Rakesh Karki – Party Bhitra Phoot Chha

राकेश कार्की – पार्टी भित्र फुट छ

पार्टी भित्र फुट छ
पार्टी भित्रै गुट छ

देशको आफ्नै सरकारले
अर्को पार्टीलाई कुट छ

पार्टीमा बस्दिन भन्नेलाई
जबरजस्ती चुट छ

जनताको नाङ्गै खुट्टा
सेना संग बुट छ

शासकले ठोक भन्नासाथ
रिस उठनेलाई भुट छ

स्याहारेको निजी संपति
लुटी खानेलाई लुट छ

नरपिशाच सन्तान देखी
आमाको मन टुट छ

-लस् एन्जेलस्

Rakesh Karki – Bishwas Ka Bihani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – विश्वासका बिहानी (गजल)

विश्वासका हरेक बिहानी छरिदियौ ममा
मुटुका छिद्राहरुमा माया भरिदियौ ममा

एउटा रुकाई जिन्दगीको अन्त्य हैन रैछ
पाइला पाइला खुशी छोड्दै सरिदियौ ममा

नजिक आउँदै ढुक्ढुकीले मेरो मन छुँदै
न्यानो न्यानो पन्ले लुट्पुटिदै झरिदियौ ममा

सुम्सुमाउँदै दु:खाई मेरो आफूमा थापेर
थोपा थोपा लौ मुस्कान बन्दै परिदियौ ममा

उज्यालो देखिँरहेँ जीवनमा तिम्रो प्रिती छायो
रमाई रहेँ रसिलो प्रेम गरिदियौ ममा

– लस् एन्जेलस्

Rakesh Karki – Hamro Bhasha Ra Aadikavi Bhanubhakta

इन्जिनियर राकेश कार्की – हाम्रो भाषा र आदिकवि भानुभक्त

टिष्टा देखि काँगडा अँगाली
सबैले बुझ्ने राष्ट्रभाषा नेपाली
आसाम हुँदै भुटान गुञ्जियो
भानु तिमीले गोडेको भाषा झ्याङियो

नेपाली भाषा र साहित्यमा मिठो स्वाद
धन्य आदिकवि भानु तिम्रो प्रसाद
बनायौ नेपाली भाषालाई शिरको ताज
सरल बोलचालको निम्ति समस्त माँझ

नेपाली भाषाको पक्षमा लडे
भारतको क्षेत्रिय भाषामा पनि पारे
सिक्किम दार्जिलिङ बढ्यो प्यारो भाषा उचाली
साहित्य, स्कुल, कलेज जताततै नेपाली

आफ्नै राष्ट्रमा यो कस्तो दुर्दशा
अबहेलित भयो सबैको साझा भाषा
सर्वोच्च पदमा पनि राष्ट्रिय भाषा नबोल्ने
भारतिय भाषामा सपथ लिन मिल्ने

नेपालको संवेदनसिल अंगमा पसी
उपराष्ट्रपति, उपप्रधानमंत्री मोजले बसी
भारतीय राष्ट्रभाषामा गौरव गर्ने
नेपाली हौ भने किन नेपाली भाषा हर्ने

फुटे हाम्रो भाषा हामी फुटी जाउँला
दुई करोडबाट घटी तीस हजार हौँला
आफ्नोपन हुन्न राष्ट्रियता हुन्न
एउटै देश एउटै रगत पनि हुन्छौँ भिन्न

सानो राष्ट्रमा बिभिन्न भाषा
नेपालीले सबैलाई जोड्ने आशा
भानु तिम्रो बाटोमा हामी सधैँ हिँडौला
सारा संसार तिमीले नेपाली भाषा चिनौला ।।

(आर्टिसिया, लस एन्जेलसमा भानु जयन्ति साहित्यिक गोष्ठीको अवसरमा वाचित कविता)

अस्तु / लस् एन्जेलस्

Rakesh Karki – Jati Jati Para Sarchheyau (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – जति जति पर सर्छयौ (गजल)

