Rambikram Thapa – Ankha

रामविक्रम थापा – आँखा
(मधुपर्क २०६६ माघ)

संसार देख्ने रमिता हजार
यो ज्योति आँखा सबको छ सार
सौन्दर्य हेने नयननाभिराम
सानो छ हेर्दा कति धेर काम

लेख्ने र पढ्ने हतियार हाम्रो
देखाउने यो मतियार राम्रो
राम्रो, नराम्रो सबमा छ दृष्टि
हेरेर भन्दै नवभाव सृष्टि

यो ज्ञानदाता र अनेक भाका
यो प्रेमदाता रसिलो छ भाषा
राम्रो र मीठो नयनी इसारा
स्वभाव पोख्ने कतिको सहारा

जो नेत्रवाणी मुखले नभन्दा
त्यो भाव राम्रो अझ शब्द भन्दा
ढोका खुलायो मनको महान्
नेत्रास्त्र सानो, हचुवा नठान

-बालकन्या उमावि फाक्टाङ-२, खोटाङ

Rajendra Pahadi – Rajdhani Ko Nautanki

राजेन्द्र पहाडी – राजधानीको नौटङ्की

काठमाण्डौको कालो सडकलाई
सात फन्का मारेर
काकाकुल चिच्चाए“ म
तर शहर सुने नसुनेझैं
चुपचाप बस्यो
उत्तानो फर्केर

म तिर फर्केर पिच्च थुक्यो
कालो धु“वाको मुस्लो… अनि
साथमा एक पसर अविश्वास ।

गाउ“मा प्राविधिक स्कुल खोल्ने
लहड झोलाभरी खा“देर
भीरखोले गाउ“बाट
अलिकति आशा
अलिकति शंका
अलिकति जोश र होश बोकेर
केन्द्र झरेको म
मन्त्रीको ओठे जवाफबाट झसङ्ग भए“
उनी भन्दै थिए–
पार्टी च्यानलबाट सिफरिस आउनु प¥यो
काम हुन दाम चाहिन्छ
दाम भए माम पाइन्छ
देशभन्दा पार्टी ठूलो
जनताभन्दा नेता ठूलो
तसर्थ, भरपर्दो नेताको
सहमती नआई फाइल अघि बढ्दैन
फाइल नै नभए काम पनि बन्दैन
मन्त्री महोदय सुझाइ रहे मलाई
नया“ नेपालमा पार्टी अहम् हुन्छ
दलको सिफारिस सबैतिर चल्छ
पार्टी…पार्टी…पार्टी…
काम नबन्ने निधो भएसी
म चुपचाप गाउ“ फर्के
उही हलो, कोदालो, ह“सिया, खुर्पेटो
आदि…इत्यादि…
मेरो विद्यालयका विद्यार्थी सम्झे…
देश उल्ट्याउने
देश सुल्ट्याउने
नेताका भाषण मेरा किचमिरा कान वरीपरी
झ्याउकीरी बासिरहे ।

धारेहात लगाएर लोकतन्त्र सराप्नेहरु
आजको सा“झ पनि हर्षका दीप बाल्नेछन्
किनकि, सपनाको व्यापार गर्नेहरु
आजकल दैनन्दिन स्खलित बन्दै गएकाछन्
स्वत्व गुमाइरहेछन्
अविश्वास बढाइरहेछन्
देश प्रजातन्त्र चहराइरहेछ त्यसरी नै…
जसरी राजधानी धा“जा फाटिरहेछ
क्षण–प्रतिक्षण मौन नगरबधु बनेर
राजधानी अचेल नौटङ्कीमा मस्त छ ।।

कुश्मा, पर्वत

Purna Biram – Pugdo Ho Mrityu Samma Yuddha

पूर्ण विराम – पुग्दो हो मृत्युसम्म युद्ध
(मधुपर्क २०६६ असोज)

लुट्नका लागि उनीहरूका निम्ति
निश्चय पनि हाम्रो पसिना छ
र उनीहरूको बेजाब्तालाई रोक्न
निश्चय पनि हामीसँग अविरल बग्ने रगतको नदी छ ।
र यसबाटै बज्ने गरिरहेछ
सदियौँदेखि द्वन्द्वको नगरा
मानिसका टाउकाहरू बोकेर धेरै अगाडिदेखि
मिनारमा बस्छन् माउसुलीहरू
र हामीलाई सा-साना कीराहरू बनाउँदै
आˆना डरलाग्दा मनसायहरूलाई नाइलको लम्बाइमा स्थापना गर्छन् ?
यसबाटै आरम्भ भएको छ ।
सदियौँदेखि निरन्तरता बोकिरहेको युद्ध
र पुगेको छैन मृत्यसम्म युद्ध ।
झ्यालहरू बोकेका कमिजहरू हामीलाई पहिर्यालइन्छ
र कोर्राको सहारा लिएर पस्न लगाइन्छ फलाम खानीमा
र खानीबाट निकालेर फलाम पिट्न लगाइन्छ
राजषी ठाँटका साथमा र बन्दुक बनाएर
प्रहार गरिन्छ हामीमाथि
बन्दुकको प्रत्युत्तर चर्खाको पाङ्ग्रो चलाएर
बनेको धागोबाट दिनु न्यायोचित ठान्दैनौँ हामी
र खोज्छौँ हामी पनि बारुद भन्ने पदार्थ
र उडिरहेका पछीहरूले देख्छन्
बेजाब्ताको लामो शृङ्खलाको माझमा
जताततै घाममा टलक्क टल्किरहेको
चाँदीको टकजस्तै युद्ध ।
जताततै नदेखिने भए बख्ते नस्रको व्यवहार
र टिट्सको तरबारले नछप्काउँदो हो झुप्रोको सपना
न नादिर शाहले स्वेच्छाले छोड्दो हो क्रूर व्यवहार
पुग्दो हो मृत्युसम्म युद्ध
र हामी फकर्ंदा हौँ युद्धलाई चिहानमा गाडेर
संसारभरि फूल रोप्ने कुराबाहेक
अन्य केही नसोच्दा हौँ
र फूलहरू सजाउन बनाउँदा हौँ ढक्कीहरू
र समयलाई लघार्दा हौँ आल्हादित भएर ।

