Rabindra Nath Thakur – Madhur Swapna [From Geetanjali]

प्रियतम ! त्यहाँ सबै भन्दा पछि बसेर,
त्यो अँध्यारो छायाको आडमा किन उभिरहेछौ ?
तिनीहरुले तिमीलाई धूलाले पूर्ण बाटामा मिल्काइदिन्छन्, अघि बढ्छन् ।
म तिम्रो पूजा गर्नलाई पुष्प–पात्र लिएर यहाँ कहिलेदेखि प्रतीक्षा गर्दै बसिरहेछु !
यात्रीहर आउँछन् र मेरो पुष्प–पात्रबाट एक–एक फूल रोज्दै लान्छन् ।
मेरो पुष्प–पात्र रित्तो भएको छ !

प्रभातको समय बितिसक्यो, मध्यान्ह पनि बित्यो ।
संध्याको छायामा मेरा परेला निद्राले झुल्न थाले ।
घर फर्किरहेका मानिसहरुले मतिर हेर्छन् अनि व्यंग्यको हाँसो हाँसिदिन्छन् ।
म लाजले शिर निहुराउँदछु ।
म यहाँ एउटी भिक्षु–ठिटीझैं दरिद्रताको पछयौराले चेहरा ढाकेर बस्दछु ।
मानिसहरुले सोद्धछन्, ‘के चाहिन्छ ?’
म चुपचाप शिर निहुराउँछु, जवाफ दिन्न ।

हरे !मैले उसलाई ‘म तिम्रो प्रतीक्षा गर्न यहाँ बसिरहेछु’ पनि भन्न पाइनँ,
‘तिमीले आउने बचन दिएका थियौ ।’
यसो सुनाउँदा मलाई लाज लाग्दछ,
यो दरिद्रताले भरिएको झोला मैले बादशाहका सत्कारको लागि राखेको छु ।
हरे ! यो गौरवलाई म मेरो ह्दयमा,अन्तरलमा लुकाएर राख्नेछु ।

आज यी हरिया घांसका मैदानमा बसेर आकाशतिर एकोहोरो हेरिरहेछु
अनि तिमी एक्कासि आइपुगेकोमा यमि सपनाले मन खुशी पारिरहेछु :
सारा दीपक झिलिमिली भए, तिम्रो रथको स्वर्णध्वजा फरफरायो,
आफ्नो रथबाट ओह्र्लेर तिमीले मलाई धूला–मैला टारबाट उठाएर रथमा राख्यौ :
फाटेका लुगा लगाउने, मलिन, अभिमान र लाजले काम्दै गरेकी
भिक्षु–ठिटीलाई आफ्नो आँचलले छोपिदियौ,
यस्तो देखेर मानिसहरु चूप भए ।
तर यो स्वप्न, स्वप्न नै रह्यो ।
समय बित्दै गयो ।
तिम्रो रथका पांग्राका शब्द पनि सुनिएन ।
बाटामा सहस्र जुलूस जय–जयकारका युद्ध–कोलाहल गर्दै गए ।
केवल तिमी मात्र तिमीहरुका छायाका सबभन्दा पछाडि उभिएर
आफ्ना आँसुहरुमा ह्दयको व्यथालाई धोई–पखाल्नुलाई बसिरहेको छु !

Indra Kumar Sunuwar – Timlai Samjhirahos

ईन्द्र कुमार सुनुवार – तिमीलाई सम्झिरहोस्

फूल जस्तै ओइलिएर गयो मेरो माया
मुटु भरी जति नै साचेर राखे पनि
कहीले नजोडिने हाम्रो बियोग भयो
जति नै देवी देवता भाके पनि

दोषी थिए म तिमीले हेर्ने नजरमा
निर्दोष Continue reading “Indra Kumar Sunuwar – Timlai Samjhirahos”

Seema Abhash – Ritu Ko Geet

घङ्गारुको लौरो टेकेर
कोशी किनारमा उभिएकी हजुरआमा
रित्ता गिजा मजेत्रोले छोप्दै
अन्जुलीभरि पानी उघाएर भन्छिन्-
फेरिएनन् यी रुखका पातहरु
संग्लिएन सप्तकोशी
चरा ब्यूँझनुअघि हराएकाहरु भेटिएनन्
ऋतुको पोल्टाबाटै हराए बसन्तबहार

बाबै !
आस्थाको तोरण चुँडियो
बिश्वासको छानो भत्कियो
फूलको रङ हरायो
रगतले नुहाएर देउराली रोयो
साँझको घामसँग गएका
नातिनातिना फर्किएनन्

लामो सास तान्दै भन्छिन्-
उफ !
ताराका लामसँगै
इतिहासका पाना फेरिए
लोककथा दन्त्यकथा गीतका धून श्लोक फेरिए
अँहँ ! फेरिएनन्
आँगनमै घोप्टिएका
चिसा काला अमिला…
ऋतु गीतहरु

सन्तान हराएको दलानमा बसेर
सुर्तीको लामो सर्को तान्दै भन्छिन्-
दैलाको सङ्घार लिप्ने रातोमाटोमा
छोराको रङ छ
तुलसीमठमा चढाउने पानीमा
छोरीको रङ छ

सम्झनाको नमिठो छाँया लिपेर
औँलाले तस्विर कोर्छिन्-
आँसुका गीतको
नफेरिएका ऋतुका गीतको