जति जति पर सर्रछयौ उति नजिक बसुँला म
जति जति फुक्न खोज्छ्यौ उति उति कसुँला म

घुर्काएर ठुस्कीएर रूँदै जित्न खोज्छ्यौ भने
ति आंशुका थोपा थोपा संग संगै खसुँला म

कति सजिलै भन्छ्यौ नि मेरो माया छैन भनि
थुने पनि छेके पनि त्यो दील भित्र पसुँला म

डराई समाजसंग कुल् घरान खोज्छ्यौ भने
जात पात कुरीतिलाई गोमन बनि डसुँला म

डराउदिन कसैसित तिमीले हात थामे पुग्छ
साथ तिमी दिन्नौ भने भैगो एक्लै फसुँला म

विर्सीभुली कसम बाचा चोखो माया जलाइदिए
अंजुलीमा खरानी लीइ छाती भरी घसुँला म

Rakesh Karki – Rastrako Yojana Fail Bhayo (Nepali Gajal)

राकेश कार्की – राष्ट्रको योजना फेल भयो

नपाउन्जेल चिप्लो तेल भयो
पाएपछि हुप्प फुलेल भयो

देशको शासन जालझेल मात्रै
कानून बिनाको खेल भयो

मान्नेलाई इनाम र बक्सिस
नमान्नेलाई कोर्रा जेल भयो

भोका नाङ्गा दु:खी असाह्यको
आँखामा आँशुको भेल भयो

मुखमा राम राम बगलीमा छुरा
स्वार्थी स्वार्थीको मेल भयो

स्वयंमको योजना बुन्दै थप्दै
राष्ट्रको योजना फेल भयो

– लस् एन्जेलस्

Rakesh Karki – Satta Ma Pugne Sajilo Bato

इन्जिनियर राकेश कार्की – सत्तामा पुग्ने सजिलो बाटो

हाम्रो देश नेपालमा
बम बिष्फोट गराउनेहरु छन्
चोर औँला ठड्याउँदै
शान्ती खल्बलाउनेहरु छन्

कहिले को पड्काउँदै हिँडछन्
कहिले को पड्काउँदै हिँडछन्
तालिम लिएर दक्ष बनेर
देशको अङ्ग पड्काउँदै हिँडछन्

नियम कानून छैन कतै कस्तो
नेपाली निमुखाको सातै गएजस्तो
सत्तामा पुग्ने सजिलो बाटो
भिजिरहेछ नेपाली रगतले माटो

छाति फुलाएर नाक फुलाएर
घट्नाको जिम्मेवारी आफै लिएर
ढेर लगाउँदै हाड र मासुको
बमैले उडाईदिन्छन् दर्द आँशुको

हिजो पडकाउने आज पड्किन्छन्
आज पडकाउने भोली पड्किन्छन्
जन्मिदै जान्छन् पड्काउनेहरु
बदलिँदै जान्छन् शासकहरु ।।

Rakesh Karki – Malai Pani Pad Chahiyo

इन्जिनियर राकेश कार्की – मलाई पनि पद चाहियो

हिजो म्याउँम्याउँ गर्ने त भयो
मलाई पनि पद चाहियो
पदमा बस्नेलाई हुने
खुशीको गद गद चाहियो

तपाईँहरु भन्दा छुट्टै माथी
आसन गर्न मन लाग्यो
माइकमा मुख बंग्याई बंग्याई
भाषण गर्न मन लाग्यो

कुखुराकै संगठन खोलेर भएनी
कुखुरे नेता हुन पाए हुन्थ्यो
तपाईँहरुकै सहयोग र चन्दाले
उडी आकाश छुन पाए हुन्थ्यो

टिकट मात्र किन्दै जानुस
कार्यक्रम हजार ल्याउँला
मंत्री मात्रको के कुरो
मंत्रालय नै यहाँ ल्याउँला

अमेरिकाका नेपाली हाँक्न
मलाई पनि पद चाहियो
दश औँले नमस्ते खाँदा हुने
खुशीको गद गद चाहियो ।।

लस् एन्जेलस्

Rakesh Karki – Bachunjel Ho America

राकेश कार्की – बाँचुन्जेल हो अमेरिका

इन्टरभ्यु दिनेको ताँती
बुढो-बादेखि काखे नाती
भिसा पाउने बल्ल ढुक्क
नपाउने ट्वाल्ल थु’क्क

हातमु’ख जोर्न नसक्नेलाई
थाहै छैन अमेरिका
थाहा हु’नेलाई पनि
रिजेक्ट गर्छ अमेरिका

पढ्न गुन्न नपाउनेलाई
बाटो गाह्रो अमेरिका
पढी भाग्य खु’ल्नेलाई
ब्रेन ड्रेन अमेरिका

मरेपछि स्वर्ग जाने
बाँचु’न्जेल हो अमेरिका
नपाउनेलाई पस्न गाह्रो
पस्नेलाई हो अमेरिका

