Prakar Antar – Reet

प्रकार अन्तर – रीत

एकजोर चरासँग
तिमीले जवानी साट्यौ
चरा भएर उड्ने बेला
बचेराहरुले केही छाडेर गए
तिम्रो काखमा ।
जब तिमी सुक्यौ
उनीहरु उड्ने बेला
तिम्रो पतझर हाँगामा
यौटा पुरानो गुँड थियो
ती तिम्रै छातीको प्वालमा बस्थे
त्यहाँ केही मसिना प्वाँखहरु थिए
ती उडे
केही न्याना यादहरु
तिमीलाई सुम्पेर ।
पानी पर्ने समय नजिकिदै थियो ।
कमिलाहरुले तिम्रो सुकेको जरा मुन्तिर
भव्य आवास तयार पार्दै थिए
तिम्रो टाउकोतिर माटो ओसार्दै थिए
एकदिन
यौटा घुमन्ते चरा त्यही आएर बस्यो
र मलाई छाडेर गयो
पानी पर्‍यो र मैले दुइ वटा पात फैलाएँ
हात झैँ आकाशतिर

अब तिमीले मेरा जरा थेग्न सक्दैनौ
त्यसैले तिमी फाटेकी छौ
तिम्रा हड्डीहरु मक्किदै गइहेछन्
र म फैलिरहेछु तिम्रा जरा-जरासम्म
तिमी माटो भइरहेछौ
अब कमिलाहरु मेरा पातहरु बुनेर
भव्य आवास बनाइरहेछन्
एकजोर ढुकुर भर्खरै आए मेरो शरणमा
मेरो घनिभूत सियाँलमा
यौटा भरियाले भर्खरै बिसायो आफ्नो भारी
एक हूल माहुरी मेरै हाँगा वरिपरि घुमिरहेछन्
रीत यही रहेछ
मैले जानेँ र तिमीलाई भूल्ने प्रयत्न गरेँ
त्यो चरा कहाँ होला ?
म सम्झिरहेछु ।

Bhupin Byakul – Gaun Ko Saano Bhai

भूपिन ब्याकुल – गाउँको सानो भाइ

गाउँको बात मार्दै हिंडीरहंदा
बाटोमै मसँग
कापी र कलम माग्यो सानो भाइले !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको कवितामात्र दिनसक्छु

कापी, कलम र पुस्तक दिने दायित्व
राज्यको हो, बिचरा उसलाई थाह छैन
र राज्य
कि त झगडा गरिरहेको छ
कि त मस्त निदाइरहेको छ !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको गीतमात्र दिनसक्छु !

सम्भवत: थमाउला एकदिन राज्यले
उसका हातमा कापी, कलम र पुस्तकहरु
जब उसका हातहरुमा
बुढ्यौलीक कम्पनहरुमात्र बाँकी रहनेछन्

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै देशको कथामात्र दिनसक्छु !

Bibek Dulal Chhetri ‘Damak’ – Yathartha Ra Naya Barsha

विवेक दुलाल क्षेत्री “दमक” – यथार्थ र नयाबर्ष

नयाँ केही छैन,
उस्तै छ जागर
उस्तै छ सपना
उस्तै छ बचाइको अर्थ ।

महंगी,
छलकपट
अहंकार
सबै उस्तै छ ।

सडकको पेटी उस्तै छ
सानीको भट्टी उस्तै छ
बिदेशिनेहरूको कलेटी अनुहार उस्तै छ
डलर कमाउनेहरूको अँध्यारो शहर उस्तै छ ।

चर्केको पार्टी जस्तै बिद्यालय जीर्ण छ
अस्पातलको पहुच बाहिरकी सुत्केरी झैँ अस्पताल बिरामी छ
आस्वासन मात्र बोकेको नेता झैँ सु ब्यबस्थाको पुरानै ताल छ
खेत बगाएको, आगोले घर जलेको, बबुरो जनताको बेहाल छ ।
नयाँ केही छैन, सबै उस्तै छ ।

यसैले :
यो नया बर्षले केही त नयाँ कुरा देओस्
क्यालेन्डर फेरिदैमा समय फेरिदैन भन्छन्
यस्तो धारणालाई केही गरेर बदलोस्
साच्चिकै नेपाल र नेपालीहरू सबैमा, खुशीको लहर ल्याओस्।

अस्तु :

