Nawaraj Subba – Purana Jutta Haru

नवराज सुब्बा – पुराना जुत्ताहरू

आज
मसंग गफ मिल्ने
अर्थात् मलाई बुझने यो घरमा
मेरा यिनै पुराना जुत्ताहरु मात्र
बाँकी रहे अब !

तर यी पुराना जुत्ताहरु
कहिले यो कुना कहिलो त्यो कुनामा राख्छु र मिलाउँछु
कहिले यता सार्छु, कहिले उता सार्छु र थन्क्याउँछु
यिनीहरूलाई राख्ने, थन्क्याउने ठाउँ कतै पुग्दैन
भण्डारमा अरुहरूलाई ठाउँ पुगेको छैन
भर्‍याङको कुना पनि अब यिनको भएन
सबै ठाउँ छोरा, नातिका सुत्ने कोठा,
पढ्ने कोठामा बद्लिएको छ घर
राख्ने ठाउँकुना कतै पुगेन
यी पुराना जुत्ताहरूलाई
अब यो घरमा
काम नलाग्ने थोत्रा राख्न सुहाउँदैन भन्न थालियो
तर यिनलाई फालिहाल्न पनि माया लाग्छ
सम्झन्छु, कुनै बेला यिनै जुत्ता मेरा पाइलाहरू थिए
जसले मेरा दुःख सुखमा साथ दिएका थिए
घामपानी, सफलता, विफलतामा पनि संगै थिए
यही घरमा कुनै समय यिनै जुत्ताहरू
हातले मोल्दै टल्काइन्थ्यो र लगाइन्थ्यो शानले
यात्राको पहिलो र अन्तिम छाप लगाउने यिनै हुन्थे
आज त्यही घरमा
पुराना भएपछि यिनको बस्ने ठाउँ गुमेको छ
सुरक्षित हुने अधिकार पनि खोसिएको छ
अब नसुहाउने भएका छन् रे
यी पुराना जुत्ताहरू
मेरो जीवन जस्तै

फाटेका जुत्ताहरूलाई
आफ्नो वरिपरि राखेर
अन्तिमपटक आज सुम्सुम्याउँदैछु
त्यो जुत्ता म बेहुला हुदा लगाएको जुत्ता हो
उ त्यो चाहिँ बेहुलाको बाबु हुदा लगाएको जुत्ता हो
अनि यो जुत्ता चाहि हजुरबूबा हुदा लगाएको जुत्ता हो
आज एकैठाउँ पोको परेर फाल्न अघि
यी जुत्ता र आफुलाई एकसाथ सुम्सुम्याउँदैछु
फाल्न अघि घोरिन्छु र सुन्छु
जुत्ताहरु एक स्वरमा भनिरहेछन्-
घरको कुनामा बसेर
आफ्नैसित कति गुनाशा गर्र्छौ स्वामी ?
व्यर्थ नखसाऊ आँखाको त्यो पानी
बरु हिँड जाउँ ! कतै
आखिर,
तिम्रो नियति पनि
हाम्रै जस्तो भएको छ
यो घरमा ।

Nawaraj Subba – Chhati : Dui Abhibyakti


सबैको यो छाती भित्र
केही रहर हुनसक्छ
कस्तै हुरी बतासमा पनि
यही छाती भित्रै अँटाई दिनु
सायद यही छातीले नै
हरेक प्रहार छेक्न सक्छ ।


कसैको पीरको तीर
लागेको छ यो छातीमा
फेरि, तिमी को हौ ?
कसैको प्यारो तस्वीर
लुकाएको छु यो छातीमा ।

Nawaraj Subba – Akar Jeevan Ko

सुरक्षित राखिनु पर्छ
जिन्दगी भन्दा पनि
यो जिन्दगीको आकार
जो ठोक्किएर नकुच्चियोस्
जाडोमा नकक्रियोस्
नपग्लियोस् गर्मीमा,
सुरक्षित राखिनु पर्छ
यात्रा भन्दा पनि
गन्तव्य लक्षित आशा
जो वातावरणको रापमा
मौसमझैं Continue reading “Nawaraj Subba – Akar Jeevan Ko”

