Yuddha Prasad Mishra – Ghaam Paani Ghaam Paani (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – घाम पानी घाम पानी (नेपाली बाल कविता)

घाम-पानी घाम-पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन

झिलिमिली झिलिमिली बिजुली चम्क्यो
बादल गज्र्यो अन्धाधुन
जन्ती सन्ती भागाभाग
डोले भरिया कहाँ हुन्, कहाँ हुन्
घाम-पानी घाम-पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन

आँधी आयो असिना आयो
जन्ती बस्ने घरै उडायो
स्यालको बिहे भाङ् भाङ् भुङ् भुङ्
आज असार भोलि साउन
घाम-पानी घाम-पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन

(बालकोसेली पूर्णाङ्क १४, २०४५)

Yuddha Prasad Mishra – Sahi Bato

युद्धप्रसाद मिश्र – सही बाटो

संकीर्णताको परखाल नाघी
यथार्थ वैज्ञानिक पन्थ लागी
पीडितमा जागृति बत्ति बाल
भगाइद्यौ भारतका दलाल

प्रगति भो अब व्यापक जाज्वल
परिसके प्रतिगामीहरू तल
उठिसक्यो भई व्यापक जागृति
उदित भै जनमानसको स्थिति

विजयको भई दर्पण शानमा
प्रवल भै मनको बलिदानमा
जनजागृत भै उठदै गयो
परपीडनता टुट्दै गयो

असही शोषण जागृति हो सही
जनयथार्थ कुरो बीचमा नरही
फगत नित्य रुचाइ विलासता
रहन संभव छैन कतै यता

(०४७ पुस)
(लहर – २४)

Yuddha Prasad Mishra – Hun Ma Euta Sarwahara

युद्धप्रसाद मिश्र – हुँ म यौटा र्सवहारा

क्रुर यी अस्तिकहरूले रक्त चुसिएको छु सारा
पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा

झोपडीतक छनै पथको ज्यूँदोछु पक्रि किनार
रातभर चम्किरहन्छन् नेत्रमा नौ लाख तारा

खून पसिना बेच्दा काहीँ पाउँछु केही सहारा
वर्ग शत्रु जित्न लिन्छु विश्व जनमतको सहारा

देशमुक्ति गर्न दिन्छु खुनका अनमोल धारा
पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा

२९ अगष्ट १९८१

Yuddha Prasad Mishra – Bhoka Nanga Bhai Bhai

युद्धप्रसाद मिश्र – भोकानांगा भाइ भाइ

रगत चुसेका छाती खोल्दै
भोका नांगा लागे उठ्न
आम दलितको पीडाबाट
लाग्यो दिनदिन प्रतिभा फुट्न

झुपडीले अब आँखा खोल्यो
बोल्दै धावा अब जनमत गम्क्यो
कदम कदमका आतुर गतिमा
गौरव गरिमा बिजली चम्क्यो

बलात्कारीको लाश निकाल्ने
स्त्री जाति पनि आए लड्न
श्री नढलेका वीर युवकहरू
बलिवेदीतिर लागे चढ्न

महल अटारी परजा परजा
जनजागृतिले देला-खाई
धरतीतलका व्यापक हामी
भोका नांगा भाइ भाइ

०४४ असोज १
(नौलो कोसेली)

Yuddha Prasad Mishra – Mushlo Bandai Aayo

युद्धप्रसाद मिश्र – मुश्लो बन्दै आयो

लूटपाटले बलात्कारले
हत्याले हिम चुचुरो नाघ्यो
सबै अवस्थाले चुसिएका
हाडखोरको दुनियाँ जाग्यो

संगीन खेल्दछ पीडितमाथि
अथवा पीडित संगीनमाथि
न्याय उचाल्न जग लाग्यो ताँती
सत्य उठ्यो बलिदान समाती

हृदय हृदयको चर्को आगो
एकै मुश्लो बन्दै आयो
भाग भाग अब धरतीदेखि
देशद्रोही हो भन्दै आयो

आत्म र्समर्पण गर्न नमान्ने-
हरूको ठेलम्ठेला आयो
अमर अभेद्य जनश्रोत उमडिदै
युग परिवर्तन बेला आयो

(०४४ भाद्र )

Yuddha Prasad Mishra – Antar Byatha Ko Tufaan

युद्धप्रसाद मिश्र – अन्तर्व्यथाको तूफान
(बीणा – १:१)

र्घर्के दर्शन सब पुरातन भई झुल्के उज्याला दिन
ताता खून उठी सजीव बदला आए हिजोका लिन
जित्नुको परिपाटितातिर युवा जाँदै गए गर्जिदै
आए केश खुला भएर युवती हातमा हँसिया लिदै

पीडाका अनुभूतिबाट उठने तूफान प्रत्यक्ष भो
शोषणको प्रक्रिया खत्तम्तिर सबैको एउटै लक्ष्य भो
शोषक् वर्ग समूल नष्ट हुन गो दुर्दान्त बेला घटी
गो पर्नाकन रास- रंग गर्ने दर्वारमा छट्पटी

आस्थाको लहरी उठेर दुनियाँ छन् तोडदै हत्कडी
मुक्ती पारन गौरवान्वित रगत् पोखी अगाडि बढी
जोडेको भइ विश्व दृष्टिसितको सम्बन्ध ज्युँदोकन
मान्छेको बीच रुढ संस्कृति टुटेको आजको जीवन

तोडी बाल्मिकि व्यास आदिहरूका सामन्तवादी कथा
गर्ने राज्य समाप्त जागरुक भै तोडी विलासी प्रथा
साटो शोणितको अवश्य नलिई जान्नौं भनी र्सवथा
जागेको अहिले विशाल दुनियाँको मुख्य अन्तर्व्यथा

