Rakesh Karki – Daura Suruwal Ra Gunyu Cholo

इन्जिनियर राकेश कार्की – दौरासुरुवाल र गुन्युचोलो

दौरा सुरुवाल
गुन्यु चोलो
पश्चिम बंगालका
नेपालीको गोलो
चाड पर्वले एक बनाउँदैछ
खुशीयाली साथ मनाउँदैछ

कति माया छ
आफ्नो भेषको
जे पनि प्यारो
नाता रगतको
बज्छ लोक बाजा नेपाली धुनमा
भलाकुसारी आफ्नै साझा भाषामा

नेपालका नेपाली
मेचीदेखि महाकाली
के हो त एकताको भेष
एक अर्काप्रति गरेर द्वेष
छोडे दौरा सुरुवाल गुन्यु चोलो
संसदमा हिन्दी भाषा बोलो

सदन हेर
बहुरुपी जस्ता
रंग बेढंग
पहिरन कस्ता
कता गयो त्यो राष्ट्रियता
कोट पाइन्ट बिदेशी जुत्ता

नेपाली टोपी
लाजले छोपी
विदेशी पहिरन
हल्लाउदै गर्दन
उपराष्ट्रपति, मंत्रीको मेला
राष्ट्रिय पोशाकको हेला

धन्य धन्य
आमाको माया
मुटु भित्र
नेपाली कायाँ
बिदेशी भुमीका दिदीबैनी दाजुभाई
बचाई रहेछन् देशको भेषलाई

– लस् एन्जेलस्

Binod Khadka – Desh Tira

बन्दै बन्द छ रे
हडतालै हडताल छ रे स्कुल कलेजहरु
खुल्नै सकेका छैनन रे कलकारखानाहरु
चक्काजाम छ रे राजमार्गहरुभरी
जुलुसै जुलुस छ रे सहरभरी
टायरहरु बल्दैछन रे सडकभरी
के यो साच्चै हो ?

राजतन्त्र पनि हट्यो
प्रजातन्त्र पनि देखियो
गणतन्त्र पनि भेटियो
तर नेता फेरिएका छैनन रे
महान नेताहरु
जनताका भाग्यविधाताहरु
अति व्यस्त छन रे
संविधान जन्माउदै छन रे
कहाँबाट कता चिर्ने
कतावाट विभाजन गर्ने
चिना टिपन बनाउदै छन रे
के यो साच्चै हो ?

जलश्रोतको धनी हाम्रो देश
राष्टिय योजनाकारहरुको
बलियो पकड हाम्रो देश
टेलिभिजनका अन्तर्वार्ताहरुमा
विदेशका उदाहरण दिदै
आफुलाई ठूला मान्ने
तथाकथित बिषेशज्ञहरुको भीड हामो देश
केवल योजना नामका
ढड्डाहरुमा कुंजिएका छन रे
दैनिक सोह् घण्टाको लोड्सेडिग
उपहारमा बाँडेका छन रे
के यो साच्चै हो ?

भविष्यका कर्णधारहरु
विना उज्यालोमा पनि
उज्यालो आकाश नियाल्दै छन रे
वत्ति नभएर के भो
पूर्खाले छाडेको टूकी वत्ति त छदैछ
त्यसैमा भविष्य चिहाउदै छन रे
के यो साच्चै हो ?

कर्मचारीहरुको तलब बढेको छ रे
भाउबेसा उकालो लाग्दै छ रे
कर्मचारीहरुको टोपी पछाडीको पछाडी नै
टेवुलमुनि हात पसार्नेको दिन जागेको छ रे
लुटेराहरु हौसिएका छन रे
फिरौती लिनेहरु चम्केका छन रे
चन्दाको किस्ता तिर्दै जानेलाई
डराएर बाच्नु पर्दैन रे
के यो साच्चै हो ?