पूर्णचन्द्रमूनि उभिएर भन्छिन्-
बुझिराखेस् बाबै !
फूलको रङमा मेरा नातिनातिना छन्
जो हराए आँखाबाट
जो भेटिएनन् आजसम्म
यीनैलाई सम्झँदै
मेरो आँसुमा-फूल चरा झण्डा माटो…
रोईरहे
यी नभेट्टिउन्जेल
आँखामा सप्तकोशी छचल्किरहनेछ
सम्झिराखेस् बाबै !
आँखामा सप्तकोशी छचल्किरहनेछ ।

ओखलढुङ्गा
हालः- त्रिभुवन विश्वबिद्यालय किर्तिपुर
अङ्ग्रेजी केन्द्रीय विभाग

Laxmi Prasad Devkota – Paap Laagchha (Natipnu Hera Kopila)

लक्ष्मी प्रसाद देवकोटा – नाटिप्नु हेर कोपिला

नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ

नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ

न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ
धुलो नफेक्नु नानी हो
उडेर भित्र ढाक्दछ

हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ

बनेर फुलझैँ सधैँ
हँसाउनू सुवास दी
सधैँ रमाउनू जगत्
रमेर नित्य आस दी

जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे
छकाउने लुकाउने
नराख भाव क्यै गरे

Suren Upreti – Aama

सुरेन उप्रेती – आमा

आमा तिमी कौशलताले, धर्ति सजाउने
आविष्कारकी जननी हौ, संसार बनाउने
बिना तिमी यो धरतिमा, सिर्जन्नथ्यो केही
तिमी कति महान छौ, धरा वोल्छ यही

आफुलार्इ मेटाएर ,सन्तानका लागी
भोक तिेर्खा निन्द्रा थकान, सबैलार्इ त्यागी
दिन रात बाह्रैमास, सोच्छिन उनकै खातिर
सुख अनि संबृद्दिका ,निम्ति हुन्छिन हाजिर

पढोस बढोस नाम राखोस् ,स्वस्थ बनोस भन्दै
सातै बारमा ब्रत बस्छिन, दीर्घायूहोस भन्दै्
केहि खानु भन्दा पहिला ,सन्तान सम्झिएर
गाँस निल्न गाह्रो पर्छ ,याद बल्झिएर

मिल्ने भए नानी भित्र लुकाएर राख्छिन्
मुटुभित्र छाती भित्र छुपाएर राख्छिन्
पिलाउँछिन् अमुल्य रस छाती सुकाएर
उज्यालोमा राख्छिन् सन्तान आफु जलाएर

सन्तान दुष्ट खराव हुन्छन ,राग लिन्नन् आमा
सबै पिडा आफैं लिइ ,झुक्न दिन्नन् आमा
चोट खोट सबै सहने ,सागर हुन है आमा
ममताले धरति पोत्ने ,महासागर हुन है आमा

मातातिर्थ औशि २०७३

Yuddha Prasad Mishra – Mirmire Bho Ujyalo

युद्धप्रसाद मिश्र – मिर्मिरे भो उज्यालो

आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी
पर्ने भो यो धरतितलमा वर्गसंघर्ष भारी
लागेका छन् द्रूत कदम भै एकतातर्फसारा
जागेका छन् सजग युगका जोशिला र्सवहारा

ब्युँझेका Continue reading “Yuddha Prasad Mishra – Mirmire Bho Ujyalo”

Rakesh Karki – Hallayo

इन्जिनियर राकेश कार्की – हल्लायो

साथी
तिमी हल्लीयौ
म हल्लीएँ
जनता हल्लीए
देश हल्लीयो

पहिले दरबारले हल्लायो
अहिले पार्टी नेताले हल्लाए
छिमेकी राष्ट्रले हल्लाउँछ
विदेशी राजदुतले हल्लाउँछ

पेट आन्द्रा हल्लिए
बाँच्ने सास हल्लिए
प्राण प्रिय हल्लिइन
छोराछोरी हल्लिए

कोही रोक्दैनन्
कोही छेक्दैनन्
सोच्दैनन् कोही
बचाउदैनन् कोही
हल्लाउने मात्र छन्
कोही बाहिरबाट
कोही भित्रबाट
हल्लाइरहन्छन्

देशको गति
सही बाटोमा छैन
देशको लगाम
आफ्नो माटोमा छैन

साथी
मनपरी देश हांकेपछि
तिमीले हल्लिनु छ
मैले हल्लिनु छ
देशले हल्लिनु छ
-लस एन्जेलस्

Chanki Shrestha – Bhairab Rath Yatra

एउटा गौरवमय
परम्पराको प्रदर्शनी चलिरहेछ
अनौठो प्रतिष्ठा र प्रतिस्पर्धाको
साक्षी छन् बाबा भैरव र अष्टमातृका
र, छन् रथका गजुर र ध्वजापताकाहरू ।

सडकमा/झयालमा/बार्दलीमा बसेर
असीम उत्साह जगाइरहेछन् दर्शकहरू
रथ तान्नेहरूको अदम्य जोश
ध्वजापताकाले सजिएको रथ
मानौ पौराणिक युग नै फर्किएको छ यहाँ ।

विधिपुर्वक सुरु गर्‍यौँ रथ तान्न हामीले
कहिले तलतिर
कहिले माथितिर
कहिले दुवैतिरको तानातानमा स्थिर र क्षत्रि्रस्त हुँदैछ रथ
जब अलि बढी तानियो रथ तलतिर
एक्कासि बर्सिए माथिबाट ढुँगामुडा र हतियारहरू
रथ फेरि तानियो माथितिर
उसैगरी तलबाट बर्सिए ढुंगामुडा र हतियारहरू
कोलाहाल, हानाहान र मारामार चलिरह्यो
गोली चल्यो
केही विभत्स घाउहरू आए
केही विभत्स मृत्युहरू आए
अबिर र फूलपातीले सजिएको भुइँ
छोपियो क्षणभरमै रगतले ।

