane – Sirjana Ko Maali Banu

विष्णु न्यौपाने – सिर्जनाको माली बनूँ

म आफ्नै जराले सकूँ टेक्न धर्ती
नयाँ स्वर्ग आफ्नै सकूँ लेख्न धर्ती ।
गरी कर्म प्यारो सबैकोे छहारी
बनूँ एकताको झरीलो चिनारी ।।
(१)
म नेपाल वासी म हूँ कर्म योगी
म जन्मैं बने हूँ स्वयं बुद्ध बोधी ।
हिमाली कुवाको जलाधार प्यूँदै
म हाँकीरहेको छु ब्रम्हाण्ड सिङ्गै ।।
(२)
कतै उच्च थुम्का कतै दून बेंसी
कतै झुम्म बस्ती कतै सम्म खेती ।
म लेखूँ नयाँ देशको गीत यौटा
खुलाएर आत्मा सबैका अनौठा ।।
(३)
छ नेपाल मेरो मुटूभित्र प्यारो
छ सौन्दर्य आफ्नै नसा भित्र प्यारो ।
नयाँ सिर्जनाको नलेखे कहानी
न खुल्ने छ आस्था न बाँच्ने निसानी ।।
(४)
जहाँ भेष, भाषा छ संस्सकार आफ्नै
त्यहाँ प्राण प्यारो छ सौन्दर्य आफ्नै ।
नफारौं नच्यातौं कलेजा धराको
थुते प्वाँख अस्तित्व के त्यो चराको ।।
(५)

Mohan Sitaula – Cheli Haru Lai Sandesh

मोहन सिटौला – चेलीहरूलाई सन्देश

धर्ती, व्योम र तारका रवि,शशी, ग्रहादि पिण्डैहरू
महाकाश र अन्तरिक्ष विपुलै, आकाशगङ्गाहरू
मट्टी, अग्नि, समीर, तेज, जलधीे, आकाश, प्रकाशका
सारा तत्व मिलेर नीतनव भै चल्दोछ सृष्टि कथा

हाम्रो जीवन यो विशाल भवमा हेमप्रभासार हो
नित्यै स्निग्ध भएर बग्छ सरिता यो सागरै–सार हो
हावा भर्छ खलाँति यो जिवनमा यो वायु–ब्यालून हो
नशा, माशु र हड्डी अड्डि दरिला, जालो छ विश्वै अहो !

सारा जीव, विशाल, सूक्ष्म, रूपका चल्छन् महाकालमा
मान्छे हो पशुझैं समान भवमा यी जन्ममा, मृत्युमा
मान्छे तैपनि भिन्न हुन्छ दिलले, दिमाग, संस्कारले
उच्चो चिन्तनले, सदा प्रगतिले, सेवा र कल्याणले
सुधाले वसुधा भरेर दिलले सत्पे्रम, सद्भावले
कलाका र सुकल्पना जगतमा, सुचिन्तना मार्गले
सत्ता सिर्जनको महान महिमा अहो ! अविनाशी हो
‘माटो हो हुनता तथापि’ विपुलै चैतन्यको खेल हो

छैनन् राक्षस, भूत, दानव कतै ती ईशका आकृति
मान्छेको चल, सोच, कर्मफलले बन्छन् विविधाकृति
मान्छे गिर्छ अनन्त खाडलमुनी दुष्कार्यले, भूmटले
स्वर्गै गुम्छ मिठो सफा धरणिमा चरित्रहिन् पापले

मान्छे उठ्छ उचाइका चलनले, सञ्चेतका योगले
महात्मा र मनीष, ईश, सब ती बन्छन् महान् कार्यले
मान्छेको दिल, चित्त, कार्य जगमा उच्चाईको संस्कृति
उच्चो सोच र जीवनी जगतमा सन्मानवैका कृति

सारा व्यापक गोलका सवजना, समाज सन्मानले
नाना हार्दिक भावले मृदुमयी माता, पिता, वन्धुले
गर्छौं ज्ञापन यो वधाई खुसिले, बोल्छौं आशिर्वादले
भावै भाव स्वभाव भित्री भवको भाषा भरी भेलले

चेली हे ! तिमी बढ्दछ््यौ सहजले, कौमार्यले, वैंशले
शिक्षा, सङ्गित, नृत्य, वंशी दिलको मृदङ्गका तालले
शालीनी, सुषमा, सुवासिनी अहा ! मोती तिमी प्रातकी
मोहीनी कल–कान्ति हे विपिनकी ! हौ चाँदनी रातकी !