Deepak Jadit – Khai Mero Ghar

आज पनि एउटा दिन गलेर गयो
बिहानको उमंग
दिन छिप्पिन नपाउंदै शिथिल भएको
मैले आफ्नै आँखाले देखें
बेलुकी सम्ममा थाकेर
लत्र्याकलुत्रुक म
आफ्नै मनको आँगनमा निस्किएं
मनकै आँगनको डिलमा थचक्क बसें
पछाडी फर्केर हम्केरा हाल्दै
बलेंसी हेरें
अझै छन त्याँहा
बलेंसीमा बगेका रगतका टाटाहरु
कैले यो मन खुर्कीखार्की पारेर
फाल्नु रगतका ति टाटाहरु
र सफा पार्नु यो मनको घर आँगन ?
खुईय ! सुस्केरा काढेर
घर हेरें
अहँ छैन मेरो घर
अझै नियाँलेर हेरें
देखिनं कतै
मेरो मनको घर
यो रातको निश्पट्ट अंधकारले
घ्वाप्पै छोपेको हो कि
साँच्चै हराएको हो मेरो मनको घर ?
भाउन्न छुट्यो मलाई
अहो ! मेरो घर साँच्चै हरायो
जुरुक्क उठें
आँखा अगाडी तिर्मिर तिर्मिर
ताराहरु झिल्किए
के ले के ले मलाई
फन्फनी घुमायो
हैन म ढल्दिनं
ढल्नु हुंदैन मैले
आँखै सामु हेर्दाहेर्दै हराएको
मेरो घर खोज्नु छ मैले
खै मेरो घर ?

Sujan Budhathoki – Swayam Euta Kabita Ho

उ भन्छ कि यो जिन्दगी
कबिता प्रतियोगिता हो
म मान्छु कि जिन्दगी नै
स्वयम एउटा कबिता हो

तिनिहरु आफ्नै आमालाइ
लत्याएर भन्छन कि,
मैयाँ तिमी मेरो सर्वस्व
प्राण र अस्मिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कबिता हो

फाली लागेर रातभर रोइरहेका
ती गोरुहरु नचलाउ ए मालिकहरु
हाम्लाइ धानको भात खुवाउने
त्यो हाम्रो पिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कबिता हो

दिनभरी -मकै पोलि,पोलि
आँसुहरु पुच्छिन ती बिध्वा दिदि
लाग्छ अगेनोमा जलिरहेको
आफ्नै लोग्नेको चिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कबिता हो

जिन्दगिभर म यो सहरमा
मानव सभ्यता खोजिरहे
थहा थिएन कि आफ्नै घर
कुरान,बाइवल,गिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कबिता हो

ती गरिबका दुखहरु देखेर
यो सामन्ती जगत यसरी हास्छ
मानोउ कि किनारका ती दृस्यहरु
कुनै पागलको रमिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कबिता हो

हुनसक्ला कि उस्को ताल,
या लाग्ला कि उस्लाइ बिसाल
अफसोच यो बडादसै कसैको लागि
पीडा र आसुहरुको सरिता हो

बिद्दान भगवानका तस्बिर
टागिएका ति मन्दिरहरु
बाहिर टुहिरो बालक भन्छ कि
त्यो केबल पथ्थरको भित्ता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कबिता हो

चट्टान र फलामका किलासङ्ग
लडेर साझमा फर्किएर गाइले,
झमझम चुसाइरहेको दुध
हैन आफ्नै रगतको सीता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम् एउटा कबिता हो

मृत्यु र भुत भन्ठानेर, सत्रु मानेर
जोसङ्ग तिमी डराइरह्यो
अरे यार छामेर हेर !
त्यो बर्सातको एउटा बाछिट्टा हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कबिता हो

जुन खेतमा अन्न बग्यो,
जुन देसमा डाफे परेवा भागे,
किन लागेन कि तिमिलाइ
त्यो मेरो मातृभुमी
अनि आफ्नै बाबुको कित्ता हो?
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कबिता हो

आज सुर्य र जुनताराले मलाइ
एकसाथ भने कि
“यो प्रकृतिको रित भन्नू नै
यहाँ एउटा अपराजिता हो”

उ भन्छ कि यो जिन्दगी
एउटा कबिता प्रतियोगिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम् एउटा कबिता हो!!!

Deepa Bhandari – Mero Astha Ko Pratimurti

दीपा भण्डारी – मेरो आस्थाको प्रतिमूर्ति
(नेपाल साप्ताहिक ३९८)

मेरो प्यारो स्वयम्भू तिमी
बाँचिरहू अनन्तसम्म
किनभने, तिमीसँगै हाम्रो अस्तित्व बाँचेको छ ।

द्वन्द्वैद्वन्द्वले क्षतविक्षत यस समयलाई
शान्तिको आशा जगाउने मात्र तिमी छौ
तिमी हाम्रो विश्वास पनि हौ
तिमी हाम्रो आस्था पनि हौ
त्यसैले तिमी अनन्तसम्म यहीँ बाँचिरहू ।

तिम्रो अविचलित स्वभावले
हामीलाई बाँच्न सिकाएको छ, दुःखमा पनि
तिम्रा स्थिर हेराइले
हामीलाई हाँस्न सिकाएको छ, वेदनामा पनि ।