Nawaraj Subba – Prem Sambandhi Chhota Kavita Haru


एउटा तारा हो
टाढा भए शीतल
र नजिक भए गर्मी दिन्छ ।


देउताहरू स्वर्ग जाँदा
छाडेको एउटा नासो ।


सुनको जलप लगाएको
बन्धकी राखिएको
एक पित्तले औंठी ।


फूल जो आफू अनि
अरु पनि जन्मिएको
अनुभव गर्दछ ।


हृदय
जो न्याउलीझैं बास्छ
र झरनाझै बग्छ ।


त्यो वस्तु
जो उमेरले चिनाउँछ
अनि एकान्त मन पराउँछ ।


एउटा देउराली
कसैले टेक्छन्
कसैले ढोग्छन् ।


चलचित्रमा अनुमान गरिएझैं
उही दोहोरिने कथा ।


यताबाट हेरे बादल
उताबाट हेरे इन्द्रेनी
यो घामपानीको खेल ।

Nawaraj Subba – Jagriti Ka Parewa Haru

आजकल जागृतिहरू रोगाएर
दरिद्रता, अज्ञानता र असन्तोषको अँध्यारोमा
समस्यैसमस्याको गन्धमा सास फेर्दै
मनभित्र सुटुक्क लुकिरहेछन्
कुष्ठरोगग्रस्त चेतनाहरू
जो कुहिन लागिरहेछन्
कुरुप हुन लागेका छन्
यी हाम्रा Continue reading “Nawaraj Subba – Jagriti Ka Parewa Haru”

Nawaraj Subba – Bachan

यहाँ फूल बर्सन्छन्
ढुङ्गा अनि तीर बर्सन्छन्
मान्छे मान्छेका मुखबाट
त्यसैले
लाग्नु अघि छेक्ने
लागे सेक्ने
केही हैन आफ्नै मन हो
ढालले नछेक्ने छाती मै ठोक्किने
अरु हैन त्यो कसैको वचन हो ।

Nawaraj Subba – Tyo Birkhe

आफ्नै दाजुभाइबाट
सुकुम्बासिएपछि
यो बिर्खे
जसलाई जहाँ भेट्छ
आफ्नो कथा सुनाउने गर्छ
आफ्नो ब्यथा सुनाई हिड्ने गर्छ
आफ्नै भाइले घरबाट निकाले पछि
धनीपूर्जा देखाउँदै न्याय माग्छ
“बाबु म कहाँ न्याय पाउँछु Continue reading “Nawaraj Subba – Tyo Birkhe”

Nawaraj Subba – Yatra

समयको गतिशील प्रवाहजस्तो
गति छ कि छैन तिम्रो जीवनमा
हेर यो यात्रा हो,
एक दिन डार्विन कुर्लिएझैं
यो प्रतियोगिता हो जीवनको
जीवन हार र जीत हो
रात र दिनजस्तै
कोही हिड्दाहिड्दै हराएका छन् यहाँ
कोही खोज्दाखोज्दै हराएका छन्
जीवन दाउपेच र राजनीति गर्छ
निर्धक्क नहुनु समयसित
जो कोही लुछिन र लुटिन सक्छ
अलिखित इतिहासको पात्रझैं
बेहिसाव धुलोमा मेटिन सक्छ,
ल ट्वाल्ल नहेर छक्क नपर
यो चौबाटोमा सालिकझैं
आशाका किरण भर आँखामा
अनि साहस भर्नुपर्छ मुटुमा
तयार होऊ यो यात्रा हो ।

Nawaraj Subba – Baa Ama Ko Sapana

धेरै भयो
गाउँघरका सपना
बन्धकी राखी
उत्साही युवाहरू
सिर्जनाका कलम तिखार्न
सहर पसेका,
खुशी र सुखका दिन लिएर
चाँडै फर्कने भन्दै
बाचा गरी
बाआमासित विदा भएका ।
बाआमा कुरिरहेछन्
खोला सुसाइरहेछ
गाउँ अनिदो छ
खेत बाँझै छ
अभाव र अनिकालले पिरोलिरहेछ
छाना छाउने बा बूढा भए
हिड्ने बाटो कालो झारले ढाक्यो
चिठी लेखिदिने सम्म छैनन् गाउँमा ।
कसैले भनिदिए हुन्थ्यो
कसैले फर्काईदिए हुन्थ्यो
ती छोराहरूलाई
तिम्रा बाचा पर्खने बाआमा
साहुका रिनमा डुबे भनेर
बन्धकी परेका सपना
लिलाम हुन लाग्यो भनेर ।