हामी अझै आतुर छौँ रथ तान्न आ-आफ्नो पक्षमा
मानौ देशको अर्को नाम नै रथ हो
हामी निरन्तर रथ तानिरहेछौँ
र, प्रदर्शनगरिरहेछौँ आ-आफ्नो गौरव र वीरता ।

Tanka Subba – Ihalila

टंक सुब्बा – इहलीला

अपरिचित परिवेशभित्र
जीवन पाएर एक्कासी
धरतीमा पाइला टेक्दा
एउटा नाबालक
तर्सिएको हुन्छ उज्यालोसंग
लखेटिएको हुन्छ नौलो आभाससंग
र बेस्सरी चिच्याएको हुन्छ
अबोध संसारसंग
थाहा हुन्न मातृवात्सल्य
सम्झौता गरेको हुन्न समयसंग
तर जीवन ग्रहण गरे पछि
हात फैलाएर आफन्त बन्छ
आत्मीयता गास्छ
क्रमशः
दिनहरुसंग हातेमालो गर्दै
ऊ एउटा सशक्त मान्छे बन्छ
अनि सुनियोजित विचार उभ्याउछ
मियो बनेर सिङ्गो अस्तित्व जमाउछ
र मान्छे हुनुको प्रमाण पत्र ओढेर
सल्बलाउन पुग्छ आफन्तहरुको भीडमा
जहा” परिचित हुदाको परिधि
अपरिचित बन्छ
बिरानो हुनुको पीडाले
कोलाहलभित्र चिच्याउछ
कसले सुन्दो हो, बुझ्दो हो
चित्कारहरु
मूर्खता संज्ञा दिनु सिवाय
दुनियाको आखामा केही हुन्न
अब मानवताको लामो इतिहास बोकेर मात्र के भो ?
एकले अर्कालाई नचिने पछि
उज्यालो मात्र देखेर के भो ?
भविष्य अन्धकारतिर धकेलिए पछि
आश्वासन मात्र ओढेर के गर्नु ?
अर्थविहिन जिन्दगी भएपछि
औचित्य के रह्यो र ?
इहलीलाको
तर पनि दुनिया कै लागि
हास्नु पर्ने/बाच्नु पर्ने
एकमुठ्ठी श्वास फेर्नलाई
जोखिम सहनु पर्ने
मृत भएर जाने
इहलीलालाई
बाचुञ्जेल

Rajab – Kathmandu Ma Bagmati

खुला फाँट र बगरमा झैँ
कञ्चन छैन
काठमाण्डौमा बागमती
फरक छ
काठमाण्डौ र बगरमा घुम्ने बागमती
काठमाण्डौमा आएपछि
आफ्नू सिरमा फोहरको बोझ बोकेर
फोहरमुनि बग्छ बागमती
काठमाण्डौमा बागमती
लापरवाह घर–घरका Continue reading “Rajab – Kathmandu Ma Bagmati”

Jyoti Jungle – Timile Chhodeko Sharir Agadi

तिमीले छोडेको शरीर अगाडि

अन्तिमपल्ट सास फे¥यौ
तिम्रा आ“खा छोपिदिएपछि
म आफ्नै मनको आगोमा सल्किए“ ।

शरीर छोडेर मेरै अगाडिबाट
कुन यात्रामा निक्लियौ अदृष्य तिमी
मान्छेको यो सुन्दर संसार
या खुद मलाई
देख्न सक्छौ कि सक्दैनौ तिमी ?

तिमीसगैँ भाँचिएछ लोभको तगारो
निभेछ मायाको जलन
हतारले उठाएछ बास,
ती सुतेका ओठहरु
गलेका हातहरु
तिम्रो
लत्रेकोे शरीर अगाडि
नतमस्तक भए मजस्तै ।

जीवनको प्रकाशित सत्य
म पहिलोपल्ट नजीकैबाट छाम्दैथिएँ ..
सोचिरहेथेँ तिम्रै अप्ठ्याराहरु
थाहा पायौ कि पाएनौ
त्यतातिर हि“ड्ने बाटो
उड्ने आकास
या भासिने पातालका पत्रहरु ?

म तिमीले हि“डेका
यही“का बाटाहरुमा छु,
र सोचिरहेछु
को होला बताइदिने
मृत्युको अनुभूति ?

Nishan Nishkarsha – Ma Samar Ko Yatrama Chhu

निशान निष्कर्ष – म समरको यात्रामा छु

त्यो वस्तु अद्भुत होइन
जोबाट सबै त्रसित बनून्,
समय र सन्दर्भमा त्यो महान् हुन्छ
परिवर्तनको संवाहक हो त्यो
त्यसैले म,
समरको यात्रामा छु ।

हरेक पीडा र कुण्ठाको
उत्सर्ग हो त्यो,
हरेक पटकको शान्तिको
निष्कर्ष हो त्यो ।
जो लड्छ युद्घ
त्यसको विजय पक्का छ ।