पानी खान नपाउनेले
पानीको पाईप नै काटिदियो रे
जागीर पूर्नबहाली नहुनेले
राजमार्ग नै बन्द गरिदियो रे
भनेको नमान्ने हाकिमलाई
सानै कर्मचारीले पनि ठीक लगायो रे
अरबतिरबाट फर्केको चाउरे लाहुरेलाई
एयरपोर्टको भन्सारले खिस्स पार्यो रे ।
के यो साच्चै हो ?

जग्गा जमिनको भाउ बढ्यो रे
एकको दूई दूईको चार हुन्छ रे
दलालीको दिन जागेको छ रे
चिकेन तन्दुरीको साथमा
देशी रक्सीको बोतल जम्छ रे
यत्रो पैशा कहाँबाट आयो
सीधै कर तिरे पुग्छ रे
के यो साच्चै हो ?

सपना बाड्नेहरु
गाँउ गाँउ पुगेका छन रे
सरकारले प्रतिबन्ध लगाएर के भो र
ईराक र अफगानिस्तानका सडकहरुमा
दाज्युभाईहरु अलपत्र परेका छन रे
गरीबी र लालचको पन्जाभित्र
अपराधीहरुको सिकार भएका छन रे
घर फर्कने टिकट नपाएर
विदेशी जेलमा पडेका छन रे
के यो साच्चै हो ?

Tanka Subba – Jiunu Ko Anekaun Chhal Haru

टंक सुब्बा – जिउनुको अनेकौं छालहरु

छाल उपछालहरु
केन्द्रित हुदै
समुद्रको भीषण छालसरी छचल्किने
जिउनुको अनेकौं छालहरु
किनारासम्म नपुग्दै जिन्दगीको
किनारासम्म नछुदै भावनाको
दुर्घटनामा फस्छन् सग्ला Continue reading “Tanka Subba – Jiunu Ko Anekaun Chhal Haru”

Bimal Nibha – Hatyatantra

यो हत्या
एक्कासि भएको होइन
सबभन्दा पहिले
चिन्तन–मनन गरियो
एक हुल वेतनभोगी विचारकहरु
आआफ्नो आसनमा
कापालिक मुद्रामा समाधिस्थ भए
केही समयपश्चात्
उच्च डिग्रीधारी विशेषज्ञहरुद्वारा
सन्तुलित योजनाको रेखाङ्कन भयो
के गर्ने
र कसरी गर्ने
स्वदेशी र विदेशी सुपरम्यानहरु
गोप्य परामर्शको प्याकेट बोकेर
हतारहतार
काठमाडौंबाट न्यूयोर्क
न्यूयोर्कबाट नई दिल्ली
र नई दिल्लीबाट काठमाडौं उड्न थाले
यसबीच नेपथ्यमा आकर्षक शब्द
शिष्ट वाक्य
र जिम्मेदार भाषाको
भीषण आदान–प्रदान भयो
क्रमशः सभा, सेमिनार र गोष्ठी चले
न्याय, अधिकार र जनकल्याणको
उच्चारण गरियो
बहिराहरुले समेत सुन्नेगरी
क्यासेट टेपमा भरियो
र खुल्ला बजारमा वितरण गरियो
दिनरात कसैलाई फुर्सद भएन
भेटघाट, वार्ता र सम्झौता
सम्पन्न गरियो विधिपूर्वक
रहस्यमय सङ्केतहरु साटासाट भए
आयोगहरु बने
टेलिफोनका घण्टीहरु बजे
मोटरका पाङ्ग्राहरु गुड्न थाले
अभूतपूर्व दृश्य उपस्थित भयो
हेर्दाहेर्दै यत्र, तत्र, सर्वत्र
पर्चा, पोस्टर, पत्र प्रकाशनले
तीव्र गति समात्यो
केन्द्रीय भाट, विदूषक र चारणहरु
विभिन्न स्थलहरुमा खटिए
नारा, वक्तव्य र भाषणको
लहरमाथि लहर उठ्न थाले
भव्य जुलुस प्रदर्शन भयो
समयको नाजुकपनालाई ध्यानमा राखेर
अनुभवी ००७ हरु
आज्ञाकारी ब्ल्याकबेल्टहरु
र तालिमप्राप्त बुलडगहरु
तैनाथ गरिए चारै दिशामा
पूर्व, पश्चिम, उत्तर, दक्षिण
र सबैभन्दा आखिरीमा
हतियारको चयन गरियो
पुराना मोडलका बन्दुकहरु
रद्द गरिए एकमतले
यसको विकल्पमा
आयातित राइफलको प्रयोग गर्ने
साझा सहमति भयो
सबैले ठूलो सन्तोषको सास फेरे
कुनै बाधा–व्यवधान रहेन
यस प्रकार सम्पूर्ण तयारी भइसकेपछि
साहूकार, सुन्दरी र सेवकसहित
अर्थात् सदलबल
सद्भावना–यात्रामा निस्के
लोकतन्त्रका लोकप्रिय नायक
त्यसपछि गोली चल्यो
ड्याम–ड्याम
र हत्या भयो
जस्तो कि देखिने गरिन्छ
त्यति सरल छैन
हत्या गर्नु
(२०५०)