तिमी हाम्रो गौरव हौ
कति आँधीबेहरी आए
कति विचलन र विभाजन आए
तर, तिमी एकनास, एकै ठाउँ
हाम्रो संकल्पलाई बोकेर
अविचलित त्यहीँ उभिएका छौ
जहाँ बुद्धले खोजेको शान्ति बाँचेको छ
जहाँ हामीले अपेक्षा गरेको सुख हाँसेको छ ।

कैयौँ शताब्दीहरू बिते
कैयौँ कालखण्डहरू व्यतीत भए
समयका सारा पीडालाई बिर्सेर
सम्पूर्ण परिस्थितिका वेदनाहरूलाई पिएर
तिमी त्यसरी नै पर्खिरहेछौ
हाम्रो मनमा शान्तिको बुद्ध जन्माउन
हाम्रो आस्थामा शान्तिको उज्यालो छर्न
तिमी हाम्रो आस्थाको धरोहर हौ
तिमी हाम्रो जीवनकै संकल्प हो ।

Ishwari Karki ‘Barsha’ – Nirwasit Chara

ईश्वरी कार्की ‘वर्षा’ – निर्वासित चरा
(मधुपर्क २०६६ असोज)

मुठीभरि आकाश साँचेर
औँलाभरिको जूनमा
सपनाको गुराँस फुलाउँछु ।
धानसँग उमि्रएका साबो
गहुँसँग झुलेका कालीपोकेझैँ
संविधानसभाको सपना
कतै मृगमरिचीका त बन्दैन ?
सिताङ्ग बनाउँछ मलाई
आजकाल यस्तै आशङ्काले
मन्दिरसामु याचनाका उछ्वासहरु
म भएर पोख्छ समय अचेल
म मुठीभरिको आकाश ओढ्न रमाउँछु
औँलाभरिको जूनसँग पैँठेजोरी खेल्न चाहन्छु
तर
कहिले पहाड बनेर
कहिले मधेस बनेर
समयले निर्ममघात प्रतिघात
गरिरहेछ ।

उसै त दुई ढुङ्गाबीच
चेप्टिएको म
भएको छु आज
निर्वासित चराझैँ ।।।।

Laxmi Prasad Devkota – Sarki

कनिका–टीप,
सडल चम्र्ममा राख्छन् सीप,
थामन प्राण,
विष्णुमतीमुनि अनगिन जल गो
करवीर चिताले पुस्तौँ दाबी
समाज, व्यक्ति कुन हो पापी ?
मलको थुप्रो सडक किनार
ज्ञानी गुनीको चल्दछ धार
दृगमा दिल खै ?
मानवता गीत हजार !
धम्र्मपथमा प्रेम–प्रसार
कसकन मूक अपील है ?
वैज्ञानिक एक धम्र्मतन्त्रले
राख्दछ स्थिति यो च्यापी !
समाज, व्यक्ति, कुन हो पापी ?
ए रे मखमल सेज मुलायम !
आधा घण्टा देऊ त टायम,
निम्ता मान,
यो चिथराको, चोक–चराको,
त्यक्त, अजान !
उडुसहरुसँग सोध त केही,
निज मानवताको नापी !
समाज, व्यक्ति कुन हो पापी ?
श्रम बाङ्गो हर, कुप्री निरन्तर,
ढुसी मुखमा, सूज खुट्टी भर ।
दम, खाँसी ।
क्वाक्र्वार्त निशिभर, ढुङ्गा शिरभर,
किरणविना क्वै, उदरप्रति डर,
तम–वासी—
हुनु मानिसकन के हो भन्ने
अनुभव केवल च्यापी
निस्क त मानिस !
मानिस तिमीले मर्नुपथ्र्यो
शिरमा भुङ्ग्रो थापी—
समाज, व्यक्ति कुन हो पापी ?

Nirmal Tamang – Kisanko Dhaandma Desh Ko Naksa

निर्मल तामाङ – किसानको ढॉंड़मा देशको नक्सा

खालि आफ्नैमात्र विकास दर बढ़ाइरहन्छ
मेरो प्यारो देश
र सुनाउँछ मलाई
उसको विकासदरको प्रतिशत।

म भने चाहिँदो प्रतिशत पनि पाउन नसकेर
सधैँ विनाश भइरहेछु।
**
वित्तवर्षको
कुनै पनि तिमाही रिपोर्टमा
उसको विकास बढ्नुको गॉंठीकुरा
कहिल्यै भन्दैन मेरो देश।

गॉंठी कुरामा
ठूल्ठूला कम्पनीको नामभित्र
मेरो पसीनाको भारीनिवेशको कुरा स्वीकार गर्नु
लाज लाग्दो हो सायद उसलाई।

