Kumar Kafle – Bishwa Manab Che

कुमार काफ्ले – विश्व मानव चे

एउटा देशमा तिम्रो नाभि गाडिएको छ
त्यहीँको माटो सुँघेर हुर्केका तिमी
अर्कै देशको भूमिमा प्रशिक्षित भइ
विभिन्न देशको माटोमा,
पहाड र बस्तीहरूमा
अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने
र अर्कै मुलुकमा गई रगत र पसीना बगाउने
प्राणाहुति गरि शहादत प्राप्त गर्ने महामानव अर्थात विश्वमानव हौ तिमी।

विश्व मानचित्रको अर्जेन्टिनामा
प्रादुर्भाव भइ क्यूवाका पहाड र मैदानहरू
सियरा माइस्त्रा र सान्ता क्लाराहरूमा
तिमीले बिताएका सन्त्रासमय क्षण
र उतारचढावहरू
मृग झैं उफ्राइ र दौडाइहरू
तानाशाही बतिस्ताका विरुद्ध
शरीरमा दम र हातमा एम वान बोकेर
कोनराडका शिखरहरू चढ्ने
महान् योद्धा चे!
मुटु हत्केलामा राखी
आफ्नी सानी छोरी र जीवनसंगिनी हिल्डासित विदाइ पत्र लेखेर
युद्धमा होमिएका महान् विचारक चे
युद्ध विजेता भइ राज्यको सुखभोगको
किञ्चित लोभ नगर्ने मन्त्री चे
कंगोमा क्रान्तिको वीजारोपण गरि
सिमोन बोलिभारको प्यारो देश बोलिभियामा
छापामार युद्ध लड्ने प्रिय चे
त्यही देशमा शहादत भइ माटोमा मिल्ने
र पुन: उठ्ने कंकाल बनी
त्यो कंकाल,त्यो माटो,त्यो तस्वीर
धन्य छ जुन क्यामेराले तिम्रो
तस्वीर खिच्न पायो
पवित्र छ त्यो माटो जहाँ तिम्रा पाइलाको स्पर्श भयो
तिमी हिँडेको बाटो अनि
तिमीमाथि हिँडेको बाटो
कठिन छ तर असंभव छैन
खाँचो छ केवल तिम्रै जस्तै
साहस र नीर्भिकताको।

प्रिय चे!
मलाई तिम्रो बारेमा अझ धेरै पढ्न मन छ
अझ केही लेख्न मन छ,बोल्न मन छ
तर तिम्रो बारेमा म भन्दा धेरै पढ्ने
लेख्ने र बोल्नेहरूको भीड छ
यद्यपि तिम्रो पदचाप पछ्याउनेको कमी छ
किनकि तिमी महामानव हौ
कुनै देशको सिमानाले तिमीलाई
तिम्रो विचारलाई, तिम्रो संघर्षलाई
रोक्न सकेन,
रोक्न सक्दैन
किनकि तिमी विश्व मानव हौ।

ओखलढुंगा

Komal Shrestha Malla – Sawari Chalaunchhan

कोमल श्रेष्ठ मल्ल – सवारी चलाउँछन

जून भुलेर
रात रमाउने
घाम छेकेर
दिन जन्माउने
मनुवा यज्ञमा
ढुङ्गा, मुढा, टायरका चरुहरु
सडक सहन्छ

लासका बिस्कुनहरू
सडक बोक्छ
अनि रगतको अभिषेकमा
मात्र मृत्यु उमार्दै उमार्दै
सडक आधुनिक ताण्डप गीत नृत्य भोगेर
खरानि,तिलक उत्सवमा
विजय महशुस गर्छ ???
उफ !
माउतेहरु
तहस नहस सडक चढेर
बिदुर,बिधवा,बालक
बृद्द ….. मा कोर्रा ठोक्दै
नोट खान्छन
मान्छे चपाउँछन
महल सजाउँछन

रक्त रंगीन सडक,
चहार्छन ?
लतार्छन ?
र डकार्छन ??
नपुगेर
सडक उचाल्छन
सडक उमाल्छन
सडक गाल्छन
र बिनासका चक्रब्यूह बुनेर
स्वनासका
सवारी चलाउँछन ???