हेर त इतिहासलाई
को लडेनन् र आफ्नो स्वतन्त्रता खोज्न
मनको चाहना पुरा गर्न,
युद्घ पे्रमको होस् या शान्तिको
या स्वतन्त्रताको ।
त्यसमा युद्घ हेरी
शैली फरक होला, विधि फरक होला
समय र परिस्थिति फरक होला ।
तर पनि
त्यो एकपटक आउँछ
जो परिवर्तनको सम्भावना बोकेर
त्यसमा सामेल भएपछि
हार जीत स्वभावै हो ।
हो,
को चाहन्न र समरमा जीत
को चाहन्न र आफ्नो अस्तित्व,
त्यसैले,
युद्घमा गोली र गठ्ठा नै किन चाहिन्छ र
आवाजको युद्घ, कलमको युद्घ
अनि अन्य, अन्य…!
मलाई पक्का छ
यसपाला म नजिती फर्कन्न
त्यसैले,
मेरो जीतको प्रतीक्षामा बसेर हाँस्नु
म एकदिन जीतको लहरमा हुन्छु
तर यो बेला म,
समरको यात्रामा छु ।

गोरखा

Bishnu Neupane – Akhandata

विष्णु न्यौपाने – अखण्डता

अनेक भित्र एकता विशेषता छ राष्ट्रको
विशिष्ट भावना टुटे हुने छ घात देशको ।
हिमाल देश हो यही पहाड देश हो यही
तराइ वा कुनै कुना हुँदैन राष्ट्र बेगलै ।।
(१)
कदापि चाहिँदैन भो कि खण्ड खण्ड देश यो
अखण्ड राष्ट्र मात्रले भविष्य बोक्न सक्छ यो ।
म भित्र बोल्छ भावना समष्टि मात्र राष्ट्र हो
म जन्मभूमि खिच्तछु अखण्ड राष्ट्र मात्रको ।।
(२)
बलिन्द्र आँसुमा स्वयम् डुबेर मर्न सक्तिन
म देशकै मलामगै विदेश टेक्न सक्तिन ।
शहीद बन्छु मै स्वयम् बगाइ सिन्धु रक्तको
म प्राण बन्छु राष्ट्रकै अखण्ड देशभक्तको ।।
(३)
चुँडेर राष्ट्रका नसा नवीन बन्छ के यहाँ ?
चिरेर माथ चर्चरी प्रवीण बन्छ के यहाँ ?
अखण्ड जात जातिमा विषाक्त घोल घोल्छ को ?
लडाइ भाइ भाइमा विगूत भस्म घस्छ को ?
(४)
विशाल राष्ट्र कल्पँदै दिएर प्राण आहुति
असंख्य वीर सिद्धिए सहास पूर्ण सन्तति ।
उखेल्न दास ता कयौं विते स्वदेश नाममा
रुवाइ धर्धरी तिनै सपूत मार्छ को यहाँ ?
(५)

शहीद माथि न्यायका अदृश्य चोट बर्सिए
‘महान’ शब्दपुष्पले सधैं पुजेर बिर्सिए ।
असाध्य, आँटका धनी स्वदेश प्रेमका धनी
अमूल्य रत्न कुल्चँदै प्रहार मात्र बर्सिए ।।
(६)
सुझेर स्वप्न भेषका पहाडका मधेसका
हटाइ भेद पस्कियुन् सदैब न्याय एकता ।
लडेर हैन बन्धु भै मिलेर बाँच्नु पर्दछ
हिमाल झैं सधैं सधैं खुलेर हाँस्नु पर्दछ ।।
(७)

Durga Lal Shrestha – Tirkha [Bal Kabita]

अघिसम्म दिन थियो
रात पर्यो ऐले,
यसरी यो कसरी भो
बुझया छैन मैले ।

चन्द्र गोलो, र्सुर्य गोलो
नाङ्गलोभन्दा ठूलो,
किन आउँछन् पालैपालो
कहाँ यिनको दुलो –

यो पहाड, झलल यो
हिउँचुलीको माला,
कसरी पो बने होलान्
यत्ति नदी-नाला –

किन आउँछ आँधीबेरी
किन पर्छ पानी,
यस्ता सबै कैले बुझने
कैले हुने ज्ञानी –

२०५८ चैत ३

Dr. Madhu Madhurya – Kaal Drishya

डा. मधु माधुर्य – काल-दृश्य

…. कसले गर्छ आज-भोली परायाको हित ?
भित्र-भित्रै लाए सबले स्वार्थसंग मित !
जता जाऊ, त्यता हेर पैसा कै छ जीत
स्वर्ग, मर्त्य, पाताल गाउँछन् यमराज कै गीत

चिप्लो बोली मानिसको सस्तो भाउ छ हाटमा
जिउंदै मान्छे जलाइन्छन् दिलको आर्यघाटमा
“शुद्ध” घोषित नदी आखिर टुकुचामै खस्छ
भोट माग्ने गोमन नेता जन्मभूमि डस्छ

द्वन्द, हड्ताल, नेपालबन्द हाम्रै पेवा भयो
दक्षिण-सीमा खुम्चिएर नक्सै सानो भयो
देश बचाउने कुरै छैन कुर्सी मात्र खोज्छन
विसर्जनको चिहान जाने छोटो बाटो रोज्छन

हल्लै हल्ला ” सतीको श्राप” नेता उस्तै परे
सबै जान्ने बुझ्नेले नै “मृत्यु-वीज” छरे
आँटले कोहि शहिद भए कोहि जिउंदै मरे
कस्लाई के थाह अझै पनि के हुने हो भरे

नाङ्गो जन्म सबको उस्तै अन्तिम मृत्यु पनि
बिर्से सबले मानव-लक्ष दानवरुपी बनी ?
घडीभित्र नजरबन्द द्रव्य-काललाई चुट
ब्युझाई चित्त-वृत्ति युगको धुलोबाटै उठ
धुलोबाटै उठ …

मस्को

Biplav Pratik – Swadesh Ko Maya

बिप्लव प्रतिक – स्वदेशको माया

मन नलागीनलागी
कसैको पनि बनोट वा बुद्धिको तारिफ गर्नु
वा कसैलाई राम्रो भन्नु
चाकरीको सङ्केत हो
त्यसैले पनि स्वदेश
तिमीलाई माया गगर्छु भनी अहिले भन्नुपरे
म आफूलाई चापलुस Continue reading “Biplav Pratik – Swadesh Ko Maya”

J B Sherpa – Ma Aina Herdina

जे बी शेर्पा – म ऐना हेर्दिन

भन्दा भन्दै
सुन्दा सुन्दै
हेर्दा हेर्दै ,
मैले आफैंलाई पनि बुढो सम्झन थालें,
अनुभव गर्न थालें !