मालीनी महिमा मनोहर मिठा माधुर्य सन्मानकी
सफा कञ्चन चित्तकी, वचनकी, आदर्श अम्लानकी
माया मोहन मानकी मधुमती, श्रद्धामयी जानकी
बालाका सुकला लिला सजलकी हौ धारिणी सृष्टिकी

पढ्दैछ््यौ अनि बढ्दछ््यौ जिवनमा समुन्नति नित्य होस्
सच्चाई दिल, सोचमा, चलनमा उच्चाई नित्यै रहोस्
तिम्रो जीवन नित्य पूmलसरी भै सुष्मा र सौन्दर्यमा
फुल्दै जीवन चालमा चलिरहोस् डुल्दै नयाँ बागमा
आफ्ना ईच्छा सदैव पूर्णत बनुन् नानी समुदायकी
हाम्रो ईज्जत मान, ज्ञान, गरिमा, सगर्व सन्मानकी !

शिक्षा, तालिम, दीक्षितै सव भई, सुसङ्गतैमा रही
गर्नु पर्छ भलाइका कृति–कला सन्र्मागमा नै वही
युनीभर्सिटि एक साधन बढो प्रकाशको पुञ्ज हो
शिक्षा,संगत सङ्गितै नवनितै सरस्वतीको स्थलो
नयाँ चिन्तन चक्षु दिन्छ त्यसले सन्देश दूरान्तको
जादू भर्छ अभ्यासले जीवनमा, चरित्रमा योग हो

नानी ! वास्तव जीवनी जगतमा हो पाठशाला ठूलो
कैल्यै पूर्ण हुँदैन शिक्षण, कला अनन्त क्षेत्रै छ यो
केही प्राप्त गरेर ज्ञान र सिपै मान्छे व्यवसायमा
लाग्छन् जीवनका मिठा र नमिठा संघर्षका मार्गमा
त्यो आफ्नै खुस हो यथा समयको जे हुन्छ प्रवाहमा
आफ्नो वंशि सुनेर भित्र दिलको चल्नु त्यसै चालमा
आफ्ना दुःख र हर्षका क्षणहरू मिलाउँदै तालमा
बग्नु, उड्नु र बूढनू समुहमा, कैले एकान्तैमहाँ

तिम्रो सुन्दर चञ्चले छविछटा छर्दै डुलोस् सौरभ
तिम्रो शील स्वभाव, मान, महिमा फुल्दै बढोस् गौरव
नानी ! सान र मान, ज्ञान भरदै सुशीलता सिक्नु है !
शिल्पी ! सीप सिकेर जीवनकला, सुसिर्जना खिप्नु है !

तिम्रो चञ्चलता, सुकोमल लता लावण्यले पुष्पित
छर्दै बाग भरी सुवर्ण कणिका, पराग सौगन्धित
पूmलोस् वैंश विनम्रका चलनले दिलै भरी छालले
फलोस् प्रेम छछल्किंदै रहरमा तरङ्गका तालले
धड्क्योस् त्यो नव यौवनी मुटु सदा मृदङ्गका नादले
गुञ्ज्योस् है नव सङ्गितै जिवनको विणामयी मादले
गम्क्योस् नृत्य अदृश्य–दृश्य तहका बान्की मिठा चालले
आउन् हेर्न उदेकले परिहरू, नाचुन्् , रमुन् मेलले
वंशी हो सब सृष्टि यो मुरली हो, मृदङ्ग हो, गीत हो
प्रेमै हो जिवनी सफा सुदिलको आनन्दको जीत हो ।

तुन्नू जीवन यो विशाल जटिलो बुनौट हो तानको
गुन्नू मानसमा बुनिन्छ जगमा यो सृष्टिको सान हो
बुन्नू स्वप्न, सुकल्पना लहरले, उड्नू खुला पङ्खले
सुन्नू भित्रि र बाहिरी समझले ध्वनी मिठा धूनले
उन्नू विप्न भरी नवीन कविता सन्देशले, शैलिले
चुन्नू जीवनको नवीननितको कला स्वयं प्रेमले
छान्नू चङ्ख भएर उच्च गिरिको, आकांक्ष आकाशको
जान्नू गूढ रहस्य सत्य गहिरो धर्ती प्रयोग्शाल हो
आफ्नै जीवन नै प्रयोग गरदै सुबोध, सम्वेदना
भोग्दै सूक्ष्म, विशाल चेतचपला टिप्नू रसिला कणा