Rabindra Nath Thakur – Sanchit Dhan [From Geetanjali]

संचित धन
दिन बितेपछि मृत्यु जब तिम्रो ढोकामा आउला,
उसलाई तिमीले के
उपहार दिने ?
मेरो प्राणको सागर रत्नले खचाखच छ,
यी सबै रत्न उसको
अगाडि राखिदिन्छु ।
जुन दिन मृत्युको दूत मेरो ढोकामा आउला
त्यस दिन उसलाई खाली
हात पठाउनेछैन ।

शरद्, वसन्त, संध्या, प्रभात, दिवस, रजनीरुपी वाटिकाका पुष्पद्वारा
संचित रसहरुको भण्डार मेरो जीवन–पात्र छ,
सुख–दुःख, छाया–प्रकाशका विविध पत्र–पुष्पहरुले मेरो अन्तःकरण
सजाइएको छ,
जति संचित धन सजाएर आङ्खनो जीवन–पथको आखिरी दिन,
जब मृत्यु मेरो ढोकामा आउँछ, म उसको अगाडि राख्छु ।

Bipin Singhal – Adhura Sapana

बिपिन सिंघल – अधुरा सपना

सानो आँखा मा
अनेकौं सपनाहरु
हुन्छन्,
कुनै सानो त
कुनै ठुलो हुन्छन् ।

कुनैकुनै उमंगमा
पलाउन खोज्छन्,
कुनैकुनै सुकेनास
मर्न खोज्छन् ।

कस्तो जिन्दगी यो
किन सपना बुन्छन ,
किन पुरा नहुने
डर मानी टुंगिन्छन् ।

बुनिनु टुंगिनु
एकतमास तपिरहनु,
यहि त हो ~
सपना बुननु को परिणाम ,
यहि त हो ~
अधुरा सपना भन्नी नाम ।।

Baidyanath Upadhyaya – Samaya Ka Dob Haru

वैद्यनाथ उपाध्याय – समयका डोबहरू

अनुहारभरि कुँदिएका छन
समयका डोबहरू-
पीडाका भूगोलहरूमा
पहाडको दुर्गम उँचाई लम्कँदैंछ
मेरो समय
इच्छाहरूको पहिरो लागेर
थिचिएकाछन मेरा खुसीहरू
नदी नाला र खहरेहरूमा
विराग अलापदै
बगिरहेका छन
धेरै चाहनाहरू
अतृप्त, असंगत
भावनाहरूको भूमरी चलेको
यो अपांग क्षणमा
तिम्रो अनुहारभरि
दौडिएका उदासीका धर्साहरूमा
विचलित छन एकाएक
मेरा कयौं चाहनाहरू !
कालको बैशाखी उभिएर
नियालिरहेछु निस्पृह, निर्लिप्त
दोबाटोमा उभ्याइएको
निर्जीव सालिग सरह..

ViBid Rose – Dui Taar Susta Mera

दुई तार सुस्त मेरा

सुरूवात र गन्तव्य
अन्जान दुवै
अन्जानै छ दुनिया
यायावर म खुवै !
भोगेॅ, बुझ्छु पीडा
भन्छु नरोउन कोही
धिक्कार परिश्रम मेरा
हसाउन सकेको खोइ ?
दुई तार सुस्त मेरा
छन् दुई खुव वाचाल
लमकलमक भाग्छन् गोडा
ठीक मान्दैनन् लोकाचार ।

Pramod Snehi – Salla Jhain Susaundai

प्रमोद स्नेही – सल्लाझैँ सुसाउँदै
(मधुपर्क पुस, २०६७)

जीवनको लय सधैँ
एउटै गतिमा नबग्दो रहेछ ।
मृगतृष्णा बोकेर आँखामा
वर्षौ भयो ।
यो वृद्धआश्रमको आँगनमा
पहार ताप्दै
आफैलाई झूठो आश्वासन दिएर
पर्खिरहेछु
कोही Continue reading “Pramod Snehi – Salla Jhain Susaundai”

Krishna Bahadur Chhetri – Drishya Pariwartan Ko Chahana Ma

देखें त्यहां एउटा लामो धर्को
बर्को ओढ्नेहरुको लर्को
मलाई लाग्यो उनीलाई नदेख्दा झर्को
मैले हेर्न चाहें दृश्य अर्को

माघको महिना मध्यतिर
तुषारोको छ चीसो ज्यास्ती
कंमाउंदै छ मुटु लग्लग् बिहानको जाडो
पर्खिरहेछु म उनीलाई मानेर यही मस्ती

बाटुलो मुख जूनको रुप
मुस्कान अदभूत लिई आएको देखिन
दिन-रात सधै मनले पुज्ने
ती बाहेक अर्की संसारमै भेटिन

Sujan Budhathoki – Jamin Haru

सुजन बुढाथोकि – जमिनहरु

एउटा सिङ्गो आसमान खसेर
अनि एउटा सिङ्गो आकास बसेर
थिच्छ,
किच्छ
अनि
कुल्चन्छ
जमिनहरुलाइ
अनि जहाँ तात्तिएर
जमिनहरु बाफ्फिएर
अनि निसास्सिएर
हृदयघात भएर
जमिनहरुलाइ,
जहाँ जमिनहरुबाट
अन्तिम पटक
बिरक्त बाफ उढ्दछन ।