जय जवान,जय किसान
सपना हो कि विपना ठान्छ
अहिले मेरो देश
र व्यर्थै टाउको झट्‌कारेर
सम्झनु खाजेझैं गर्छ।

मेरो धानबारीमा
आफ्नो कारखाना उमार्न तयार
नामी उद्योगपति भने
थाहा भएरै पनि
देशको कानमा
सपना हो सपना- भनिरहेछ।

देशको सबैभन्दा ठूलो भ्रष्टचारको जॉंचमा
जेपीसी गठनको माग
सरकारद्वारा अस्वीकार-भनेपछि
अहिले म
छिट्टै सूर्यसुनामी आउने
विशेष समाचार हेर्दैछु
र सूर्यसुनामी चलेर
जम्मै सञ्चारमाध्यम ठप्प भएकै दिन
यो सरकारको हत्या गर्नुपर्ला भनेर
सोंच्दैछु।

खालि आफ्नैमात्र विकास दर बढ़ाइरहन्छ
मेरो प्यारो देश
र सुनाउँछ मलाई
उसको विकासदरको प्रतिशत।

म भने चाहिँदो प्रतिशत पनि पाउन नसकेर
सधैँ विनाश भइरहेछु।

Ashesh Malla – Mukti Ko Kalpana

अशेष मल्ल – मुक्तिको कल्पना
(नेपाल साप्ताहिक, अंक १३८)

चराका पखेटा काटिदिनुस
र, भन्नुस्
जा
उड् आकाशमा ।
र, भन्नुस्
तँ स्वतन्त्र छस्
बादलसँग
बादल भएर
उड्न आकाशमा

चराका प्वाँखहरू उखेलिदिनुहोस्
र,
भन्नुस्
तेरो छातीमा
कहिल्यै
हिर्काउने छैन धनुका बाँडहरू
र,
कहिल्यै
सिकार गर्ने छैन
एकान्तमा
चराका पखेटा काटिदिनुस्
र,
कल्पना गर्नुस्
मुक्त आकाशमा
आकाशिँदै उडेका
स्वतन्त्र उडानहरू
चराका प्वाँखहरू उखेलिदिनुस्
र,
गर्नुस् कल्पना
मुक्तिको ।

Rabindra Nath Thakur – Pran Ko Jholi [From Geetanjali]

प्राणको झोली
तिमीले मेरो प्राणको झोली यति भरिदएका छौ कि
अहिले नै मृत्यु भए तापनि मलाई दुःख लाग्दैन !
रात–दिन मति सुख–दुःख, कति ह्दयाकाशमा प्रतिध्वनित स्वर, मति
पोशाक र रुपमा तिमी मेरो मनमा आएर ह्दय हरण गरयौ ।
अब अहिले नै मृत्यु भए तापनि मलाई दुःख लाग्दैन !

मलाई थाहा छ मैले तिमीलाई राम्ररी स्वीकार गर्न सकिनँ,
यसकारण मैले तिम्रो पूर्णताको वरदान पाउन असमर्थ भएँ, तैपनि जो
चीनहरु मैले पाएको छु ती अहोभाग्यले पाएको हुँ !
तिमीले मलाई स्पर्श गर्यौ, आङ्खनो संकेत दियौ, ‘तिमी छौ’ : यो
अनुभूति दियौ, यही श्रद्धाको नाउँमा मेरो जीवन–यात्रा चलिरहेछ !
अब, अहिले नै मृत्यु भए तापनि मलाई दुःख लाग्दैन !

Sudha Bhattarai – Shaktihin Neta

सुधा भट्टराई – शक्तिहीन नेता
(मधुपर्क २०६६ चैत)

आजभोलि किन किन
जुन लागेको रातसँग पनि डर लाग्छ किनभने बत्ती नभएको बेलाभन्दा
बत्ती भएको बेला डरलाग्न थालेको छ ।
यी आँखाहरु अब त अँध्यारोमै
बानी परिसकेका Continue reading “Sudha Bhattarai – Shaktihin Neta”

Ratna Shamsher Thapa – Neelo Sapana Nirwastra Baila Haruko

रत्नशमशेर थापा – नीलो सपना निर्वस्त्र बैलाहरूको

माछाको आलो पित्तको धूप सुँघेर
बोसोको पत्रहरू पगाली पाठेघर भरिको
अबिर सिंदुरको रेखी भित्रको बुटी
निलेर सात गेडा सिंगो अक्षतासँगै
भोक मेट्न ऋतुदानको
जाग्राम बस्छन् बैलाहरू
निर्वस्त्र वरको रुखमुनि
नीलो किरणको प्रतीक्षामा
आँखा चिम्ली मुख बाएर ।

Sarita Tiwari – Majuwa Pokhari Ko Kinar Ma Ubhiyera

सरिता तिवारी – मजुवा पोखरीको किनारमा उभिएर

यो हावामा
उनीहरूको मृत्युअघिको अन्तिम चीत्कार छ
उनीहरूको हृदयबाट निस्केको अन्तिम आह ! छ

पसिनाम्य लखेटाईपछि जो लडाइए भुईंमा र झम्टिइए
मृगको पाठोलाई भोको बाघले झम्टिएझैं !