खेल्छन् राग र रागिणी मुटु भरी झङ्कार तारै गरी
फुल्छन् प्रेम अनन्त माद–वयले बजाउँदै बाँसुरी
डुल्छन् गीत बजाउँदै पवनले अनन्तको बाँसुरी
खुल्छन् जीवनका रहस्य रमिता यो जीवनी बाँसुरी
प्रेमै हो रसरङ्ग जीवन भरी यो सृष्टिको सार हो
कृष्णैकृष्ण लिलामयी छ जगतै अपार वंशी अहो !

यात्री ! मार्ग बुझेर नित्य भवमा सन्मार्गमा हिंड्नु है !
धात्री ! धीर भएर भार सहँदै धर्ती भई ज्यूनु है !
दात्री हे ! मुदु कल्पबृक्षसरि भै दानी सदा बन्नु है !
मात्री ! मानवको जितेर मननै मायाँमयी बन्नु है !
सुपात्री वसुधा ! सुधामय बनी कल्याणकारी हुँदै
स्वर्गै झार अपार पार जिवनी वसुन्धरामा सँधै

बग्छ््यौ हिर्दय भित्र हे जलनिधी ! भावै भरी चम्किला
उड्छ््यौ पङ्ख चलाई स्वच्छ वयका सुकल्पना रङ्गिला
हे माहेस्वरि ! सुक्त, वेद, कखरा, माहेस्वराणी तिमी
गायत्री ! तिमि वेद, काव्य, सुकला, श्रीपुञ्ज हौ ज्ञानकी
सावित्री ! कटु काल रोकि रहने श्रीपुञ्ज हौ ध्यानकी
पवित्रा ! तिमि स्वच्छ छ््यौ शरिरकी, स्वच्छन्द छ््यौ चित्तकी

सारा निर्भयता छरेर खुसीले निर्बिघ्नछ््यौ ढुक्ककी
मानीनी मृदु कामिनी सुदिलकी, सौजन्य हौ सुक्खकी

चम्क्योस् त्यो परिवेस वेस गरिमा व्याप्तै भई मोतिर्झैं
गम्क्योस् जीवन–जङ्ग शान्त महिमा छर्दै नयाँ ज्योतिझै
ंकल्पिन्छन् मनका तरङ्ग छरिता छिटा मिठा रागका
चुम्छन् पुष्प सबै दिशाविदिशका पराग ती बागका

बन्देवी तिमीलाई रक्षण गरुन्, देवै समूदायका
दायाँ हुन् रवि–चन्द्रमा सहजमा सन्मित्र मन्भित्रका
नित्यै जङ्गलले सुमङ्गल गरुन्, समाजका देवले
प्रकृती अनि संस्कृति मिलीजुली आफन्ति हुन् स्नेहले
तिम्रो स्वच्छ सहृदयी सुदिल त्यो सक्ुखी, सदा शान्त होस्
काया कञ्चन होस्, सोचाई दिनहूँ संस्कारले दीप्त होस्

धर्ती नित्य प्रयोग–पाण्डव ठुलो स्वधर्मको, कर्मको
कालाकण्टकजन्य ताण्डवहरू दिन्छन् पिडा मर्मको
पाखण्डीहरूका ती जाल रचना तोडेर साफै गरी
हुर्काऊ र उठाऊ सत्य विपना, सम्वेदना बेस्सरी
फड्का मार्छ पराक्रमी मनुजले सन्देश बोकी नयाँ
नित्यै साँटिरहन्छ रूप रँगनै फैलाइ आभा नयाँ

मान्छेको जुनि हो महासमरको, संघर्षको, सोचको
कायाकल्प नयाँ बनाई रहने, सँधै नयाँ खोजको
गाउँछन् लयकार, नर्तकहरू नाच्छन् महामञ्चमा
खोच्छन् सत्य सँधै ती शोधकहरू, ती शास्त्रवेत्ता यहाँ
उडाई मुदु कल्पना, रसभरी , रङ्गै भरी चम्किला
ढाक्दै जीवनमा पिताम्बर नयाँ छाँयाछवी बान्किला
ल्याउँछन्, मधु भृङ्गझैं जगतमा तपस्वी, द्रष्टाहरू
पोख्छन् काव्य, कलारसै भुवनमा स्वच्छन्द स्रष्टाहरू

