Sagar Saund – Sapana Ko Kheti

सागर साउँद – सपनाको खेती

ह्राम्रा लाजनेताहरु
हाम्रा झोलीभरि सपना हालीदिन
चाहना इच्छा र आकांक्षा
भरिदिन माहिर छन्
इच्छा रोप्छन्
चाहना हुर्काउदै
आकांक्षाका गला रेट्छन् ।

ओइलाएका फुलहरु
निदाएका चाहनाहरु
मरेका सपनाहरु
फेरि ब्यूताउदै
सपनाको खेती गर्छन् ।

सात सत्रका सपनाहरु
छत्तीस छयालीसका चाहनाहरु
बाउन्न बासठीका सोचहरु
सिंगापुरे सपना
स्वीटजरल्याण्ड सपना
नानाभाती सपनाहरु
हालीदिन्छन हाम्रा झोलीमा
हाम्रा लाजनेताहरु ।

दार्चुलाका चाहनाहरु महाकाली
बाजुराका सपनाहरु सेतीमा
बालुवा बुकाएर मरे
रोल्पा कालीकोट र दैलेखका विचारहरु
भेरी राप्ती र कर्णालीका भेलसंगै
बगेर कहाँ कहाँ पुगे ।

कोशीका सपनाहरु कोशी बगरमा
बालुवा गिट्टी र ढुंगासंगै
कता कता पुरिएर मरे ।

भारी बोक्ने भरिया
चौतारीमा टोल्लाउँछ
रिक्साचालक दाइ
रिक्सासिटमै निदाउँछ
क्याम्पस पढ्ने ठिटो
घोत्लिदै फिस्छ हाँस्छ
एउटा कविको कलम टक्क अडिन्छ
देश सम्झिदै तप्तपी आँशु चुहाउँछ ।

हिमालका सपनाहरुमा हिमपात पर्छ
पहाडका इच्छाहरुमा पहिरो जान्छ
तराइका सोचहरु बाढीले बगाउँछ
गरिवीको भुलभुलैयाबाट
सम्पन्नतातिरको सपना
हीनता र आत्महत्याको कुविचारबाट
जीवन र कर्मको पथमा दौडिने चाहना
भरिदिएका छन हाम्रा झोलीमा
हाम्रा लाजनेताहरुले ।

हाम्रा हृदयका पत्र पत्रहरुमा
अनगिन्ती सुन्दर फुलहरु फुलाए
गुराँस कानमा सिउराए
पारिजात शीरमा फुलाए
हजारी गलामा फक्राए
हाम्रा लाजनेताहरुले ।

हाम्रा अबोध मनहरुले
धेरै रगत बगाए
लाखौ हात खुट्टा भाँचे
हजारौ जवानी र जिन्दगीहरु
फुलका सपनासंगै
श्रद्धान्जली चढाए ।

दिन महिना र वर्ष
संग संगै दशकौ बिते
हाम्रा फुलका सपनाहरु
हृदय हृदयमै ओइलाए
सुकाए र मारे
हाम्रा महान लाजनेताहरुले ।

सपनै छर्न सपनै समेट्न
सपनै लाउन सपनै खान
सपनामै बाँच्न सिकाए हामीलाई
हाम्रा महान लाजनेताहरुले
सपनाको खेती गरेर ।

Kedar Shrestha Gagan – Meri Aama Ra Kanchhi

केदार श्रेष्ठ ‘गगन’ – मेरी आमा र कान्छी

पक्षीझैँ यो मन उडेर जान्छ आमाको काखैमा
नरूनू कान्छी फर्केर आउँछु बसौँला साथैमा ।
कहिले भेट्नु, कहिले छुट्नु समय नियति
गाउँबेँसीं गर्दै, हाँस्दै र खेल्दै साटौँला पिरति
धन कमाई ल्याई तिमीलाई दिऊँला सुनको जुहार
आमालाई सम्झाई घरव्यवहार हेर्दै पर्खनू पियार ।
डाँडापारिको जूनजस्ती आमा आउँछ आँखैमा
आमाको काख, कान्छीको हात सम्झना साथैमा
सपना देख्छु भुरूरू उडी चन्द्रमा छोएको
समुद्रपारि कल्पना गर्छु साथैमा भएको ।

