Samba Dhakal – Pahadma Samjhandai Pahad

साम्ब ढकाल – पहाडमा सम्झँदै पहाड

यसपल्ट पहाड उक्लन मनलाग्यो
र उक्लिएँ
पहाड उक्लिँदा
पहाडकोजस्तै मन बनाएर उक्लन पर्दोरहेछ !
पहाडजस्तो मन भनेको किमार्थ कठोर र जब्बर नभएर
निर्दोस र निरीह अनि मायालु मनले उक्लनुपर्ने रहेछ ।

यसपाली पहाड देख्दा मलाई त मेरो घरछेउको
रातोदिन आरनमा बस्ने बूढा दाइ बिजुली विकझैँ पो लाग्यो
अहर्निस कहिलेदेखि एकै ठाउँमा बसेको बस्यै
धेरै कुरा सहेर ÷नसहेर ।

एकैछिन पहाडको गथासो सुनेँ,
बिजुली दाइकोजस्तै पहाडको पनि छातिभरि
बेगन्ती बेथाले हाराबारा खेलिरहेको रहेछ ।

पहाडका लामालामा बाटाहरू उकालो लागेर
ओरालोमा बेपत्ता भएझैँ
बिजुली बिकको सुखपनि कता हराउँछ हराउँछ
विपनाका विछट्टै राम्रा फाँटहरू पहाडैभरि रैमट्ट भएझैँ
बिजुली बूढाका स्वप्निल आँखाका सपनाहरूमा पनि पहिरो जान्छ ।

विलाउन तैयार चौतारो
इतिहास धानिरहेको जीर्ण पौवा
सुक्न राजी लेउ लागेका पधेँरा
धुकधुकीमा टिकिरहेको ढिकी र जाँतो
आफन्त कुरिबसेको पिँढी र दलान
बटुवा खोजिरहेको गोरेटो र डगरहरूमा
पहाडले आफूलाई सम्झन खोज्यो
अहँ पाएन अत्तोपत्तो,
बिजुली दाइलाई आफन्तले
लामो वियोगमा डुबाएर विदा भएजस्तै ।

भन्ज्याङको बूढो बरमा अल्झेको अस्ताचलको रक्तिम घामलाई
बोकेर पहाड कतै जान सक्दैन
पहाड उज्यालो जूनलाई काँधको ठाँउ दिएर बसेको जुग भएको बिर्सन पनि सक्दैन
पहाडको छातीमा सल्बलाएर हिँडेको गोरेटोले मान्छेलाई कहाँमात्र पु¥याएन
पहाड जहीँकोतहीँ कतै नपुग्न ठिङ्गिरहेछ ।

पहाडबाट मनलाई
यो पटक अर्कै बनाएर फर्केँ
पहाडलाई पहाडमा गएर नियालेँ
पहाडकै कुनै अँश मनभरि बोकेर
पहाडझै बोझिल भएर फर्केँ ।

Samba Dhakal – Trial Balance Namileko Jindagi Sita

साम्ब ढकाल – ट्रायल व्यालेन्स नमिलेको जिन्दगीसित

दुःखका थुप्रै खातहरूमाथि उभिएर
मैले खोज्न थालेको सुखको उज्यालो
यतैकतै हराएको छ ।

मलाई जिन्दगी किन कहिल्यै अनुप्रासझैँ मिलेको
मलाई जिन्दगी किन कहिल्यै ठ्याक्कै बीजगणितको सूत्रझैँ मेल खाएको
मलाई जिन्दगी किन कहिल्यै कुनै लेखापालको ट्रायल व्यालेन्सझैँ रूजु भएको
कहिल्यै लागेन कहिल्यै ।

जिन्दगीलाई यहाँसम्म ल्याउँदा
प्रवाहशील नदीजस्तो अविरल
पहाडजस्तो दृढ
सालको रूखजस्तै धैर्यशील
हावाजस्तो चलायमान बनाउन निक्कै भगिरथ यत्न गरेँ ।

आँसुमा मैले कैयनपल्ट पौडी खेलेँ
रगत र पसीनाको नदी तरेँ
एकै पाइलाबाट लामोयात्रा शुरू हुन्छ भनेको सुनेकै थिएँ
खुबै हिँडेँ/दगुरेँ
तर कतै पुगिनँ ।

माफ गर्नुस्
म पुग्नभन्दा हिँड्न रमाउने
जम्नभन्दा बग्न रमाउने
हिँडिरहने,सधैँ हिँडिरहने
टुङ्गो भेट्न कहिल्यै नसक्ने
यसरी नै यहाँसम्म टिकाएको रहेछु ।