ऋणी हुन्छ मनुष्य जन्मसितनै भन्छन् मिमांसीहरू
तिर्नु पर्छ ती ऋण जीवन भरी भन्छन् महात्माहरू
ऋणी हुन्छ भनिन्छ मानव यहाँँ त्यो जन्मको रीण रे
देवै रीण र पितृरीण–जननी, आचार्यको रीण रे
मात्रीरीण अरू गनिन्छ त भने चारैवटा नै भए
गर्नु पर्छ पराक्रमै धरतिमा – कालैजयी कार्य हो
घट््छन् धेर सवै मनुष्यहरूका सद्कार्यका कामले
छिन्छन् कोही पराक्रमी पुरुष औ विरङ्गना नारीले

त्यस्मा, यो जिवनी छ एक अवसर् यो क्षेत्र हो युद्धको
कल्याणी वसुधा हुँदा, मनुजले युद्धै गरुन् शान्तिको

जेजस्तो जसरी गरे पनि कुरा यौटै कुरा सत्य होः
गर्नुपर्छ पराक्रमै मनुजले ः अन्याय औ झूटको
झाँको झार्नु अवश्य पर्छ नहटी, पाखण्ड औ लूटको
यदुवा नव्य कुरा गरेर दुनियाँलाई भलो, हीतको
सेवा भाव र नव्य क्षेत्र, सुपथै देखाऊ कल्याणको
ऐतीहासिक नव्य घुम्ति गरने सोचाइ, फड्काहरू
पार्छन् डोब नमेटिने समयले, पराक्रमी जन्हरू

स्वाभीमान, स्वदेशमान, ‘वसुधा–कुटुम्बकम्’ मन्त्र हुन्
स्वसन्मान र राष्ट्र, विश्व–गरिमा ताजा महातन्त्र हुन्
पूर्वी, पश्चिमका, सवै समयका सन्दीर्घ सिद्धान्त हुन्
वलीदान, मृत्युञ्जयी जिवनका प्रतिज्ञ, सत्कार्य हुन्
मान्छेको महिमा महान मुटुका आदर्शका मूल हुन्
यिन्मा चित्त दिनु, दिएनत भने सारै ठूला भूल हुन्

ढल्नु हुन्न कदापि काफर हुँदै, निराशले ढाकिंदा
गल्नु हुन्न कदापि भार थपिंदा, आपत्तिले छेकिंदा
चल्नु नम्र भएर, फुल्नु सुषमा, खुल्नु सदा ज्ञानि भै
बल्नु जीवनमा र फल्नु यशमा मृत्युञ्जयी मानि भै

शब्दै हो, ध्वनि हो अकाश, अवनी, ब्रह्माण्डको, सृष्टिको
भाषा हो जगमा, मनुष्य भरको सुस्पष्ट सन्देशको
भाषा तैपनि हुन्छ चीजबिजको, पन्छी, पशू, मत्श्यको
कीरा, कङ्कड, भित्ति, बृक्ष, कुशुमै, झोला र सुट्केसको
भावैभाव छ , आशयै सतहमा, गम्भीरमा, गूढमा
सारा चेतन औ अचेत सबको छ ‘विश्वभाषा’ यहाँ

सारा यी अति सूक्ष्म खेल, चलले बन्छन् सहभागी नै
सूक्ष्मै बोध लिएर आशय बुझे सम्वेदितै मर्मले
सारा भन्न के सक्नु ? सीमित सबै अल्पज्ञ, विनम्रले,
भक्तीभाव–सुभाषितै भय नभै, विश्वासले, ज्ञानले
खट्नू दृढ भएर आत्मबलले , अठोटले, आँटले

चल्ने जीवन यो क्रमै समयले ढल्ने छ यो जिन्दगी
ढल्ला सृष्टि कहाँ ? यहाँँ विपुलमा, खुल्छन् नयाँ सन्तती !
तिमी दीप्त रहौ सवै समयमा नयाँ, पुराना सँगी
सुखी हौ नव, भव्य मार्ग भवमा सौभाग्यकी हे ! छवि !

