Yogendra Raj Sharma – Gothalo Drishti

योगेन्द्र राज शर्मा – गोठालो दृष्टि

यो समय
आहाल बसिरहेको भैँसीमाथि
बसिरहेछन् भ्यागुताहरु
र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान ।

केही समयअघि
यही घोलमा
कुरिरहेका थिए आन्द्रो सुकेका जुकाहरु
भैँसीको Continue reading “Yogendra Raj Sharma – Gothalo Drishti”

Rabindra Nath Thakur – Biraha Alok [From Geetanjali]

प्रकाश : प्रकाश कहाँ छ र ?
विरहको आलोकले प्रदीप प्रदीप्त गर !
जलिसकेको प्रदीप राख, विरहको नयाँ आलोकले त्यसलाई बाल !

‘यस्तो नै भाग्मा लेखिएको छ,’ यसो भन्नु भन्दा मर्नु असल हो :
विरहको अग्निले आङ्खनो प्रदीप बाल !

वेदनारुपी दूती गाइरहेकी छ,
‘ऐ प्राण !’ तिम्रो निम्ति भगवान् जागरुक भएका छन् :
त्यो रातको अँध्यारोमा साथी–सङ्गीका निम्ति तिमीलाई पुकार
गरिरहेछन्,
तिमीलाई दुःखी देखीकन उनीहरु तिम्रो प्रेम गौरवान्वित ठान्दछन् :
तिम्रो तिम्ति भगवान् जागरुक भएका छन् !

अम्बर प्रांगण मेघले परिपूर्ण छन्,
वर्षाको पानी झर–झर–झर झरिरहेछन् :
जलिसकेको प्रदीपलाई विरहको आलोकले बाल :
यो तिमिराछन्न रात्रिमा म एक्लै कसैको प्रतीक्षामा जागृत छु ?
वर्षाको पानी झर–झर–झर झरिरहेछन् :
बिजसलीको ज्योति क्षणभर मात्रको लागि न हो, नाउ निस्पट्ट
अन्धकारले घेरेको छ :
कसले जान्दछ र कि कति टढादेखि रात्रिको गम्भीर सङ्गीतको
स्वर आइरहेछ ?
त्यो सङ्गतिले मेरो सम्पूर्ण आत्मालाई उपट्टि खिचिरहेछ !
प्रकाश कहाँ छ ? प्रकाश कहाँ छ र ?
अब विरहको अग्निले नै प्रदीप बाल, जगाऊ, प्रेमी ! जगाऊ ।

मेघ गर्जिरहेछन्, वायस मन्द मन्द बहिरहेछ :
वेला भइसकयो, अब कहीँ जानु असम्भव होला :
निस्पट्ट निशा आबनूसको कालो ढुंगा झैँ कालो छ,
यस्तो रातमा प्राणलाई प्रेमको प्रदीपले प्रकाशित गर !
आङ्खनो प्रदीपलाई विरहको अग्निले नै प्रदीप्त गर !

Nishprabh Saji – Baari Ko Kanlo

निष्प्रभ सजी – बारीको कान्लो

बारीलाई कान्लो चाहिएको छ,
खेतलाई आली चाहिएको छ
मेरो देशको सीमानामा भने
पर्खाल हैन नेपाली चाहिएको छ

बारीको कान्लो मिचियो केही बोलिन
त्यो छिमेकी थियो
गार्‍हो पर्दा काम लाग्ने त्यही त थियो
खेतको आली, मिचियो केही बोलिन
त्यो गाउँले थियो।
मर्दा पर्दा काम लाग्ने, त्यही त थियो
यसपाली त अचम्मै भो, देशै मिचियो

इतिहासको कथा भित्र
यो नेपाली ब्यथाको भित्र
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चिने सामु
अहिले त मलाई
मेरो खिया लागेको खुकुरी उद्याउने रहर जागेको छ
नभन्नु मेरो रगत उम्लियो
जहाँ कुल्च्यो उसले अहिले,
मेरो देशको हो त्यो ।

