Nawaraj Subba – Hami Kata Gairahechhaun

विकास क्रमसँगै मानिस
बाँदर चरित्र मुक्त हुन सके
हामी जंगली मुक्त हुने थियौं
साँच्ची मानव हुनेथ्यौं
सम्मतिका अनेक विन्दु मेटाएर मान्छे
विभाजनका अनेक बहाना खोजिरहन्छ
स्वयं विभाजित हुन्छ अनि छट्पटाइरहन्छ
हेर, न्यानो रगत संचार हुने मुटु ढुकढुकीमा
आज सुनिदैनन् भाइचारा, मानवताका लयहरू
गुन्जिदैनन् किन समुन्नति, ईमानका तालहरू
आज विश्वास गर्दैन मान्छे मान्छेलाई
किन अझै मानवीय मूल्य
अवमूल्यन गर्न खोज्छ मान्छे
घरैघरको जंगल बनाएर मान्छे
बाँदरमा पुनरावृत्ति हुन खोज्छ
विकास क्रमसँगै मानिस
बाँदर चरित्र मुक्त हुन सके
हामी जंगली मुक्त हुने थियौं
साँच्ची मानव हुनेथ्यौं ।

Nawaraj Subba – Prastab

तिम्रो न्यानो छातीमा
बिसाएका मेरा सपनाहरू
वसन्तमा फुल्ने फूलहरू हैनन्
जस्लाई शिशिरले झार्न सकोस्
लालुपाते र बाबरी होइनन् माया
जो वर्षैपिछे टिप्न सकियोस्
वर्षेनी लाग्ने मेलामा धाउन
मायाको गलबन्दी लाउन
दुनियाको नजर लाग्यो मायालु
आऊ ! वर पीपल रोपौं मायाको चौतारीमा
दुईटा ढुङ्गा थपिदिऊँ मायाको द्यौरालीमा ।

Nawaraj Subba – Bidai Ka Haat Sangai

यात्रामा
हिड्दै जाँदा
काटिइसकेका पहाडहरू
एक पल्ट हेरिदिनु
सक्छौ भने
हिँडेका पैतालाका डामहरू
बाटामा छन् भनी संझिदिनु
साथी !
यहाँ यस्तै गोलमाल हुनसक्छ
कतै भीडमा साथी हराउला भन्ने
कतै हतारमा आफै हराइएला भन्ने ।