Kala Rai – Napathau Sakhi Shubhakamana Sandeshharu Swadeshbata Meri Hitaishi Yesari

कला राई – नपठाउ सखी शुभकामना सन्देशहरु स्वदेसबाट मेरी हितैषी यसरी

मित्रले पत्र लेखिन
भो नपठाउ सखी शुभकामना सन्देशहरु
अर्थहिन बन्न सक्छन
नेपाल आमाको अस्तित्व धरासयमा परेको
यो दर्दनाक क्षणमा
यो सोकाकुल घडीमा
आफ्नै जन्मभुमिको कोखमा रहेको हामी नेपाली
अहिले निस्सासी रहेका छौ
ति भ्रस्त स्वर्थी नेताहरुले जनतालाई झुक्क्यएर
कालो गहिरो खादलमा धकेली रहेका छन
सखी
यहाँ कुनै खुशीयाली छैन
देश बिकासको कुनै पूर्वधार तयार छैन
हामी सँग त फगत भय त्रास अनी चिन्ता मात्र बाँकी छ
निर्दोष नेपाली जनताले युही ज्यान गुमाउनु परेको
हृदयबिदारक घट्नाहरु मात्र बाँकी छ
त्यसैले सखी
भो नपठाउ शुभकामना सन्देशहरु
बरु सक्छौ भने पठाउ
देश बिकासका लागि
परदेशी नेपाली सच्चा सपुतका योगदानहरु
देशलाई बिखन्दित हुनबाट जोगाउने अभियानहरु
घुसखोर चाकरी बाजहरुको चताइमा मस्त
ति भ्रस्त नेताहरु देख्दा
नाताबाद र कृपाबादले ग्रसित बनी
शिक्षित नेपाली जनसक्ती
बेरोजगारमा पिल्सिएर परदेसिनु परेको
त्यो पिडादयी क्षणहरुमा
तिमीले भनेकी थियौ होइन ?
देशमा एक पटक गनत्रन्त आउनै पर्छ
नयाँ संबिधान लेखिनै पर्छ
तर तिमीलाई थाहा छ ?
नया नेपाल बनाउने सुन्दर सपना देखाइ
निर्दोष नेपाली जनतालाई हातमा बन्दुक थमाइ
बषौ युद्दमा होमएका
ति कामरेड भनउदा नेता हरु
सम्पूर्ण सत्ता आफ्नो हातमा पार्ने दाउ पेचमा ब्यस्त छन
उनै नेताहरु झै पजेरो र महलको
सत्ता र कुर्सिको मोहमा
अन्धा बनी रहेका छन
त्यसैले सखी
भो नपठाउ शुभकामना सन्देशहरु
बरु सक्छौ भने पठाउ
सच्चा राष्ट्र सेवक जन्माउने
बिर्यका केही थोपाहरु
म गर्भधान गर्न तयार छु ।
देशमा गणत्रंन्त आउँदा हर्षले बिभोर हुँदै
तिमीले पत्र लेखेकि थियौ होइन
यसरी
अब
काठमाडौं एक्लै नचुलिएर
गाउ गाउमा बिकास पुग्ने भो
हामी सर्बहारा नेपाली जनताको जिबनमा
नयाँ बिहानी उषाको किरण छाउने भो
तर
गणत्रन्त पस्चात
म र म जस्ता गरीब गुरुवा निर्दोष मज्दुर नै
बलिको बोका हुन परेको छ
कानुन बिहिन देश जस्तै
हत्या र हिङ्साको सुनामी चलेको छ
सत्ता र कुर्सिको लालचमा
आफ्नै सन्तति द्वारा
नेपाल आमा पटक पटक बलात्कृनत भइ रहेकी छीन
त्यसैले सखी नेपाल आमा छाती भरी दुखी रहेको बेला
भो नपठाउ शुभकामना सन्देशहरु
बरु सक्छौ भने पठाउ
नेपाल आमाको अस्मिता जोगाउने
मजबुत कवजहरु
ति सम्पूर्ण भ्रस्ट नेताहरुलाई एकै खादलमा
नस्ट गर्ने
अत्भुत शक्तिका पुन्जहरु ।।।
कला कोयु

Rupesh Rai – Juwa

रुपेश राई – जुवा

छ-बाह्रभित्र
कुनी कस्तो मति आउँछ।
एकदिन केटाहरूसँग, हजारे खेल्दै थिएँ।
आमाको स्वाँटले अहिलेसम्म दोहोर्‍याएको छुइनँ।

‘तास, जुवा, मद, पान भुले हात लाउँलास्, लाखेस!’