शब्द – निष्प्रभ सजी
संगीत – न्हू बज्रचार्य

Bhim Darshan Roka – Nepal Dekhda Katai Dekheko Jhain

नेपाल देख्दा कतै देखेको झैँ,
बिहान कतै आँगन टेकेको झैँ,
यस्तो लाग्यो हृदयमा मेरो,
सपनामा कतै भेटेको झैँ,
नेपाल देख्दा कतै…।
टाढा टाकुराबाट गाएको झैँ,
पहराबाट गोरेटो आएको झैँ,
यस्तो लाग्यो हृदयमा Continue reading “Bhim Darshan Roka – Nepal Dekhda Katai Dekheko Jhain”

Damodar Pudasainee – Barshat Ka Filinga Haru Lai

दामोदर पुडासैनी किशोर – बर्षातका फिलिँगाहरूलाई

यो बर्षातलाई
थोपा थोपा समेटेर पुरै प्युँन पाए हुन्थ्यो
दिनरात झरी झारेर एकनास रूझ्न पाए हुन्थ्यो
बर्षातसँगै कोही आफन्त झरोस् भन्ने चाहेको थिएँ
भर्खरै बर्षातमा झरे –
गिध्दका नँग्राहरू
ग्रेनेडका कणहरू
र,चुँडिँदै झरेका घामका पखेटाहरू
जीवनचँगामा उडन खोज्नेहरू
तुन्द्रुँग झुण्डिएका छन् बर्षातका लहरहरूसँगै
धेरै मान्छेहरू
आ-आफ्नै आवाजमा
एकैपटक पोख्दैछन् आ-आफ्ना ब्यथाका समुद्र
बिग्रेको रेडियोको धूनझैं
समय बनेर झर्दैछ बर्षात ,टाउकाहरूमा
बर्षातमा परदेशबाट कोही बर्स्योस् भन्ने आशा थियो
पानी होइन पसिनाले नुहाउँदारहेछन् परदेशीहरूले
पसीना, पानी ,मन -केही पनि पठाएनन् बादलसँगै
बर्षौदेखि बचेरा हराएपछि
लेउ जमेको आँगन र झाडीले ढाकेको खेतबारीमा
सकि नसकी एक्लै झरिरह्यो बुढाबुढीका सुस्केरा
यो बर्षातमा
जीवन ब्युँझाउँने केही कुरा गर्न पाएँ हुन्थ्यो भन्ने लागेको थियो
समयको डिलमा
भ्रममै बर्षिरहेछन् प्रेमका लेखोटहरू
भ्रममै चिच्याइरहेछन् बिहान ब्युँझाउने चराहरू
भ्रममै रोकिएकोछ मान्छेको आवतजावत
भ्रममै टाढिएकोछ एउटा मन पर्ने मान्छे
अक्टोपस बर्षात
चुसेर निल्न खोज्दैछ लिफ्टमा हुँईकेका मनहरूलाई
कि त रेड लाइट बाल्न खोज्दैछ फ़्लाइओवरको मध्यबिन्दूमा
काकाकुल मान्छेहरू
कैद गर्न खोज्दैछन् बर्षातलाई कचौरामा,डेक्चीमा,प्रेसरकुकरमा ,चम्चा र डाडुहरूमा
बर्षा भने दौडिरहेछ बेलगाम मनसँगै
लामों प्रतिक्षापछि
आँकुरा ब्युँझाउँन झुल्केकोछ बर्षा
यसमा तिमी र म सँगै भिज्दै हिँडिरहनपाए हुन्थ्यो
समात,बर्षा समात मुठ्ठी मुठ्ठीमा
बर्षा भाग्यों भने
भाग्नुपर्छ कुनैदिन हामीहरू सबै सबै
बर्षातका फिलिँगाहरूलाई
जोरौं र निकालौं आगो
बर्षातभित्रै त हुर्कने हो मायाको बगैँचा

-२०७६ श्रावण २६ आइतबार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ

Damodar Pudasainee – Living Declaration

दामोदर पुडासैनी किशोर – लिभिँग डिक्लेरेसन

सर्टभित्र अँगुलीमालको लकेट भिर्नेहरू
बुध्दमूर्ति निर्माणको नक्कली कार्यसँपन्न प्रतिवेदन बनाएर
धमाधम अश्वेत बिलको रक़म हसुरिरहेछन्