यो हावामा
यो गाउँ ,यो बस्ती ,यो सारा जगतसँग गरेको
अन्तिम गुहार छ उनीहरूको
जसले मानिसहरूको विवेकका
आखिरी किनारहरूमा पुग्ने
भीषण कम्पन छोडेको थियो यहीँबाट

तर कहांसम्म पुगेर फर्कियो त्यो कम्पन ?
कसैले भन्छ?
ककसलाई हल्लाएर छोडेको छ त्यसको तरङ्गले?

जबकि ,
हामीलाई थाहै छ,
मानिसहरू
कसरी चलाउछन बजारमा सरमको मण्डी !
कसरी साट्छन अज्ञात लोभहरूसित बुद्धिका पेचकिला !

मौन छ यो हावा
तपस्यामा मग्न जोगीझैं

हज्जारौं पल्ट सोध्नुस
केही बोल्नेवाला छैन यो
न दिन सक्छ अभियुक्तको कुनै हुलिया
न भन्न सक्छ घटनाको साबुत विवरण

कारण
छैन यो हावासँग कुनै भाषा
छैन शब्दहरूको क्रीडाभूमिजस्तो ओठ,
छैन जोखिमहरूको साइरनबीच पनि बौरिएर उठ्ने हृदय
छैन तीन पौण्डको तौलमा विवेकको संग्रहालय सजाउन सक्ने
त्यस्तो अदभूत र विलक्षण गिदी

यद्यपि यी जम्मै कुरा भएर पनि
मानिसहरू यस्तरी मौन छन्
मानौं यो कुनै मौनब्रतको स्पर्धा चलिरहेको युग हो…

** **

‘पज’ बटन दबिएर
चुपो लागेर उँघिरहेको घण्टाघर जस्तो
प्रतिक्रियाहीन यो पोखरी !

यहाँ केवल लेउको साम्राज्य छ अब
यो नीलो नीलो पानीमाथी
म देख्छु नाङ्गा आँखैले
एउटा अकथनीय कथा
हाडमांसको सिंगो सबुत बनेर उभिरहेको !

कस्तो दिगमिगलाग्दो यो पानी !
कति कुरुप हो यो पानीको छाया !
कति भयावह हो
पानीभित्र पौडँदै हिँडिरहेको सूर्यको प्रतिबिम्ब !

मान्नुहोस्
जीवनका सारा सौर्न्दर्यले आत्मसमर्पण गरेको ठाउँ हो यो
कति डरलाग्दा लाग्छन् यहाँ
उनीहरूका प्रलाप निचोरिएर उछिट्टिएका चित्कारका चोक्टाहरू
जो अल्झिन्छन तपाईंको प्रत्येक पाइलामा
र सोध्छन् प्रेतझैं जुरुक्क उठेर
तपाईं कुन पक्षमा हुनुहुन्छ –
न्यायको या शक्तिको?

सबका सब ओठहरू बन्द छन् ,यो अर्कै कुरा हो
शब्दहरूले छुद्र ढाल बोकेर हिँडेका छन् ,यो अर्कै कुरा हो
शब्दहरू षडयन्त्र र कुटनीतिको भुमरीमा फँसिसकेका छन् ,यो पनि अर्कै कुरा हो

तर साक्षी आँखालाई थाहा छ-
उनीहरूका मृत देहमा
ओठहरू काट्टिएका थिए !
जीब्राहरू सुन्निएका थिए !
र बगिरहेको थियो योनिबाट
धर्तीको आत्मा च्यातिएर निस्केको लाभाजस्तो रक्तधारा!

यी रुखहरूले देखेका होलान्
कसरी लुछिए तिनका छाला !
कसरी च्यात्तिए कोमल गालाका लाली!
कसरी खोलिए तिनका एक एक वस्त्र
र पारिए तिनीहरू निर्वस्त्र, नग्न !
फाट्टिए कसरी उनीहरूका जाँघ
र पस्यो एकाएक कुनै सुरुङ मार्गभित्र छिरेको
सर्पाकार ट्रेनजस्तो
रहस्यमय त्यो ‘कीरा’ !

पोस्टमार्टम रिपोर्टमा भनिएको छ-
यो नृशंस हत्याको एकमात्र अभियुक्त
त्यही क्रूर ‘कीरो’ हो

र बाँकी जम्मै तथ्यहरूमाथि मौन छ डाक्टर !