– भीमस्थान ५, सिन्धुली / हाल : अनेसास यु.ए.ई. च्याप्टर

Mohan Koirala – Musa Ko Khor

मोहन कोइराला – मूसाको खोर

चाल मारेर उफ्रिन्छ, बुईँगलमा पुगेर मार्च गर्छ
चुँ चुँ गर्दै म्युजिकल पुच्छर देखेमा अलि हट्छ
सोफाको प्वालभित्र बैठकमा बसेको छ,
मुसो खोरमा पुग्दैन ।

चिरिप, चिरिप, डलर काट्छ, पौण्ड धानको बाला जस्तै बटुल्छ,
दुई गाडा उचालेर, दुई कान ठाडो पारेर,
भारतीय रुपियाँ गाजर जस्तै कुरुप कुरूप चपाएर बस्छ,
(अवमूल्यन पैसा हात हुँदैन)
भागवत र कानूनको पुस्तक साँवा अक्षर चिनेको छैन,
नून चाटे जस्तै कोठामा धुजा पताका पार्छ,
अन्न पानी बिर्सेर श्रमको तुना काट्छ बस्छ
(नव मूसो) अचेल खोर सुङ्दैन ।

 

Yuddha Prasad Mishra – School Janchhu Tam Tam Tam (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – इस्कुल जान्छु टम् टम् टम् (नेपाली बाल कविता)

उठ्छु, पढ्छु कपडा फेर्छु
सफा सुघर भई ऐना हेर्छु
टफिनसाथको झोला भिर्छु
स्कुल जान्छु टम् टम् टम्

थोरै खोल्छु, धेरै पढ्छु
पाठ नबिर्सि अघि अघि बढ्छु
नभइ छाड्दिन म पनि फस्ट
कोभन्दा को छ र कम
इस्कुल जान्छु टम् टम् टम्

हिजो पढेको पाठ न बिर्सुं
भन्दै मनले सम्झिरहन्छु
पुस्तकहरूकन माया गर्छु
जतनसाथ अनि भिर्छु कलम
इस्कुल जान्छु टम् टम् टम्

“नबुझिकनको सुगा रटाइ
कामै छैन” गुरुहरू भन्छन्
“पाठ नबुझने लडकी” भनाउन
लाग्छ मलाई औधी सरम
इस्कुल जान्छु टम् टम् टम्

२०४५ असार १५
(बालकोसेली वर्ष ४, अंक ११)

Yuddha Prasad Mishra – Aaja Ghateko Ghatana Rakha

युद्धप्रसाद मिश्र – आज घटेका घटना राख

बस्ती जलेको कोलाहलमा
बलात्कारीको हाहाकार
गर्भवतीका गर्भ गर्भमा
संगीनका छन् क्रूर प्रहार

दियौ गौण गरी लेख्न सकेनौ
उग्र ब्यग्र यो अत्याचार
सुन्न सकेनौ किन Continue reading “Yuddha Prasad Mishra – Aaja Ghateko Ghatana Rakha”

Laxmi Prasad Devkota – Kina Muskaan

क.
किन ? वयसी ! भन
यस जनपथमा,
चोछर्यौ, चिनेझैं, मृदु मुसकान ?

ख.
पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ?
दिनको मुटु पनि डुब्दछ जलमा,
प्यार गरेझैं हिम–चूलीसँग,
सुम्पी, जलेको प्राण !
मेरो पनि यो जगयात्रामा नहोस् रुधिरको प्रस्थान !

ग.
के यो पोथी–पयोधि चलीकन छाल छचल्की धुँदो छ किनार ?
—त्यस्तो जमीनको, जसमा वैरी,
आकाश चढीकन, सृजन ागर्ने
उसका मनका सपना–धार ?
आदिम तृषा हो यर रसनिधिको यो !
सूनसान नै आवाद गरीकन,
बिजुली मुस्की,
चम्किनु, वर्षिनु !—
हुन संसार !
भन वयसी ! ए अधजान !
किन यो तिम्रो मुसकान ?

घ.
यो चाँदीको पत्रमा अक्षर काटी दिएको निम्ता हो ?
बिलकुल स्वाभाविक !
बिलकुल स्वाभाविक !
फुलको प्रकृति, अलिको इशारा !
पाप होइन यो !
शर्मिन्छयौ किन ? गाढा लालीद्धारा !