Sujan Budhathoki – Maile Euta Churot Salkaye

सुजन बुढाथोकि – मैले एउटा चुरोट सल्काए

मैले एउटा चुरोट सल्काए
र लामो सासमा एकसाथ
धुवा तानिरहे हर्दम तानिरहे….कि
हरछ्यण,सेकेण्ड
तर धुवा झन ममाथी माथी उडिरह्यो
म झन बाचिरहे
पत्याउ या नपत्याउ म पुन पृथ्बिमा जन्मिए
किनकी त्यसबेला म मेरो पृय,स्वर्गीय सन्सारमा थिए,
अर्थात म माथी पुगिसकेको थिए।

Sujan Budhathoki – U Ani Prem

सुजन बुढाथोकि – उ अनि प्रेम

उ मन्मनै मनै राम्री भन्छे
आफुलाइ झनै राम्री भन्ठान्छे
नेपालाकासका ताराहरु गन्छे,
अनि सबैभन्दा उज्यालो एउटा तारा चाहिँ मेरै बाउले किनेको हो
भन्छे
हिमाल पहाड अनि डाडाकाडाका सब लालिगुरास
अनि गुलाफका फुलहरु पनि मेरै आमाले दुख गरेर
मेरै अनुहारमा रोपेको हो भन्छे।
साएदै उ मन्मनै मनै राम्री हु भन्ठान्छे!

सदाबहार रितुहरुलाइ जिस्कएर
अनि कोइली चरिलाइ चलाएर
बसन्तलाइ उ बोउला भन्छे,
अनि परेवाले झै घरागनभरि प्वाख फिजाए झै गरि
केवल एक नजरमा उ प्रेम बिसाएर उड्छे ।

हाम्रो भडार कोठामा
कुनै एउटा अन्जान बालक जस्तै गरेर
कि भगवानको मुर्ती किन राखेको हो भन्छे,?
मेरो मनमन्दिरमा राम वा कृष्ण
जो सुकै भए पनि तस्बिर त एउटै छ भन्छे,
उ बार्द्लिहरुमा जुन तापेर मलाइ
गगनको घाम माग्छे
त कैले दुरबिन लगाएर
उन्मुक्त छितिजमा उठिरहेका
रहरका कुनै चङ्गाहरु हेरेर
बादलपारिका सहरमा
मलाइ बायुयानमा उडुम भन्छे
यसरी आफ्नो अभिमान चहान्छे,
कि उ आफुलाइ सर्वस्ब रुपवान भन्ठान्छे!

खेतबारि पाखापखेराका फाटहरुहुदै
नदिकिनारबाट घरका झ्यालसम्म आएका
हावाका सुस्केराका सुमधुर धुनहरुमा सर्गम
उ पाउजु,पोते,चुरा,र धागो बजाएर
धानका बालाहरु झै नाच्छे
अनि म बत्ती निभाएर म निदाएपछी!
शिवसङ्गितहरुमा हर्दम
जुनकिरी झै अधेराहरुमा उ नाच्छे,
आफ्नो सिन्दुरको र मेहन्दीको रङ्ग देखेर
दङ्ग पर्दै उ चन्द्रमा झै चम्किलो छु भन्ठान्छे
हास्दै गरेको उस्को हासोलाई छेकेर
जब म बग्दै गरेकी सरितालाई झै रोक्न खोज्छु,
तर उ ए मेरो हजुर मेरो सागर हो भन्छे।
अनि फेरि कुनै पागल झै केही सम्झिएर फगत हास्छे।
मानोउ कि उ यति धेरै आफुलाइ राम्री भन्ठान्छे
साहेद उ आफुलाइ स्वयम् स्वर्गकी सुन्दर अफ्सरा सन्झिएर
कि यति धेरै उ आफ्नो रुपको अहङ्गकार गर्छे?
जब उ एल्बममा मेरा तस्बिरहरु हेर्छे,
अनि सर्वत्र सन्सारमा सबतरफ आफ्नै मात्र तरिफ गरेर
अनि मलाइ थहा छैन कि,
उ प्यार गर्छे या ब्यपार गर्छे?