त्यो कीरो जसलाई संसारको कुनै जीव विज्ञानीले चिनेको छैन
आजसम्म
तर चिनेका छन् कोखिलामा हत्यारो अनुहार लुकाएर
न्यायको गुड्डी हाँक्ने प्रशासकले
डाक्टर ,वकिल ,’समाजसेवी’ सबैले!

त्यही ‘कीरोकथा’ भित्र लुकेको छ
हज्जारौं तहहरूले खाँदिएर बनेको
फोसिलभन्दा पनि आदिम
भयंकर सत्य !

** **

उभिएर यो पोखरीको छेउमा
हेर्दाहेर्दै –
म देख्दैछु पानीको सतहमा
सहस्र जुगभरीका योनीहरूको जुलुस तैरिरहेको
म देख्छु एकाएक पानीभित्रैबाट
विष्फोटको भयानक म्याग्मा लेदो बनेर निस्किरहेको

रोकिने छैन निश्चय पनि यो जुलुस
औडाहा र उत्तापको आँधी जब बन्ने छ बबण्डर
कसैले थेग्न सक्ने छैन प्रश्नैप्रश्नका कोलाहलको बाढी
आधा पृथ्वी उचालिएर उठेको
योनीहरूको एकमुष्ट , विशाल हुण्डरीले
जब बाध्य पार्ने छ,
एकदिन
सहस्र धैर्यको बाँध फुटाएर बाउने छ
कहिल्यै केही नबोल्ने हावाले पनि आफ्नो मुख
तब उघ्रने छ सत्यको अन्तिम पर्दा
च्यात्तिने छ
‘अभियुक्त कीराहरूको’ यो कपोलकल्पित संकथन

एकदिन पराजित हुनुपर्ने छ यी सारा झुठहरूले !
सारा षड्यन्त्रले ,सारा खेलहरूले

र जित्नुपर्ने छ उनीहरूले
जसले
आफूसँग एक योनी हुनुकै ‘अपराध’ मा
अनाहक पाएका छन्
बीभत्स मृत्युदण्ड !

* मजुवा पोखरी – चितवनको माडीस्थित एउटा पोखरी जहाँ दीपिका(९)- दीपशीला (११) को बलात्कारपछि हत्या गरिएको थियो ।

Laxmi Prasad Devkota – Yug Balak

पिन्चे, लुत्याहा, परेवा–छाती
छाडा,
पुट्ट, सिँगाने, भुस्याहा साथी,
काँढा !
घ्यारघ्यार बिरालोको घाँटी,
जाँडा ।
यही न हाम्रो भविष्य सुई हो !
टाढा !
देवदूतले अभिशापित भुइँ हो,
गाढा,
ईश्वरलाई दुःख दिन दुई छन्,
राँडा ।
चित्र रङ्गीन उज्याला हेर्दछु,
बाल !
स्याउ फलेका, अनार फुटेका
लाल !
कसरी आउला नवीन सुनौला
छाल ?
यस्तो यत्रो देवदूतको
हेला ?
यो लापर्वाही, यो लाचारी,
मेला ?
“आउँदैनौँ” भने ती यसतिर फेरि
जेलाँ ?
सुन्दर झर्ने कसरी असुन्दर
भेला ?

Laxmi Prasad Devkota – Huri Ko Geet

क.

प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल,
प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल,
मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी,
सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी
उग्रलाई अभिसारी,

ख.

गाउँदछु, पागल वेदना हाँसी, फोहोर हावाको बेताल !
विषमको खाडी जन्मस्थल मेरो, रोएर जन्मेथें हूँ, हूँ,
ध्वंसिनी दूत्तिका विधिको बनें, दर्दको आत्मा के कहूँ,
पखेरु नागलाई कोर्रा दी हाँक्नु विकास–आकाश–पथ,
क्रोधको दिव्य सुषमा मेरो, वेगको आत्मा नै रथ ।
रोएकी सृष्टिकी रु हूँ
नाश र निर्माण चक्रका मेरा बाफका उठ्दछन् धूलि,
नागिनी झिल्का झिल्केर ठुँग्छन् निशाका उरमा, दी शूली ।
चीत्कारी उठ्छ अँध्यारो बाक्लो, प्रलय चाख्दछ एकबार,
अन्त र आदि, शून्य र सृष्टि,
लुका र मारी खेल्दछन्, क्षण–क्षण झल्केर, निभेर संसार
नृसिंह–भ्रुकी खुम्चाझैं वाष्पिल गरादार घनकी घारी ।
जसको नाच तूफान वर्षा, त्यही हो मेरो खेलको बारी ।

ग.

शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा
दिनको स्वर्णिम शहीदी च्यानमा वर्षन्छन् जल भै तारा
जराको वैरी, बढार्छु बैरी सडल दलको देश ।
सङ्क्रान्ति ज्वर हूँ प्रकृतिको जो बर्बर छु किटेर दाह्रा ।
कन्दरा–नूपुर वनकाली छमछम, भूर्भुवः स्व को ताली,
भँवरी धूलि मिल्केको सारी,
बहुलाही बनी गीत गाउँछु फाँडी सृष्टिको पाकेको बाली,
लङकामा नाचें, भारतमा नाचें, समर–प्राङ्गण मेरो ।
ध्वंसका सारा श्रृगाल गाउँछन् लप्काउँदा लागाको फेरो ।
म नीलकाली, रक्तिम जिह्वा, म चिरभोकी र प्यासी,
म चिरलाञ्छित मानवताको ज्वलनको तुमुल राशि,
भीषण सुन्दरी शिवका उरमा अधीर पद छन् चञ्चल ।
विधिको बाणको वेग छ, मेरो नृत्यमा पृथिवी ढलमल !
सागर–शेष–फणालाई ठाडो पारेर गाउँछु घोर
उत्ताल उराल, प्रलय–सुरले, असि ली बिजुली–डोर !

घ.

सत्यलाई गर्छु अभिषेक भूमा, स्वर्गका झारीका जले,
म नारसिंही शक्तिको माऊ युग–निशा हाँक्दछु बलले,
चण्डीझैं जन्जीर चट्याङ्ग भाँची फुहुन्छ सिंहको वाहन,
त्यो पशुराज जो मेरो कोपले कल्पेथ्यो दण्डको साधन ।
म उग्र शिव, म भीम सत्य, भयङ्कर सुन्दरकी देही
कान्तार–सङ्गीत, समर–मन्दिर शक्तिकी अधरकी फेन,
म वायुवादी, खलबल प्राणहरुको भँवरी केही,
कालको बाली–काटनी साकार, ऋतको अन्तको देन ।

ङ.

पल्लव–शिशुको केलिको आली ढुक्कुरको प्यारको न्यानु,
तूफानी छालले मुक्ताको शिल्प, पाठालाई आमाको न्यानु ।
स्वर्गको पटको पखाल्नी केवल, कोयली–वाणीको निर्बन्ध,
धोबिनी केवल धराको, कुसुम–उरको विन्दुको सुगन्ध !
सत्यका युगमा सपनेर सुत्छु, कलिमा बिउँझेर खेली ।
सिकाउँछु केवल चित्रान प्रभात उषालाई जो मेरी चेली ।
चिथरो मेरो पछयौरामा, सन्तुलित सुधांशु–ज्योति,
विषम दारी, बन्धन फारी
निदाउँछु नीरव कन्दराभित्र,
मुस्केर स्वप्न–संसारमा छामी सुनझुल्के प्रभातको नाडी !

Shyam Krishna Shrestha – Yas Pusta Ka Nawa Yuwak Prati

श्यामकृष्ण श्रेष्ठ – यस पुस्ताका नवयुवकप्रति

राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष
राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश ।

खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश
सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत
देख्दा यस्तो देशभरि नै उठ्दछ मनमा प्रश्न अनेक
प्रभुसत्ता सम्पन्न देश हो या पराइको प्रान्त विशेष ?

संकट घण्ट बज्यो, सुन्दैनौ – श्रवण शक्ति नै छैन कसो
स्वदेशप्रतिको माया ममता तिम्रो मुटुमा छैन कसो ?
मिचिसके कति खुला सीमाना नदी अनेकन शोषिसके
पछुुतो पर्ला भोलि आज नै युवकहरू हो ! हेर्छौ के ?

चार जात छत्तिस वर्णे सुन्दर यो फूलबारीमा
परचक्रीको चहलपहल यो मातृभूमिको छातीमा
युवापुत्र ! कति हेरिरहन्छौ आऊ न बाहिर आऊ छिटो
स्वाभिमानको शिर निहुर्राई बाँच्नुभन्दा मर्नु निको ।

तथाकथित यी भ्रष्ट राजनेताले देश डुबाइसके
हर्दाहर्दै मूल्यवान दशकाधिक वर्षगुजारीसके
जानाजानै र्सार्वभौम सत्ताको धज्जी उडाइसके
निरा व्यक्तिहरू स्वार्थपूर्तिमै परवशता स्वीकारिसके ।

यस्तो स्थितिमा राजनीतिको दलदलमा नफसेर तिमी
छाती फुकाई आऊ अगाडि युवकहरू ! चट्टान बनी
राष्ट्रघातीहरू जहाँ जहाँ छन् खोजी खोजी नाश गर
युवाशक्तिको सामु पराजित हुन्छ अवश्यै शत्रुगण ।

