Sharan Aansu – Mero Akshar Saarera Gaye Kati (Nepali Gajal)

शरण आँसु – मेरा अक्षर सारेर गए कति!

मेरा अक्षर सारेर गए कति
तिनै अक्षर मारेर गए कति !

उस्तै छु म, मेरो अक्षर उस्तै छ
यै अक्षरको चिट्ठा पारेर गए कति!

अक्षरको मर्म र अर्थै नबुझी
अक्षरदेखि हारेर गए कति!

अक्षरमा पो फुल्छ नयाँ जमाना
जमाना त्यसै टारेर गए कति !

बिर्से पाप लाग्दो हो त्यसैले
गालामा आँसु झारेर गए कति !

Sharan Aansu – Malai Maaf Gara Hai Meri Kabita

शरण आँसु – मलाई माफ गर है मेरी कविता

-मलाई माफ गर है
मेरी कविता !

-म सिसिफस’
जिन्दगी उकालो हिंड्दै छु
देउताहरूको श्रापले!
उकालो तल झर्दैछ –
ओझेल पारेर अस्तित्व
शुन्यतामा !

-देहातमा,
राप्ती नदीको किनारमा,
गाम बेसीमा र
सिरान डाँडाको हिउँमा
कविता बिम्ब पाइला
युगीन दु:खको राष्ट्रिय चिन्ह
मेटिइरहेछ !
आफ्नो अस्तित्व खोज्दै म
आफ्नै जिन्दगी
चपाइरहेछु !
युगौं देखिको
पहाड मन
अस्तित्व यात्रामा
उभिइरहेछ !
उस्तै रङ , उस्तै परिवेश
उस्तै मनको कोलाजमा पोतिंदा
चर्को घाम झैं
त्यो प्रेमिल तुष्टिको जब्बर आँखाले
तिमीलाई म कहिल्यै
हेर्न सक्तिन !

– मैले बाँच्नुका
सीमानाहरू छन्
मैले हाँस्नुका
सीमानाहरू छन्
तिमी त सीमानापारि छ्यौ
र त
तिम्रो सम्झनाको
असीमित रापले
सधैं सधैं
पग्ली रहेछु – नौनी झैं !
तर
मनकै कुलेसोबाट म बग्न सक्तिन
मलाई माफ गर है
मेरी कविता …
तिम्रो अधरको भिरबाट
म यो धर्तीमा खस्न सक्तिन !

– गणीतिय सूत्रहरूले
मनको अस्तित्व
सावित गर्दैनन्
त्यसैले त
प्रतीक्षारत मनको
साविती वयान दिंदै
समय यन्त्र घन्टाघर
सम्झनाहरूमा बजिरहन्छ !
खोल्सो बनेर जिन्दगी
अस्तित्व यात्रा
बगिरहन्छ !

-सिमलको भुवा
मन उडेको देखिनौ र ?
ढुंगा होइन- मन
आँखाहरूको धारलाई
मनले उद्’याउन सक्तिन-म !
मलाई माफ गर है
मेरी कविता …
म एउटा कवि
अनागरिक सिसिफस
तिम्रो प्रियतम
स्वर्गको उकालो चढ्दैछु
अन्तरिक्षमा !

Sharan Aansu – Man Ko Diyo Balera Here Mato Chininchha (Nepali Gajal)

शरण आँसु – मनको दियो बालेर हेरे माटो चिनिन्छ

मनको दियो बालेर हेरे माटो चिनिन्छ
मनकै मैलो फालेर हेरे माटो चिनिन्छ !

कुतर्कहरुका तानाबाना बुन्न छाडेर
ससाना काम थालेर हेरे माटो चिनिन्छ !

माटो नै धरोहर हो सबै मनहरुको
मनमा मायाँ पालेर हेरे माटो चिनिन्छ !

इमानजमान, स्वाभिमान साक्षी राखेर
माटैमा हात ह़ालेर हेरे माटो चिनिन्छ !

यै माटोले बनेकी – नेपाल हाम्री आमा
आमाको चोली टालेर हेरे माटो चिनिन्छ !

Sharan Aansu – Mero Bato (Nepali Gajal)

शरण आँसु – मेरो बाटो

मेरो बाटो हेर्दा हेर्दै साँझ ढल्यो कि
आमा, तिम्रो स्नेह सुधा मुटु जल्यो कि !