जिन्दगी यहाँसम्म टिकाउन मसँग
समयका सुन्दरक्षणहरू सँगसँगै हिँडिरहे
दुःखका पहाडहरू उचालिरहेकाहरूसँग सानिध्यमा रहेको
सुखहरूले हरपल दपेटिरहँदा
दुःखका हूलले रखवारी गरेको
समस्याले घेरेका बेलेका
समाधानका बथानहरू आँटका सुरूङबाट फुत्तफुत्त निस्केको
हो मलाई यिनीहरूले नै टिकाएका हुन्
नमिलेका जिन्दगीका हिसाबकिताब यस्तै आकस्मिकताहरूले मिलाएका हुन्
अनेकन उबडखाबडहरूले नै मिलाएका हुन्
मैले बाँचिरहेको जिन्दगीको नमिलेको ट्रायलव्यालेन्स ।

Samba Dhakal – Akshar Ko Birasat

साम्ब ढकाल – अक्षरको विरासत

अक्षरहरु हिँडिरहे
नपुगुन्जेल हिँडिरहे
अक्षरहरु हिँडिरहे / हिँडिरहे ।
मान्छेहरुलाई भेट्न हिँडिरहे
मान्छे भेटुन्जेल हिँडिरहे
मान्छे फेला पार्न हिँडिरहे
मान्छे फेला नपारेसम्म हिँडिरहे
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।
हिँड्नु नै ठूलो हो भनेर हिँडिरहे
फगत हिँड्नुलाई भन्दा हिँड्नु पर्छ भनेर हिँडिरहे
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।
मान्छेबाटै सिकेर हिँड्न थाल्यो उसले
हिँडेरै टाढा पुगेको देखेर
कतै पुग्न हिँडेको देखेर
अक्षरहरु हिँडिरहे /हिँडिरहे ।
कहीँ पुग्न त हिँड्नै पर्ने रहेछ
कतै नपुग्न पनि हिँड्नै पर्ने रहेछ
रोकिनुभन्दा हिँड्नु राम्रो जस्तो लागेर
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।
अडिनुभन्दा हिँड्नु गजब रहेछ
अडिएर कतै पुगेको देखिएन
कतै पुगेर अडिएको पनि देखिएन
हिँडिरहँदा नै यी सबै हुँदोरहेछ
अक्षरहरु हिँडिरहेछ/ हिँडिरहेछ ।
हिँड्नुको विकल्प अब छँदैछैन
हो रहेछ हिँडिरहेर नै सबैथोक हुनेरहेछ
पुग्नु नपुग्नु मतलबै राखेनन्
नहिँडेरभन्दा हिँडेर नै कतै पुगिने रहेछ ।
हिँड्नु/हिँड्नु/हिँड्नु मात्र हिँड्नु भएको छ
अक्षरहरु हिँडिरहेछ हिँडिरहेछ ।
के मान्छेहरु यहाँसम्म आइपुगेको
हिँडिरहेर होइन ?
– (५/५५ अब्बलडाँडा, रचनाकुटी, हेटौँडा)

Samba Dhakal – Dinesh Singh Ko Jutta Pasal

साम्ब ढकाल – दिनेशसिंहको जुत्ता पसल

केही समयदेखि मेरो शहरमा
दिनेश सिंहले जुत्ता बेचिरहेको छ ।

दिनेश सिंह जुत्ता बेच्छ केवल जुत्ता बेच्छ
दिनेश सिंहको नजरमा खुट्टा बेच्नु हुन्न
दिनेश सिंह खुट्टा बेच्दैन जुत्तै बेच्छ ।

दिनेश सिंह जुत्ता बेच्नु र खुट्टा बेच्नु बिल्कुल फरक हो भन्छ
दिनेश सिंह मान्छेले जुत्ता लगाएको मन पराउँछ
दिनेश सिंहले नाङ्गा खुट्टा कहिल्यै मन पराएन ।

दिनेश सिंहलाई मान्छेहरू हिँडिरहेको मन पर्छ
दिनेश सिंह मान्छेका खुट्टालाई कहिल्यै केही नहोस् भन्छ ।

दिनेश सिंहको मनोकामना छ — मान्छेहरूका खुट्टामा कुनै रोगव्याधी नलागोस्
दिनेश सिंह चाहान्छ — सहरमा मान्छेहरूको चहलपहल खुब रहोस् ।

दिनेश सिंह अचम्मको व्यापारी छ
जुत्ता किनुन नकिनुन् मानिसहरूले
उसको पसल अगाडि मान्छेहरूको ओहोर दोहोर भैरहोस् भन्छ
मान्छेहरू हिँडिरहुन् टाढा सम्म भन्छ ।
मान्छेहरू नयाँ नयाँ यात्रामा निस्किरहुन् भन्छ
मान्छे भए न खुट्टा हुने हो
जुत्ता त खुट्टा भए जत्ति नै पाईन्छ
खुट्टै नहुँदा त किन जुत्ता चाहियो र !