Nawaraj Subba – Bal Bahadur Ko Katha

नवराज सुब्बा – बलबहादुरको कथा

यतिञ्जेलसम्म
बलबहादुरले आफ्नो अनुहार
राम्ररी नियाल्न भ्याएको छैन
नागरिकता बनाउँदा एकदिन
फोटो खिच्ने बेलामा एकछिन
ऐनामा आफूलाई चियायो र मुसुक्क हाँस्यो
अर्कोपटक बहिखातामा Continue reading “Nawaraj Subba – Bal Bahadur Ko Katha”

Nawaraj Subba – Yo Sadak Kasko ho?

नवराज सुब्बा – यो सडक कसको हो ?
(मधुपर्क बैशाख, २०६७)

अपहरित यो सडकमा
पहिलो कुरो त
गुड्नलाई पेट्रोल छैन
छैन इन्धन गाडीमा, छैन कहिले पेटमा
कहिलेसडकजाम छ, कहिले चक्काजाम
यस्तै खाल्डाखुल्टी छन् सडक र छातीमा

अरुसित कहिले आफैसित छेलिएर
अनगिन्ति खाडलहरू छिचोल्दै हिँड्नु छ यात्रामा
आइपुगियो आज यहाँ
सायद पर्खदै होलान् कसैले मलाई कतै
मुख्य कुरो भोक निभाउनु छ घरको
अनि धेरैको आँखा लागेको यो स्वतन्त्रताको यौवन
बचाइ हिँड्नुको पीडा सुनाउनु छ सबैलाई
आज अचानक म र मेरो घरबीच बाटोमा
कˆर्यूको फणा फिँजाएर निर्लज्ज बसेको
यो सडक कसको हो ?

जीवनलाई सडक बनाएरै हिँडियो यतिन्जेल
तर गन्तव्य सर्दै गयो क्षितिजसँगै परपर
यो यात्रा, पङ्चर टाल्दै जानुपर्ने चक्का अनि
घरिघरि बन्द भइरहने इञ्जिन चलाएर
घिसार्दैछु म यता जीवन
टायरको धूँवामा निस्सासिएका आशा निल्दै
सिकारीझैं यात्री ढुकेर बसेको छ उता सडक
जो अमिलो, अपच, सन्त्रासका फाल्साहरू
बाटाभरि छताछुल्ल बमन गरेर
बेमौसम लम्पसार छ आज
जहाँ यात्रीले बिना अपराध
जरिबाना तिर्दै हिँड्नु छ
म त साँच्चै अल्मलिए
यसरी मन माड्दै हिड्ने
यो सडक कसको हो ?
मनहरू भाँड्दै हिड्ने
यो सडक कसको हो ?

Nawaraj Subba – Ma Naharayeko Suchana

कसैलाई कहीँ पर्खाएर
म यहाँ यसै अल्मलिइरहेछु
वाध्यताको झरीमा रुझिरहेछु
खुट्टा थाकेका छैनन्
ईच्छा मरेका छैनन्
यात्रा टुङ्गेको छैन
कुहिरो नहटुन्जेल
आफैमा ओत लागेको छु
सम्झ झाडी पन्छाउदैछु
गोरेटो Continue reading “Nawaraj Subba – Ma Naharayeko Suchana”

Nawaraj Subba – Yo Kasto Badhyata

मौसम न हो
झरी धेरै परे पनि डराउनु पर्छ,
बगाई न हो
नदीले आफै लगाएको साँध पनि
कुल्ची बग्ने गर्छ,
तर किन दुई मन मिलेर बाँधेको बाँध
जस्तोसुकै आँसुको भेलमा पनि
एक्लै सम्हाल्नु पर्छ
आफै सम्हाल्नु पर्छ Continue reading “Nawaraj Subba – Yo Kasto Badhyata”