गाउँलाई यो सजाइ हो। सभ्यताको कलङ्क।
मान्छे हुनुको विडम्बना। इच्छा गर्नुको श्राप।
यसैले गाउँ मौका हेरिबस्छ तृप्तिको।

सकिनै आँट्दाको आनन्द। तिमीले भोगेको छौ?
सहरलाई मात्र यो सब किन छुट् छ?

व्यायाम गर। अनुहार झरिलो पार।
कट् सार! पोलिसी हाल। केही व्याज
पाऊ। व्याङ्क व्यालेन्स राख, इत्यादि।

छुल्याहा स्किम!
दाउमा, दाउ हाल फेरी-फेरी,
नाफा-मुनाफा, हार-जित पैसाको शैली…।
कता के, कता के, किनबेच हुन्छ,
विश्वासको सेयर बजार।
आजको जीवन शैलीमा
भर पर्दो सूत्र।

यो सब के हो??

पैसा…। जीवन होइन र???

जीवन त जुवा हो! जीवन त जुवा हो!! अहिले सम्मको अनुभव
मलाई यही भन्छ!! एउटा दाउ! अर्को दाउ! जोखिम आनन्दको मिश्रण!!

Dr. Suraj Niraula – Manab Bikas

डा. सूरज निरौला – मानव विकास

आफ्ना आफ्ना गन्तब्य,
आ-आफ्ना यात्रा ।
बढ्दो मानव भीड्मा पनि
एक्लिएको छ मानवता ।
सिद्धान्त पनि कस्तो उल्टो,
जता ततै जात्रा ।
आज,
हाँसहरुको बीचमा बकुल्ला,
किन भएको छ ईमानदारिता ?

ज्ञानको प्रतिस्प्रदामा यहाँ,
भुलिरहेछन् नैतिकता ।
कमाउने होडबाजीले
गिराइरहेछन् अाफ्नै मानसिकता ।
अचम्म लाग्छ कहिले काहि,
देखेर मानव विकासको रथयात्रा ।
जति विद्वान भयो, उति नै
किन उजाडिदै गा’को दरिद्रता ?

दूरगामी विकासको साथै
चुलिरहेको जनसंख्या बृद्धि ।
पैसाको लागि स्वचालित
यान्त्रिक मानवको हराउदै गएको सुद्धी ।
कहिले कहाँ के हुने होला,
सोच्ने गर्छु कतै,
पृथ्वी उल्टो घुम्ने पो हो कि ?
शकां लाग्छ कतै,
आधुनिक भूवैज्ञानिक युगबाट मानिस
जगंली युग तिर प्रवेशीएको पो हो कि ?
अरुलाई टेकेर आफु चढ्ने प्रवृति,
जुन थालमा खायो,
त्यहि थालमा अोकल्ने मनोवृति ।
डर लाग्छ कतै,
विकासक्रममा बिशिष्ट श्रेणीको मानिस
जनावारको पो हुने हो कि ?

अरुको पीडामा आफु रमाउने,
अरुको सुखमा मन खुम्चाउने ।
विकासको आँधिहुरीको हावासँगै
धुलो भित्रै रुमल्लिएको हाम्रो घनिष्टता ।
जति विकसित भएपनि,
झाङ्गीदैछ मानिस-मानिस बीच वैमनुष्यता ।
दिनानु दिन गुम्दै गएको छ सहिष्णुता,
जिउनै कठिन यो अराजकता,
बढदै गईरहेछ मानिस भित्र दानवता ।
अनि, झन् झन् टाढिदैछ किन
अाज हामी बीचको आत्मीयता ?
किन जगंलीदैछ मानवता ?
(वी.पी.को.स्वा.वि.प्र., धरान )

Laxmi Mali – Ujyalo

ए द्र उज्यालो खोज्न हिँडेको मान्छे
उज्यालो कुवाभित्र खोज्ने होइन
ओठभित्र पनि होइन
चार दिवारीभित्र छैन
उज्यालो त
स्वतन्त्र आकाशमुनि हुन्छ
जहाँ घाम लाग्नसक्छ ।

Bidhya Prasad Ghimire – Annapurna, Gurans Ra Sagarmatha

विद्याप्रसाद घिमिरे – अन्नपूर्ण, गुराँस र सगरमाथा

सगरमाथा हेरेँ—गर्व गरेँ
लालीगुराँस हुर्काएँ—गौरव गरेँ
आँखामा अन्नपूर्ण राखेँ— शिर उठाएँ ।

मेरो सगरमाथाको शान
आज बस्तीबस्तीमा पग्लिएको देख्दैछु ।
गुराँसको लाली धुवाँमा उडेको हेर्दैछु ।
अनि, अन्नपूर्णको अस्मिता
चूर्णचूर्ण र खण्डित हुँदै गएको महसुस गर्दैछु ।

लुम्बिनी—बागमा हुर्किएका
एक जोडी सेता परेवा
आज, बीच बजारमा
लिलाम भइरहेछ,
खुल्लमखुल्ला मोलतोल भइरहेछ ।