मलाई याद छ
पहिलो पटक जब
जुंगा रेखी देखें ओँठमाथि
दोश्रो पटक जब
फुच्चेहरुले Continue reading “J B Sherpa – Ma Aina Herdina”

Chandika Bhattarai – Meri Pyari Chhori

चन्डिका भट्टराई – मेरी प्यारी छोरी

अचम्म लाग्छ मलाई, तिम्रा यी साना आँखामा
आफ्नो सिङ्गो संसार देख्दा
यी साना ओठमा सजिएको मुस्कान हेरि
जिवनका ठूला ठूला तनाव बिर्सदा।

अचम्म लाग्छ मलाई, तिम्रा यी साना मुठ्ठीमा
यति धेरै खुशी अटेको देख्दा
तिम्रा यी साना खुट्टाहरुले उभिनुको लागि गरेको संघर्ष हेरि
आफुले पाइला पाइलामा गरेको संंघर्ष बिर्सदा।

अचम्म लाग्छ मलाई
पलपल तिमी ले आफुतिर आकर्षित गरेको देख्दा
चुलबुलिएर तिमिले गरेको बदमासी पनि
मलाई यति धेरै मन परेको देख्दा।

अचम्म लाग्छ मलाई
तिमि प्रतिको यो माया मोह देख्दा
तिम्रा साना साना गतिविधिमा अल्झिएर
आफ्ना ठूला ठूला लक्ष्यहरु मा छायाँ पार्दा
दिन प्रतिदिन तिमी बढेको हेरि,त्यसैमा मोहित भै बस्दा।

मेरी प्यारी छोरी,
जब तिमी बामे सर्दै आएर,मेरो काखमा लुटुपुटु गर्छौ,
साना तिम्रा हत्केलाले, मलाई स्पर्श गर्छौ,
खेल्दै, चल्दै मलाई खोज्दै पल्याक पुलुक हेर्छौ,
तिमिलाई थाहा छैन, खुशी र उमङ्ग का
अनेकौं रङ्ग मेरो मनमा, जिबनमा भर्छौ।

तिमि लड्छौ,पल्टन्छौ फेरि आफै उठ्छौ
नयाँ केही देखे ,नियालि खुबै हेर्छौ
माइक्रोसकोप जस्ता तिम्रा आँखा,
भुइँ का साना दाना पनि देख्छौ
चुम्बकले फलामका टुक्रा तानेझैँ
फेरि ति साना दाना नि औँलाले टिप्छौ।
खेल छ तिम्रो आफ्नै,आफ्नै छ खेल्ने तरिका
अचम्म लाग्छ यो जानेर कि
तिम्रै वरिपरि छन् मेरा खुशी संसार भरिका।

मेरी प्यारी छोरी,
यसै फुरुङ्ग भइ डुल्छौ तिमि यता उता
सोच्छु म , साच्चै भगवानकै रुप हो यो बाल अवस्था
पत्थर कै मुटु होला त्यो मानिसको जो नियाल्न सक्दैन
स‌ृष्टिको यो अनुपम सुन्दरता॥

काठमाडौं।

Sandhya Regmi – Nepal Aama Lai Patra

सन्ध्या रेग्मी – नेपाल आमालाई पत्र
(प्रवासी नेपालीको देशप्रेम)

पूज्यनीय नेपाल आमा †

हामी त नचाह“दानचाह“दै पनि प्रवासी भयौं
सारा मान्यजनलाई हाम्रो प्रणाम †
हामी त वर्तमानमै पनि अतीत भयौं
सारा देशवासीलाई हाम्रो सलाम †