तर हैन,
प्रतेक मुस्कानहरुलाइ मीठो आहार मानेर पनि त उ खान्छे
कोठाका हरेक बिम्बहरुलाइ सोउन्दर्य सोर्ह शृङ्गार पनि त दिन्छे
चियाका कपमा एक चुस्की चुम्बन दिएर पठाउछे,
अग्यात अनि मलाइ थाह हुन्न कि मैले उस्को लागि कस्तो पुन्यकार्य गरे?
अनि भरेभरे बेलुका सम्झन्छु कि
मैले त उस्लाइ मेरा योजनाबद्द आँखा र ओठहरुले
पो जिस्काएको थिए!!!!
जब उ मलाइ हेर्न नसकेर लजाएर ऐनामा
बारम्बार आफ्नो अनुहारलाइ हेर्छे,
अनि रमाएर भन्छे कि”म त ऐनामा उहाकै मुहारलाइ पाउछु”
जहाँ म उस्लाइ भने हेरिरहेकै हुन्छु
तर त्यो मलाइ मात्र थहा हुन्छ।
कि किन उ यस्ती यस्ती
यति जबरजस्ती छे।?

Sujan Budhathoki – Aama

सुजन बुढाथोकी – आमा

मानोउ कि आकास जस्तै ठूलो
एउटा सफा क्यानभाषमा,
केटाकेटीहरु आएर चित्रकलाको अभ्यास गर्छन,
चित्र कोर्छन
बिग्रन्छ,
अनि मेट्छन,
फेरि कोर्छन
बिगार्छन
अनि फेरि रिसाएर
हेर्छन
जहाँ
एउटा रिसाएको मान्छेको अदभुत अनुहारलाइ देखेर,
अनि आफ्ना बाबालाइ डराउदै बोलाएर भन्छन
“यहाँ
हेर्नु त ”
अन्तत,
हेर्दा
त्यो तस्बिर ती नानिहरुलाई नै हेरेर स्वयम् हासिरहेको हुन्छ
किनकि त्यो उनिहरुकै आमा हुन ।

Prem Binod Nandan – Baschhu Ma Ta Himalko Chhayama

प्रेम विनोद नन्दन – बस्छु म त हिमालको छायाँमा

बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा

कहीं छैन यो हसिलो हिमालझैं हाम्रो
कहीं छैन यो रसिलो नेपालझैं राम्रो
जहा जाऊँ अति लाग्छ यो नेपाली Continue reading “Prem Binod Nandan – Baschhu Ma Ta Himalko Chhayama”

Janak Karki – Aadat Haru Ko Kamaiya

जनक कार्की – आदतहरूको कमैया

आउ धूम्रपान गरौं
एक खिल्ली अहम् को चुरोटलाई
मसालको आगोमा बलिरहेको
एक झिल्का ज्वालाले
धुँवा-धुँवा बनाएर उडाइदिउँ।

आउ सुर्ती सेवन गरौं
एक फ्वाँक ईर्ष्याको लामपाते सुर्ती
मिचेर चुनामा रगडी रगडी
चेपुमा च्यापेर थुकैथुकले
अपवित्र बनाइदिउँ।

आउ मध्यपान गरौं
एक प्याला रिसको सोमरस
निट घ्याम्पे हानुँ
र अन्त्यष्ठी गरिदिउँ।

अनि बल्ल एउटा ग्र्याण्ड पार्टी
मनाउँला
तिमी आदतहरूको
निरङ्कुश तन्त्र बाट
स्वतन्त्र भएर
प्रजातन्त्र आएको
उपलक्ष्यमा
चियर्स चियर्स!

Kunta Sharma – Sadak Ra Satta

कुन्ता शर्मा – सडक र सत्ता

घण्टाघरको घाँटी सुकेको छ
धरहरा कुहिरोभित्र लुकेको छ
छाँदिरहेका छन् घोडा जङ्गबहादुरहरू
तरबारले अभिमानसिंहको घाँटी ताकेको छ
सेरिएर मरे मरून् भीमसेन थापाहरू
कुनै कुराको कत्ति औचित्य रहेन अब
यस्तै निरर्थक अवस्थामा बाँचिरहेको छ वर्तमान ।

इतिहास पढ्न छाडे मानिसले
भूगोललाई माया गर्न छाडे मानिसले
बहादुरका सन्तानहरूको
बहादुरी हराउन थालेको छ
परिवेश ह्वासह्वास्ती गन्हाउन थालेको छ ।
मानिसहरू
सम्पन्नताको शिखरमा पुगेजस्तो छ
हिजोआज भोकको गीत
भोजनको गीत बनेको छ
परिकार सरोकारको विषय बनेको छ
सम्पन्नताले कहाँकहाँ टेक्यो कुन्नि
उदेक छ, उदेक छ
अचेल मादलले जोवन बोल्न थालेको छ
अचेल सारङ्गीले
पिरतीको सुर खोल्न थालेको छ
सायद हामी पराकाष्ठामा पुग्यौँ प्राप्तिको
हामी अघायौँ–अघायौँ, बेस्सरी अघायौँ ।

