कृष्ण उपाध्याय – भिगेल्याण्ड उद्द्यानका उत्कर्ष
उत्तरी सागर माथि सगरमा
उत्तरी सगरबाट उत्तरी सागरतिर बगिरहँदा
मानस
स्वयम्भु र नागार्जुन डाँडामाथि भएको अनुभूत गर्छ
नागार्जुनको डाँडामा बसेको अनुभूत गर्छ
नागार्जुनको मन्द सुसेली सुन्छ
नागार्जुन बोलेको सुन्छ ।
भिगेल्याण्ड उद्द्यान उत्रिदा
भिगेल्याण्ड उद्द्यानमा उभिएका
मौन मूर्ति हेर्दा
मानस मान्छेका असंख्य रुप देख्छ
बालक देख्छ
बालिका देख्छ
युवा देख्छ
यौबना देख्छ
बृद्ध अनि बृद्धा देख्छ
जन्म र मृत्यु पनि देख्छ/
जन्म मृत्यु कुदिएका मूर्तिहरुमा
मूर्तिकारका मुर्त मूर्तिहरुमा
नागार्जुनका सुरिला सुसेली सुन्छ
नागार्जुन सुन्छ:
संसार सिमित छ
गुलाब फुल्छन
गुलाब फुलेर मर्छन
फुल्नु र मर्नुको कथा बनेर ।
एक पल्ट फुल्छन मर्छन
आखिर जीवन सिमित छ
संसार सिमित छ ।
एउटा पुस्ता आउँछ
एउटा पुस्ता जान्छ
एउटाले अर्कालाई पछ्याई पनि रहन्छ
पुस्ता पछि पुस्ता न आउछ
गुलाब मर्छ
फेरी फुल्छ
यो अविरल मर्छ
अविरल फुल्छ
हेर त मानस
संसार सिमित छ
संसार असिमित पनि छ ।
गुलाबको आफ्नै रुप छ
गुलाबको आफ्नै रुपान्तर छ
रुपान्तरण छ
यो फुल्छ, ओइलिन्छ, झर्छ
जीवन जस्तै ।
यो फुल्छ
यो ओइलिन्छ
अनि फेरी फुल्छ ।
अनुभूतिका अनुपम साँध सीमामा
जीवनका साँध सीमामा
भावनाहरु सल्बलाउछन
माथि उडछन, अक्कासिन्छन, मड़ारिन्छ्न
खुशी छर्छन, हास्छन
दुखेशो छर्छन, रुन्छन ।
भावनाहरु रुप र रुपान्तरणमा
सधै सधै सजिंछ्न
जीवनका छाया बनेर ।
उज्यालोमा हिंड्दा
छाया पनि त हल्लिन्छ
रुप फेर्छ
रुपान्तरण हुन्छ
गतिशीलबाट गतिहीनमा
चम्किलोबाट मधुरोमा
प्रस्टबाट अप्रस्टमा
फेरी गतिहीनबाट गतिशिलमा
मधुरोबाट चम्किलोमा
अप्रस्टबाट प्रस्टमा
पालै पालो
अविरल ।
अन्धकारमा
प्रकाशमा/
संसार सिमित र असिमित दुवै हो ।
अन्त-अनन्त हो ।
मानस !
तिम्रा प्रज्ञा र ज्ञानका सिमाहरुमा
तिमी नै संसार हौ
संसार सिमित र असिमित हो ।
तिम्रा प्रज्ञा र ज्ञानहरुमा
तिमी कालो पनि छौ
तिमी गोरो पनि छौ
कालो नहुदा गोरो हुन्छौ
गोरोपनाको अनुपस्थितिमा कालो छौ ।
सबै रङ्गमा इन्द्रेणी हौ
तिमि कालो र सेताका सिमा भित्र छौ
असिमित इन्द्रेणीका सिमा भित्र छौ
असिमित इन्द्रेणीका असिमित अंश हौ
असिमित इन्द्रेणी हौ ।
मानस इन्द्रेणी तिम्रो हो
अन्गाल!
गुलाब जस्तै
अन्त र अनन्तको वृत्तमा
तिम्रो इन्द्रेणी हाँसी रहन्छ ।