अनि म र महरू
लाचारी, बाध्यता र विवशता बाँचिरहेका छौं ।

म आँखामा लगाउँछु—
घट्दै गएको कोसी
ध्यानमा राख्छु —
छोटिँदै गएको महाकाली
र, कानमा राख्छु—
आवाज हराएको नारायणी र सुस्ता ।

हिजोको
सूर्य, चन्द्र, तारा
आज पनि उस्तै छ ।
तर, चौडा छाती खोलेर हाँस्ने आकास
खण्डित छ, दण्डित छ ।
स्वच्छन्दतामा नाच्ने धर्ती
रातो धुवाँ र कालो रगत बाँच्दैछ ।

वर्तमानमा सुदूर चिच्याउँछ र भन्छ—
दासत्व–उन्मुक्ति नारामा
समेटिएको तिम्रो भूगोल—
कतै अर्काको दास हुने त होइनं
सासविनाको लाश बन्ने त होइनं
कतै, दुनियाँको उपहास बन्ने त होइन ।

Durga Lal Shrestha – Gaine [Bal Kabita]

मेरो घरको आँगनमा
यौटा गाइने आयो,
आँखा चिम्ली सारङ्गीमा
उसले गीत गायो !

म त सुन्यासुन्यै भएँ
त्यसै उभिएर,
गाइने पनि गा’को गायै

मगन भएर ।

सारङ्गीको तरङ्गमा
तैरी वन-वन,
र्सर्दैर्सर्दै गयो उसको
स्वर रननन ।

यस्तो लाग्यो लिइकन
गाइनेको भेष
रोइरे’छ मेरै सामु
आज मेरो देश ।

२०५८ चैत १९

Kshetra Pratap Adhikari – Ful Ko Kavita

क्षेत्रप्रताप अधिकारी – फूलको कविता

मलाई थाहा थियो
तिमीलाई फूलको कविता मन पर्छ
मलाई थाहा थिएन
रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ !

अनि, मलाई थाहा थियो-
तिमीलाई परेवा घुरेको
प्रशान्त प्रेमको कविता मन पर्छ
तर मलाई थाहा थिएन
परेवाको गुँड भत्केको बेला
प्रेमको कविता कसरी लेखिन्छ !

खलङ्गामा आगो फुलेको बेला
इन्द्रकमलको कविता लेखेको भए
तिमीलाई मन पथ्र्यो होला
द्रौपदीको व्यथा बिर्सेर
दुःशासनको गाथा लेखेको भए
तिमीलाई मन पर्थ्यो होला
आफू त-
शकुनि हुन पनि सकिएन
कागतको फूल लेखेर
त्रि्रो मन छुन पनि सकिएन ।

मङ्गलसेनहरु मरेको बेला
सबैले अलिनो खानुपथ्र्यो
कर्णालीमा डढेलो लागेको बेला
दमकलभरि कोशी जानुपर्थ्यो
देशको हाराकिरी भैरहेको बेला
सामुर्राईको कविता लेखियो
तिमीलाई मन परेन ।

देश घुस्याहासित लडिरहेको थियो,
देश देशद्रोहीसित लडिरहेको थियो,
देश युद्ध हारिरहेको थियो
देशले कामीकाजे पाइलट खोजेको देखियो
र, त्यही ध्रुवसत्य लेखियो
तिमीलाई मन परेन ।

तिमीलाई फूलको कविता मन पर्छ
तर रगतको पोखरीमा उभिएर
फूलको कविता कसरी लेखिन्छ !