अब भोक भन्ने शब्दलाई
फालिदिए हुन्छ शब्दकोषबाट
अब समस्या भन्ने शब्दलाई
निकालिदिए हुन्छ शब्दकोषबाट
ज–जसको थाप्लामा आशीर्वादका हात परे
ती मगनमस्त छन्, चाप्लुसीमा व्यस्त छन्
परिवर्तन रामै्र भएछ सायद
तरबार म्यानमा थन्काएर
मानिस दरबार धाउन थालेको छ
सबै कुरा सेलाएर मानिस
दरबार बनाउन थालेको छ ।

आँधी थामियो
मुसलधारे वर्षाको अन्त्य भयो
सायद खोजेको गन्तव्य भेटियो
हिजोआज मानिसहरू
सौन्दर्य–प्रसाधनमा मस्त भएका छन्
हिजोआज मानिसहरू
भजनकीर्तनमा व्यस्त भएका छन् ।

नैतिकता रासनजस्तो सर्वसुलभ भएको छ
बिक्री–वितरणकक्षमा रहेको छ
अखण्ड चेतना म्याराथुन धावक बनेको छ
विवेकमा कसेर बिर्को लागेको छ
ओठहरूमा अझै भोटेताल्चा कसिएको छ
चोक्टा खान गएकी बूढी
झोलमा डुबेर मरी
यही उखानको सार्थकता भएको छ
बलिया पखेटा भएका बाजहरूको
आवश्यकता छैन अहिले
माथिमाथि आकाशमा उड्ने
चक्रवातहरू चिर्ने
साहस चाहिँदैन अहिले
तलतिर क्षितिजदेखि अझ तलतिर
छापिएर उड्ने छिचिमिरा भए पुग्छ ।
विलखबन्द छु म
किंकर्तव्यविमूढ छु म
छटपटाइरहेछु, छटपटाइरहेछु
आफ्नै चिन्तनको व्यूहमा लटपटिइरहेको छु
प्रश्न गर्छु आफैँसित
कसले झा¥यो शिवजीको जटाबाट
सम्पन्नताको भगीरथ गङ्गालाई
कसले फेला पार्‍यो कहाँ फेला पार्‍यो
उन्मुक्तताको यस विराट् चङ्गालाई
किन देख्तिनँ, खोइ किन देख्तिनँ म
सबैसबै ओठहरूलाई मुस्कानले छोएको
सबैसबै आँखाहरू प्रसन्नताले बलेको
सबैसबैको चुलो धुवाँएको
सबैसबैको मन रमाएको ।

सडकबाट सत्तामा पुग्छ मान्छे
धेरै कुरामा आधारित हुन्छ यो यात्रा
सामान्य भाषा बुझ्ने मानिस
सबै कुरा बुझ्न थाल्छ
इतिहास बुझ्न थाल्छ
भूगोल बुझ्न थाल्छ
देशको उत्पत्ति
बीचको समयको इतिहास
उतारचढाव सबै बुझ्न थाल्छ
साम्राज्यवादीहरूको उपनिवेश
छिमेकीहरू गुलामीमा जकडिएको समय
अङ्गे्रजको तोप नेपालतिर ताकिएको समय
छातीले तोप छेक्ने बहादुरहरूको समय
नालापानी गौरवपूर्ण इतिहास
अनेकौँ वीर–विराङ्गनाको सहादतको इतिहास ।

सुन्नुपरिरहेको छ अमिलो मनले
कहिल्यै गुलाम नभएको देशका
गुलामहरूको कथा
नुनमा बिकेका दलालहरूको कथा
भतुवा निर्लज्जहरूको कथा
गुमेको भूमि फिर्ता माग्न नसक्ने
पङ्गु सत्तासीनहरूको कथा
कायर राजनेताहरूको कथा
फ्याँकिएको हाडमा छिनाझपट गर्ने
गल्लीका कुकुरहरूजस्तो
सत्तालिप्सामा हुरूक्क हुने
देशका सारथीहरूको कथा ।

यतिखेर मौनताको शिविरमा एक्लैएक्लै बसेर
लगातार–लगातार सोचिरहेछु
घाम नअस्ताउने देशका घृणित
साम्राज्यवादीहरूको आक्रमण
सुगौली सन्धि र त्यहाँ गुमेका भूभागहरू
विशाल देशको खुम्चिएको मानचित्र
पतन भएपछि पनि अङ्गे्रजको साम्राज्य
कसरी जहिलेतहिले मानिस उराल्ने
मानिसको रगत भकभकी उमाल्ने
मानिसलाई बलिदानका लागि उकास्ने
अनि गद्दारहरूको सत्ता चढ्ने सिँढी भयो
पदलोलुपहरूको सत्ता प्राप्त गर्ने टेको भयो
कुर्सी पाउनेबित्तिकै हराए सबै कुराहरू
सुस्ता र लिम्पियाधुराको कुरा
असमान सन्धि र सम्झौताहरूको कुरा
प्रायोजित रूपले डुबाइएको
जलमग्न सीमाक्षेत्रको कुरा
प्रत्येक दिन मिचिँदै गएको दसगजाको कुरा ।