उकुसमुकुस भा’को मु’टु
अब चल्छ अमेरिका
नबु’झ्नेलाई बु’झ्न गाह्रो
बुझ्नेलाई हो अमेरिका

जन्मनु’ मात्र जीवन हैन
जीवन रैछ अमेरिका
जति गर्यो धेरै दिने
भण्डार रैछ अमेरिका

मानिस यहाँ हराइदिन्छन्
किनकि मन पराइदिन्छन्
ती पौरख हातगोडाले
अर्थतन्त्र फलाइदिन्छन् ।

Rakesh Karki – Dherai Ghumne Kursi Haru

राकेश कार्की – धेरै घुम्ने कुर्सीहरु

धेरै घुम्ने कुर्सीहरु नेतृत्वमा
गुडी रहेछन् देशको अस्तित्वमा
शंकास्पद छन् यहाँ नेताहरु
सुरक्षा खोज्दैछन् जनताहरु

तराईमा पहाडीमुललाई खै संरक्षण
जेलै भित्र आतंककारीलाई आरक्षण
बिदेशीको इशारा अनुसार मात्र चल्ने
नेपाली नदीले बिदेशकै बत्ती बल्ने

रोकटोक अब कतैबाट छैन
घुम्ने कुर्सी मै सुख र चैन
दल दल एकै खाने कुरोमा
एउटै मत विदेश जाने कुरोमा

मंत्री बनाउने कि संविधान बनाउने
व्यक्तिमात्र हैन अब पार्टी नै गन्हाउने
पानी छैन बिजुली छैन महंगीको मार
धेरै घुम्ने कुर्सीहरुको जनतालाई भार

लस् एन्जेलस्

(This poem was sent to Sanjaal Corps via email)

Rakesh Karki – America Aauna Saath (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – अमेरीका आउनासाथ (गजल)

अमेरीका आउनासाथ नै मस्ती कहाँ हुन्छ यहाँ
आउनेलाई था छ कसोरी परिवेशले थुन्छ यहाँ

लोग्ने छोडी आउनु पर्ने स्वास्नी छोडी आउनु पर्ने
बच्चा छोडेर आउनेको मन त कठै रुन्छ यहाँ

यस्तै छ याँ काम माथी काम गोरु जोतीए झैं सधैँ
नेपाल पठाउने डलरलाई रुपैंयाले गुँन्छ यहाँ

गर्न शरम आफ्नो देशमा यहाँ गर्नु पर्ने रैछ
उताको धक्कु र बखान कल्ले पो सुन्छ र यहाँ

थला परेँ ऐया मरेँ बिमा पनि छैन हरे
नेपाली मायालु हातले यसो कल्ले छुन्छ यहाँ

यता देख्छ उता देख्छ जोडाजोडी भा सँगसँगै
आफ्नो मायालु परीवार ल्याउने सपना बुन्छ यहाँ

Rakesh Karki – Fatakka Thakaaidine Raataima Timile (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – फतक्क थकाइदिने रातैमा तिमीले (गजल)

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले

घरी घरी आवेगमा माया बटुलेर
लुकाउने अँगालोको तातैमा तिमीले

घुमाउने ल रमाउने हँसाउने दिनैमा
फतक्क थकाइदिने रातैमा तिमीले

लस् एन्जेलस्

Rakesh Karki – Kaamdaar

इन्जिनियर राकेश कार्की – कामदार

दिउँसो पनि काम राती पनि काम
सुस्ताउँदैन कामदार जून होस् कि घाम
साह्रै थाक्या जस्तो पसिना पुछ्दै
बोल्दैन भन्दैन ब्यथा मन भित्रै

यता गर्छ उता गर्छ फटाफट् फटाफट्
नयाँ काम गर्न तयार हुन्छ झट्पट्
घण्टा घण्टा जोड्दै गर्छ वोभर टाइम
पेनी पेनी बटुल्दै बचाउँछ डाइम

कोही साहुनी कस्ति कोही साहु कस्ता
प्याच्च भनिहाल्छन् एकैछिन बस्दा
सहीदिन्छ कठैबर भइ मरेतुल्य
दशथोपा पसिनाको एकथोपा मूल्य

भविष्यको सपना यही भो बाटो
क्षण क्षण सम्झिन्छ गाउँको माटो
दिन महिना गर्दै बिते कति बर्ष
कामदारको जिन्दगीमा कहिले आउला हर्ष ।।

– लस् एन्जेलस्