Prashanta Kharel – Bichalan

प्रशान्त खरेल – बिचलन

कोरिएर पानाभरि
अक्षर–शब्द
शब्द–पङ्क्ति–कविता
विशाल अर्थ संयोजन
ट्वाक्क ट्वाक्क मिलेर
कहिले मायालुको सम्झना
छरिन्छ मुटुभरी
एक मृगतृष्णा
मरूभूमीको यात्रीको
दृष्टीभ्रम
त्यसमै बेलगाम घोडाका
टापहरू
नर्तकीको पाउजुका छिन्छिनाहट
घङ्घरूको झन्झनाहट
उफ्
यो कस्तो दरिद्रता
सोचाइको
एक युवती
नजिक नजिक हुँदैछे
खोइ उसका पाउमा पउजु छैन ?
यात्री
खालीखुट्टा (पाउ) पनि यात्रा गर्न सक्छ
घोडाका खुट्टाहरू
खाली हुँदैनन् क्यारे
मनका घोडाहरू
खालीखुट्टै दौडन्छन्
किन भिन्नता छ यस्तो
भिन्नता समयमा हुँदैन क्यारे
समय पनि
विकराल हुँदोरहेछ
विकलाङ्ग समय
आफ्नो मृत्यूको घोषणा
आफै गर्छ
आफ्नै इजलासमा
आफैविरूद्ध मुद्धा हाल्छ
अनि आफ्नो मृत्यूदण्डको सजाय
आफै तोक्छ
कस्तो अस्वभाविक
स्वभाविक त मृत्यू पनि हुन्न
टपक्क टिपेर
कर्मभूमिबाट
उदारता देखाउँछ
अब उप्रान्त
कर्म गर्नु पर्दैन तैले
कर्मशिल हुनु
मानवको प्राकृतिक गुण हो
मानव पनि एक कविता हो
अपुर्ण, अधुरो
भावभङ्गिमा नमिलेको
सिकारू कुमालेले
सिक्दै फ्याक्दै गरेको
परिक्षण भाँडा जस्तो
कुमालेले चक्र घुमाउँछ
वा
चक्रले कुमाले घुमाउँछ
विसङ्गती भयो
हेराइमा
हेराइ दृष्टी होला
सङ्गती त ब्रम्हाण्डमा पनि छैन
सबै आ–आफ्नै तालमा
चलिरहन्छन् निरन्तर
ब्रम्ण्डिय पिण्डहरू
स्वचालित, स्वनिर्देशित
मानिस पनि
मांशपिण्डको गोला मात्र हुँदो हो
अस्थिपञ्जर नभए
किन चाहिन्छ अस्थिपञ्जर ?
पुर्णता, स्थीरता, स्थायित्व
सुन्दरता, आधारभूमी
वा अरू केहीको लागि ?
कस्तो मुर्खता
एक आङ्ग घाम थापेर
हामी घोषणा गर्छौं
सुर्यका इतिवृतिको
लेखाजोखा गर्छौं
उसको जन्म मृत्यूको
सत्य यहि होला
प्राकृतिक नियमसंगत
उत्पति –> अन्त
प्राकृतिक छटाहरू कोरिन्छन्
शब्दहरूको जन्जालमा
किन हुँदैन एकै
अन्तस्करणको आवाज
आत्मा बेचेर महाकुम्भमा
फर्किन्छ हटारू
लसक् लसक्
पाइलाका डोबहरू बनाउँदै, मेट्दै
गनिरहेको मनमनमै
पाइलै पिच्छेका
आगतका प्रतिफलहरू
ढुङ्गो ठडिन्छ बाटामा
विगतको
फिस्रिक्क
उसले हिसाव विर्सिएको छ
लडखडाउँदै उठ्दा
यथार्थको पहाड
स्वभिमान बनेर ठडिन्छ
पहाड चिसो हुन्छ कि तातो
कालो हुन्छ कि रातो
आफ्नो हुन्छ कि विरानो
हुँदैन अनुभुति
कालो ठिहिराउने विरानो रातमा
कसरि सक्छ
अनुभुति गर्न
चस्मा लगाएका आँखाले
मनको कुनै सुरक्षात्मक चस्मा हुँदैन
अति संवेदनशिल
सजिलै च्यातिन्छ
ध्यार् ध्यार
सानो तनावमै
काँच जस्तो पो होला
मन त
टुक्रिने सजिलै
ताप, चाप, प्रहार
जे सुकैले पनि
काँच जस्तै पारदर्शि मन
कतै ध्वाँसो लाग्यो भने ?
कसरी गोचर हुन्छ जगत ?
धमिलो विस्मृति मात्र रहला
जीवित रहनुको अर्थमा
अर्थ धेरै बुझिन्छ शब्दमा
अर्थ विनाको शब्द
कस्तो हुँदो होला ?
वायु विनाको जगत जस्तो
कति स्वतन्त्र छ वायु
वहिरहन्छ निरन्तर
होला
कहाँ वहन्छ यो ?
किन वहन्छ यो ?
उच्च चाप –> न्यूनचाप
कति विभेद छ
स्वतन्त्रताको उपभोगमा पनि
किन हुँदैन समानता ?
हावा, जल, जगत, जीवन
असमानता
अ+समानता
अ*समानता
सकारात्मक – बिबिधता
नकरात्मक – बिभेद
उपभोग बस्तुको
भावना – चेतना – विचार
अ–उपयोगि
किन सँगाल्छ, अँगाल्छ मान्छे
संवेगहरूलाइ
शब्द
यिनै संवेगहरू निर्माण गर्छ
त्यहाँ
जीवन, जगत, देश लुकेको हुन्छ
बाँचेको हुन्छ देश नसा नसामा
नसा तरलिकृत भएर
बहन्छ देशकै खोलानालामा
पसिना निस्कन्छ भिजाउन
देशकै माटोलाइ
हिमालयदेखि
विस्तारै विस्तारै
फेदि, फाँट हुँदै
महासिन्धु पुग्छ
हाम्रो सभ्यता
जहाँ
हाम्रो जीवन बाँचेको छ
सभ्यता सृष्टीको सुरूवात हो कि
सृष्टी सभ्यताको सुरूवात ?
एक अघोषित द्वन्द
बुझाइमा, विचारमा
दुबै सुरूवात होइनन
मात्र क्रमिकता
बाँच्ने उपक्रमहरूमा
सुरू कहाँ हुन्छ ?
हिँउ पग्लन्छ हिमालको
पानी बग्दछ खोलामा
रसाएर धर्त्ती
जीवन फैलिन्छ
लेउ, झ्याउ, झार बनेर
हिउँ–पानी–वाफ–बादल–पानी–हिउँ
खै सुरूवात कहाँ छ ?
जीवन–मृत्यू–जीवन
उत्पति खै ?
विचारको श्रृङ्खला टुट्दै जान्छ
क्षण प्रतिक्षण
प्रतिस्थापित हुन्छ
नयाँ–पुरानो–नयाँ
क्रमिकता एक सोचाइको
सोच्नु मुर्खता हो
रूखको हाँगामा
वास वसिरहेको पंक्षी
ढाडै, ठहरै मर्यो
विचारको निम्छरोपना
खै उसका गोडा चलेका छैनन्
चलायमान हुनु
गतिशिल हुनु
जैविकता हो यथार्थको
सारा ब्रम्हाण्ड गतिशिल छ
दिनभर भागीरहन्छ मान्छे
जित्छु संसार भन्दै
ठिङ्ग उभिन्छ पर्वत
खै गतिशिलता ?
चक्कर लगाउँछ पृथ्वी
पर्वत हो गतिशिल
नसुस्ताउने, नथाक्ने
उभिरहने ठिङ्ग
एक निश्चितता
दृष्टान्त
उफ्
किन दुख्छ छाती ?
छातीभित्र मुटु हुन्छ
मुटु किन दुख्दैन
कहाँ हुन्छ माया ?
किन जन्मन्छ घृणा ?
यौवनको अभिलाषा
छरिन्छ दिमाग भरि
मस्तिष्क शुन्य, सन्न
खाली, खाली
त्यहाँ रगत पुग्दैन क्यारे
यो उपज हो अनुभुतिको
जीवन भरीन्छ नसा नसामा
कसिएर रक्तनलिहरू
कोसिका, कोस
बराबर बराबर बराबर
रोकिन्छ गति स्नायूको
सकिन्छ गीत जीवनको
झ्या…………….प्……………..प
निभ्छ बत्ति
अँध्यारो, अँध्यारो अनि अँध्यारो
खै ज्योती कहाँ छ जिवनको ?
खोज खोज
छाम्छाम् छुम्छुम् छाम्छाम् छुम्छुम्
चेतना हो ज्योती
चुम्दैछ विस्तारै
जीवनको सुन्दरता