प्रसिद्धि त के कमाउन सक्थ्यौ“ र यो परदेशमा
तर अलिकति भए पनि समृद्धि कमाउने रहरले
सात समुद्र पार गरी
विदेश भूमिमा पाइला टेक्न नपाउ“दै
हामी कैले मुम्बईमा बेचिन्छौ“
मलेशिया पुग्दा आङ्खनै देशका म्यानपावर एजेन्सीबाट ठगिन्छौ“
मौरिससको टापू आइपुग्दा भारतीय छट्टूहरूबाट लुटिन्छौ“
श्रमिक बनी दुबाई पुग्दा षडयन्त्रकारीहरूबाट कुटिन्छौ“
इराक पुग्दा आतङ्कवादीका तरवारमा सेर्रिन्छौ“
लाहुरे बनी बेलायतमा पाइला टेक्यौ“ कि भनी सोच्दा
अफगानिस्तानमा धकेलि“दै तालिवानका गोलीमा भुटिन्छौ“
डी.भी.ले भाग्य खुल्यो भनी घरबार बेची अमेरिका पुग्दा
रातदिन कुल्लीकै जिन्दगी बिताउन वाध्य हुन्छौ“
र स्वदेश फर्कने मृगतृष्णामा तड्पिन्छौ“
हामी कहिले बाली बम विष्फोटमा उछिट्टिन्छौ“
कहिले फुकेट सुनामी प्रलयमा भासिन्छौ“
जर्मनीका शरणार्थी शिविरमा पुग्दा
नीयोनाझीबाट जिउ“दै आगोमा पोलिन्छौ“
हङ्कङ् र सि¨ापुरमा मजदुरी गर्दागर्दै
जापान र कोरियामा भारी बोक्दाबोक्दै
हामी थकाइ र हेपाइले गल्नसम्म गल्छौ“
अरबका खाडीहरूमा पसिनाका धारा बगाउ“दाबगाउ“दै
हामी चूर्णचूर्ण भई सदाका लागि ढल्छौ“
स्वदेशमा भए त हुन्थ्यो कमसेकम
सम्मानपूर्वक हाम्रो दाहसंस्कार
स्वदेशमा भए त हुन्थ्यो कमसेकम
सम्मानपूर्वक हाम्रो दाहसंस्कार
यहा“ त हामी पशुको भन्दा पनि दयनीय मृत्यु मर्छौं
यहा“ त हामी पशुको भन्दा पनि दयनीय मृत्यु मर्छौं ।

सारा मान्यजनलाई हाम्रो प्रणाम †
सारा देशवासीलाई हाम्रो सलाम †

आमा †
भक्कानो छुट्दा–छुट्दा अवरुद्ध भएको होला तिम्रो गला
आ“सु रित्तिएर शुष्क बनेका होलान् तिम्रा आ“खाहरू
विरहाग्निको ज्वालाले जलेको होला तिम्रो छाती
भय र त्रासले थिलोथिलो भएको होला तिम्रो शरीर
हाम्रा आ“खाहरूमा ती मार्मिक दृश्यहरू प्रतिविम्बित हु“दा
मुटुबाट रगतको आ“सु बगाई हामी छाती पिटीपिटी रुन्छौ“
मुटुबाट रगतको आ“सु बगाई हामी छाती पिटीपिटी रुन्छौ“ ।

बिन्ती छ अन्यथा नसम्झ,
हाम्रो आ“खाको नानीमा कसैको माया बसेको छ भने त्यो तिम्रै हो
हाम्रो परेलीमा कसैको सम्झनाको छाया“ परेको छ भने त्यो तिम्रै हो
हाम्रो हातभरि तिम्रै सुवास छ
हाम्रो प्राणभरि तिम्रै उच्छ्वास छ
देश देवालय र गुम्बामा होइन
मन्दिर र चैत्यका टु“डाल र खम्बामा ‘नि होइन
देश त कर्मरूपी भजन–आरतीले आलोकित
मनमन्दिरकै प्राङ्गणमा हुन्छ
देश श्रद्धा हो मूर्ति होइन
देश आस्था हो पर्व होइन
धर्म र दर्शनका जटिल सूत्रमा होइन
सिद्धान्त र विवादको युद्धमा ‘नि होइन
देश त शुद्ध विचार र आदर्शको बुद्धमा हुन्छ
राजनीति र कूटनीतिको इन्द्रजाली छडीमा होइन
देश त हार्दिकता र बौद्धिकताको मजबूद कडीमा हुन्छ
अभिमानी आत्मश्लाधाको चढानमा होइन
देश त स्वाभिमानी चैतन्यको अडानमा हुन्छ
देश सा“च्चै नै मुटुमा हुन्छ सीमानामा होइन
देश रगतका नसा–नसामा बग्छ नदीमा होइन
आमा †
हामीले त आङ्खनो मनभित्र तिमीलाई नै सजाएका छौ“
हामीले त आङ्खना नसा–नसामा तिमीलाई नै बगाएका छौ“
तिमीबाट जति नै टाढा भए पनि
हामी त तिम्रै मायामा द्रवीभूत भएर बा“चिरहेका छौ“
हामी त तिम्रै मायामा द्रवीभूत भएर बा“चिरहेका छौ“ ।

आमा †
तिम्रो काखमा बसी तिम्रै वनज¨ल मास्ने
तिम्रो स्तनपान गरी तिम्रै नदीनाला बेच्ने
तिम्रो छातीमा चरी तिम्रै गला रेट्ने
‘देशभक्त’ ‘सांसद’ ‘मन्त्री’ को पगरी गुथी
तिमीप्रति नै गद्दारी गर्ने ती देशद्रोहीेहरूभन्दा
हामी धेरै धेरै टाढा भएर पनि
धेरै धेरै दुःख पाएर पनि
तिमीप्रति इमान्दार र वफादार छौ“
हामी महात्मा बन्न नसके पनि
ती कुसन्तानभन्दा पवित्र छौ“
हामी महान् बन्न नसके पनि
ती कुसन्तानभन्दा असल छौ“
हामीलाई त आङ्खनो विदेश बसाइभरको चोखो कमाइले
कुनै ताजमहल र शीशमहल होइन
त्यहा“ मायाको एउटा सानो कुटी बनाउन पाए पुग्छ
त्यस कुटीको अगाडि एउटा सुन्दर पूmलबारी सजाउन पाए पुग्छ
त्यस पूmलबारीको छातीमा सञ्जीवनी बूटी उमार्न पाए पुग्छ
त्यस सञ्जीवनी बूटीले तिमीलाई अजम्मरी बनाउन पाए पुग्छ
त्यस सञ्जीवनी बूटीले तिमीलाई अजम्मरी बनाउन पाए पुग्छ ।