२०३६

Yuddha Prasad Mishra – Aaja Ko Awaz

युद्धप्रसाद मिश्र – आजको आवाज

भावना बलिदानकोले
देश भै बिध्वंशकारी
रक्त क्रान्तिका बबण्डर
आउँदैछन् वेग मारी

नीच हत्याराहरूका
भावनामाथि चढी
कस्सिदैछन् र्सवहारा
तोड्न आफ्नो हत्कडी

क्रूद्ध भै कंकाल उठ्दैछन्
नहट्ने प्रण गरी
ज्यूँनु यो धिक्कार भन्छन्
शत्रुहरूको तल परी

आत्मबल माथि उठेको
देश हो यो स्वाभिमानी
खूनको बदला लिने हो
कुन कुराले आज हामी

गर्न हत्या देशको
संगीनमा राख्ने सहारा
भाग जनताले थुकेका
आत्मगौरवहीन सारा

(लहर – २०४१)

Yuddha Prasad Mishra – Jwalamukhi Ka Sikha

युद्धप्रसाद मिश्र – ज्वालामुखीका शिखा
(मिर्मिरे दोस्रो झुल्को)

पाखा पर्वतका निवासीहरू छौ शृंगार नेपालका
सारा आर्थिक श्रोतका गति तथा आधार नेपालका
आँधी पानि प्रचण्ड धूप असिना नानाथरी झेलने
हाम्रा हात र पाउ छन् धरतिका माटोविषे खेलने

कुर्कुच्चा छ चिरा चिरा जिउ डढेका घामका तापले
मान्छे हौ पशुको छ जीवन दशा दर्वारका श्रापले
खानू पेटभरी भएर सपना हड्डी उठेका मुख
हर्दम् शोषकका दुराचरणले कुल्ची दिएको सुख

ऐलेका युग चेतना बीच बनी हाम्रो ठूलो दुर्गति
आफ्नो छैन कुरा शरीरतक यो मालिककै सम्पत्ति
ब्युँझौँ बल्ल भयौँ सचेत क्षमता संघर्षमा तत्पर
छौं हामी अनगिन्ति पीडितहरू शत्रु छ मुठ्ठीभर

उम्री लोचन प्रष्ट निम्न जन छन् ब्युँझी सकेका सब
टिक्ने साहस गर्न आउँदछ को हाम्रो अगाडि अब
उत्रेको व्यवहारमा पनि अब सिद्धान्त छेकिन्छ र ?
छैनौं हामी दरिद्रका विजयको विश्वास देखी पर

लाखौँ पीडित आर्तका हृदयको आक्रोश दन् दन् बली
जानछेन् अनि मात्र दुर्गति हुँदै सत्ता पुराना ढली
उठ्नु हामी गरीवले छ अहिले साहित्यको भै धनी
हामी शीघ्र जरा विपक्षीहरूको दिन्छौं उखेली भनी

हाम्रा जन्मथला तथा झुपडिका मालीक हामी सब
हारेको भइ लुटपाट सहँदै बस्थ्यौ र के पो अब ?
मार्नु र मरनु सिवाय हृदयमा क्यै छैन हाम्रो अरु
ब्यँझेको युगले खेद्नु छ यहाँ सारा लुटेराहरू

हाम्रो खून छ देशको हृदयको घाउ दुखेको धुने
हाम्रो ध्येय तमाम पीडितहरू माथि र्समर्पण हुने
गर्र्छौं शोषण मुक्तिको प्रण छिटै साकार हामी अब
र्फकन्नौं नसकी उठाउन ढलेका देशका गौरव

हाम्रो त्याग विशुद्ध आत्म बल हुन् पीडितका सम्पत्ति
सक्ने छैन उछिन्न लोकप्रियता हाम्रो कसैले रति
हामी निश्चय मुक्ति प्राप्त गरने संघर्षको भूमिका
हाम्रा प्रष्ट क्रियाकलापहरू छन् ज्वालामुखीका शिखा
१९७७ मे

Yuddha Prasad Mishra – Krantikari Ko Nau Ma Euta Taar

सक्ने भै तिमी रक्तक्रान्ति गरने नीति छ नेता उठ
साँच्चै शोषणमुक्त बन्नु छ भने यौटै मियोमा जुट
पोल्ने छाति कुरा घटेका ननिका गाउँ लथालिंग छ
च्यापेको अभिभारका हृदयको क्रान्ति त्यसै ठिंग छ
खाँचो चाहिँ चिया र बिस्कुट परेका त्याग लुच्चो सरी
राखेझैं छ शहीदका रगतमा हाो र ठट्टा गरी
उठ्ने योग परी सके पछि पनि मान्छे पुगेको तल
हेर्दैछौ अखवारका तिमीहरू पल्टाई राशीफल
छैनौ झैं तिमी देश मुक्तितिरको गर्ने प्रतिज्ञा कडा
छैनौ झैं छ गरीवका मरणको दैलो अगाडि खडा
मर्ने वीर मरे बिभत्स गतिले ज्यूेहरू जेलमा
पुग्नु झट्ट छ उम्लिनाकन सक्या खै क्रान्तिको रेलमा ?
छाप्रो चाहि हदैछ दिन्दिन खत्तम् दर्बार चाहिं खडा
बारीका तटबाट बग्दछ कुलो रित्तो छ हाम्रो घडा
हच्केको क्षमता लिएर अगुवा बस्छन् कुनामा लुकी
सारा देश जगाउनु छ अहिले ताजा खवर यै फुकी