Bimala Tumkhewa – Mrityu

बिमला तुम्खेवा – मृत्यु

जीवन
आकाशमा अनन्त भएर बिलाउँदै छ
म जहाँबाट दोस्रो आकाश नियालिरहेछु
म जहाँबाट मृत्यु भोगिरहेछु
धूवाँ भएर
फैलिएको आँसुको रङ्ग
मृत्युको एकादेशमा पृथक् रहने छ
मृत्यु —
सत्य Continue reading “Bimala Tumkhewa – Mrityu”

Mani Bangdel – Sumsumaunda Nepal Timilai

मणी बांग्देल – सुमसुम्याऊंदा नेपाल तिमीलाई

तिम्रो मुल्यवान तनभरी
बगेका मेरा अमुल्य पसिनाका धाराहरु
खहरे खोला बनि सुकेर नजावस
तिम्रो काखमाथी मिठो निद शैयांमा
देखेका लाखौ सुनौला सपनाहरु
हुरी बतास संगै उडेर नजावस
माधक तिम्रो उष्ण मोहपास भीत्र
छल्किएका छाल झैं जवानीहरु
त्यो मोहिनि साथको बिछोडमा
ज्वालामुखि बनि फुटेर नजावस
मेरो जन्मभुमिमा पाईला पाईला गनि
तय गरेका कोसौं जीवनका दूरिहरु
लक्ष्य बिहिन चंगा बनि चुडेर नजावस
पीडाका खानीहरु
तिम्रो कण कणमा मिसाउदा
बेदनाका बोझहरु
तिम्रा हत्केला भरि बिसाउदा
कबिका दुःखान्त कबिताले
मस्तिष्क भरि गिज्याउदा
सधा चुपचाप स्थिर रहने कस्तो
रित्तो रित्तो तिम्रो मन
पिरोल्दैन बियोगले किन तिमीलाई
गर्जिदिन्छौ हरक्षण नियमित बर्सिदिन्छौ
अनि जताततै पड्किदिन्छौ
कसम छ तिमीलाई बगेका ती पसिनाको
र धेरै सुनौला सपनाहरुको
बिदाइका अन्तिम समर्पण संगै बितेका साथलाई
एक पटक सुम्सुमाउदा नेपाल तिमीलाई ।

न्युयोर्क

Neerose Maskey – Pahichan Harayo

निरोज मास्के – पहिचान हरायो !