Nawaraj Subba – Ke Yo Kurukschetra Ho

नवराज सुब्बा – के यो कुरुक्षेत्र हो

जताततै
मुकुन्डामा छेलिएर मान्छे
मान्छेलाई नै तर्साइरहेछन्
आपसमा तीर, पीर सबै बर्साइरहेछ
अनगिन्ती निसानाबाट जोगिँदै
कताकता भागौँ म ?
डसिँदै कहाँकहाँ लखेटिऔँ म ?
चिन्दिनँ खै ! को मान्छे ? को हो !
केवल मुकुन्डै–मुकुन्डा मात्र छन् !
खै ! देखिन्न
मुकुन्डाभित्र कोही
हाँसेको छ कि रिसाएको छ
पढ्नै सकिन्न
मुकुन्डामा छोपिएर कोही
बोल्दैछ कि बर्बराउँदैछ
सबै मुकुन्डोधारीहरू
साना प्वालबाट दुनियाँलाई
नियाल्छन् र प्रहार गर्छन्
लाखे नाचेको भन्दै
दुनियाँ तर्साइरहन्छन् ।
ओहो !
कत्रो छलछाम रहेछ
यो अभिनयमा
कति बेइमानी रहेछ
यो युद्धमा
जसले जति राम्रो
मुकुन्डो भिर्‍यो
जित उसैको हुँदोरहेछ
जसले मुकुन्डो
जति धेरै लगायो
युद्ध उसैले जित्दोरहेछ ।
अचम्म !
मुकुन्डाका ती साना प्वालबाट
मान्छे चिथोर्न गजब हुँदोरहेछ
मुकुन्डाको आडमा लुकेर
भुक्न अझ मजा आउँदोरहेछ
यसरी आफूखुसी डस्न मात्र हैन
मुकुन्डो लगाएपछि त
नाङ्गिएर मच्चीमच्ची नाच्न पनि मिल्दोरहेछ ।
यसैले होला
मान्छे प्रायः
मुकुन्डो भिर्ने गर्छन्
युद्धको नियम मिच्दै
छेलिँदै प्रहार गर्छन्
सायद

अघोषित युद्धमा धकेलिएको छु
बच्नलाई अर्थात् बाँच्नलाई नै
मुकुन्डाबाट लखेटिएको छु ।

Nawaraj Subba – Jeevan Ko Mulya

मर्नु भन्दा बाँच्न गाह«ो भो
यो के भन्छौ तिमी
धत्, किन रुन्छौ सम्झेर सबै
हाँस, सबथोक बिर्सेर हाँस
छैन काम यी आँखाको ।
नसँुघ सुवासहरू
केवल सास फेर
डाक्टरद्वारा मृत घोषित
नभएसम्म ढुक्क
शीतनिद्रामा आराम गर
बिर्को बन्द गरेर चेतनाको
चिम्म गर आँखा र शान्त होउ
मृत घोषित नभएसम्म
सम्झ जीवित छौ ढुक्क होऊ
बस् यसैमा गर्व गर
धत्, किन रुन्छौ सम्झेर सबै
हाँस, सबथोक बिर्सेर हाँस
छैन काम यी आँखाको ।

Nawaraj Subba – Shabda Haru

समान रुपमा
हामीले बोल्ने बुझ्ने भाषा
अनि एउटै अर्थ लाग्ने शब्दहरू
जब माकुराहरू जाल बुन्छन्
ब्याकरण र शास्त्र कोर्छन् पंडितहरू
तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्
काखा पाखा लगाइन्छन् अर्थहरू
उभ्याइन्छन् भेदभावका पर्खालहरू
बन्दी बनाइन्छ शब्दावली
निर्वश्त्र चुटिन्छन्
छानी छानी शब्दहरू
न्याय नपाई शब्दहरू
सडक पाखा भौंतारिन्छन् ।
चपाइएका शब्दहरू
धरातलबाट धकेलिएका शब्दहरू
कविता, गीत र सडकमा
अटाई नअटाई ओइरिरहेछन्
संगीत र धूनमा पछारिएका छन्
मसीमा रुपान्तरित भएर
शब्दहरू पाना खोजिरहेका छन्
रगतमा अनुवाद भएर शब्दहरू
जीवन खोजिरहेछन्
शब्दहरू
खोसिएका अर्थ खोजिरहेछन्
जीवन खोजिरहेछन् ।

Nawaraj Subba – Satyam Shivam Sundaram

नवराज सुब्बा – सत्यम् शिवम् शुन्दरम्!

हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल
कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरुको बीचमा
लुकेर बसेको
सुवासलाई सुटुक्क सोधें
यो भन्दा सुन्दर
कहिल्यै नओइलिने फूल
छ मसंग
जाउँ त्यहीँ ढुक्कले बसौं
ऊ मानेन पटक्कै मानेन
पक्रन खोजें तर
नओइलिने फूलमा
कहिल्यै बस्दिन म भन्दै
मेरो हात झड्कालेर
मनै दुख्नेगरि
उ टाढा गयो
यी फूलका पत्रदलमा या
असल मानिसको देहमा
सुगन्ध अर्थात् प्राण
अन्ततः बास बसेनन्
सत्यम् शिवम् शुन्दरम् !

Nawaraj Subba – Pardeshi Ko Sapana

मनमा बिछ्याएर
उनेका मायाका पोतेहरू
तिम्रो गलामा बिसाएर
तिमीसँग बिदा माग्दा
धेरै बेर रोएथ्यौ तिमीे सपनीमा
अहिले ब्यूँझेर हेर्दा पो देखें
तिमीले मेरो छातीमा झारेका आँसुहरू
मेरै सिरानीमा झरेछन्
यस्तो लाग्यो
नौ डाँडापारिकी मायाले
आज मलाई बल्ल संझिछिन् ।

Nawaraj Subba – Dubo

बगरको छातीमा
जन्मैदेखि म दूबो
रहर समाइ
लम्किरहेकै बेला
नाता नटुर्टाई माटोसँग
शून्यताविरुद्ध
शिर उठाइरहेकै बेला
उज्यालोको तिर्खामा
आकाशतिर चियाइरहेको बेला
कसैका निर्मोही हातले मलाई
टपक्कै टिपे
सुम्सुम्याएझैँ गरी
निर्दोष गाला चिमोटे
टाँसिएका माया मेरा
माटो टक्टक्याउँदै जराहरू पिटे
साँच्चै उनीहरूले मलाई हिजो
पैतालाले कुल्चे र गला निमोठे
अझ यतिले नपुगेर
उँधोतिर बगाएर मलाई
उँभोतिर खोजिटोपले
साइत तिथि समय बद्लियो
क्या अचम्म !
उनीहरूले मलाई साँच्चै उँभोतिरै भेटे
घरको मूल ढोकैमाथि देखे
अनि स्वयम्बरमा दुनियाँले मलाई
मायालु मन जित्नेलाई भनेर मालामा उने
बेहुलीका सिङ्गो वरमालामा गाँसे
अन्ततः उनीहरूले मलाई आज
बेहुलाको गर्विलो छातीमा हाँसेको देखे ।

Nawaraj Subba – Diyo Ra Putali

यो दियोमा
खोजेको उज्यालो
रोजेको आस्था
यंही हो भनेर
झुम्मिएर डढेका
हजारौं पुतलीहरूको लास
दियोको वरिपरि देख्छु
भावनाका पखेटा जलेका
कतै चाहनाका खुट्टा बलेका
आस्थारुपी शरीर
खरानी भएका अवशेष
म मेरै पूजा कोठामा पाउँछु
उज्यालो खातिर जल्ने पुतली
सुगन्धका लागि जल्ने अगरबत्तीका
बाँकी रहेका गन्धहीन खरानी
मेरो पूजाकोठामा छन्,
स्वभाविक रुपमा
पूजाकोठा सफा गर्दागर्दै
मेरो र पुतलीको नियति
उस्तै पाएँ
अचानक
आज मैले मेरै दर्शन पाएँ
म स्वयं
पुतलीको चोलामा छु ।