सारा मान्यजनलाई हाम्रो प्रणाम †
सारा देशवासीलाई हाम्रो सलाम †

देशलाई आलो रगतको आहालमा चुर्लुम्म डुबाई
महाविनाशको ताण्डव नृत्य गर्नेहरूको बारेमा सुन्दा
यहा“ हाम्रो मुटु पोल्छ
देशमा गृहयुद्धको ज्वाला दन्काई
निर्दोषहरूको रगतले आङ्खनो अनुहार पोत्नेहरूलाई
टी.भी. का पर्दामा देख्दा
यहा“ हाम्रो फोक्सो जल्छ
देशका प्राचीन मूर्तिहरू चोरी आङ्खनो ढुकुटी भर्नेहरूको
घृणित अनुहार सम्झ“दा
यहा“ हाम्रो कलेजो बल्छ
राष्ट्रियता, स्वाधीनता, समानताजस्ता संवेदनशील विषयहरूमा
खेलवाड हु“दा
यहा“ हाम्रो शरीरबाट तातो रगतको फोहोरा छुट्छ
चरम गरिबी र भोकमरीले शुष्क भएकाहरूको
आर्तनाद सुन्दा
यहा“ हाम्रो ह्दय छियाछिया हुन्छ
देशभक्तिका खोक्रा नारा र भाषण छा“ट्दै
अझै पनि जनतालाई फोस्रा आश्वासन र धोका दिइरहेका नेताहरू नै
पुरस्कृत र सम्मानित भइरहेको सुन्नुपर्दा
यहा“ हाम्रो मस्तिष्क विक्षिप्त बन्छ
नेपालीले नेपालीलाई मुर्दा बनँइरहेका
भयावह दृश्यहरू देख्दा
यहा“ हामीलाई मानसिक आघात पर्छ
आमा †
त्यहा“ तिम्रो आशा र उत्साहमा ठेस लाग्दा
तिम्रो आस्था र विश्वासमा पैरो जा“दा
तिम्रो छाती र मस्तिष्कमा चट्याङ् पर्दा
तिमीलाई सा“च्चै हाम्रो खा“चो पर्दा
त्यहा“ उपस्थित हुन नसक्दा
कहिलेकाही“ त यस्तो लाग्छ –
हाम्रो जीवन बेकार, बेकम्मा र अर्थहीन बितिरहेछ
यस्तो अनुभूत हुन्छ–
हाम्रो जीवन व्यर्थ रित्तिरहेछ
हाम्रो जीवन
श्रीकृष्णले त्यागिसकेपछिको अर्जुनको गाण्डीवजस्तो बनिरहेछ
हाम्रो जीवन
श्रीकृष्णले त्यागिसकेपछिको अर्जुनको गाण्डीवजस्तो बनिरहेछ ।

आमा †
तिम्रो ममतामय अमृतधार अञ्जुलिभरि थाप्न नपाएको
एक युग बित्यो
तिम्रो हातको अक्षता र जमराले निधार भर्न नपाएको
अब त एक जुग बित्यो
तिम्रो चरणमा घोप्टी आशीर्वाद माग्न नपाएको
कति हो कति वर्ष बित्यो
तिम्रो काखको सिह्रानीमा निदाउन पाउनु त
अब सपनाको कुरा भयो
दशै“ र तिहारको दिन पनि विदेशमै भारी बोक्नु त
अब अभ्यास हु“दै गयो
अब त हामीलाई दशै“ आए पनि के नअँए पनि के
अब त हामीलाई तिहार आए पनि के नआए पनि के
सा“च्चै भनेको –
अब त हामीलाई दशै“ आए पनि के नआए पनि के
अब त हामीलाई तिहरा अँए पनि के नअँए पनि के ।

सारा मान्यजनलाई हाम्रो प्रणाम †
सारा देशवासीलाई हाम्रो सलाम †

हामीलाई आभास हुन्छ आमा †
तिमीले दिनहु“ गर्ने प्रार्थना र वन्दनामा
हाम्रै सुस्वास्थ्य र दीर्घायुको कामना छ
तिमीले गर्ने हरेक अर्चना र उपासनामा
हाम्रै उज्जवल भविष्यको आराधना छ
बिर्सेका छैनौ“ हामीले –
तिमीलाई का“धमा बोकी संसार घुमाउनु छ
तिमीलाई शिरमा राखी विश्वभरि चिनाउनु छ
तिम्रा लागि हामीले धेरै धेरै गर्नु छ
तिमीलाई बचाउन हामी धेरैपटक मर्नु छ
तिमीलाई बचाउन हामी धेरैपटक मर्नु छ
त्यसैले–
हामी क्षितिजमा सूर्यस“गस“गै नअस्ताऔ“ यो परदेशमा
हामी प…र प…र आकाशमा नहराऔ“ यो परदेशमा
हामी शून्य महाशून्यमा नबिलाऔ“ यो परदेशमा
हामी कहिल्यै नब्यू“झिने गरी ननिदाऔ“ यो परदेशमा
हामी कहिल्यै नब्यू“झिने गरी ननिदाऔ“ यो परदेशमा ।