जनताहरूले रगत बगाइरहे–बगाइरहे
जनताहरूले हतियार उज्याइरहे–उज्याइरहे
बलिदानका सर्वोच्च उदाहरणहरू बनाइरहे–बनाइरहे
त्याग र उत्सर्गको इतिहास
बलिदान र साहसको इतिहास
तर हरेक समयमा
तुहाएर जनताका सपनाहरू
लत्याएर जनताका आस्था र विश्वासहरू
समयले प्रशवित गरिरह्यो
आत्मरक्षायुक्त गद्दारहरू
परिवारको मुख मोसेर
छिमेकी पोस्नेहरू
आमाको अस्मिता बेचेर
अकुत वैभव जम्मा गर्नेहरू
जुठोपुरोमा बिक्ने पशुतुल्य दासहरू ।

यी पढ–अनपढ दासहरू
थाहा छैन सायद यिनीहरूलाई
देशको गौरवपूर्ण इतिहास
कुनै शक्तिको सामु कहिल्यै नझुकेको
विगत अनि वर्तमान
तर हिजोआज लगातार–लगातार
प्रशवित भइरहेका छन् गद्दारहरू
आत्मरक्षायुक्त कायरहरू
हुतिहाराहरू, लाछीहरू, गतिछाडाहरू
जुठोपुरोमा रमाउने भतुवाहरू
दरबानहरू, गोठालाहरू
अर्काको सीमारक्षार्थ
बलिदान दिने, रगत बगाउने मूर्खहरू
भातसँग अमूल्य जीवन साट्नेहरू ।

कुनै बेला अघिल्लो पङ्क्तिमा बसेर
हत्केलामा ज्यान राखेर हिँड्नेहरू
अहिले पछिल्तिर बसेर
सभा–समारोहमा ताली बजाउने
मेसिन बनेका छन्
कुनै बेलाका खुफियागिरीका सर्दारहरू
परिवर्तनका विरोधीहरू
अहिले फूलमालाहरूले सजिएका छन्
अहिले सर्वेसर्वा भएका छन्
अहिले हर्ताकर्ता भएका छन्
सत्ताको अनौठो रूप देखिएको छ
सत्ताको घीनलाग्दो रङ देखिएको छ ।

Kunta Sharma – Bartaman

कुन्ता शर्मा – वर्तमान

यात्रा चलिरहेको छ
बाटाभरि भीर र पहिरो छ
तलतिर नदी गहिरो छ
कुहिराले सर्वत्र छेकेको छ
चालक उत्तेजित छ, उन्मादयुक्त छ
कतिखेर समाप्त हुने हो ईहलीला
न केही सुनिएको छ,
न केही गुनिएको छ
सायद यही सन्त्रासको
नाम हो वर्तमान ।

डाँवाडोल छ
भविष्य अनिश्चितताको कुहिराभित्र हराएको छ
साढेहरू जुझिरहेका छन् डुक्रँदै
बाछाहरू मिचिँदै छन्
कसको के दाउ छ, कसको के दाउ छ
मनहरूमा चोट लागेर गहिरो घाउ छ
मानिसहरू चिन्तामग्न छन्
सर्पको मुखभित्र भ्यागुतो छ
भ्यागुतो झिँगो निलिरहेको छ
यही विदीर्ण अवस्थाको नाम हो वर्तमान ।

हावामा कावा खाँदै
निरङ्कुशतापूर्वक पखेटा फिँजाउँदै
शक्तिविहीनहरूको सातो उडाउँदै
उडिरहेको चीलको नाम हो वर्तमान
मानिसहरूलाई भेडो ठान्दै
कान समातेर कोर्रा लगाउँदै
गोठतिर होइन भीरतिर लखेटिरहेको
मूर्ख गोठालाको नाम हो वर्तमान ।

कालो इतिहासको पुनरावृत्ति
ब्वाँसाहरूको स्वार्थी प्रवृत्ति
सिद्धान्तले कता हो कता आकाश छोएको
व्यवहार लुलो, लङ्गडो र खोरन्डो हुँदै गएको
खोइ बसूँ बसीसक्नु छैन
नबसूँ नबसी धरै छैन
नखाऊँ दिनभरिको सिकार
खाऊँ भने कान्छा बाबुको अनुहार
जस्तो भएको छ वर्तमान।

