नारायण तिवारी – मैले डि.भि. भरिन
जसले जति उचाले पनि
मैले मन गरिन
यसपल्ट पनि मैले डि.भि. भरिन ।
सोचेँ –
विदेशमा यस्तो घाम होला ?
जे भए पनि
जस्तो भए पनि
जत्रो भए पनि
मेरो आफ्नै नाम होला ?
सोचेँ –
बरु संझिँदै स्वदेशको माटो
मन रोला…..
बन्न नसकेका अनगिन्ती कठिन जीवनको बाटो
केटाकेटीमा हिंडेको , उफ्रेको
साथीसङ्गीहरू…….
मेरो प्यारो ट्याङ्ग्रा खोला
खोलाको बाढी !
सोचेँ –
सबथोक संझिँदै फेरि यो मन रोला
के अमेरिकाको वैभवले मेरो नेपाली हृदयलाई
थुम्थुम्याउनेगरी छोला…?
सोचेँ –
किमार्थ सक्तैन
अमेरिकी सुगन्धले मेरो दुर्घन्दितै भए पनि
माटो बिस्र्याउन सक्तैन
त्यसैले जसले जति उचाले पनि
मैले मन गरिन
यसपल्ट पनि मैले डि.भि. भरिन ।
पढेको छु –
अमेरिकामा बसेका राजवका हृदयबाट प्रस्फुटित
आफ्नै माटोका सुवासनाहरू
कति राजवहरू
कति रंजिताहरू
धेरै कलममा , यहाँकै पारिलो घाम खोज्छन्
के म भेटुँला त्यहाँ डलरमा खुसी ?
चटक्क छाडेर आफ्नो माटो , आफ्नो बाटो
के म हाँसुला सम्पन्नतामा रुझी…?
सोचेँ –
जहाँ खेलें , जहाँ हुर्कें
जहाँ रोएँ , जहाँ हाँस्न सिकेँ
के त्यस्तो कुनै धाम होला ?
विदेशमा सबथोक होला ,
भौतिक सम्पन्नताले जीवनलाई पाइलै पिच्छे छोला
तर याद आउला आफ्नो माटो
इष्टमित्र , साथीसङ्गी
विताएका दिनरात
अनि रुनु सिवाय के गरूँला ?
आफ्नै हिमाल ,
आफ्नै नेपाल संझिँदै धुरूधुरू रुनु सिवाय
अरू के गरूँला ?
विदेशी नागरिकता गोजीमा घुसारेर
दंग परूँला ?
अहँ सक्तिन , अर्काको माटोलाई
जति डलर घोप्ट्याइदिए पनि आफ्नो भन्न
सक्तिन !
सोचेँ –
पराधिन घामले
डलरको जति खोलै बगाए पनि पोल्ला
आफ्नो घामले पोले पनि ,
हृदय ‘उफ्’ नबोल्ला
त्यसैले जसले जति उचाले पनि
मैले मन गरिन
यसपल्ट पनि मैले डि.भि. भरिन…. ।