हिप्पोक्रिटहरू गोप्य मिटिँगमा मस्त छन्
नयाँ नयाँ एक्सपेरिमेण्टल कहानीहरू कथेर
दुई सूत्रे काम फत्ते गर्दैछन् जागीरे जीवनाबधिमा
पहिलो-आफ्नो ग्रुप सेटिंगमा नपर्नेहरूको
ज़रा र टाउकोनै दोहोलो काड्ने ,र
दोश्रो-हेरेर, फेरेर र केरेर जसरी होस्
आफ्नो खल्तीको उचाई थप्ने

फिरौती असुलीका डनहरू
कामको बहानामा खटाउँदैछन् ज्यामी माहुरीहरूलाई
देशका कुनाकाप्चाहरूमा
मातहतकाहरूले देशको मुटु कलेजोहरू चिमोटेर ल्याएपछि
थन्क्याँईँदैछ आफ्नो मुठ्ठिभित्रको ब्ल्याक सेन्ट्रल फण्डमा

फिरौतीको डोजर आतँक छ कुर्सी कुर्सीबाट
सेटिंगको सर्कलभन्दा बाहिरकाहरूलाई मुख सिलाईदिन
बेलामा गरिरहन्छन् डेट एक्पायर्ड इथिक्सका परिपत्र
आफू भने तिनै इथिक्सलाई धोती लगाएर
नाचिरहन्छन् नाँगो नाच

एँगलिँग खेल असाध्यै प्यारो छ
कार्यालयका सबैभन्दा भब्य कोठाहरूमा
रातारात शेयरका भाउ बढाउनेहरू
र रातारात कटफट गर्दै ग्रुप मर्जर गर्नेहरू
हुरीको पिपलझैँ सल्बलाइरहेछन् शाखा शाखाहरूमा

गिनीपिग र प्रेरिमाउसहरू
आफूलाई अरबी घोड़ा ठानेर
हिनहिनाउँदै टापले कुल्चन खोज्छन्
सक्कली माहुरीका अनुहारहरूमा
ठस्ठसी गन्हाएका गधा चढेर
बेगवान घोड़ा चढेको अभिनयमा छन् चरिकमिले शारथीहरू

भर्चुअल लभको सेन्ट्रल डिपार्टमेंट बनेकाछन् सेबा केन्द्रहरू
तोपचरो निखार्ने बृहत् अभियान सब्लाईरहेछ
चिडियाखाना मासेर
आखेटोपहारले सिँगारिँदैछ कार्यकक्ष

तिमीहरू
कयौं धानखेत र मकैबारीका सपनाहरू लुटेर
क़ैद गर्दैछौ आफ्नै लालपूर्जाहरूमा
सुदुर गाउँका उज्यालो खोसेर
लुकाउँदैछौ आफ्ना सन्दुस र मदुसहरूमा
देशका सपना उमार्न बाग्डोर सुम्पिएको हो तिमीलाई
तिमी भने सपेराले विन बजाएझैं जनतालाई लठ्ठयाएर
बिषालु दाह्रा र नँग्रा गाडिरहेछौ जनताका पिठ्यौ र पेटहरूमा

चोरीका भर्टिकल्ली र होरिजिन्टल्ली
लिडर्सिप हाँक्नेहरूको हातमा
हल्लिरहेछ देशको सुन्दर साँचों

म मृत्युप्रिय मान्छे होइन
लतपतिएका अक्षरले सुसाइड नोट लेखेर
सुकिला परिधानमा सुकिला भाषण ठोक्दै
अँध्यारोमा निर्दोष चराहरू मार्ने

तिमीहरूजस्ता हुँडारहरू
आत्तिरहु मेरो छायाँले पनि

म यतिखेर
डाईँग डिक्लेरेसन होइन
लेख्न खोज्दैछु लिभिँग डिक्लेरेसन
इनर्जेटिक ढँगले बढिरहेछ क्याट्रिना साइक्लोन
यसबेला सखाप पार्नुपर्छ
ढुँगामा अबिर दलेको नाटक मँचन गर्दै
अर्काको आन्द्रा चुस्न पल्केका पूजारीहरूलाई

नदीहरू उकालो चढिरहेछन्
पहाडहरू उठाउँदैछन् ढुँगे बासना
झूठो ईश्वर अग्राशनमा राखेर
सिधा मान्छेका ममिज चपाउँनेहरूका लागि
खन्दैछु म एउटा गहिरो खाल्टो

२०७६ श्रावण ३१ शुक्रबार
ग्वँग:बुँ,काठमाडौ

Baidyanath Upadhyaya – Thulo Manchhe

वैदयनाथ उपाध्याय – ठूलो मान्छे

ठूलो मान्छे बन्नु पर्छ भने
पहिले त तिमी मान्छे बन्नु पर्छ
मान्छे हुनु भनेको
आफैंप्रति इमान्दार बन्नु हो।

तिमी आफुप्रति इमान्दार छैनौ भने
तिमी जुनसुकै उच्च ओहोदामा रहे पनि
तिमीले जत्तिनै ठाट-बाट देखाए पनि
समाज जीवनमा
त्यस्को कुनै मोल छैन।
“अरूलाई तिमी भाषा-साहित्य संस्कृति
जोगाउनु पर्छ
हामीले आफ्नो भाषाको
कदर गर्नुपर्छ भन्छौ”
अँ, यीनै कुराहरू
आफ्नै छातीमा हात राखेर भन
तिमी आफैंले
भाषा साहित्य र संस्कृतिको
के कत्ति जगेडा गरेका छौ
तिमीले त आफ्नो दिनचर्यामा
नेपाली पत्र पत्रिकाहरूलाई पनि
सामिल गरेका छैनौ।
तिमीमा नेपाली हुनुको
कुनै गौरव छैन
अब तिमी केवल
भाषणबाजीमा मात्रै जीवित छौ
किनकी तिमीले भनेका कुरा
तिम्रो जीवनमा कहीं कतै
लागु हुँदैन भने
ठूलो मान्छे हुनु त टाढाको कुरो
असलमा
तिमी मान्छे पनि बन्न सकिरहेका छैनौ।

Bipin Singhal – Kasto Preet

बिपिन सिंघल – कस्तो प्रित

स्वर्ग झै बगैंचा को ,
सुगन्धित फुल हौ तिमी

कहिल्यै स्वपनाको मुहार, श्रृङ्गारिएको रानी ,
कहिल्यै मेरो ठूलो भुल हौ तिमी

तिमी छैनौं मेरो सांस ,
त , मेरो साथ नै के छ ?

बताउ, तिम्रो मोह को
यो कस्तो प्रित हो ?

अए! प्रिय तिमी शाश्वत अमर परि हौं ,
तिमिलाइ मेरो जिवन दान

मेरो आत्मा ,तिम्रो शरीर
मेरो मुटु ,तिम्रो धड्कन

यहि मेरो जिन्दगी को
रित हो !!