आज,
फेरि एउटा ठाउँ हरायो!
ए बटुवा,
ए मनुवा,
तिमिले देख्यौ की कतै,
मेरो आफ्नै गाऊ हरायो!
यो गोरेटो पारी थियो,
त्यो घोरेटो वारी थियो!
नजिकै एउटा,
चौतारी थियो!
चौतारिमा बसि बागचाल खेल्ने,
दौतारी थियो!
सुसेलिहाल्दै हावालाई बोलाउने,
औतारी थियो!
एउटा,
स्वोमीको रुख थियो,
पिपल अनि बर थियो!
नजिकै मेरो घर थियो!
आमा थियो,
बाबा थियो,
दिदि भाइ अनि आफन्त थियो!
छेवैमा एउटा पधेरा थियो,
पोखरी थियो,
अनि एउटा कुवा थियो!
तल्लोघरे सान्कान्छा दाई,
अनि माथ्लाघरे ठुलो बुवा थियो!
जात्रा थियो,
चाड अनि उत्सब थियो!
सधैं उत्सबमा पकाउने र ख्वाउने,
पुछार घरकी,
साइली बजै भान्से थियो,
अरुपनी थुप्रै आफ्नो मान्छे थियो!

आज मेरो एउटा ठाउँ हरायो!
ए भरिया दाइ,
ए सहरिया भाइ,
तिमिले त देख्यौ की कतै,
आफ्नै मेरो गाऊ हरायो!
तेही देउराली नजिकै थियो,
तेही भन्ज्याङको छेवैमा थियो!
उकाली नेर थियो,
वोराली नसकिदै थियो!
डाँडा बाटै देखिन्थ्यो,
टाडाँ बाटै देखिन्थ्यो!
थुप्रै आफ्नो घर थियो,
गाऊ सबैको एउटै भर थियो!
घर संगै एउटा गोठ थियो!
गाई थियो,
बस्तु थियो,
केही कुखुरा र खोर थियो,
रातभर स्यालको स्वोर थियो!,
स्याल चोर् थियो!
तेसलाई लखेट्ने,
टाटे थियो,
पाङ्रे थियो!
दिनरात गाउकुर्ने,
काले र खैरे थियो!
गोठालो संगी बिरे थियो,
धेउसीरे खेल्ने हर्के,
अनि रोदी नाच्ने,
भैरे थियो!
छेवैमा सानो डाँडा थियो,
नजिकै रानिवन थियो!
केही बारी थियो!
तल हाम्रो खेत थियो,
संगै एउटा धन्सार थियो,
त्यो गाऊको अलग्गै संसार थियो!
निन्द्रा थियो,
सपना थियो,
सबै आफ्नै अन्सार थियो!
पाटी थियो, पौवा थियो,
पछाडि एउटा टौवा थियो!
डाँडामा एउटा मन्दिर थियो,
देवल थियो
त्यहि हाम्रो भाकल थियो!
भाकल संगै चडायको भेटी थियो,
टुँडाल थियो,
झुन्ड्यायको घन्टा थियो!
माटोले पोतेको भित्ता थियो!
भित्तमा मेरो नाम् थियो!
आज त्यो मन्दिर हरायो,
हामि सबैको शिर हरायो!
ए दैब,
मेरो गाउँ हरायो,
गाउँ संगै,
मेरो नाउँ हरायो!
आँन बान् शान हरायो,
सँग संगै मेरो,
पहिचान हरायो!

Indra Narthunge – Aphim Aatanka

इन्द्र नारथुङ्गे – अफिम आतंङ्क

मनको करेसोमा
लस्करै उभिएका
फूलका निर्दोश बोटहरुलाई उखेलेर
मैले अफिम छरेको छु
हिजो मात्र

आज
भत्काउँदैछु
आस्थाका पर्खालहरु
विश्वासका चौकोसहरु
श्रद्धाकाधुरी-खाँमाहरु
मन्दिरहरु Continue reading “Indra Narthunge – Aphim Aatanka”

Laxmi Prasad Devkota – Ek Timi

क.
‘हुन्न’ भन्नु तिमीले केवल
आपूmलाई नचिन्नु हो
आपूmलाई नगन्नु हो !
स्रष्टाका ए प्रतीक अदर्पण
परिस्थितिको स्रष्टालाई,
धुस्नाहरुमा चट्ट सुताई,
कैद गरीकन थुन्नु हो !