संघारैमा परे पनि अँधेरीको छाया
रातैभरि मझेरीमा दियो बल्यो कि !

फैलाएर फेरि पनि कालो पखेटा
उडी जाने समयले तिम्लाई छल्यो कि !

जति कहर काटे पनि नपाएर सुख
मनभित्र विरहको हुरी चल्यो कि !

बिरह र बेदनाले खसालेर आँसु
दुख जिलो गर्दा गर्दै जीउ गल्यो कि !

Sharan Aansu – Manma Chha Khahare, Pani Chhaina (Nepali Gajal)

शरण आँसु – मनमा छ खहरे, पानी छैन

मनमा छ खहरे, पानी छैन
जान्थें म बगेर, बानी छैन !

यहाँ मान्छे सबै ढुंगा भए कि
कसैभित्र मायाँको खानी छैन !

छन् फूल यहाँ सबै फुलेका
तर त्यो रातकी रानी छैन !

उस्तै छ जून, उस्तै जूनकिरी
तिनमा हिजोको जवानी छैन !

धेरै प्यार दिन्छे मेरी प्रकृति
अरु क्वै ऊ जस्तो दानी छैन !

Sharan Aansu – Milyo Aja Bhetna Bahana Timilai (Nepali Gajal)

शरण आँसु – मिल्यो आज भेट्ने बहना तिमीलाई

मिल्यो आज भेट्ने बहाना तिमीलाई
दिन्छु यो दिलको नजराना तिमीलाई!

प्रिय लाग्छ हाम्रो त्यो अतीत, त्यसैले
ल्याएको छु पुरानै जमाना तिमीलाई!

आँखाहरू छचल्किएर अविरल बर्संदा-
सुहाउँथे ती मोतीका दाना तिमीलाई!

यो साँझ सरगम, यो बिछोडपछिको
दिलाई दिन्छ आनन्द नाना तिमीलाई!

मनोहर यो शिशिर पछिको ऋतुमा
चराहरूको चिर्विर गाना तिमीलाई!

Sharan Aansu – Mero Gaun

शरण आँसु – मेरो गाउँ

घंगारुको लौरो टेकेर
घैयावनको उकालो चढ्दै जानुस्
तपाईं मेरो गाउँमै पुग्न सक्नुहुनेछ ।

क्लान्त छ – मेरो गाउँ
तर
तपाईंको मनलाई यसले
शान्त बनाउँछ ।

नडराउनु होला नि –
रोइलाको Continue reading “Sharan Aansu – Mero Gaun”

Sharan Aansu – Yahan Desh Chorne Haru Ko Thulo Swar Chha

शरण आँसु – यहाँ देश चोर्नेहरूको स्वर ठूलो छ

यहाँ देश चोर्नेहरूको स्वर ठूलो छ
ठूलै भाग सोर्नेहरूको स्वर ठूलो छ !

ढाँटेर, ठगेर, अरुलाई मारेर भए पनि
अकूत सम्पति जोर्नेहरूको स्वर ठूलो छ !

ऋण माथि ऋण थोपर्दै जनताको टाउकोमा
तिनकै टाउको फोर्नेहरूको स्वर ठूलो छ !

वात्सल्यप्रेमको नदी बग्ने आमाको छातीमा
जंगली काँडाले कोर्नेहरूको स्वर ठूलो छ !

आवाजविहीन छ आज आस्थाको राजनीति
निमुखालाई निचोर्नेहरूको स्वर ठूलो छ

Sharan Aansu – Ramolla Devi Ra Monalisa

शरण आँसु – रमोल्ला देवी र मोनालिसा

ऐलानी जग्गा,
ऐलानी मन, ऐलानी भविष्य –
रमोल्लादेवी कोइरीको अनुहारमा
पढ्न सकिन्छ ।

उसको बस्तीमा रहरको सूर्य
पूर्वबाट उदाउँछ,
पूर्वमै अस्ताउँछ ।

उसको अपूर्व सौन्दर्य,
अपूर्व सपना –
कथित महिला आयोगको कार्यालयका
अभिलेखहरूमा-
बन्धकी राखिन्छन् ।