Sankalpa Khanal – Euta Santan Janmaunu Parchha Priya

संकल्प खनाल – एउटा सन्तान जन्माउनु पर्छ प्रिय

हुर्राहरुको जमातले बाँझी भने तिमीलाई
बैकल्याहरुको जमातले लाछी भने मलाई
उल्टो गतिको समाज हेरेर,
भावावेशमा गरिएको
तिम्रो मेरो निर्णय
परिवर्तन गर्नुपर्छ ।
एउटा सन्तान जन्माउनु पर्छ ।
आँखा हँुदा हुँदै अन्धो बनेको
ठुले जस्तो होइन,
क्षमता भएर पनि कायर बनेको,
लुले जस्तो होइन
र, आफ्नै आमा नङग्याएर,
रमिता देखाउदै
पैसामा बिक्ने कुलंगार
कुले जस्तो होइन ।
एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।
पुरुषत्वको जामा पहिरिएका,
नारित्वको दमनका सन्तुष्ट,
प्यासी समाजका मर्दहरु,
नपुंसक बनेको देख्दा
छोरै जन्माउनु पर्छ भन्ने छैन,
सन्तान, सन्तान बन्न सकोस्
छोरी नै किन नहोस्
तर, आफु भित्र बिद्रोह गर्न नसकेर,
परिस्थितिलाई दोष दिदै,
बाध्यता अलापिरहेका छोरीहरु
जस्तो पनि होइन ।
सन्तान, सन्तान बन्न सकोस्
अन्धाहरुका आँखा खोल्न सक्ने बनोस्,
लाटाहरु भित्र बोल्न सक्ने बनोस्,
रुढी र विकृत संस्कार,
लोभ र मोह उन्मुख व्यवहार,
अन्याय र अत्याचारका जालाहरु
पोल्न सक्ने बनोस् ,
एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।
गरिबीमा उ विश्वविद्यालय पढने छैन,
प्रमाण पत्रका खात लागउदै
देखावटी सफलतामा बढने छैन,
उ निर्धाहरु माथिको अन्याय पढ्नेछ,
उ मजदुरको मजदुरी र ज्याला पढ्नेछ ,
उ पढ्नेछ असमानताका भड्खालाहरु ।
पिडा र दःुख खानेछ उ,
साहस ओकल्ने छ उ,
समानताको अभियानमा
समयको वेगलाई पछ्याउदै
संघर्षको अग्रपंक्तिमा हास्नेछ,
निरन्तर, निरन्तर संघर्षमै रमाउनेछ ।
हत्या गरिएका हजारौ सपनाका
लासहरु नियाल्दै
म नयाँ सपना बुनेको छु
त्यसैले
एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।
हो, एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।

Anjan Shrestha Abhagi – Janata Bhok Bhokai Mareka (Gajal)

अन्जान श्रेष्ठ (अभागी) – जनता भोक भोकै मरेका

जनता भोक भोकै मरेका, छन हेर नेताहरु ।।
रिसले चुर चुर भएका, छन हेर नेताहरु ।।

जुन नेता आएपनि आफ्नै पेट भरछन ।।
ठिक पार्न कम्मर कसेका, छन हेर नेताहरु ।।

जतिबेला पनि चुनाव भन्छौ बनाउदैनौ ।।
सबिधान बनाउन झरेका, छन हेर नेताहरु ।।

जुन पार्टीले सरकार चलाएपनि त्यस्तै ।।
जनता आल्दोलनमा उत्रेका ,छन हेर नेताहरु ।।

एक जुट हुदैनौ किन बाबुराम प्रचन्ध ।।
हेर्दा हेर्दै वाक्क परेका, छन हेर नेताहरु ।।

कुवाकोट कान्छीबजार स्याङजा / हाल India

Khagendra Giri Kopila – Samjhana Ka Chhayan Haru (Nepali Gajal)

खगेन्द्र गिरी ‘कोपिला’ – (गजल)
(Source: मधुपर्क जेठ, २०६८)

सम्झनाका छायाँहरू सम्झिर’न पाए पुग्यो
जूनकीरीझैँ अँधेरीमा चम्किर’न पाए पुग्यो

सँगालेर पीडाहरू अँगालेर खुसीहरू
हृदयको गोरेटोमा लम्किर’न Continue reading “Khagendra Giri Kopila – Samjhana Ka Chhayan Haru (Nepali Gajal)”

Kundan Kumar Panta – Bishwasghaat (Nepali Muktak)

कुन्दनकुमार पन्त – विश्वासघात (मुक्तक)
(मधुपर्क माघ, २०६७)

हिजोसम्म भँवरा झुम्मिने फूल आज एक्लै परेछ
त्यो फूलको यौवन सकिएर होला अर्कै तिर पो सरेछ
मान्छेलाई मात्रस्वार्थी र विश्वासघाती के भन्नु
भँवराले पनि फूललाई विश्वासघात गर्दो रहेछ