आमा †
सगरमाथाको शिर अझै झुकेको छैन
लुम्बिनीको पहिचान अझै बिटुलिएको छैन
वैमनस्यताले डढेलो लागेका बस्तीहरूमा
वन्धुत्वको वर्षा गर्न
विध्वंसले उजाड पारेका चोकहरूमा
शान्तिको अविरल नदी बगाउन
मुटुमा चर्केका घाउहरूमा मलहम बनेर
तरवारलाई पनि काट्न सक्ने कलम बनेर
अलिना अलिना आटाभरि नून बनेर
अ“धेरा अ“धेरा पाटाभरि जून बनेर
विपन्न विपन्न बाटाभरि सुन बनेर
उदास उदास आ“खामा जीवन भर्न
ओसिला ओसिला पाखामा घाम छर्न
क्षणभरमै उडेर सकिने कपूर बनेर होइन
सदासदा शिरमा सजिने कोहिनूर बनेर
हामी त बस् नौलो जा“गर र उत्साह लिएर
तिम्रै भविष्यका लागि अनन्त सम्भावनाहरू बोकेर
एउटा अपूर्व गौरवको धरोहर निर्माण गर्न
तिम्रै काखमा फर्किने अभीष्ट अभियानमा छौ“
तिम्रै काखमा फर्किने अभीष्ट अभियानमा छौ“ ।

सारा मान्यजनलाई सन्ध्याको प्रणाम †
सारा देशवासीलाई सन्ध्याको सलाम †

Janak Karki – Halla Nagara

जनक कार्की – हल्ला नगर

इस्स्स्स्स्स चुप!!
सरकार सुतिरहेको छ
हल्ला नगर्नुस कृपया।
कपडा
बजारभरी दोकानहरु
बेचिरहेछ
लाज छोप्ने कपडा
भित्र देखि बाहिरसम्म
ढाकिने वस्त्रहरु।

लुकाउन चाहन्छ
कपडा भित्र
आफ्नै चित्र
डराउछ
कमजोर जगमा ठडिएको घर
हावामा उडेर गुडिरहेको गाडी
जाम भैरहने सेफ्टी ट्याकीं
बैंक खाली पारिएको ढिकुटीको सेफ बक्स

जब देख्छ उसले
क्याराम खेलिरहेको युवा
मकै बेचिरहेको बुढी आमा
क्याबिन रेस्टुरेन्टबाट सकेंत गरिरहेका युवती
समाचार बेचिरहेका हकरहरु

अनि आत्तिन्छ
नजर लाग्ने हो कि
पींजडामा थुनेर राखेको गरिबी
दराजमा झुण्डाएका रोजगारी
माकुराको जालो लागेको घोषणापत्र

अर्मानी
लिभाईज
अ्मेरिकन इगल्सले
पर्दा भित्र बेरेर
लुकाएको बिपनाहरुले
देखाएको छ सपनाहरू ।

कपडा पसलको ग्राहक
लाखौ कोशिसको बावजुद
उ देखिरहेछ पारदर्शी
छर्लङ्ग कृस्टल किलिएर

तर जानवरहरु
कपडा पसल कहिले छिरेनन
कतैबाट देखिएनन नाङ्गो।
तपाईलाई भोक लागेको हो?
तपाईलाई अन्याय भएको हो??
तपाईलाई चित्त नबुझेको हो???

किन चिच्चाइरहेको?
किन निर्वस्त्र भएको?
किन उफ्रेको ?
किन सन्केको?

इस्स्स्स्स्स्स्स्स चुप!
सरकार निदाइरहेको छ
हल्ला नगर गर्दै नगर

कुम्भकर्ण जाग्यो भने
के हुन्छ सोचेका छौ?
अनिकाल लागिसकेको छ
भोको कुम्भेले खानेछ तिमीलाई।

सपना देख्दै छ
नयाँ मुलुक बनाउने
हल्ला गर्दै नगर
अहिले सपना बिथोलिन सक्छ
सपना बिथोलियो भने
तिम्रा हल्ला गर्ने जिब्रो थुतेर
निमुखा बनाइदिन सक्छ।

उसलाई मनपर्दैन
कोहि चिच्च्याएर बोलेको
उ बैरो छ
अहिले सुन्छ फेरि।

गरिबी निर्मुल पार्न उसले
सोचिरहेको छ
नयाँ योजना बुन्दै छ।
गरिवलाई नै सक्ने
उसको योजना छ

भोक लागेको हो??
नकराउनुस अहिले दुई थाल लाठीचार्ज
एक गिलास सिसाको गिलासमा
सिसाको तातो गोलीको जुस खुवाउँछ भनेको छ।।

इज्जतको ख्याल गर्नुस है
सरकारले रौसी पिएको छ
अहिले फेरि मातेको मान्छेले जे पनि गर्न सक्छ
करैकरले कर तिराएर बलात्कार गर्न सक्छ।

इस्स्स्स्स्स्स्स्स्स हल्ला नगर
चुप लाग
सरकार सुतेको छ।

बापुजीले भनेको मान
नराम्रो नहेर हेर्दै नहेर
नराम्रो नसुन सुन्दै नसुन
नराम्रो नबोल बोल्दै नबोल

किनभने सहरमा अहिले
गब्बर शिंह आएको छ
५० माइल पर वच्चा रोयो भने पनि थाहा पाउँछ
अनि नाचँ बसन्ती नाचँ भन्दै जवर्जस्ती नचाँउछ।

बल्ल खायौ तिमीले
भनेको मानेको थिएनौ नि
पायौ होइन उपहार श्री ५ बाट
अब देशमा राजतन्त्र आउदैछ
उ हेरत गणतन्त्रको पहिलो राजा
श्रीपेज लगाएर कसरी हात्ती सवार गरेको
तिमी कुकुर भुकेर के हुन्छ?

सुन्यौ होइन
बुझ्यौ होइन
इस्स्स्स्स्स्स्स्स्स चुप!!
सरकार सतिरहेको छ
हल्ला नगर्नुस कृपया