गजधम्म छन् चोरहरू चौतारामा
मोटाएर पुटुस्स परेका छन्
देखिँदैन सन्तुष्टि मुखमण्डलमा
हतास छन् कुनै बित्यास परेजस्ता
यात्रा अविरल छ
लगाम अर्काकै हातमा छ
कता पुगेर ठोक्किने हो
कहाँ पुगेर रोकिने हो
कुनै गन्तव्य नभएको
सुन्दर भविष्य हराउँदै गएको
एउटा अर्थहीन यात्राको नाम हो वर्तमान ।

त्रासदी र आतङ्कले
भताभुङ्ग लथालिङ्ग
थर्कमान परिवेश हो वर्तमान
रोग, भोक र शोकको नाम हो वर्तमान
अशान्ति, असुरक्षाको र व्याधिको
पर्याय हो वर्तमान
चारैतिर फैलिएको
सन्त्रासको कुहिराको छाया हो वर्तमान ।

प्रगतिको नाममा बजाइएको
निरर्थक ढोल हो वर्तमान
लोडसेडिङको भारले
निर्जीव निदाइरहेको गुलुब हो वर्तमान
प्रजातन्त्रको खोल ओढेर स्वेच्छाचारी ढङ्गले
अघि बढिरहेको मनपरीतन्त्र हो वर्तमान
ग्लानि र हिंसाले किचिएको
सन्त्रस्त मुलुकको नाम हो वर्तमान ।

शिरहरू कुनै नतमस्तक छन्
कुनै लाचार छन्
कुनै अभयदान माग्न
कुनै आशीर्वाद थाप्न
आतुर छन्
शिरहरू झुक्तै छन्, झुकिरहेका छन्
शिर नझुक्नुपथ्र्यो
तर झन्झन् झुक्तै गएका छन्
जीवनमूल्यबाट चुक्तै गएका छन्
सायद झुकेको शिरको नाम हो वर्तमान
सायद चुकेको
जीवनमूल्यको नाम हो वर्तमान ।

वर्तमानलाई खुनीहरूले गोजीमा हालेका छन्
वर्तमानलाई निरङ्कुशहरूले मुट्ठीमा थुनेका छन्
निरङ्कुश हुँदै गएको छ सारथी
अन्धाधुन्ध दगुरिरहेको छ सवारी
सायद यही अन्धा दौडको नाम हो वर्तमान ।

सन्त्रासका छायाहरू तन्केर
परपर पुगेका छन् सन्ध्याकालजस्तो
बतास बग्दै छ यता–उता
षड्यन्त्रको दुर्गन्ध बोकेर
पाइला सार्नु पनि त्रासदयुक्त हुन्छ
कतिखेर भासिने हो टेकेको भुई
कतिखेर पर्ने हुन् पैतालाहरू धरापमा
अनमयस्कताको, अन्योलग्रस्तताको
परिस्थितिमा बाँचेको समय हो वर्तमान ।

बाटो सपाट छ शून्य छ
मानिसहरू उत्तेजित छन्
प्राप्त भइसक्यो भन्छन् निर्दिष्ट गन्तव्य
सहयात्रीहरू शब्द–हानाहानमा व्यस्त छन्
कुर्सी तानातानमा मस्त छन्
छाती भग्न भएको छ सपनाहरूको
चौबाटामा पुगेर अलमलिएको
पथिक भएको छ मानिसको मन
सायद निस्तब्धता ओढेर बसेको
अकर्मण्यता अँगालेर बसेको
थर्कमान–थर्कमान
परिवेशको नाम हो वर्तमान ।

Baidyanath Upadhyaya – Mero Kabita

वैद्यनाथ उपाध्याय – मेरो कविता

मेरो कविता
भोका र नांगाहरूको लागि
एक मुट्ठी अन्न र एक चिथडो कपडा
भै दिए कति राम्रो हुने थियो।
संत्रासवादीहरूको चपेरामा परेका
आतंकग्रस्तहरूको लागि
निर्भयता बन्न सके
कविता कति सार्थक हुने थियो।
मेरो कविता
व्यर्थताले निराश बनेका हरूको लागि
आशाको एउटा झिल्कोनै बनिदिन्थ्यो भने
मनभित्र शांति छाउने थियो
मेरो कविता
कहिल्यै कसैको जाउलो टार्न सक्तैन
पीडाले छटपटाई रहेका हरूको
पीडा हर्न पनि सक्तैन
कति लाचार छ, कति विवश छ
मेरो कविता
मेरो जीवन जस्तै दुरुस्तै!