ख.
किन हुन्न ? किन हुन्न ?
यस माटोमा अङ्गुर स्याउ !
सह्यार बाहुला कोदाली ली,
लौ आऊ !
यो हो फलको द्धार हेर !
आफूलाई चिन्ने ठाउँ !

ग.
यहाँ छ एकै अभाव सधैँभर—
एक तिमी !
एउटा रुद्र,
एउटा विष्णु,
एउटा ब्रह्मा,
त्रिमुखी ईश्वर, एउटै मात्र
जम्मा !
केवल तिमी !

घ.
देशको यो विस्तृत माटो
यसमा कुन हो रसको कमी ?
चाहिन्छ केवल एउटै मान्छे
केवल तिमी ?

ङ.
यस्तो चिसो बिहान,
प्राणलाई पुष्प बनाई हातमा ली जाऊ, जाऊ
आफ्नै सुनौला मन्दिरको
पारसनाथ !
विश्वास गरेपछि, को छ अनाथ ?
के छैनन् भन, साथ ?
ईश्वर एउटै मात्र यहाँ छ— सम्झ गमी ! केवल तिमी !

च.
भैगो मरेछौ बाटैमा !
तिमी मरेपछि देख्नेछौ ए आफूलाई
हिडिरहेको, हिडिरहेको,
चालू लक्ष्यको साथैमा !
शास्त्रहरु सब सच्चा हुनेछन् ! विश्वास गर !
आत्मा तिम्रो मर्दैन कहीँ
हामी नास्तिक बन्नेछैनौँ
पाई फेरि तिमीलाई यहीं !
शून्य डराउँछ एकै चीजले— जान्छ गुमी जिउँदा भएमा—केवल तिमी !

छ.
‘हुन्न’ हो शून्य !
‘हुन्छ’ हो धन्य !
पहिलो चिहान हो,
दोस्रो चमत्कार !
देशको केवल एक कमी ! पटुका कसेका दहरा
अमर उज्याला काल गिज्याई हाँसेका
एक तिमी !
मुर्दा जगत्हरुका हे प्राण ! यहाँ छ तिम्रै
मात्र कमी !
उद्दीपन छौ प्राणहरुका
केवल तिमी !

Dipendra KC – Ma Piune Bhayeko Chhu

दीपेन्द्र “अपजसी” – म पिउने भएको छु

हो, नपिउने भन्दाभन्दै
पिउने भएको छु म ।
तिम्रो डोली अन्मिएपछि
सुनसान छ गाउँ;
त्यसपछि
चढ्न थालेको छ
अर्कै नशा मलाई
हटाउन त्यो नशा
म पिउने भएको छु
नपिउने भन्दाभन्दै
Continue reading “Dipendra KC – Ma Piune Bhayeko Chhu”

Durga Lal Shrestha – Achamma Ko Mela [Bal Kabita]

सिमसिम पानी पर्दै थियो
घाम डुब्दै-डुब्दै थियो,
मचैं भने हेर्दै थिएँ
एक्लै घरको झयालमा बसेर ।

घरमुनि सानो बारी
बारीबीच दूबो-घारी,
दूबामाथि बस्दै थिए
पानी थोपा-थोपा परेर ।

डुब्नुअघि घाम फेरि
हाँस्यो जसै यता हेरी,
पानीका ती थोपा सारा
टल्के मोती-दाना भएर ।

मर्मर-मर्मर गर्दै बात
मार्न थाले पात-पात,
लाग्यो मलाई बस्दै छु म
अचम्मको मेला भरेर ।

२०५८ फागुन २८

Acharya Prabha – Anyaya Ko Birudda Ago Bhai Balaun Hami [Shishu Gajal]

अन्यायको बिरुद्द आगो भै बलौँ हामी
देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी ।

सन्तान हौँ हामी सबै एउटै देश नेपालको
आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी।

एउटै आकाश ओढेर,बाँच्दै आयौँ हामी सबै
एकताको नारा लगाइ,एक बनी चलौँ हामी।

को हो पराइ,को आफन्त भेदभाव नराखी
शत्रुको गोली सामु आए,फलाम बनी छलौँ हामी ।

Bikram Subba – Geet Jindagi Ko

विक्रम सुब्बा – गीत जिन्दगीको

आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको
आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको
आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको
कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको
कुनै Continue reading “Bikram Subba – Geet Jindagi Ko”