सुर्यदय र सुर्यास्त एकैसाथ
रमोल्लादेवीको भान्छामा भोको समय
चपाइरहन्छन् ।

न जोडेर
न घटाएर –
सावित गर्न सक्छे ऊ-
असमानान्तर क्षितिजहरू वीचको समानता ।

साँझ परेको ठानेर
हायनाहरू बिहानै हाँस्न थाल्छन् ।
बिहान भएको अन्दाजमा
कुखुराहरू सम्साँझै बास्न थाल्छन् ।
अनि सल्कन्छ
रमोल्लादेवीको मनमा-
सुदुर, सुमधुर सम्झनाहरूको सलेदो ।

ऊ लोग्नेमान्छेहरूलाई आफ्नो अनुहार
देखाउन सक्तिन ।
ऊ जुडसितलको पूजामा आफ्नो पीर
लेखाउन सक्तिन ।

ऊ सक्छे केवल
घुम्टोभित्र आफूलाई लुकाइरहन ।
ऊ सक्छे केवल
समय नदीको आर्तनाद सुनाइरहन ।

इक्कडदुक्कड खेल्दा खेल्दै
रमोल्लादेवीका कलिला बिहानहरूले
ब्ल्याक होल यात्रामा निमग्न पाइला
बढाइरहन्छन् ।
कसैले पनि नछोएको
कालिमाहरूको कालो यथार्थ
समाइरहन्छन् ।

न प्रेमले
न युद्धले
छोट्याउन सक्छे ऊ
अप्राकृतिक मान्छेका सीमानाहरूको वीचको दुरी ।

न बुझ्न सक्छ यो आकाशले
ढल्कँदो सूर्यका पाइलाहरूको रहस्य ।
न सोच्न सक्छ यो धर्तीले
रमोल्लादेवीको रगतका छिटाहरूको रहस्य ।

अनि पोल्टामा अँध्यारो थापेर
कसरी गन्न सक्छे र ऊ-
मान्छेत्वका सीमानाभित्रका मान्छेहरू !
कसरी पढ्न सक्छे र ऊ –
स्वतन्त्रताका काइते अक्षर !!
कसरी मुस्काउन सक्छे र ऊ –
अनवरत अनवरत
मोनालिसा झैं !!!

Sharan Aansu – Nirbastra Aama Haru

शरण आँसु – निर्वस्त्र आमाहरू

युद्धको दुन्दुभी बज्न थाल्यो ,
फेरि-
आशाको गर्भबाट
निराशा जन्मियो ।

निराश भए ती ओठहरू
जसको व्यग्र प्रतीक्षामा
हाँसो फुल्दथ्यो ।

खाण्डवदाह,माटोदाह-
प्रेमदाह र अर्थदाह्का उपक्रमहरूमा
मान्छेहरूले खुलेआम भन्न थाले-
मान्छे : मूर्दावाद ।

फुलकिरीहरूले भन्न थाले –
फूल : मूर्दावाद ।
जुनकिरीहरूले भन्न थाले –
जून : मूर्दावाद ।।

वाणासुरहरूले तान्न लागे-
मृत्युको प्रत्यन्चा।
सर्वत्र गुञ्जियो – युद्धगाथा
मृत्युवस्तीका जीवनहरूको
दारुण शब्दचित्र ।

अनि
ईश्वरको अगाडि निर्वस्त्र ,
निशस्त्र उभिइन्-
आमा कोटरा ।
उनी दानवताबादकी आमा ।
उनी मानवताबादकी आमा ।

उनलाई देखेर
ईश्वर भाग्यो ।
हाँस्यो – समय ।

मुक्तिकामी –
समाधिस्थ हाँसो ,
समाधिस्थ गीत
बटुले निर्वस्त्र आमाहरूले ।

हाँसोको यावत् प्रतिबिम्ब
हाँसोमै देखियो ।
गीतको यावत् प्रतिबिम्ब
गीतमै देखियो ।

हाँसोहरूका वीचको सीमाना,
गीतहरूको वीचको सीमाना-
नाघे ती उन्मुक्त आमाहरूले ।
युद्धरत –
देश, प्रदेशका पार्श्व सीमाना
निशर्त निशर्त नाघीरहे –
आमाहरूले ।