Dr. Gopal Bhandari – Ananta Bramhanda

डा.  गोपाल  भण्डारी  – अनन्त  ब्रम्हांड

धेरैलाई सरम लाग्छ–
आजभोलि नेपालबाट आएको भन्दा
अनपेक्षित फन्दामा फसिने डरले
अन्तर्राष्ट्रिय क्षेत्रमा जातै गए जस्तो लाग्छ,
नेपालीले नेपालीलाई
बिना कसुर हत्या Continue reading “Dr. Gopal Bhandari – Ananta Bramhanda”

Suchitra Khaniya – Niyati Ko Khel Yestai (Nepali Gajal)

सुचित्रा खनिया – नियतिको खेल यस्तै (गजल)

नियतिको खेल यस्तै खेल्यो जिन्दगीले
जीतभन्दा हार बढी झेल्यो जिन्दगीले

जिन्दगीको ओत भन्नु यही मनको छाता
बर्षातमा घाम पानी छेल्यो जिन्दगीले

अँगेनामा खाली खाली तावा मात्रै तात्यो
बिना आँटो भोक मात्रै बेल्यो जिन्दगीले

आज भन्यो भोलि भन्यो दिन मात्रै गन्यो
माकुराको जालोजस्तै जेल्यो जिन्दगीले

मधुपर्क जेठ, २०६९

Sujan Budhathoki – Dhunga Chattan Sab Galera

ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

बिस्वास लाग्दैन होला ए!
मसानका चुडेलहरु
चिहानकी परि पनि आज
आकासकि एन्जल भयो
ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो

ति मन्दिरमा भगवानको भजन गर्ने,
गायक भएछन
आखिर मर्ने त यहाँ नालायक
त्यो ढोलक या मादल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

पछार्न बन्दुक बोकेर दुस्मनलाई
मार्न हिडेको मान्छे
एउटा जवान कन्याकै मुस्कानले
उ घायल भयो
ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो

ए सरकार यो देसमा कर यसरी बड्यो कि
भ्रष्ट्रचार मानोउ कि
यी लाचार भुसभन्दा पनि सस्तो त
यहाँ किसानको त्यो चामल भयो

प्यार हैन यार त्यो ब्यपार सम्झ
यो कालो सन्सार
कारागारमा बाघको सिकार
अनि बिरालोको छल भयो

बारम्बार नहेर अनुहार,
अहङ्गकारको नगर सृङ्गार
जस्तो कि कबिता लेख्दा
यहाँ मेरो यो गजल भयो

मत बिसुद्द सफल जिवन सम्झिए
हल जगत
जबदेखी मेरो यो मन यहा
बुद्द झै सरल भयो

उनिहरु बारुद्द र बिद्रोहले
सान्ती खोजिरहे तेसैले त
मातृभुमी भासिएर
आमाको छाती आज पातल भयो

छ्याकसरी भनेउ कि?
मेरा बाउको पसिना गनायो भनेर
के तिमिहरुले पिएको
कुकुर झोल चै गङ्गाजल भयो?

ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमलकमसल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

Diyesh Ratna Shakya – Sakshatkar: Temple of Heaven Sanga

दियेश रत्न शाक्य  – साक्षात्कार: टेम्पल अफ हेभनसंग

एउटा चीनिया किसान
तिमीसंग असल बाली मागिरहेछ
म मागिरहेछु
एउटा साक्षात्कार
मात्र एउटा साक्षात्कार

बेइजिङको थुम्कोमा यसरी उभिदिएर
तिमी साक्षी बसेका छौ
बिगतदेखि बर्तमानसम्म
माला जस्तै गाँसिएका पुस्ताहरूको
प्राचीनदेखि अर्वाचीनसम्म
नदी जस्तै अविरल बगिरहेका युगहरूको

तिमीकहाँ एकोहोरो सोहोरिएको छ
बेइजिङ भरिको हाटबजार
र यो भीडमा
कोही पनि खाली फर्केका छैनन्
तिमीलाई छामेर इतिहास बुझ्न खोज्नेहरू
तिम्रो रंगले जीवन रंगाउन खोज्नेहरू
रमाइरहेकै छ्न् बैँस टेकेकाहरू
सेल्फीभित्र तिमीलाई छिपाउँदै
नाचेरै रमाइरहेछन् बैँस बिसाएकाहरू पनि
आँखाभित्र तिमीलाई सजाउँदै

आफ्नो गर्विलो भेषभूषामा
मोहक नृत्य पस्किरहेछन्
प्रान्तीय नर्तकीहरू
बसन्तधूनको उल्लास गुन्जाइरहेछन्
एक हूल स्थानीय कलाकारहरू
महक सुवास थपिरहेछन्
बगैचाभरिका सुशोभित फूलहरू
मानौँ स्वर्गको एक टुक्रा
यहीं कतै खसेको छ

म देखिरहेछु
तिम्रोलागि जवानी फर्काउन
बिहानी कसरतमा जुटेका छन्
प्रौढहरूको समूह यत्रतत्र
आउँदो युगान्तरसम्म पनि
तिमीलाई यसरी नै बलिष्ठ उभ्याउन

आँखाभरि यी नै दृश्यले
मदमस्त भएर
म उत्सव जनाइरहेछु
नानीभरी न्यातपोल नचाएर रमाइरहेछु
फ्याँक्दै आशाको माछी जालो
कतै यी नै गोलाकार प्यागोडालाई भरेङ बनाएर
आइपुग्ने हुन् कि महान् अरनिको
बेइजिङ्को धमिलो आकाशबाट
अथवा
बेइजिङ्को ब्रान्ड आम्बेसडर
यो विशाल मन्दिर भित्रबाट
कतै मैले चाहे जस्तो
जीवन्त साक्षात्कारको लागि
बोलाहत आउने पो हो कि?
म यो भीड बीचमा पनि
एक्लो छुट्टै गम खाइरहेको छु
एक्लो छुट्टै रमाइरहेको छु

(अक्षरमा प्रकाशित)

Yagyesh Dhwoj Karki – Aama Timro Yaad Aayo

यज्ञेशध्वज कार्की – आमा तिम्रो याद आयो

आमा तिम्रो याद आयो,
तिम्रो मायाको सम्झना आयो,
धेरै टाढासम्म आयो
र यसरी आयो कि
तिम्रो ममताको आभासले मेरो मन भरी आयो
आखाँमा आँसुको झरी ल्यायो
यी बन्द नेत्रले पलभरको लागि तिम्रो दर्शन पायो
र यो शिशुले
तिम्रोलागि शब्दै मात्रको यो गीत गायो,
आमा तिम्रो साह्रै नै याद आयो।

Ram Prasad Prasain – Tundaal Baata Choitiyeka Man Haru

रामप्रसाद प्रसाईं (आशुतोष आंशु) – टुँडालबाट चोइटिइएका मनहरू

समय,
समाप्तिको
प्रस्तावनामा

‘उपसंहार’ हुनुले—
घिडघिडो पोखरीमा ‘बल्छी’ उग्न थाल्छ
एक टुक्रो चारो जिन्दगीको

बाबियोघारीमा
मरियाना ट्रेन्चले पहिरिइएर
मेट्रोपोलिसका रङ्गीन गगल्जहरू
गर्छ—
‘घेटोटाइजेसन’ (ghetotisation)
शिरभरिका स्वाभिमानी चोमोलोङ्गमाहरूको

शनै शनै धुरीमुनिका
खोपाभित्रबाट
फुतु फुतु
फुतुतुतुतुतु……………..
खस्न थाल्छन्—
पुरातन र जीर्ण देवालयका टुँडालहरूझैँ
विदीर्ण विचारहरू
बिहानी शीतका
यात्रान्मुख सपनाहरूझैँ

जहाँ
घु्र्यानहरू
चलाइरहेछन्—
गरिरहेछन्—
नवयौवन मुद्राकीर्तिमा
राइँदाइँहरू
………………….
सामाजिकीकरणको
…………………..
दार्शनिकीकरणको
…………………….
सिजोफेर्निक अस्तित्वपथमा
उभयचरीय चेतनाको

हो,
यस्तै यस्तै
सार्वजनीन् सौम्य सभ्यताहरू

बन्छन्—
बक्छन्—
बग्छन्—
अनि
बिटुलिन्छन्—

निमग्न मनहरूका साथसाथ
बाँसुरीका धुनहरूमा
भकारीका घुनहरूमा
कतै वृन्दाबनहरू
कतै इन्द्रासनहरू
सँचेतनाका झ्याम्टाहरू सजिइरहेछन्—
कर्णविवरहरूमा
जसरी
भोका सन्तुष्टि र नाङ्गा अस्मिता
फुलाउँदाछन्
चाँप र घण्टी फूलहरू

बिकटे घाटका
उम्दा जिउँदा शवहरू
खोस्रिरहेछन्
जिजीविषाका बतासे चिङ्नाहरू
घोकेर
चार कुना ठोकिइएका
बाचाल इतिहांसका अस्थिहरूको

जब जाग्दछन्
सबलाङ्ग मुर्दाहरू
जिउने अभिलाषामा
स्वाभिमानी अभिप्षाहरू
मायावी सँसारका बलेसीहरूसँगै
छेलो हानिरहन्छन्
मनभरिका बाछिटाहरूबाट

हो, त्यसैले:-
समग्र चेतना—स्वाहा
समष्त संरचना—स्वाहा
सम्यक सम्वेदना—स्वाहा
यज्ञयज्ञादि तथा अनुष्ठानहरू—स्वाहा
परम्परागत पर्खाल, वेदी, आधारभूमि—स्वाहा

किनकि

—स्वाहा=स्वाहा—

बीच समुद्रबीचबाट
चिच्याइरहेछ बिचरो शोफेनहावर,
“Every parting gives a foretaste of death, every reunion a hint of the resurrection१.”

कतैबाट चट्टान रसाइरहेछ,
“Remember Me, and I will remember you२.”

बिजुली झड्कासँगै
टाइरेसिस बोलिरहेछ,
डेल्फीको देवीथानबाट
“Oh, the torment bred in the race, . . .
But there is a cure in the house, and not outside it . . .
Bless the children, give them triumph now३.
अचम्मै भो,
घाटे बाजेले सबेरै सुनेछन्
श्लेष्मान्तकका बङ्करहरूमा
खैरा लट्टाधारी साधुहरू भन्थे रे,
“Every generation needs a new revolution४.”
चलौँ र चालौँ—
पिउसाहरू
समीकरणका
नयाँ र भरिला शतरञ्जहरूमा
नभए
के बेर र
विघटित हुन
न्याय र करूणाका ती बोधीचक्षुहरू
यी गगनभेदी भावानुवादमा,
“Political power grows out of the barrel of a gun५.”

पाद टिप्पणीहरू

१. Al-Ghazali
२. Aeschylus
३. Arthur Schopenhauer
४. Thomas Jefferson
५. Mao Tse-Tung

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिबिरबाट।

(Sent to Sanjaal Corps via Email)

Kamal Risal Jyoti – Madhupan Garun Lage

कमला रिसाल ‘ज्योति’ – मधुपान गरुँ लागे(गजल)

मधुपान गरुँ लागे मधुवनै जाउँला
बाँसुरीको धुनसित गजल लेखी गाउँला ।

गुराँस फुल्यो मनैभरि तिम्रै स्वागत गर्न
मधुरानी तिमीसित प्रीति गाँस्न आउँला ।

फूलसरि जोवन त्यसै ओइलिएर जाने
दुबो टिपी माला गाँसे तिम्रै हातले लाउँला ।

चाँदनीको मुस्कानको टुनामुना गर्‍यो
प्रभातमा ‘ज्योति’ लिन तिमीतिर धाउँला

– ठूलो सिरुवारी-७, सिन्धुपाल्चोक

Bhairab Aryal – Karinda

भैरव अर्याल – कारिन्दा

उठ्
पुछ्
खा
चुठ्
दुगुर्–दुगुर्
स्वाँ–स्वाँ
बस् धस्
हस् हजुर
लुखुर–लुखुर
स्याँ–स्याँ
तिहुन तमाखु थप
पापाको संसार
ऐजन ऐजन लम्पसार ।