Ratna Shamsher Thapa – Kamana

रत्नशमशेर थापा – कामना
(मधुपर्क २०६६ भदौ)

मौनतालाई टुक्राइदिने सुसेल ए आँधी
भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।
आगोको तातो असिना खन्या बादल कुर्लेर
क्षितिज चिर्ने आवाज सुना सागर उर्लेर
बदलिनुपर्छ धमिलो नक्सा सम्पूर्ण धर्तीको
गुञ्जिनुपर्छ एउटै गीत विश्वमा प्रीतिको ।
रगतको रङ चिन्न निर्मल आँखा चाहिन्छ
जीवनको अर्थ बुझ्न सरल भाका चाहिन्छ
उमि्रनुपर्छ मुटुमुटुमा पवित्र भावना
बर्सिनुपर्छ शान्तिको ज्योति मेट्न तिर्सना ।
मौनतालाई टुक्राइदिने सुसेल ए आँधी
भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।

Aryabiman Chitrakar – Samarpan

आर्यविमान चित्रकार – समर्पण

एउटा स्पर्शले तिम्रो यहाँ
हजारौ कम्पनहरु पैदा गर्छन
एउटा मुस्कानको लागि तिम्रो
कोहि लाखौ सौदा गर्छन
ती लाखौ सौदाहरुका माझ
अल्झिएको यो मेरो मन
गर्दैछु तिमिप्रति समर्पण

एउटा Continue reading “Aryabiman Chitrakar – Samarpan”

Rakesh Karki – Bideshi Baato Ra Deshko Maato

इन्जिनियर राकेश कार्की – विदेशी बाटो र देशको माटो

झुक्याउला तिमीलाई विदेशी बाटोले
सम्झिने छ सधैँभरी देशको माटोले

फेरिन खोजौला भाषाले
रुपले अनि भेषले
बदलियौला तिमी खैर
चिनिरहला देशले

भुलौला तिमीले संस्कृति
आफ्नैपन र रीतिथीति
विदेशी हुँ तिमीले भनेपनि
देशले नै गर्छ मायाप्रीति

दिनरात गरी कमाउला
गाडी महल के के होला
तैपनि देशकै छहारीले
थाकेको तिम्रो मन छोला

पढीलेखी धेरै फुलौला
देशलाई बिर्से झैँ गरौला
जति चढे पनि अन्तमा
आमाकै काखमा झरौला

झुक्याउला तिमीलाई विदेशी बाटोले
सम्झिने छ सधैँभरी देशको माटोले ।।

– लस् एन्जेलस्

Mina Bantawa ‘Mridu’ – Nari Bedana

नारी बेदना !

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिबन अभिशाप हैन न त हो श्राप नै,
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै।।

हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ,
नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं
खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
नारी त्यो डुबीरहन्छे सधैं सधैं आँशुको ताल मै।।

जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
कानमा तेल हाली आँखामा कालो चस्मा लाउँछ दुनियाँ
त्यसैले यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्य।।

नारी, हामी पनि एउटा रथको पाङ्ग्रा हौ नी,
बोल्न सक्छौ हामी पनि चलाएर ज्वारभाटा,
कति पर्खिन्छौ, हामी सधै पिर अनि दुखको भकारी,
छातीभरि पिर बोकी, आफ्नै जिबन पारी घाटा।।

Prakash Nepal – Sutdainan Manchhe Haru Basti Haru Ma

प्रकाश नेपाल – सुत्दैनन मान्छेहरु बस्तीहरुमा

जब सुत्दैनन मान्छेहरु बस्तीहरुमा
बुझ्नु पर्छ – उनीहरु आगाका फिलिंगाहरु बनाउदैछन |
हो
उनीहरु आगाका फिलिंगाहरु बनाउदैछन
अनगिन्ती छटपटीका कोइलाहरु बटुलेर
अभावका रापहरुमा अत्तालिदै
बेपत्ता दौदिन्छन र बिश्वाशहरुमा पछारिदै
थाक्छन, सुस्ताउछन र फेरी ब्युतिन्छन |

जोडन जान्दैनन आकाश र पाताल उनीहरु
र जान्दैनन एकादेशका दन्ते कथाहरु
उडाउदैनन घाइते परेवाहरु – नाटक देखाउन
अनि चल्दैनन कुटिल चालहरु चुनाब जित्ने बहानामा
र हुन्छन लाम बद्ध शितलहरका मालचराहरु जस्तै
आगोका थुंगाहरु उन्न |

नसोचे हुन्छ – अब गाउँ सुतिसक्यो
नसोचे हुन्छ – नाटकका पर्दाहरु च्यातिदैनन अब
र बिकुलहरु बज्दैनन अब – शंखघोसको
नबसे हुन्छ ओथारो – बतासे अण्डाहरुमा
नगाए हुन्छ – नानि भुलाउने गीतहरु – बेसुरमा |

बुझेका छौं – एक चुप चाप रात अझ बाँकी छ
जहाँ मसानहरु चाल चल्दैछन अझै
जहाँ बिटुला बैंसहरु गल्दैछन अझै
जहाँ ऐजेरुहरु फल्दैछन अझै
जहाँ बिश्वासहरु ढल्दैछन अझै |

हो
हामी पनि अझै सुतेका छैनौं
बुझे हुन्छ
जब सुत्दैनन मान्छेहरु बस्तीहरुमा
उनीहरु आगाका फिलिंगाहरु बनाउदैछन
अनगिन्ती छटपटीका कोइलाहरु बटुलेर
घाइते विश्वासहरुमा मलम लगाउदै
फेरी उनीहरु ब्युतदै छन!

वाशिंटन डीसी

Biplav Pratik – Yug Prabesh

बिप्लव प्रतिक – युगप्रवेश

म ती दिनका कुरा गर्दैछु
जब सूर्य पनि आङ तान्दै
आफ्नो गुफाबाट निस्कन्थ्यो
अनि म ती रातका कुरा गर्दैछु
जब चाँदनी मस्किँदै
आफ्नो आश्रयबाट सुस्तरी ओर्लन्थी
बिहान मोतीभन्दा Continue reading “Biplav Pratik – Yug Prabesh”

Laxmi Prasad Devkota – Sandhe

मेरो नाम छ साँढे !
वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !
पशुबल पाँडे !
क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,
डुक्री, हाँकी–हपारेँ !
मेरो नाम छ साँढे !
मानिस जाति थिचियोस्, मिचियोस्,
के पर्वा ?
बलको सुराले लाल छ आँखा,
मेरा मगजमा रिसका ज्वलनका
अणु अर्वा !
विस्फोटक छन् ध्वनिहरु ध्वुंसक,
शठ–गर्वा !
जवाफदेही दुनियाँप्रति के !
तृणचर वा !
अङ्गाररङ्गा हूँ ढाडे !
मेरो नाम छ साँढे !
दया भनेको कमजोरी हो,
गर्जी ड्वाँ !
बालक जन्मनसम्मन् तर्सून् !
पृथिवी झ्वाँ !
आगो डकार्दछु ! सभ्यता खार्दछु,
भुट्दछु च्वाँ !
किनकि म साँढे, साँढे नै हुँ !
भाले ह्वाँ !
वरपर हेरन, तर्सन छाडेँ
मेरो नाम छ साँढे !
सभ्यता सब अट्ने उदर यो,
शस्त्र शिङ्गार !
फलाप मशल् औ विश्व निडर यो,
वंव्–हुङ्कार !
तोपहरुको मुहरी मुख यो
ड्वाँ ओडार !
प्रलयकालको हुँ पटु पाँडे !
मेरो नाम छ साँढे !