आमाहरूले देख्ता देख्तै-
महान बेबिलोन नगरीको
पतन भए झैं-
अहंकारको दाउमा इन्द्रप्रस्थको
स्वर्गीय साम्राज्य स्वाहा भयो ।
आमाहरूले देख्ता देख्तै-
परम् ईश्वरीय ऐनको इच्छाले
मान्छेहरूको अहम् जल्यो –
लाक्षागृहमा ।।

अनि
हलोको सियोबाट उम्रिएका सीताहरू या
धरतीको अक्षत योनीबाट जन्मिएका
निर्वस्त्र आमाहरूले
राष्ट्रियताको नाममा निर्मित
अराष्ट्रियताको पर्खाल नाघे ।

आमाहरूलाई थाह छ –
उनीहरूको जात आमा हो ;
अर्को उनीहरूको जात हुँदैन ।
त्यसैले त आज पनि
म्याक्मोहन, हिंडनवर्ग , दशगजा र
समानान्तर रेखाहरू –
प्रवेशाज्ञा बेगर
बेरोकटोक
नाघीरहन्छन्-
निर्वस्त्र आमाहरू ।।

Sharan Aansu – Mero Gaun Ko Bato

शरण आँसु – मेरो गाउँको बाटो

मेरो कौसेरीको ठाडो उकालो
जति म उक्लन्छु
उति उक्लन्छ ।

तर म हरेक यात्रामा
मेरा सम्पूर्ण चेस्टाहरूले
बौंडाइ भीरको थाप्लोमा टेकेर
मेरो विजयी नाकको पसिना पुछदछु ।

तप्युँ Continue reading “Sharan Aansu – Mero Gaun Ko Bato”

Sharan Aansu – Mero Rastra Chhaina

शरण आँसु – मेरो राष्ट्र छैन

टोर्पेड़ोहरूले ठुँगेर नीलो आकाश
रगताम्मे बनाउँछ,
म त्यै रगतमा राष्ट्रियता खोजिरहन्छु ।

अर्थोडोक्स विचारको बन्दी हुन्छ –
कलिलो समय ।
म यसको जिगीशाका पिङहरूमा
मच्चिरहन्छु।

मच्चिनुको पनि त सीमा हुन्छ:
माटो बोल्दछ ।

कविताहरूको केमोफ्लाज’
लाज बनेर नुनको उकालो
चढिरहन्छ ।
अनि लेख्छु म – फोहोर कविता
मेरै देशका सागाहरूको एन्टिक्लैमेक्स’ ।

सीमानामा झन्डाहरू
डरले केराको पात झैं काँपिरहन्छन् ।
जैतूनका सेता फूलहरू
पिलातेको दरवारका क्रुसमा
लर्किरहन्छन् ।

वैतरणी नदीमा इतिहासको
युयुत्सु सपना बग्न थाल्छ ।
मेरो तेश्रो विश्वको तेश्रो आँखामा
मौन पीडाले घाइते सपना
चहराइरहन्छ ।

यद्यपि –
ती श्वेत श्यामल
रिसल्लाहरूको बाटोमा
सतरंजा ओच्छ्याएर
जङ्ग बहादुर
सार्वभौम माटोको याचना गरिरहन्छ ।

च्व, च्व!
सेतो मजेत्रो ओडेका आमा हिमालहरू-
दुधले पखाल्न सक्तैनन् –
सन्तानका रगतको राजीनामाका अक्षरहरू ।
खुल्न सक्तैन –
हिमालका कुमुदिनी पत्रहरूमा:
रगतै रगत फुलेको फूलको सौन्दर्य ।

मुक्तिकामी ओठका अठोटहरू
फुटिरहँदा-
भीरबाट खसेको मनले म
तय गर्न सक्तिन दुरुह बाटो
गन्तव्य सम्मको ।

ऐजन ऐजन छ – दासत्वको शिरबेहोरा
ऐजन ऐजन छ – तिनका इश्तिहारहरूको पालना ।
सरजमिन । सरसैया
उत्पीडनहरूको उत्प्रेषण
ऐजन ऐजन छ- युगौंदेखि ।