Digesh Raut – Abujh Ma

दिगेश राउत – अबुझ म

बोल्ने गर्छन् गर्ने बोल्दैनन
यही नै संसारको रीत हो साथी
जसले गल्ती गर्छ
उसैको छ स्वर माथि
जसले न्याय गर्न खोज्छ
उही नै बन्दो रहेछ पक्षपथी
शायद मै नै रहेछु गलत
मैले बुज्न सकेको रहेनछु यो संसार तिमीजती।

Diyesh Ratna Shakya – Sleeping Buddha Sanga

दियेश रत्न शाक्य – स्लीपिङ बुद्धसंग

बैंककको ब्यस्त बजार छेउ
चीर निन्द्रामा पल्टिरहेछन्
एउटा भीमकाय आकृति
स्लीपिङ बुद्ध
उनको सम्मुख बसेर
म नियालिरहेको छु
छाम्दै
मेरा यी हातले
र प्रश्न गर्दै
मेरो अन्तर हृदयले
के यिनी उनै महामानव बुद्ध हुन्
लुम्बिनी बाटिकाबाट
शान्तिको लागि पदार्पण भएका

बैंकक तिनलाई सुनले मोडेर
मलाई चिन्नबाट रोकिरहेछ
अथवा, उनले सोचेको हुँदो हो
सायद म बुद्धलाई
आफ्नै देशमा फर्काउन
आतुर भएर आइरहेछु

ओ! स्लीपिङ बुद्ध तिमीसंग
मेरा यक्ष प्रश्नहरु छन्
किन तिमीले रोज्यौ बहिर्गमन
के तिम्रो विशाल काय
मेरो देशमा नअटाएकै हो त?
अथवा आफ्नो थातथलोमा
शान्ति नमिलेकोले
बैंकक आएर चीर ध्यानमा
पल्टेका हौ ?

बुद्ध! मैले तिम्रो
कुनै जवाफ सुनिरहेको छैन
मात्र लामवद्ध उभिएका भक्तजनहरूले
लहरै सजाएका भिक्षापात्रहरूमा
खसालिरहेको सिक्काको
एकपछी अर्को ‘टङटङ’ आवाज बाहेक

के मैले यो सन्देह पाले हुन्छ?
अब बुद्ध पनि
सुनको सुगन्ध
र सिक्काको संगीतमा रमेर
ध्यान समाउने भैसके
अथवा,के मैले स्वजनहरूलाई
यसरी सुनाए हुन्छ?
बुद्ध बैंककको कोलाहललाई चिरेर
रिहर्सल गर्दैछन्
नयाँ ध्यान मुद्राको
ताकी आफ्नो जन्मथलोको
जस्तै अशान्ति पनि
मज्जाले सम्हाल्न सकोस्

(ज्योतिष्मती स्मारिका -४ मा प्रकाशित )

Sujan Budhathoki – Paltu Kukur (Nepali Gajal)

सुजन बुढाथोकी  – पाल्तु कुकुर

मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ
जो सदैसदै सन्तसाधु सज्जनलाई घुर्छ

रातभरी जुवातास रक्सी रन्डिबाजिमा भुल्छ(2)
घरभरी भने कोहिनुर अनि बुद्दको गजुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

बिद्यालय हिडेकी बहिनि बलात्कृत भएरै मर्छे(2)
बेकार छ साला मेरि आमाको सपना
चकानचुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

मर्ने त आखिर मरेरै गयो हाम्रै खातिर हेर(2)
कि सहिदकै आसुले एकदिन हामिलाइ पुर्छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

भकारिमा धामन साप देखेर म भारत बोलाउछु
तर उ चोर स्याल हो जो म भन्दा पनि चतुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

कारागारमा घर बनाएर बस्छन यहाँ भगवानहरु
अचम्म लाग्छ यार मन्दिरमा भने फोहोर सुङ्गुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

रातभरी मुसा मार्ने बिचरा बिल्लीहरु भगाएर(2)
गल्लिगल्लिहरुमा भन्छ कि उ यति बहादुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

बच्चाहरुकै गाँसगाँसबाट चिची घिचिरहन्छ (2)
बाघ झै गर्जन छ मानोउ कि यति मसुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

दिनभरी चोकमा बुद्दुहरुलाइ लोकतन्त्र
रास्ट्रभक्ती सुनाएर
साझमा स्वयम् सामन्तिको चोक्टाहरुमा दुगुर्छ
हो मेरो घरमा तेस्तो एउटा पाल्तु कुकुर छ

कुत्ता भएर खात्ते कुत्ता कै मरण मर्नुपर्छ साहेद
मलाइ थाहा छ कि तेस्को कस्तो कसुर छ?

मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ
जो सदै सदै एउटा सन्तसाधुलाइ घुर्छ