ङ.
प्रथम प्रयोग यो होला तिम्रो,
पोथी शक्तिको आत्मपरीक्षा !
के तन्त्रीको प्रथम लचक हो ?
उषा मुसकान ?
कोपिलाको प्रस्फुटन हो ?
पहिलो आफ्नो पहिचान ?
निसर्ग बुद्धि बोल्छे, ठीक हो !
दुई नभै यो पथ चल्दैन !
चार नभै यो दीप जल्दैन !
वीणा होऊ तिमी, तारहरुकी ?
खोनिरहिछौ झन्कार ?

च.
प्यार भनेको पूmल–काँटा हो !
तीखो, सुन्दर !
तर माटोमा रोपिनुपर्दछ,
जलले यसकन सिंचनुपर्दछ !
सुस्केराका श्वासहरुले
हम्की हरहर !
स्वर्गको बीउ हो पृथ्वी अन्दर !
रोप्न छ आनन्द, बचाउन गाह्रो !
एक तपस्या साह्रो !
पाइसकेको छु ज्ञान !
तर छौ तिमी अधजान !

छ.
सुन्दरले यो गर्दछ आह्वान !
कानेखुशी गर्छन् प्राण !
“हाम्रो धम्र्म हो त्यसमा बलिदान !
त्यसमा बलिदान !”
पुरुष प्रकृतिका हामी मिलन हुँ,
एकमा आर्को स्वपना–ज्यान !
शक्ति तिमी होऊ, प्रयोग प्रथमले
नापिरहिछयौ आकर्षण,
मेरो अनुसरण, अडान !

ज.
एक जनाना, एक मर्दाता,
नाचिरहन्छन् वृन्दावनमा !
जीवन भनेको ती दुईको हो
स्पन्द परस्पर मन, मनमा !
हाम्रो चिर हो पहिचान !
सम्झन, हामी नाचिरहेथ्यौं आदिम कोही पूmलवनमा !
याद छ मुरलीगान ?
तिम्रो शरीरको पछि लाग्दिन !
पुज्दछु आत्मा महान् ! जसले दियो यो याद पुराण !
खोज मलाई युवकमा कोही, प्रत्युत्तर त्यसद्धारा दान !
अहो ! भइछौ अन्तध्र्यान !
अल्पिसक्यौ ए मुसकान ?

Kundan Kumar Panta – Parakashta (Nepali Muktak)

कुन्दनकुमार पन्त – पराकाष्टा(मुक्तक)
(मधुपर्क माघ, २०६७)

पैसालाई नै सर्वश्रेष्ठ मान्दै जब पैसामा नै रमाउँछन् मान्छेहरू
पैसा नहुने आफन्तहरूसँग पनि सम्बन्ध छुटाउँछन् ती मान्छेहरू
सम्पत्ति मोहले पराकाष्टा Continue reading “Kundan Kumar Panta – Parakashta (Nepali Muktak)”

Kundan Kumar Panta – Adheer (Nepali Muktak)

कुन्दनकुमार पन्त – अधीर(मुक्तक)
(मधुपर्क माघ, २०६७)

कसैको आड पाएमा कति मान्छेहरू मात्तिने गर्छन्
दुःख र सङ्कट पर्दा कति मान्छेहरू आत्तिने गर्छन्
अरूको खोट र दोष देखाउन पाएसम्म दंग पर्ने
आफ्नो गल्ती औँल्यायो भने कति मान्छेहरू तात्तिने गर्छन् ।

Bhairab Nath Rimal – Timro Siundo Sajaaidine Mero Eutai Dhoko

भैरबनाथ रिमाल – तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको

तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको
तिमीप्रति चाहना जुन मेरो सधैं चोखो

मेरो दिल नै उपहार तिमीलाई दिइसकें
बासी इच्छा नठानिदेऊ मैले चाहिसकें
मेरो Continue reading “Bhairab Nath Rimal – Timro Siundo Sajaaidine Mero Eutai Dhoko”

Bibek Dulal Chhetri ‘Damak’ – Niyatra Sita

विवेक दुलाल क्षेत्री “दमक” – नियात्रासित

नियात्रा !
अहिले प्रत्येक पलमा
म तिमीलाई सम्झि रहेछु .