म लेख्न सक्तिन – कखहरा
यो राष्ट्र स्फीतिको ।
मलाई माफ गर है – वीर वलभद्र !
म छुन सक्तिन – मेरो माटो
काली तरेर ।
म त राष्ट्रियताको जेव्रा’ क्रसिङमा
इतिहासले दुखाएको प्यारानर्मल’
पाइला लर्खराउँछु
किनभने म त पागल कवि
मेरो राष्ट्र छैन ।।

Sharan Aansu – Manchhe Haru (Nepali Muktak)

शरण आँसु – मान्छेहरु

मान्छेहरु – १

मान्छेहरु मैले दिनदिनै हिंड्ने गरेको बाटोलाई भीर भन्दछन्
मैले बोकेर हिंडेका यी यावत् खुसीहरुलाई पीर भन्दछन् ||

मलाई थाह छ – भन्न मात्र जान्ने यी मान्छेहरुले जे पनि भन्दछन् –
असारे हिलो नै नखेली आएको-समयलाई पनि यी मान्छेहरु मङ्सिर भन्दछन् ||

मान्छेहरु -२

मान्छेहरुले माटोलाई चिन्न सकेनन्
सत्बाटोमा मिलिजुली हिंड्न सकेनन् ||

जुन माटोमा अभिमानको महल ठड्याए – त्यै माटो बिर्से यी मान्छेहरुले –
र यो स्वाभिमानको मेलामा एक मुठी स्वत्व र अस्तित्व किन्न सकेनन् ||

मान्छेहरु – ३

यी अँध्यारा मान्छेहरु देशको उज्यालो भविस्य कोर्छु भन्दछन्
बर्बराएको शैलीमा चुनौतीहरुको कालो पहाड फोर्छु भन्दछन् ||

तर जब तिनको कुत्सित स्वार्थ र अहंकारहरुमा चोट लाग्दछ –
चोरबाटोमा हिंड्छन् तिनीहरु र अन्तत:यो देश चोर्छु भन्दछन् ||

Sharan Aansu – Sahid Banera Chadhayen (Nepali Gajal)

शरण आँसु – सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो

सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो
लेखिएन कतै पनि, नाम ‘रामभगत’मेरो !

जिन्दगीको दियो बल्दै थियो मेरो मझेरीमा
मृत्युको तख्ताहरूमा राखिएछ लगत मेरो !

आततायीहरूको तातो गोली थापें छातीमा
भयभीत भएर काँपीरह्यो सबै जगत् मेरो !

ख्वामितहरूको शरण परेर बाँच्न सकिन-
माटोको निम्ति मर्नु नै जीत भयो फगत मेरो !

मेरो मृत्युको ज्याला खाएर बाँच्नेहरूलाई-
छैन कि नामथर, घर, ठेगाना अवगत मेरो !

Sharan Aansu – Malai Samjhi Bhakkano Nafutaunu Aama (Nepali Gajal)

शरण आँसु – मलाई सम्झी भक्कानो नफुटाउनू आमा

मलाई सम्झी भक्कानो नफुटाउनू आमा
पीरै पीरले खुशी सबै नलुटाउनू आमा!

छोरो फर्की आउँछ भन्ने आशै आशको
सासे त्यान्द्रो कहिल्यै पनि नटुटाउनू आमा!

रातै भरि बलीरहोस् मझेरीमा दियो
भिरच्युरीको घिउ थप्न नछुटाउनू आमा!

श्रम बेच्दैछु कडा यहाँ कारखानामा
खाने गास काटेर थैली नजुटाउनू आमा!

दशमीको साइत पारेर आउँला दशैंमा
ठाँटरको चिउरा आजै नकुटाउनू आमा!

Sharan Aansu – Maato Ra Ma

शरण आँसु – माटो र म

माटोमा टेके पछि
मैले माटोमा
अलिकति प्रित रोपें र
माटोलाई किमार्थ
सस्तो ठानिन
किनकि त्यसमा जीवन उम्र्यो /
माटोलाई सुँघेपछि
मैले माटोमा
अलिकति विश्वास रोपें र
माटोलाई किमार्थ जाबो ठानिन
किनकि त्यसमा जीवन फुल्यो /

माटो
मेरो मुटुको र
मुटु – मेरो माटोको,
त्यसैले
अलिकति उच्छ्वास रोपें –
माटोमा
अनि माटोमै जीवन ढल्यो /

मैले भेटें:
यो अदृस्य जीवन भोगाइको
अधि बाटोमा –
माटो र म
अधि कारण र अधि अकारण
टोलाइरहेको /

ए, धर्तीका जीउँदा मान्छेहरू हो ,
हेर त !
कथा भित्रको अकथा
जीवन पर्याय निर्जीवन –
स्वर्गीय माटोको /
म एउटा सहीद-
प्रीय माटोको ,
माटो मेरो
रगतले सिंचेको //

Sharan Aansu – Man Ma Bejod Le Aako Chha (Nepali Gajal)

शरण आँसु – मनमा बेजोडले आको’छ तिम्रो सम्झना!