आजै अहिल्यै देशभरिका युवकहरू ! संगठित बन
राष्ट्रभक्तिको निम्ति अत्यन्तै गरिमामय दृष्टान्त बन
स्वदेशको अस्तित्व सुरक्षण गर्ने दृढ संकल्प गर
अतिक्रमित जे जति हुन् हाम्रो भू-सीमा विस्तार गर ।

राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा, हाम्रो भेष
राख्छौं हामी सदा सुरक्षित हाम्रो माटो हाम्रो देश ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Bipin Singhal – Thorai Aanshu Jhadai Chhu

थोरै आँसु झार्दै छु

कस्तो चोट पुर्यायौ ,थोरै आँसु झार्दै छु
सबै खुसी उडायौ ,थोरै आँसु झार्दै छु

मैले त बेचेको थिए आफ्नो खुसी
तिम्रो साथ पाउन , तर तिमिले त
मेरो सास नै छिन्यौ,थोरै आँसु झार्दै छु

दिनरात तिम्रो भलो सोचीहिड्ने यो मन
च्यातेर फ्याल्यौ ,थोरै आँसु झार्दै छु

सोचेको थिए तिमिलाइ रानी बनाउने,
तर तिमी त झुठो कहानी निसक्यौ ,
थोरै आँसु झार्दै छु

मायामा फुल्दै गरेको कोमल हृदयमा
बिष छरेर गयौ ,थोरै आँसु झार्दै छु

जुन आँखा मा तिम्रो निम्ति प्यार थियो
त्यही आँखा मा आँसु दिलायौ ,
थोरै आँसु झार्दै छु !!

Sandhya Regmi – Chunauti

सन्ध्या रेग्मी – चुनौती
(प्रवासी नेपालीको देशप्रेम)

हिमाल मेरो शिरको ताज उचाइ नाप्न खोज्छस् के ?
मबाटै बग्छ महासागर गहिराइ छुन खोज्छस् के ?
म हुन्छु आगो रिसले अपमान गर्न खोज्छस् के ?
मर्दिन“ कुनै शस्त्रले मलाई ढाल्न खोज्छस् के ?

भोको पेट बरु जिउ“दछु मागेर रोटी खान्न“ हे †
नाङ्गो आङ् परिपूर्ण छु अनुदान तेरो लिन्न“ हे †
दया चाहिन्न तेरो मलाई म मर्छु बरु शानले
गंगालाल म बन्दछु माफी कदापि माग्दिन“ हे †

सूर्यचन्द्र मेरै मुठ्ठीमा परिचय मेरो खोज्छस् के ?
चेतनाको मशाल म निभाउने आ“ट गर्छस् के ?
युग बदल्ने छाती म चिरा मलाई पार्छस् के ?
विराट् लोककै माथि म तागत मेरो बुΣछस् के ?

गन्तव्य मेरो टाढा छ बाटो अझै छेक्छस् के ?
विद्रोहको जुलुस म वेग मेरो रोक्छस् के ?
प्राकृतिक–सम्पदा खानी म मलाई बेच्न खोज्छस् के ?
रोपिन्छु तेरो छातीमा महाकाली म बन्छु हे †

Yuddha Prasad Mishra – Bahumat Ko Awaz

हाम्रा यी खेतबारी श्रम सलिल बगी हातले जोतिएका
केवल हामी डटेका सक्रिय कृषका प्यारले पोतिएका
हरबेलामा यसैको वरिपरि घुमने वीर हामी सिपाही
गर्छन् हाम्रा तँ जस्ता अथकित पहरा चोरको त्राही त्राही
हाम्रा हँस्या हथौडा अजर अमरमा वास्तविक तथ्य जागी
शान्ति सुस्थिर लेला त्यस बखतविषे मात्र तैंलाई लागी
के हामी जन्म पाई धरति बीच यहीं गर्न पाइन्न डेरा
हामी छैनौं सुतेका अब निमुख भई दूर जा हे लुटेरा
देखिनस् यो चलेको झुपडी झुपडीमा सन्सनीदार हावा
मर्यादा पार्न हाम्रो पतन अब वृथा गर्नु तैले त दावा
शक्तिसम्पन्न ज्यँदूा विमल चहकिलो सान्स्कृतिक अस्त्रधारी
हाम्रो धावा छ ऐले अरिगणहरूको सर्ब संहारकारी
ऐले हामी तँ देखी असह रगतले उम्दिएका घडा छौं
आफ्नो संरक्षतामा कठिनतम ठूला बज्रभन्दा कडा छौं
तेरो दुष्चारिताको विषय स्थिति सबै तोड्नलाई खडा छांै
जान्दैनस् यत्ति उक्ती पनि बहुमतका विघ्न हामी बडा छौ