अस्टिन्, टेक्सस्

Mohan Sitaula – Basanta

मोहन सिटौला – वसन्त

यी सिर्जनाका कणमा जुटेर
यी सिर्जनैका रसमा रमेर
वसन्तको प्रातमयी धरामा
स्रष्टा रमायो ! मृदु मञ्जरीमा

अहो ! उज्यालो बन भित्र भित्र
देखिन्छ रंगीन विचित्र चित्र
यो सृष्टिको सुन्दर बाल रूप
खुलेछ साँच्चै कि ! वसन्त–सीप !

प्रभात संध्या मृदु कंठ खोल्छन्
भाका मिलाइ कन ताल दिन्छन्
दिवा र र।त्री रमणीय बन्दै
बित्छन् अहा !बाल दिवा बिते झैं ।

यी बृक्षका सुन्दर आँकुराले
यी झारका कोमल पालुवाले
वसन्तको स्वागत शान दिन्छन्
द्रष्टा र स्रष्टा अनि लीन हुन्छन् ।

मुना नयाँ सुन्दर चित्र कोर्छन्
नाचेर ती फूल जिवन्त पार्छन्
आँखा भरी जीवन– चित्र चल्छ
गैरिन्छ दृष्टि सब भव्य बन्छ ।

माटो र ढुंगो,रुप, रंग , गन्ध,
प्रकाश, आकाश र वायु ,शव्द,
सुशीत्तल, सुन्दर बिन्दु,सिन्धू ,
बिम्बित हुन्छन् विविधाकृतिमा !

पला नयाँ,दृष्टि अझैं नयाँ छन् ,
सारा बनेली नव रुप लिन्छन् ,
उमंग उल्लास भरी नसामा,
फागू चल्यो रंग भरी धरामा ।

प्रभातको प्राचिन गर्भबाट
सौन्दर्यको नूतन चेतसाथ
बसन्तको दिव्य छटा उदायो
अहो ! यहाँ जीवन नव्य छायो !

वसन्तको मंगल दीप बाली
घरीघरी सिर्जन तैल हाली
छटा छरी दीप्त बनोस् बनेली
झुलेर नाचुन् सब ती सँगेली ।

आलोकको त्यै बनमा म बस्छु
उषामयी एक कथा म बन्छु !

मेरो रसीलो बन–कुञ्ज डुल्दै
रसाउँदै कल्कल शव्द गर्दै
वहन्छ रे ! चंचल स्वच्छ पानी
कहन्छ रे ! जीवनको कहानी ।

त्यो मूल फुट्दा म सँधै रसिन्छु
त्यो धार बग्दा म बगेर जान्छु
त्यो मूल मेरो दिल भित्र फुट्छ
त्यो धार मेरो दिल भित्र बग्छ ।

बग्छु म आफैं मुटु भित्र भित्र –
अशेष धारा दिलमा पवित्र !
पर्देशको नित्य नयाँ पथैमा –
यात्री म बग्दो छु नयाँ नयाँमा !

सौन्दर्यका गोपहरु मिलेर
मायाँ सगाल्छन् भवमा डुलेर
सँगै पराई , सँगमै छ भाई
छायाँ चहार्छन् जगमा रमाई ।

सुरम्य क्याछ ! रचना रमिता रमेको !
क्या !रम्य भाव–जपना ! विपना बनेको !

अहो ! प्रशन्न दिल–कोकिल कण्ठ खोल्छ ।
गुञ्जिन्छ गीत सब सिर्जन घन्कि दिन्छ !
यो चित्त चन्चल हुँदै मदमुग्ध हुन्छ ।

यो रंगिलो छवि छटा सब सिर्जनाको
यो चित्रको विविधता जन–जिन्दगीको
गुलाफ फुल्छ दिलमा रज–बिन्दु भित्र
वसन्त फुल्छ जनको जग–बाग भित्र
वसन्त फुल्छ भवको भव–भाव भित्र

यी प्रीतका सकल बिन्दु नियालि हेर्दा,
यी शीतका सबल सिन्धु–प्रवाह हेर्दा ,
रहस्य– खोज सँगमै दिलको, धराकोे–
न अन्त, हुन्छ भवका विविधाकृतीको ।

नेपालको प्रकृतिको मृदु चित्र भित्र
पाइन्छ देख्न छवि सुन्दरको विचित्र
अत्यन्त सुन्दर कला कविको कलाको
माता प्रकृति परिको कल कल्पनाको !