– सोमबार, 19 श्रावण, 2071

Samba Dhakal – Aansu Ko Lipi

साम्ब ढकाल – आँसुको लिपि

डबडबाएका आँखाले भुल्भुलाएका आँसु
गालामाथि डाम बनाएर हिँड्न थाले पछि
त्यो डाम आँसुकै लिपिजस्तो लाग्दो रहेछ ।

आँसुले बाधाका सबै खरपस नाघ्न अह्राएको थियो
अनेकौँ यामहरू अँध्यारैमा बितेको कथा आमाले आँसुले नै सुनाईन्
आँसुका धेरै महानदी बगे आँखाबाट फाल हाल्दै अनुहारको छङ्गाछुर भीरैभीर
साहसको हिमाल काँधमाथि बोक्ने धैर्यता
आँसुकै नदी किनारामा अल्झेको छ ।

आँसुका लिपि नपढ्न आँसुबाट टाढा रहेँ हरपल
अभेद्य मनका पर्खालहरूमा आँसु निषेधका पर्चा खुबै टासें
हिँडे कन्टकाकीर्ण बाङ्गाटिङ्गा र लामालामा बाटाहरू
सहें बचन आफन्तजस्ता पराईको र पराईजस्ता आफन्तका अनेकन
लक्षभेदनका हरेक प्रहार असफल हुँदा हुँदै प्रहारहरू गर्न छोडिएन
बलात् पढ्न लगाईयो अहोरात्र आँसुका लिपिहरू ।

आँसुका नाजुक ढिक्काहरू परेलीमै अड्याईयो
दुश्मनले गनिरहेको यातनाका अल्टिमेटमजस्तै
दिनहरू बिहानी भएर आउँदा
बाँकी गहभरीको आँसु लुकाउनै सकेनन् मान्छेहरूले
गाउन थाले आँसुको लिपिमा आफ्नै गीत ।

सकेसम्म गाउनै नपरे हुन्थ्यो भनि रहे पनि
आँसुगीत जीवनका गल्छेडामा अल्झिरहेका हुँदारहेछन्
जिन्दगीका आयाम नयाँ आयतनमा तन्काउन
मैले जब्बर अठोट लिएर बसेको छु आँसुका लिपि नपढ्न
म भन्न सक्दिनँ
कसले लेख्न लगायो आँसुको लिपि मान्छेलाई ?

Samba Dhakal – Paani Ko Geet

साम्ब ढकाल – पानीको गीत

बाहिर निस्कनुस् त महाशय
पानीले गीत गाइरहेछ ।

असार दर्केको बेला
पानीले गीत गाउन थालेको छ
र साउन पालो कुरेर बसेको छ
मेघाच्छन्न आकाशको चउरमा पानीको अकेष्ट्रा बजाउन ।

हरियो डाँडाको छाती चिरेर
टाढा जान हतारोमा निस्केका छङ्छङाउदा छहरा हेर्नोस त
अविराम यात्रामा निस्केका धमिलो/सङ्लो नदी हेर्नोस त
कसरी गाइरहेछन् पानीको गीत ।

हुन्छ, हुन्छ बलेसीमा सुन्दा नि हुन्छ तप्प तप्प
हुन्छ, हुन्छ हिँड्दाहिँड्दै छातामाथि बज्रेका
बिर्बिराउँदा वा जोडदार थोपासँग सुने नि हुन्छ ।

सुन्न त मलाइ टाढाको थुम्कोमाथि बसेर सर्सराएको झरीसँग
पानी गीत सुन्न मन थियो,
अझ आकाशबाट झर्दै गरेको मुसलधारे पानीगीत सुन्ने प्रबल
इच्छा थियो,
झन मलाई त बादलबाटै भुइँमा नझर्दै
दर्कने पानीको गीत सुन्ने मन थियो ।

जे होस पानीको गीत सुनेरै कता कता हराउने रहर अझै छ
जे होस पानीकै गीतमा जीवनको कुनै लय मिलाउने अठोट अझै छ ।
पानीको गीत ।
पानीको गीत ।
पानीको गीत ।
प्रेयसीका हातले धान रोप्दाका छुपुछुपु पानी गीत ।
हिलोमा लठारिएका लाठेहरूका छप्लाङ्छुप्लुङ् पानी गीत ।
तरेली परेका हरिया धान खेतबाट फाल हानेका समाहाको ध्वारारारारारारा पानी गीत ।
मकैका पातै बज्ने गरी बजारिएका थोपैथोपाका पानी गीत ।

मलाई कहिलेकाहीँ मेघमल्हार गाएर पानीपानी हुन मन छ ।
पानीको गतीशीलताको असाध्यै डाहा गर्न मन छ ।
बगिरहने पानीसँग केहि सिक्ने मन छ ।
मन छ ।
मन छ ।
मन छ ।
पानी गीत सुन्ने मन छ ।