मनमा बेजोडले आको’छ तिम्रो सम्झना!
मुटुभरि लपक्क भाको’छ तिम्रो सम्झना!

तिरस्कारले भरिएका तीखा तीखा आँखा
सम्झेर बेकार लाको’ छ तिम्रो सम्झना !

तिमीलाई नै आफ्नो आकासको जून ठान्दा
भलभली खून बनेर गाको’ छ तिम्रो सम्झना!

कहिल्यै बुझिनौ तिम्ले मेरो मायाँलाई
त्यसैले पीर बनेर छाको’छ तिम्रो सम्झना!

कहिले तराई,कहिले लेक- हुन्न ठेगाना
जहाँ पुग्छु म त्यतै धाको’ छ तिम्रो सम्झना!

Sharan Aansu – Man Ko Geet

शरण आँसु – मनको गीत

म चराहरुको भाषा
सिकिरहेथें –
रनवन घुमेर

मलाई त्यो वन छाडेर आउने मन
छँदै थिएन

म मेरो
प्रेमोत्सर्ग वीच
परमप्रिय सपना
देखिरहेथें

मलाई त्यो सपनाबाट ब्युँझिने
मन थिएन

छातीको बगरमा
आस्थाको मौलो गाडेर
बस्, म एउटा सिसिफस
तीर्खाको उकालो
चढिरहेथें

मलाई
त्यहींबाट फर्केर
ओरालो झर्ने मन
छंदै थिएन

मेरो मन उडाउने
हावाका
झोक्काहरुमा –
म एउटा कविताको आतंक
रोपिरहेथें

मलाई त्यो परिवेशको
पर्दा उठाउने
मन थिएन

अँध्यारोको साम्राज्य
ध्वस्त पार्न
म एउटा टुकी बालेर
हिंडिरहेथें

मलाई त्यो उज्यालो
छाडेर आउने मन
लागेको थिएन

म मात्र प्यास
बगिरहेथें

मलाई
तिम्रो अनुहारको नदीमा
एकछिन नडुबी-
यहाँसम्म आउने
मन थिएन

आउने मन थिएन –
मनको गीत
लेखेर नभ्याउँदै ।

Sharan Aansu – Man Bhitra Ka Man Haru

शरण आँसु – मनभित्रका मनहरु

मनभित्र अनगिन्ति मनहरू
मरिरहन्छन् ।
मनको संघारमा
फूल जस्तै
मनहरू सुस्तरी
झरिरहन्छन् ।
अनि त्यै मनको देउरालीमा
पाती चढाउँछन् –
मान्छेहरू ।

अक्टोपस मनका पाइलाहरू
आकाँक्षाहरूको
ठाडो Continue reading “Sharan Aansu – Man Bhitra Ka Man Haru”

Sharan Aansu – Maya Tyo Adhuro Bich Mai Todaun Nabhana (Nepali Gajal)

शरण आँसु – मायाँ त्यो अधुरो वीचमै तोडौं नभन

मायाँ त्यो अधुरो वीचमै तोडौं नभन
जिन्दगीको बाटो अब मोडौं नभन !

लाए पछि नौलो मायाँ, नौलो पिरती –
पुरानो मायाँको कुरा त्यो छोडौं नभन!

सम्झनाका झारहरू उम्रे ठीकै छ –
छुट्टाछुट्टै मनको बारी गोडौं नभन!

सकिएन कसै भने ती दिन बिर्सन-
प्यासै प्यासको पछ्यौरी ओडौं नभन!

कहिलेकाँही उप्किएर मन दुख्न सक्छ-
मनकै पट्टी लगाएर जोडौं नभन!