संस्कार संस्कृति यहाँ इतिहास लामो
सुसभ्यता विविध उच्च, कथा पुरानो
कृयाकलाप गरिमा, महिमा छ खुल्दो
नेपाल बाग—सुर सुन्दर भव्य फुुल्दो
नेपाल दिव्य दिल सुन्दर स्वच्छ सान
नेपाल भव्य सुरबाग भूस्वर्ग मान !

यस्तै विमुग्ध स्वरमा गीत गाऊँ भन्छु
हुँदैन शान्ति मनमा जब काल बुज्छु
एक्काशी उफ्रिन पुगी दिल औ शरीरै
भाषा बनी विकलमा सब छट्पटिन्छन् !

आए विभिन्न कटु काल घमण्ड स्वार्थ
कुशासकै, विविध पार्टि उजण्ड नेता
नेता र पार्टि निच अन्ध पराइभक्त
भएर नाश गरदै निज मातृभूमि
नितान्त स्वार्थ, कपटै भयो कर्मभूमि
धोका द्एि सकल स्वच्छ नेपालीलाई
नेपालको प्रकृति, संस्कृति रुन्छ हाई !

उता कता वहुदिशातिर जम्जमाई
अगस्ति पेट, चिलगिद्ध कुदृष्टि लाई
समान प्रेम छ भनी खलुखन्ती खन्दै
दूर्भाव द्यूत—शकुनी सरि जाल रच्दै
तिम्रै हुँ शाख ! भनि घाति विषाक्त बन्थे
थुन्थे ढोका र भुूmटका कटु जाल रच्थे
बुन्थे डोका र भरि पाथी कुचाल चल्थे
चुट्थे गफाष्ट सव विश्व विमुग्ध पार्थे !
छेक्थे नदी तट, समुद्र र मार्ग छेल्थे
रोक्थे ति पर्बत सिमान्त र क्षेत्र पेल्थे
नितान्त लोभ र अहं ! गरि शूल रोप्थे
नेपाल सुन्दर , नेपाली सुचित्त भन्थे !
शैतान झैं मधुर वक्ष सवै विरोल्थे !

अ‍ैले छ फेरि जनजागृतिमा नेपाल
नेता समेत अब देश सपारूँ चाल
भनेर स्वच्छ नितिमा सब लाम लागे
जागे नेता र जनता संविधान ल्याए
सद्भाव, होस, एकता र अठोट ल्याए

नेपालको सुयश कीर्ति सम्बन्ध सारा
फिंजाई सन्तती, स्वतन्त्र हितैषी, प्यारा
बुझे, बुझाए सवमा झुट दुन्दुभीको
तोडेर जाल, ढकनी अब नाङ्गियो त्यो ।

भागे कुकर्मी, जनघाती, पराई तर्से
नेपाललाई अब सकिन्न भनेर हच्के
पसे सप्रेम, मृदु सोच र स्वच्छ मित्र
सन्मान सान जन मान समान हीत
मात्रै छ बाँकी अब साहस कर्म वीर
दक्षीण भैंm अब सबैतिर मार्ग खोल

ज्यूँदो छ ध्येय उसको अझ अन्त छैन
भन्ने बुझेर अझ सचेत भएर नित्य
विवेक, तीक्ष्ण बल वुद्धि, दिलै सतर्क
भई सम्हालुँ , शिवबाग पवित्र देश

पूmल्छन् वसन्त मधु मास वसुन्धरामा
बल्छन् भूस्वर्ग जब यी जन जिन्दगीमा
नेपालमा मधुर मास सँधै फुलाऊँ
सन्तोष ,शििन्त सुख सुन्दर नै जिलाऊँ

गोल ढुङ्गा (राउण्डरक) टेक्सस् , अमेरिका

Chandani Shah – Shanti Ko Dwani Chhardai Jau

चाँदनी शाह – शान्तिको ध्वनि छर्दै जाऊ

पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर
यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी
ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर
विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी

यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै
हर गाउँ गोठ आगन पँधेरीमा पुगिदेऊ तिमी
त्यो उत्साह अनि जाँगर सधैं रहिरहोस् यस्तै नै
हर बाधा हाँक र चुनौती पन्छाई बढिदेऊ तिमी

ज्ञानको ज्योति जस्तै गरी चहकिलो र दिगो बनेर
एउटा एउटा गर्दै दियालो सल्काउँदै जाऊ तिमी
हरेक नेपालीको मुटुको स्पन्दन स्पन्दन छोएर
देशभक्तिको सङ्लो मायाप्रीति गाँस्दै जाऊ तिमी

यो मातृभूमिको भूगोलको रेखा रेखालाई खोजेर
पहाडका गर्खा अनि खेतका गरा टेक्तै जाऊ तिमी
यो जन्मभूमिको इतिहास शब्द शब्द पिच्छे रचेर
संसारका कुना-कुना शान्तिको ध्वनि छर्दै जाऊ तिमी

Chandani Shah – Kina Ho Yati Bharosha Basechha

चाँदनी शाह – किन हो यती भरोसा बसेछ

कहिले यो माया बिर्सिने भुलेर दिनमा
घुमी त यही आउँछौ फर्केर बासमा
सुन्नेछु तिम्रै आवाज गोधुँली याममा
(किन हो यती भरोसा बसेछ तिमीमा)x2

अतितका खुशी बन्दछौ अरुका सामुमा
केही छ बाँकी अवश्य साँचेको आफुमा
सात त्यो मेरै हुनेछ एकालोपनमा
(किन हो यती भरोसा बसेछ तिमीमा)x2

के जली धर्ती ढाकेकी उज्यालो घाममा
केही छ तिम्रो शायद धमिलो मनमा
मायाको दियो मेरै हो अँध्यारोपनमा
(किन हो यती भरोसा बसेछ तिमीमा)x2

सुखको बेला हजारौँ होलान् साथमा
दु:खका घडी आउँदा जीवनपाटोमा
हुनेछौ तिमी मेरो नै थकेको बेलामा
(किन हो यती भरोसा बसेछ तिमीमा)x3

शब्द : चाँदनी शाह
सङ्गीत : नातिकाजी
स्वर : तारादेवी

Chandani Shah – Gham Ma Pani Maya

चाँदनी शाह – घाममा पनि माया

घाममा पनि माया लागेको छ
पानीमा पनि माया परेको छ
फूलमा पनि माया फुलेको छ
रुखमा पनि माया झुलेको छ
हामीले सायद देख्न सकेनौँ कि
देख्नुमै मायाको माने लुकेको छ

आँखाले पनि माया हेरेको छ
ओठले पनि माया बोलेको छ
मुटुले पनि माया धड्केको छ
मनले पनि माया बोलेको छ
हामीले सायद अर्थै बुझेनौँ कि
बुझ्नुमै मायाको अर्थ लागेको छ

भिरमा पनि माया अडेको छ
पाखामा पनि माया बसेको छ
खोलामा पनि माया बगेको छ
हिउँमा पनि माया जमेको छ
हामीले सायद होसै गरेनौँ कि
होसमै मायाको मर्म बाँचेको छ

शब्द: चाँदनी शाह
संगित: नातिकाजी
स्वर: तारादेवी

Chandani Shah – Timra Pau Haru Ma

चाँदनी शाह – तिम्रा पाउहरूमा

तिम्रा पाउहरूमा म सँधै झुकिरहन्छु
तिमी उठाइरहू माया र आषिस थपी
तिमी भरिरहू सिउँदो म नुहिरहन्छु
नटुटोस् अब सिलसिला कहिले पनि

सगरमाथालाई छुने उषाको लाली झैँ
तिम्रो मायाको सृङ्गार सँधै सजिरहोस्
निरन्तर बग्ने यी खोलानालाका धुन झैँ
तिम्रो प्रेमको झंकार सँधै गुन्जिरहोस्
तिमी आँखाले बोलिरहू म पढिरहन्छु
नपरोस् आवश्यक शब्द कहिले पनि

परमात्मासँग आत्माको सम्बन्ध रहे झैँ
मेरो मन तिम्रो अर्चनमा डुबिरहोस्
अज्ञानलाई सँधै ज्ञानको खोज रहे झैँ
मेरो आराधना सँधै तिम्रो रहिरहोस्
तिमी आइरहू यस्तै म बोलाई रहन्छु
नछुटोस् यसको क्रम अब कहिले पनि

शब्द: चाँदनी शाह
संगित: नातिकाजी
स्वर: तारादेवी