गौरादह – ४, झापा

Taranath Sharma – Mero Sthiti

चरर चरर गर्दै पीरले चिर्छ छाती
समय सुलुलु गर्दै चिप्लियो यो नजाती
घर र पर गरेरै देहले शक्ति त्याग्छ
नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ।

सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै
जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै
अलिकति म केही राष्ट्रको लागि गर्छु
जति पनि म सक्छु ज्ञान बाँडेर मर्छु।

मुलुकहरु अरूका उक्लँदै गैरहेका
हिमचुलिमुनि बस्ने छौँ सबै नित्य भोका
अब त समय आयो हामिले उठ्नुपर्छ
दल र कलह छोडी एक भै मिल्नुपर्छ।

छल र कपट गर्ने दुष्टले भेद गर्छन्
तँतँ र मम गरेरै फोर्दछन् एकता झन्
पद र धनतिरै जो मस्त छन् चिन्नुपर्छ
अब त सब जनाले जाल यो बुझ्नुपर्छ।

Ram Prasad Prasain – Bidambana

रामप्रसाद प्रसाईं (आशुतोष आंशु) – विडम्बना

श्रीपेच वस्त्राभूषित कविताहरू
चिचिला टोपीधारी कविताहरूसँग जोरी खोजिरहदा
निधारको डिलभरि नाम्लाका डामका भाग्य टाँस्न
जिजीविषाको अलकापुरीमा खुइया काढ्दै भरिया दाइको
सपना सोध्छ,
बा ! बा !! यो KFC किन King’s Way मा नै त।?!
किन हुनन्
यिनीहरू
माने भञ्ज्याङ्ग, सिरूघारी र मोफसलका लोकमार्गहरूमा
जीवनदेखि दिक्क लागेर
थालेकाछन्
मृत्युहरू अमरत्वको
समाधिलेखनमा—
“ससीम बन्धनयुक्त अस्तित्वभन्दा असीम जीवनबादी मृत्यु प्यारो”

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिबिरबाट।

(Sent to Sanjaal Corps via Email)

Bikramaditya Niroula – Dui Dinko Yo Jindagi Ma [Nepali Gajal]

बिक्रमादित्य – दुई दिनको यो जिन्दगीमा (गजल)

दुई दिनको यो जिन्दगीमा, बाँचिदिनु पर्ने अरे
नदेखेका ति सपनाहरु, देखिदिनु पर्ने अरे

अलिकति पीडा हुँदा, रोईदिने यो मन
तिमी हाँस्दा दिल खोलेर, हाँसिदिनु पर्ने अरे

अन्धकार छ रात अनि, यो मदिराको नशामा
छोडी जाने प्रियसीलाई, सम्झिदिनु पर्ने अरे

बेमतलबी छ यो दुनियाँ, मतलबी छ यो मन
पुरा नहुने चाहानाहरु साथी, चाहिदिनु पर्ने अरे

म को हुँ किन छु, र किन छ यो जिन्दगी
नबुझिने यो जिन्दगीलाई, बुझिदिनु पर्ने अरे

यो जिन्दगी त छ, तर के छ यो जिन्दगीमा
सोच्दासोच्दै खै कतिखेर, मरिदिनु पर्ने अरे

Komal Bhatta – Kina Gazal Lekhnu Paryo (Nepali Gazal)

कोमल भट्ट – किन गज़ल लेख्नु पर्यो

किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त
सही नाम र ठेगानालाई मारिदिन्छु म त

थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त

बधाई र प्रशंशा ले भरिएलान भित्तो
यथार्थ लाई बैतरणी तारिदिन्छु म त

गज़लकार भएँ भन्दै साथीसंगाती लाई
धाक धक्कुसंगै मख्ख पारिदिन्छु म त

किन गर्यौ बेइमानी,जाल र झेल भन्दै
सोधी हाले भने पनि टारिदिन्छु म त

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
8 December,2012

Baburam Gyawali – Drishya Beglai

बाबु राम ज्ञवाली – दृश्य बेग्लै

‘अ’ मै अलंकार पाउने, प्रशस्त छन् यहाँ
अर्थ कै अनर्थ गाउने, प्रशस्त छन् यहाँ ।।
मेरै गोरुको बाह्रै टका, यहि अडान बोकी
विचार बेची अघाउने, प्रशस्त छन् यहाँ ।।

उद्देश्य के लिनु उडी छूनु चन्द्र, भन्ने तर
भुई छाड्न डराउने, प्रशस्त छन् यहाँ ।।
ताक परे तिवारी नत्र गोतामे, जाप गर्दै
झिनो आशमा रमाउने, प्रशस्त छन् यहाँ ।।

मेहनतले पुग्दैन हिजोआज, अनि बुझ
गेडीले दुनो सोझाउने, प्रशस्त छन् यहाँ ।।
सीप र साधन पसिनाको भाउ, छैन र त
सित्तैमा भेटि चढाउने, प्रशस्त छन् यहाँ ।।

नगरी काम मात्र जोडी हात, जीवन बिते
मागेर काल बिताउने, प्रशस्त छन् यहाँ ।।
बल होइन बुद्धिले मात्र, पुग्ने भए हेर
बसी दिमाग चलाउने, प्रशस्त छन् यहाँ ।।

गुल्मी, हालः सेन्डाइ, जापान

– शुक्रबार, 5 मङ्गसीर, 2071

Dibya Giri – Paatra Kupaatra

दिव्य गिरी – पात्र–कुपात्र

मञ्चमा चहल–पहल
कतै अँध्यारो अँध्यारो
कतै उज्यालो उज्यालो
अर्थात मधुरो प्रकाशको छायाभित्र
सलबलाईरहेका मानिसहरूको आकृति
नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि
पूरै अन्धकार ओढेर
मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक
केही शसङ्कीत
तर धेरै आतङ्कीत ।

मञ्चमा निमेषभर प्रकाश फैलिँदा
पात्रहरूको हात–हातमा
बम, बन्दुक, तरवार, र लाठी देखेपछि
दर्शकहरू भित्रभित्र डराउँदै
एक–आपसमा कानेखुसी गर्छन्–
यहाँ युद्ध हुँदैछ हो !?
यहाँ लडाईं हुँदैछ हो !!??
यहाँ नाटक देखाउने कि काटमार !!!???
प्रश्नको जवाफ कस्ले दिने ?

सबै अनभिज्ञ दर्शकहरू
मञ्चको एकछेउदेखि अर्को छेउसम्म
पात्रहरू दौडन्छन्, उफ्रन्छन्, कराउँछन््
अनि शुरु हुन्छ हल्लैहल्ला र खल्बली
न कसैले बुझेको हुन्छ तिनीहरूको क्रियाकलाप
न कसैले सुनेको हुन्छ तिनीहरूको वार्तालाप
न कसैले चिनेको हुन्छ मुखुण्डोभित्रको अनुहार
यौटा पात्र हातमा
देशको झण्डा फर्फराउँदै आउँछ

अर्को पात्र
त्यो झण्डामा आगो लगाउन दौडन्छ
यौटा पात्र दुबै हातले
देशको नक्सा फैलाउँदै आउँछ

अर्को पात्र
त्यो नक्शा टुक्राटुक्रा पार्न झम्टिन्छ
कोही देशको झण्डा जलाउन उद्यत
कोही देशकै नक्शा च्यात्न तल्लिन
यो कस्तो नाटक ?
यो कस्तो खेल ?
दर्शक दीर्घाबाट यौटा आवाज आउँछ
पूरै नाटकघर थर्किने आवाज
बन्द गर यो नाटक !
बन्द गर यो नौटङ्की !!
तिमीहरू यो नाटकको पात्र होइन
तिमीहरु सबै कुपात्र हौ !
यो देशको
यो मातृभूमिको ।

टीकाथली–५, ललितपुर

Tanka Subba – Aaunuhos

टंक सुब्बा – आउँनुहोस्

एकैछिन भए पनि
आस्था र विश्वास रोपीएको चौतारीमा
भलाकुसारी गरौ
सन्चो र विसन्चोको
अनि चर्चा गरौ विद्यमान परिस्थितीको
गाउँ ,वस्ति र शहरमा वसोवास गर्ने
उस्तै हामी नेपाली
समयको काँटासँगै हतारमा
कति भागदौड मात्र गर्ने ?
एकैपल भए पनि
पीडाग्रस्त मनहरु विसाएर
अलिकति सोचौ
हाम्रो सुन्दर भविष्यको वारेमा
र छलफल गरौ
देशले भोगेका दुर्गतिहरुको वारेमा