हो ;
तिमी नमान्न सक्छौ
यो एउटा सहयात्रा मात्र हो
सगै हिड्ने साथीको सम्बोधन मात्र हो
मेरो यो आशयलाई
तिमीले -“यो एउटा घटिया पुरुष शोच मात्र हो ..!”
भनेर थुक्न पनि सक्छौ .

नहोस् पनि कसरी
तिमीले नै शंकलन गरी तयार परेको अभिलेखमा
थुप्रै नियत्राहरूलाई आततायी पुरूषहरूबाट
बेचिएको ,बलात्कार गरिएको ,जलाइएको कथा
मैले नपढेको कहाँ हो र ..!
दाइजोको निहुमा ,सन्तान नपाएको मिथ्या आरोपमा
धेरै नियात्राहरूले चरम यातना भोग्दै
मृत्यू बरण गरेको दृश्य
मेरा यी आखामा नसल्बलाएको कहाँ छ र ..!

तर नियात्रा …!
लिंगकै आधारमा कोहि निच र कोहि प्रिय हुन सक्तैन
राम्रो काम गर्ने मान्छे ,पुरुष भए पनि राम्रो हुन्छ
नराम्रो काम गर्ने मान्छे नारी भए पनि नराम्रै ठहर्छे
यसैले अग्लो होचो कालो गोरो पढेको नपढेको हुने नहुने
भन्ने कुरामा अल्झेर लगाउने दोष पनि …
असलमा नियात्रा …!बेकार छ .

अनि त
उत्पीडनको बिरुद्दमा लड्नेहरू
अन्यायको खातिर अघि बढनेहरू
रास्ट्रियताको खातिर आवाज बुलन्द गर्नेहरू
शीपले जागरले देशको नाम रोसन छर्नेहरू
चाहे पुरुष हुन् या नारी
प्रत्येक नेपाली मुटूमा छाप छाडेकै हुन्छन्.

तर नियात्रा..!
भ्रष्ट भ्रष्ट नै हो
भलै उ आफ्नै कित्ताको किन नहोस्
फटाहा फटाहा नै हो भलै उ अगुवा किन नहोस्
यसर्थ पनि सम्झि रहेछु
नियात्रा ! यी सबै कुरा चिन्ने
तिम्रो आक्रोश कहिले नरोकियोस् भनेर .

हिड्दै गर्दा
ठेश लाग्दा पनि
सपनामा ऐठन हुदा पनि
स – साना कुराले मन
बोझिल हुदा पनि
मैले सम्झी हाले भने तिमीलाई
पितृसतात्मक शोच भनेर नदुत्कारे है ..!

सत्य त यो हो कि –
तिम्रो प्रखरताले यति लठ्याएछ कि मलाई
नियात्रा ..!
म अहिले प्रत्येक पलमा
तिमीलाई नै सम्झि रहेछु .

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक ”
(वास्तविक नाम :भानुभक्त दुलाल )
दमक , झापा
हाल :अबुधाबी ,यू ए इ .

Kali Prasad Rijal – Chhode Pani Nachhodine

छोडे पनि नछोडिने प्यार हो कि छायाँ
कि त सँगसँगै हिंड्ने यार हो कि छायाँ

सलाई कोरी बालौं भने बाल्न नमिल्ने
कतै लगी फालौं भने फाल्न नमिल्ने
छोडि जाने निष्ठुरीको याद हो कि छायाँ

कैले ओड्ने आफैंलाई किले बिछ्याउने
आफ्नो जाने ठाउँ छैन खाली पछ्याउने
नियातिको कुनै कैदी दास हो कि छायाँ

शब्द – कालीप्रसाद रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – आलोकश्री
एल्बम – छायाँ

Bhupi Sherchan – Bhairahawa

टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
न कतै गर्वले उठेको छ
न कतै विनम्रताले झिकेको छ
न कतै उन्मुक्त मनले खुलेको छ
न कतै जलाउँदै लुकेको छ
नखदेखि शिखसम्म
वक्ष, नितम्ब केही पनि विकसित नभएको
बाँझी तरूनीको आङजस्तो सपाट,
मुश्किलले तीस-चालिस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डीफोर झैं
यताउता जथाभावी बेढङ्ग उठेका,
मानिस
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका
यहाँ मानिसहरू कानेखुसी गर्छन्
नोट गनेको कागजे आवाजमा
पुरानो मोहर बजाएको आवाजमा
यहाँ मानिस हाँस्तछन्
यहाँ घाम उदाउँछ
पसलहरूका ढिकभित्रबाट
र बहीखाताका जिल्ला अझै राता हुन्छन्
यहाँ घाम डुब्छ कन्तुरमा
र बहीखाताका पाताहरू पहेलिन्छन्
सन्ध्याकालीन क्षितिज झैं
टाढा-टाढा देखिन्छन्
बुटवलका डाँडाहरू केर-मेर केर-मेर
बहीखाताको सिरानीमा ?शुभलाभ? लेखिए झैं
यो ठाउँ
एउटा यस्तो घरमा बसेजस्तो
जहाँ न त भित्ता छन्
न खापा
न आँखा राख्ने झ्याल छ
न ह्रदय सजाउने गमला
न हाँसो उमार्ने बारी छ
न कतै मनोहर द्रश्य देखिन्छ
सुनिन्छ त फगत
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,
बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ?’अच्छा यार’
र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्! यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,
जता हेर्यो उतै फुङ्ग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको-‘भै’
तावाको छुटेर जलेको रोटीको ?’र’
गालीजस्तो नरमाइलो तातो
हावाको-‘हवा’।

Tanka Subba – Pyaro Gaun Ko Samjhana Ma

टंक सुब्बा – प्यारो गाउको सम्झनामा

कसरी बाचेको होला
त्यो मेरो प्यारो गाउ कुरुले तेनुपा
वर्षौं भयो अलग्गिएर न्यानो काखबाट
आस्थाको उज्यालो खोज्दै हिडेको
धकेंलिदै विवशताको हुरीसंग
पुगेछु बिरानो देशमा
त्यहा पनि
सपनामा सधैं देख्छु विपनामा धिक्कारिदा
दिनरातसंगै हुन्छु यादहरुमा अल्मलिंदा
इच्छा थिएन मलाई
आफ्नो गुडलाइै छोडेर मुङ्लान पस्नु
उद्देश्य थिएन मेरो
मातृवात्सल्यबाट टाढिनु
तैपनि मनमा जागर बाधेर
छाम्दैछु मीठो सपनाको आकास
हिमशिखर जस्तै विश्वास पालेर
फक्राउदैछु ओंठमा लालीगुरास
तर क्षितिज पारी बनेको छ आफ्नै गाउ“
जुनवेला
थाहै भएन बालापनबाट तन्देरीमा उभिएको
थाहै भएन वात्सल्यप्रेम मुटुमा झ्याङ्गीएको
अब म कसरी पल्टाउ
अतीत बनेका ती क्षणहरु
बरु एकान्तमा सधैं दुःख्छन् घाउ बनेर
नसम्झुभन्दा पनि देख्छु झल्झली
रुझ्दै बिताएका साउने झरीहरु
देख्छु अझै झरना समीप नाच्दै गरेका परीहरु
झझल्को बनेर सताइरहन्छ
यो छातीभरि
त्यसैले माटोको मायामा भिजेर
बाचिरहेछु प्यारो गाउको सम्झनामा
मेरो जिन्दगी लेखिदिने
स्वर्गद्वारी कुरुले तेनुपा
बिरानो नसम्झे हुन्छ मलाई
तिम्रो वेदना पोखिएको छातीभरी
छरिदिनेछु खुशी ल्याएर
तिम्रो उजाड मुहारभरी
छाइदिनेछु हरियाली वसन्त भएर
तिम्रो प्यारो काखभरी
आउने छु तातो माया सम्हालेर
परदेशी नसम्झे हुन्छ मलाई
आउने छु भोलि बिहानको न्यानो घाम बोकेर ।

Krishna Bahadur Chhetri – Aatma Katha

जीवन-खेल मैदानको
म एउटा सहभागी
चढ्दैछ नशा ममा खेलको
विविधतामय यो जीन्दगी

कैले फुट्ला जस्तो हुन्छ टाउको
कैले चर्केला जस्तो हुन्छ छाती
देख्न्नु के छ ? रुने र हांस्नेको झगडा
लाग्न थाल्छ कलिलो मगजमा Continue reading “Krishna Bahadur Chhetri – Aatma Katha”

Jyoti Jungle – Yo Raat

ज्योति जंगल – यो रात

अध्यारोको साङ्लोमा
लमतन्न बेहोस छ,
र निशब्द निदाएको बहाना गर्छ यो रात
हज्जारौं सपनाहरु
हज्जारौं तलाका महल उक्लन्छन्
बन्द आँखामा,
कोशौं टाढाको मित्र
सेकेण्डभर छेवैमा आइपुग्छ
टाउकाको क्षितिजमा उडेर ।

खै देवताहरु के गर्छन् ?
ड्युटीको सिपाही बन्दुक नचलाई
सपनाको हत्या गरिरहन्छ.।
कुन अनुसाशनमा उभिन्छन्
चुपचाप रुखहरु र थाम्छन् जङ्गंल
कसलाई राख्छन् अध्यारोले झपक्क बन्द गरेर
लज्जावती झारका आँखाहरु ?

अँध्यारोको पर्दामा कसरी जोगाउँदो हो ?
फूलले लोभलाग्दो रङ्ग…
कहाँ सुते ती चरा ?
त्यो सडक पेटीको अपाङ्ग भिखारी
जतापनि बोल्दै हिँड्ने त्यो पागल ।

घरहरुले ढोका लगाएपछि
ती बाटाहरु पनि सुते होलान्
कैदबाट छुटेर सपनामा
कैदीहरु घरमै पुगेहोलान् ।

पटक पटक कोल्टे फेर्दो हो र्
भर्खर प्रेम बसेको जवानी
सन्तुष्ट आमा नानीको ओड्नेले
निन्द्रा छोपिरहेकी छे
अभाव या तृष्णा
चोर्नेहरुको दाउ पर्यो कि परेन ?
एकान्त लेख्न बसेको कलम
अक्षरहरुमा सर्यो कि सरेन ?

विरामी मात्र एक्लै व्यथा सहिरहेको छ..
अँध्यारोमा आँखा देख्नेले
कुन सौर्न्दर्य हेरिरहेको छ ?
डरलाग्दा आवाज निकाल्ने
हिंस्रक अस्तित्व
भुँइभरि सल्बलाउने कीराहरु
कहिल्यै विश्राम लिदैंनन्…

निदाउनेहरुलाई मात्र
समयको गति ढाँटिरहेको यो रात
अनिदाहरुलाई
न भय बाँड्न सक्छ ?
न सपना बाँड्न सक्छ ?

Diyesh Ratna Shakya – Ma Parkhal Bhitra Ko Euta Patra

दियेश रत्न शाक्य – म पर्खाल भित्रको एउटा पात्र

म लज्जाले निहुँरिन्छु
हिनताबोधले चिथोरिन्छु
जब म उफ्रन सक्दिनँ
होचा होचा पर्खालहरू
र पाउँछु आफूलाई
एउटा विवश कैदी पात्र

अगाडि उभिएको छ
-आशक्तिको पर्खाल
कतै टाढा जानबाट छेक्दै
-घृणाको पर्खाल
नजिक आउनबाट रोक्दै
म देखिरहेको छु
जडसूत्र उभिंदैछन्
संस्कार/ परम्पराका पर्खालहरू
अग्निसूत्र बर्साउँदैछ्न्
बिचार/बादका पर्खालहरू
हरियो झण्डा उचालिरहेछन्
जाति /सम्प्रदायका पर्खालहरू

म उभिएको धरातलमा
आज पर्यन्त पनि
उत्तिकै जारी छ
यी सबै पर्खालहरूको ऎक्यबद्ध प्रयास
तराई झैं फिँजिन
पहाड झैं अग्लिन
हिमाल झै चुलिन
र फैलाइरहेछ
एउटा मेलाको साम्राज्य
जहाँ कारोबार भइरहेछ
गुणस्तरका नक्कली प्रमाणपत्रहरू
बिज्ञापनका नाङ्गा चित्रहरू

पर्खाल पर्खाल नै हो
यसका करतुतहरू
अखबारभरि छरिएका छन्
टिभीका काँच पर्दामा
उजागर भएका छन्
साथै यसको बिरुद्ध हरदम बजिरहेको छ
एफएम रेडियोमा बिद्रोही गीत
र पनि झन थपिंदो छ पर्खालहरू
हुकुमका भरमा/आदेशका भरमा
नाराका भरमा/आवेगमा भरमा
एक निमेषमै

एउटा छिमेकी जस्तै
जतिसुकै संगै बसेपनि
म र पर्खाल
अलगअलग धार हौं
यसैले
मैले सुरक्षा अनुभूति गरिरहेको छैन
पर्खालहरूको परेडमा
मैले आफ्नो नारा मिसाउन सकिरहेको छैन
पर्खालहरूको जुलुसमा
र म रमाउन सकिरहेको छैन
पर्खालहरूको क्याट्वाकमा

मैले सुन्न चाहिरहेको आवाज त
बर्लिन पर्खाल झैं
यी सबै पर्खालहरू
एकपछि अर्को
चकनाचुर ढालिरहेको
ज्यावलहरूको आवाज हो
ताकि मैले फेरि सुनाउन नपरोस्
म लज्जाले स्खलित हुन्छु
जब उफ्रन सक्दिनँ
होचा होचा पर्खालहरू

(थाय् भु-४,नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रकाशित)

Kabin Basnet – Laato

कबिन बस्नेत – लाटो

म लाटो हुँ ।

बोल्न नसकेर होईन
जमाना अनुसार चल्न नसकेर
म लाटो भएको छु ।

हाटबजारका
प्रत्येक आलु, प्याज र गोलभेँडाको मोलमोलाइमा
ढक र तराजुका पल्लाहरूसगँ
म सधैं पराजित हुन्छु ।
मुल्यवृद्धिका तहहरू छिचोल्न असमर्थ
मेरा पाइलाहरू लुइँलुइँ हिँड्छन्,
मेरा चप्पलहरू चुइँचुइँ रून्छन्
मुलबाटोको सिमान्तकृत बटुवा
म चोरबाटोहरू ठम्याउदै बाठो हुन जान्दिनँ ।
मोलम्बा लेपिएका संवादहरूलेे त्रसित
विवश लाटोकोसेरोको मानसिकता बोकेर
प्रतिक्रियाहीन, उत्तेजनाहिन
म यसैगरी सधैँ लुरूलुरू लाटो गतिले
एकसुरले हिँड्छु आफ्नै बाटो
जसरी आज हिँड्दैछु
र, सम्झिँदै छु
मधुमासको सुगन्ध जस्ती मेरी श्रीमती
( उसलाई मैले नयाँ साडी किनिदिने बाचा गरेको थिएँ )
बालसुलभ उत्साहले तरङ्गिदै,
आफैसगँ दङ्ग पर्दै
म एउटा पब्लिक बस चढ्छु ।

( दाई…? भाडा पाऊँ न ? )

ओहो ….!
मेरो वालेेेट….?
हरे….! म कति लाटो मान्छे
पत्तै नपाई
पाकेटमारको पन्जाले चुँडिसकेछ,
मेरो वालेेट
जसमा टम्म थिए श्रीमतीलाई नयाँ साडी किनिदिने सपना ।
डेरा पुग्नासाथ
मेरी श्रीमतीको अघिल्तिर
म रित्तो खल्ती फर्लक्क फर्काउछु,
र, मेरो लाटो करामतको बेलिबिस्तार लगाउँछु
मेरी श्रीमती ओठ लेप्राउदै
दैलोमै थचक्क बस्छे,
हातका चुराहरूले निधार ठोक्दै
आफ्नो दुर्भाग्यलाई सक्दो सराप्छे
मेरो लाटो चेतनालाई धिक्कार्दै रून्छे ।
म घोसेमुन्टो लाउदै
उसका प्रत्येक गुनासोहरूलाई स्वीकार गर्छु
सायद सदृश पीडाबोधले म पनि उसँगै रून्छु
प्रस्तरको मूर्ति जस्तै निर्वाक, अचल
म उसलाई ढाडस दिन सक्दिनँ,
भुङ्ग्रो जस्तै तात्तिएर
वर्तमानको विरूद्ध उठ्न पनि सक्दिनँ
किनकी
निहत्था, निरीह
म लाटो हुँ ।

बोल्न नसकेर होईन
जमाना अनुसार चल्न नसकेर
म लाटो भएको छु

Kabin Basnet – Timi Ra Ma

कबिन बस्नेत – तिमी र म

तिमीजस्तै
म पनि सन्तप्त छु
कैयन् कैयन् पीडाहरूको दवाग्नि
मभित्र पनि हुर्हुती बलिरहेछन्,
कति कति सपनाहरूको हत्या
मैले पनि तिमीले जस्तै
विवश मनले सहेको छु
फरक यत्ति हो-
तिमी सबैको अगाडि
आँसु रित्ताएर बग्न सक्छयौ
र, दु:खको वैतरणी पारी पुगेपछि
एकछिन फेरि फूल जस्तै फुल्न सक्छयौ,
म आँसुहरू सँगाल्दै जान्छु
घल्चा भरि टिलपिलाएर
जब पोखिन खोज्छन् तिनै आँसुहरू
बन्द कोठाको अन्कन्टार कुनामा पुग्छु
अनि सानो आवाजले रून्छु
तर, म तिमीले जस्तै
विगतका काँडेतार छिचोलेर
फेरि-फेरि त्यसैगरी
फूल बनेर हाँसिरहन सक्दिनँ ।

Kabin Basnet – Biswasghaat

कबिन बस्नेत – विश्वासघात

मध्यरातमा लर्खरिएको समय,
रित्तिसके बोतलका बोतल
थपिसकेँ पेगमाथि पेग
अझै किन दुख्दैछन् अतृप्त जिजिविषाहरू,
ए रक्सी !
शङ्का लाग्छ तेरो नियत
कतै संसारले जस्तै
स्वार्थको रङ्ग ओढेर
मलाई विश्वासघात त गर्दै छैनस् ?

Damodar Pudasainee – Nadhoine Haate Rumal

दामोदर पुडासैनी किशोर – नधोइने हाते रूमाल

मेरो हाते रूमाल
अब कहिल्यै धुनें छैन
बरू टाँस्नेछु पोस्टर बनाएर

बैठक कोठाको सुन्दर भित्तामा
त्यो दिन
तिमीले सुम्पेको थियौ आफ्ना सबै कुरा
मैले सुम्पेको थिएँ आफ्ना सबै कुरा
सबैकुरा सुम्पेपछि
भएका थियौ हामी
म तिमीजस्तो र तिमी म जस्तो
हामीसँग शब्द थिएनन् समर्पणको
पर्दाहरू हराइसकेका थिए हामी दुई बीचको

साटिन आतुर थिए मुटुहरू
ठीक त्यसैबेला
बिजुली चम्कियो मायाको सँसारमा
सुन्दर बतास चल्यो हाम्रो अँग अँगमा
थाहै नपाई चुमिरहेथे ओठहरूले
मायाको स्वाद चाखिरहेथे हामी दुबैका जिभ्रोहरूले
युद्ध होइन
समर्पणको होडबाजी चल्यो निकैबेर
तिमीले दियौ एउटा सुन्दर सँसार
मैले दिएँ मेरो सारा सँसार
मायाको तलाउमा पौडेर
किनारमा बस्दा पो देखियो
कि तिम्रो सम्पूर्ण लिप्स्टिक
सजिएको रहेछ मेरो ओठमा
मैले पुछिन त्यसलाई
बरू सजाएँ हाते रूमालमा
मेरो हाते रूमालको लिप्स्टिक जडित चित्रमा
निरन्तर चलायमान छ तिम्रो उपस्थिति
निरन्तर चुम्न खोज्दैछन् तिम्रा ओठहरूले
निरन्तर बर्षाँउँन खोज्दैछ्यौ तिमीले माया
यसबेला कहाँ धुन सक्छु म मेरो हाते रूमाल

जसमा निरन्तर पाइरहेछु मैले तिम्रो स्पर्श र तिम्रो सजीव चित्र
अहिले भर्खरै
मेरो बैठक कोठाको भित्तामा टाँगिएको छ
रूमालको एउटा सुन्दर पोस्टर
त्यही पोस्टर टाँसिएको छ
मेरो मुटुको भित्तामा पनि
तिम्रो मुटुको भित्तामा
म टाँसिँएँ ?
या फुटेँ असफल सिसा जस्तो ?

-२०७६ असार १८ गते बुधवार
ग्वँग:बुँ,नयाँबसपार्क ,काठमाडौ