एउटै देशका हामी बहुल जनता
बहुल संस्कृति भाषा र लिपिहरु
तर सवैको उस्तै पीडा र भोगाईहरु छन्
तर सवैको उस्तै कथा र व्यथाहरु छन्
त्यसैले साझा यो चौतारी जस्तै देशलाई
कसैले विखण्डन गर्नु हुदैन
कसैले बाड्नु चुड्नु हुदैन
कसैले विरुद्धमा सोच्नु हुदैन
किनकी देश हामी सवैको साझा हो
देश भएर हामी छौ
हामी भएर देश छ
त्यसैले हाम्रा समान विचारहरुको
सम्मानमा एकले अर्काको गर्नु पर्छ
समान छन् हिड्ने वाटाहरु
समान छन् हेर्ने समान दृष्टिहरु
समान छन् पुग्ने लक्ष्यहरु
समान छन् जिउँने आधारहरु
तसर्थ अस्तित्वको हिफाजत गरौं
र हामी रमाउँने माटोको रक्षा गरौं

आउँनुहोस्
यो समानताको घरमा वसेर
हामीले महत्वपूर्ण निर्णयहरु गर्नु छ
हाम्रो भविष्य हाम्रो देशको लागि
र सद्भावको पारीलो घामहरु बोकेर
एकअर्का विचको वैमान्यस्यताका हटाउँनु छ
भ्रष्ट विचारहरुलाई कुल्चनु छ ।
द्वन्द र द्वेशलाई विर्सीनु छ
भातृत्वको अङ्गालो हाल्नु छ
किनकी हामी एउटै देशका उस्तै जनता हौं
सुन्दर विचारको मुहान खोलेर
आपसी हितकै कुराहरु गर्नुपर्छ
द्वन्दका घाउहरुमा मल्हम लगाएर
पहिरो गएको आत्मीयतालाई जोड्नु पर्छ
सुमधुर सम्वन्धका पुलहरु बनाउँनु पर्छ ।
केहि क्षणको आवेगमा
आफ्नै घरको सर्वनाश गर्नु
कदापी उचित होईन
वरु सोचौ अलिकति भएपनि
आफ्नै घर निर्माणको वारेमा
आफ्नै देश विकासको वारेमा
किनकी हामी एउटै घरका
एकै परिवार जस्तै हौं
अव हामीले वुझ्नु पर्छ घरको गरिमालाई
अव हामीले सोच्नु पर्छ परिवारको महत्वलाई
मपाईत्वको ताण्डप नृत्य गरेर
कलहको वीउ रोप्नु
केवल निरर्थक छ सवैको लागि
किनकी हाँस्नको लागि देशमा शान्ति चाहिन्छ
बाँच्नको लागि स्वतन्त्र देश चाहिन्छ

त्यसैले
आउँनुहोस
एकै पलक भए पनि
उदेश्यका घुम्टोहरु ओढेर
पुनर्संरचना गरौ यो सुन्दर देशलाई
त्यागौ युद्धका मोर्चाहरु
र अङ्गालौ वुद्धका सन्देशहरु
सगरमाथा जस्तै अग्लो नेपालको गौरव
हामीले विश्व सामु वचाउँनु छ भने
हो यहि कुरा सोचौं हामी सवैले
एकैक्षण भए पनि
शुन्दर शान्त यो मातृभूमिको लागि
शुन्दर शान्त यो देशको लागि

Durga Lal Shrestha – Ek Din [Bal Kabita]

यौटी केटी भेटेँ मैले
इस्कुलको बाटो,
हातमा थ्यो यौटा थाल
किताबको साटो !

मुख थियो निन्याउरो
लथालिङ्ग केश,
ओठ पनि कत्ला कत्ला
केकेजस्तो भेष !

सानै थिइन्, शरीरमा
खालि जामा चोला,
मेरोभन्दा उन्को उमेर
अलि पाको होला !

दया लाग्यो, आफ्नो खाजा
मैले उन्लाई दिएँ,
तर उनी उल्टै जङ्गनि्
म त वाल्लै परेँ ।

२०५८ चैत ७

Bhupin Byakul – Computer Ma Ishwar

भूपिन ब्याकुल – कम्प्युटरमा ईश्वर

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !

इन्टरनेटमा
देवीहरुसंग
कामुक लयमा
साइबर सेक्सका कुराहरु गरिरहेका छन् –
ईश्वरहरु !

ईश्वरहरुका हातमा
माउस रिंगिरहेको छ
या रिमोट कन्ट्रोल
या बन्दुक नाचिरहेको छ !

डिजिटल कोठाभित्र
आधुनिक द्रौपदीसरुसँग
ब्लु-फिल्म हेरिरहेका छन् –
ईश्वरहरु !

आधुनिकता प्रति असीम सम्मान र असीमित तृष्णा छ –
ईश्वरहरुको !

सभ्यताप्रति
अपार स्नेह र अपरिमित लालच छ –
ईश्वरहरुको
तर पनि अझै
आधुनिक हुन सकिरहेका छैनन्
स्वर्गको आदिम जङ्गलबाट
बाहिर निस्कन सकिरहेका छैनन्
नीतिशास्त्रको पुस्तकमा जमेको
शताब्दियौं पुरानो धुलो
अझै पनि पुछ्न सकिरहेका छैनन् –
ईश्वरहरु !

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !