Gopal Kawali – Mero Aradhya Tan Ta

मेरो आराध्य तँ त,
साँझै पिच्छे शंख घन्ट बजाए संगै
जल आहुति दिन चुकाएको थियिंन
नैबेधको कमि महसुस गराएको थियिंन
जपहरु, ध्यानहरु बिराएको थियिंन
रगत सुकाउने खडेरी होस्
अथवा, मुटु थर्काउने ठिही होस्
चप्परी उक्काउँदै आफ्नै मन जोत्दा
तलाईं खोकिलामा आसन दिएकै थिएँ
समाजका छाती भित्रका
नफुटेका डल्लाहरू,नमिलेका आँतरहरु,
बिहान सूर्यलाई अर्घ दिए संगै
सम्याउने सल्लाह गरि, संगै सुतेका हामी
मैले दत्तिवन नगर्दै तैंले खोलो तरिस
तँ कस्तो भगवान होस् त?
सानु सुकुल बोकेर,
जब म सम्मोहन बिद्या सिक्न कुटीतिर धाउँछु
मलाई संसार सम्याउनु छ
उता तँ,
बिकर्सणका विकिरणको श्रीस्टि गर्छस
मेरो संसार जलाउन चाहन्छ्स
तेरा र मेरा मस्तिस्कका घर्षणले
मनुआत्मा मा उठेका ज्वार भाटा, अनि
नास्तिकबादका आगलागीहरु
अब कुनै बारुण यन्त्रका बसमा छैनन्
जीवनका नाटकमा तेरो संगतले
जब म राम बन्न खोज्छु
तँ रावणको भूमिका निर्वाह गर्छस
कमसेकम बिभिषण बन्न सक्थिस नि
श्वास धान्ने नित्य दैनिकीमा
तेरो अपरिहार्यता आँक्दै
जब म कृष्ण बन्न खोज्छु
तँ संधै कंश भएर उभिन्छस
कमसेकम सुदामा बन्न सक्थिस नि
ठिकै छ, तँ तिघ्रामै ताली बजा
तँलाई यो हात चाहिंदैन भने
ठिकै छ तँ एकान्तमै लिला देखा
तँलाई मान्छेको साथ चाहिंदैन भने!!!

जुलियन,अफगान,१७/१२/१२

Gopal Kawali – Hami Dui Mili Khelna Lai

गोपाल कवाली – हामी दुइ मिलि खेल्न लाई

हामी दुइ मिलि खेल्न लाई जान्थौँ पूर्व छ कट्ठामा
लुकिडुम खेल्दा म जित्थें सधै उ जित्थी गटटामा

कहिले काहीं म नि गाई हेर्न जान्थें रुद्रेको सट्टामा
चोरेर ल्याउथि उ धुले अचार हर्लिस को बट्टामा

सुन्बर्सी थान दुध लियी जन्थौँ बैसाखे मेलामा
जेरी र बरफ किनेर खान्थौँ फर्किने बेलामा

जिस्केर मैले केहि भने भने तरक्क रोइ दिन्थी
रिसाई फेरी झर्केर मलाई लाटीको पोइ भन्थी

टाडाको स्कूल बाटो थ्यो लामो गफमै काटिनथियो
मयुरको प्वाख लुकाई भित्र नोट कपि साटिनथियो

यस्ता थिए पल बालक कालका कहाँ गए बिलाई?
सम्झेर ल्याउछु हुर्केको मेरो सुनौलो “भेलाही”

Gopal Kawali – Kasaika Bhawana Haru Sanga Nakhelnu

गोपाल कवाली – कसैका भावानाहरुसंग नखेल्नु

कसैका भावानाहरुसंग नखेल्नु बुद्दिमानहरुले
यो त सारै कमलो पो त हुन्छ
प्वाल परे पुरिंदैन
चर्किए जोडिदैन
तिखा बचनहरु अदृस्य बाणहरु हुन्
यसको चोट अदृस्य नै हुन्छ
सिरुपाते खुकुरीले भन्दा गहिरो डाहा दिन्छ
कता हो कता भित्र गहिराहिमा
सम्झिए बल्झिन्छ, थुम्थुम्याए पिलिन्छ
समयान्तर संगै केहि वईलिए पनि
झस्किंदै पिच्छे चस्किंदै बौरिन्छ
भलो गर्न सकिंदैन कसैको भने
कुभलो सोच्ने पनि अधिकार हुन्न
गुण लगाउन सकिन्न कसैलाई भने
अपजस दिन पनि उपयुक्त हुन्न
पन्च-तत्वको चलायमान मुर्ति भित्र
संवेग र सम्बेदना अत्यन्तै नाजुक तत्वहरु हुन्
झुर्रिएको सिसा बरु कृत्रिम रुपमा जोडिएला
चोईटिएको हड्डी बरु पुरानै रुपमा मोडिएला
तर मन…………………………?
यो त टुटे पछि टुट्यो टुट्यो
यो त दुखे पछि दुख्यो दुख्यो
यो त मरे पछि मर्यो मर्यो!!!

जुलियन,अफगान,२२/१२/१२

Gopal Kawali – Shunya Sanga Shunya Jode

शुन्य संग शुन्य जोडे, गुणन गरे शुन्य हुन्छ
ध्रुब सत्य त्यसै होला, मान्य उत्तर शुन्य हुन्छ

छैन केहि तर पनि,केहि छ कि आफ्नो जस्तो
हर सम्भव प्रयत्न छ ,आखिर प्राप्ति शुन्य हुन्छ

हातै भरि ठेला उठाई,पैतालामा खिल पल्टाई
नखाई नखाई कर्म गर्यो,चाख्ने फल शुन्य हुन्छ

आँखा चिम्म कान बन्द,अवाज सबै बन्द नै छन्
सन्नाटाको सपनामा,हात लाग्यो शुन्य हुन्छ

यता तान्यो उता तान्यो, आफ्ना आफ्ना डोहोरा छन्
कुनै दिन डोरा छिन्छन्,आफु संग शुन्य हुन्छ

तेरो मेरो उस्को तेस्को,सरासरि धोखा रै छ
आए जसै जानु पर्ने,लाने ल्याउने शुन्य हुन्छ

संधै नजिक नजिक भन्यो,आशपाश डुल्न खोज्यो
चिता जल्छ खरानी भै,श्मसान नै शुन्य हुन्छ!!!

अफगानिस्तान,३०/०१/२०१३

Gopal Kawali – Hiun Le Bhijai Anga

गोपाल कवाली – हिउँले भिजाई अंग

हिउँले भिजाई अंग, बाल खोल्दै बोलाई रह्यौ
जानी जानी हात तानी, मात घोल्दै बोलाई रह्यौ

चिस्यान यस्तो बरफमाथि, आगो जम्छ घरि घरि
छिन्केर बैंशको आँटो,रस मोल्दै बोलाई रह्यौ

पारिजात छरेर आँगन, सेताम्मे फूल मन्जरी
सोड़षी तरुनी जस्तो, पलक डोल्दै बोलाई रह्यौ

रुखका पात छन् सेता, यत्र तत्र सफेद छ
बर्फिलो अँगेनो भित्र, रुप पोल्दै बोलाई रह्यौ

‘जुलियन’ यसरि मस्त, मग्न पार्ने जवानहरु
स्वाश रोक्दै ओठ टोक्दै,प्याट्ट चल्दै बोलाई रह्यौ

घाँटी सुकी छाती दुखि, ज्वरो आई लडे पनि
फुराएर लसुन-मेथी, तेल दल्दै बोलाई रह्यौ

अफगानिस्तान,२५/०१/२०१३

Gopal Kawali – Basantapure Balak

गोपाल कवाली – बसन्तपुरे बालक

मलाई थाहा छ अंकल ‘प्रजातन्त्र’
पोहोर परारै आएको थियो नि?
कताबाट आयो त्यो चाहिं थाहा छैन
त्यो आयो भने फेरि राँगाको मासु खान पाइन्छ
उ माथि जात्रे घुम्तीमा काटछन् र बाँडछन् धुरी भाग
हाम्रो बा ले ल्याउँछन्, परार जस्तै
फेरि पनि आए हुने थियो नि अंकल!
मलाई बाल अधिकार पनि थाहा छ अंकल
आमा बिरामी परेको बेला,
भान्सा देखि लिएर गोठ सम्म मैले गर्नु पर्छ
बा ले नभ्याएका बेला,
आफु भन्दा ठुलो कोदालो लिएर
छिमेकीको पर्म तिर्न जानु पर्छ
बिहान भरि दाजुले बारी जोत्दा
मैले हलो पछि पछि…..
कहिले डल्ला फोर्नु पर्छ
कहिले झार केलाउनु पर्छ
फेरि कहिले हलोका सियो भरि मकै रोप्नु पर्छ
यहि त हो नि बाल अधिकार, हैन र अंकल?
मेरो काम म आफैं ले गर्नु पर्ने मेरो अधिकार हो नि?
आमा बा मेलामा हुँदा,
सानी बहिनि हेर्ने,कुखुराका चल्ला कुर्ने
बाख्रा सार्ने, सुँगुरलाई चारो दिने
यी सबै मेरा अधिकार हुन् नि अंकल?
म संग झोला छ अंकल किताब छैनन्
स्कूल जाने रहर छ तर अवस्था छैन
हेर्नु न अंकल म अहिले पनि उ माथि जंगलमा,
बाख्रालाई डाले घाँस लिन हिंडेको
यो मेरै निजि डोको बोकेर….
यो डोको बोकेको यौटा फोटो खिचिदिनिहोस न अंकल!
अँ अनि आर्को कुरा क्या अंकल………
म जंगल गएको बेला प्रजातन्त्र सुटुक्क आयो भने?
एकछिन पर्खि भन्दिनु है,
मैले सुनेको छु…..
प्रजातन्त्रले हामी बाल बालिकाका अधिकारहरु सुनिस्चित गर्छ अरे
मलाई धेरै कुरा सोध्न मन छ उसलाई
मलाई पढेर ठुलो मान्छे बन्न मन छ
बैनीलाई नर्स बनउने धोको छ
बा आमालाई सुख दिने सपना छ
ल अंकल?त्यसलाई भन्नुहोस है अंकल?

जुलियन,अफगान,२१/१२/१२

Gopal Kawali – Feri Yo Magh

फेरि यो माघ,
दाँत बजाउँदै,शरीर कमाउँदै…
च्यातिएका शीरकहरु बाट चिहाउन आयो
उद्रिएका छानाहरु बाट रसाउन आयो
बतानुकुलित यन्त्र जडित महल भित्र
यो खबर हाँसो हुन सक्ला
न्यानो हन्जु किन्न भनि,
कुन गरिबले Continue reading “Gopal Kawali – Feri Yo Magh”

Gopal Kawali – Katai Thakan Badhyo Bhane

गोपाल कवाली – कतै थकान बढ्यो भने

कतै थकान बढ्यो भने,काखमा शिर बिसाउ है त
फेरि गल्ति गरें भने,शुरुआतमै नै रिसाउ है त

आफ्नो मान्छे मान्छ्यौ र त, आफ्नै जस्तै गर्छु म नि
चल्न खेल्न नजानेमा, आफ्नै हातले Continue reading “Gopal Kawali – Katai Thakan Badhyo Bhane”

Gopal Kawali – Prithivi Ka Bhaye Jastai

गोपाल कवाली – पृथिबीका भए जस्तै

पृथिबीका भए जस्तै, तिम्रा पनि तह छन् कि?
ज्वालामुखी उम्ले जस्ता, ताजा ताता बह छन् कि?

कोहि खोज कतै पोख,गुम्सिएका लाभाहरु
सागर भन्दा ठुला गहिरा,सेलाउने दह छन् कि?

छद्म रुपमा पछि लाग्छन,झुठो मुद्दा लाग्न सक्छ
भाला रोप्दा नरसाउने,कठोर ज्याद्रा गह छन् कि?

अथाह यो ब्रह्माण्डमा, ईच्छा भिन्न अनन्त छन्
सामान्यमा पृथक प्रवल,बिशाल कुनै चाह छन् कि ?

कर्म तिम्रो फल तिम्लाई,भोग भाग्य आफ्नो-आफ्नो
निरश विगतले पोल्ने,लुकाएका डाह छन् कि ?

आज भन्छु भोलि भन्छु, भाका सर्दो भयो सदा
आज सम्म नकहेका,बातै भरि सह छन् कि?

अफगानिस्तान,२६/०१/२०१३

Gopal Kawali – Yi Budha Lai Eutai Kura

गोपाल कवाली – यी बुढालाई यौटै कुरा

यी बुढालाई यौटै कुरा, कति चोटी रेट्नु पर्ने
कामै थेन डिट्ठालाई, एकान्तमा भेट्नु पर्ने

गोरु फुक्यो खलो पस्यो, हर्काई दिए भै त गयो
अर्मल तिराई दण्ड गराई, के को रिस मेट्नु पर्ने

छिमेकमा मिल्नु पर्छ,अर्म पर्म बराबरी
खुईलिएका कुरा झिकी,किन दाईं छिट्नु पर्ने

सुन काका फूल फुलेसी,भमरा त घुम्छ घुम्छ
यसमा के छ ईख राखी, डंका झ्याली पिट्नुपर्ने

घरमा छोरी तरुनी छे,लाउके आँखा लाउँदा होलान
सबै घर यस्तै हुन्छ, तिम्ले किन जित्नु पर्ने

सर्मिला नि कम्ति छैन,सोडा हाल्न सिपालु छे
बरु यसो कुरो बुझी,गाउँमा लमी फिट्नु पर्ने

अफगानिस्तान,२८/०१/२०१३

Gopal Kawali – Anta Maya Lako Chhaina

गोपाल कवाली – अन्त माया लाको छैन

अन्त माया लाको छैन
कसैकामा धाको छैन
मलाई मेरै गठेरिको साथ प्यारो,
सिमा नाघी लम्काएको हात प्यारो,
बेहोशीमा बोकाएको लात प्यारो!

नशा चडाई बोल्या हैन
कतै खाता खोल्या छैन
मलाई मेरै ललौरिको बात प्यारो,
सिमा नाघी लम्काएको हात प्यारो,
बेहोशीमा बोकाएको लात प्यारो!

फकाउने धेरै आए
एकतर्फी प्रित लाए
मलाई मेरै बुथुरीको मात प्यारो,
सिमा नाघी लम्काएको हात प्यारो,
बेहोशीमा बोकाएको लात प्यारो!

हजार आँखा हत्ते गर्छन
मुटु शेरी मर्छु भन्छन
मलाई मेरै फुरौलिको जात प्यारो,
सिमा नाघी लम्काएको हात प्यारो,
बेहोशीमा बोकाएको लात प्यारो!

मन कतै मोड्या छैन
आफ्नो बाटो छोड्या छैन
मलाई मेरै नक्कलीको रात प्यारो,
सिमा नाघी लम्काएको हात प्यारो,
बेहोशीमा बोकाएको लात प्यारो!

जुलियन,अफगान,२६/१२/१२

Gopal Kawali – Bhagya Ni Yatti Ko Ho

भाग्य नि यत्तिको हो र,ठाडो शिर तलै नुग्यो
चाईंदैन चेपारे बोलि, गालि खाएँ भयो पुग्यो

अक्षता पाती र चामल, फुकेँ फ्याकें नराम्रो भो
न गाडें शान्तिको झण्डा, डण्डा खाएँ भयो पुग्यो

बर्ष दिन शनिको चक्र,उल्का छ भामरि पनि
पर्दैन ग्रहको जाप,श्राप पाएँ भयो पुग्यो

हातका रेखा छन् उल्टा,चिना टिपन अकाट्य छ
परेन प्यारको ढर्रा,छर्रा खाएँ भयो पुग्यो

बर्तमान खोच्च्याई हिड्छ, बिगत रुन्छ धुरु धुरु
नगर भोलिका बात,बाँच्न पाएँ भयो पुग्यो!!!

अफगानिस्तान,३१/०१/२०१३

Gopal Kawali – Nagarkot Ko Resort Bhitra

गोपाल कवाली – नगरकोट को रिसोर्ट भित्र

नगरकोट को रिसोर्ट भित्र, बन्द सेसन पुरा गर्यौ
भोलि पल्ट टुंडिखेलमा, क्यापे क्यापे कुरा गर्यौ

सहमति नजिक थियो, केहि बुँदा माझ्नु थिए
एकाबिहानै ‘सोल्टी’ भित्र, झ्यापे झ्यापे कुरा गर्यौ

देस हाम्रो मुद्दा हाम्रा, उत्तर-दक्षिण किन सोध्नु
अनि साँझ ‘डिस्को थेक’ मा, र्यापे र्यापे कुरा गर्यौ

गणतन्त्र नया नेपाल, जहाँ यूवा कुर्लंदै छन्
त्यहि भिड भित्र पसी,ट्यापे ट्यापे कुरा गर्यौ

कति गम्भीर कति नाजुक,संबेदनको प्रश्न थियो
खेलाँचीमै उडाएर,आँपे आँपे कुरा गर्यौ!!!

अफगानिस्तान,२९/०१/२०१३

Gopal Kawali – Lekha Ta Pemba Appa Lai

गोपाल कवाली – लेख त पेम्बा आप्पालाई

लेख त पेम्बा आप्पालाई,यादले सार्हो पार्यो भन्दे
साँझै बिहान उलुक उलुक, बाडुलिले मार्यो भन्दे

जिम्बु सुठो बेच्न गाको, वर्ष दिन भो पत्तो छैन
मिङ्ग्माले नि भेड़ी गोठ,बेंसी तिर झार्यो भन्दे

स्याउका बोटमा दानै छैन, यार्सागुम्बा पाउनै छोड्यो
चौरी गोठको बिजोग भयो, लडेको छ गाह्रो भन्दे

दोर्जे, ध्वांगे घरै बसी, मार्फा आईरक बेच्ने गर्छन
ल्याप्चा भीरको हिम-पैरोले,धेरै गाउँले गाड्यो भन्दे

डोल्मा पनि बाउ नआए, गोले संग भाग्छु भन्छे
अकबिर ले बन्धकीको, फेरि भाका सार्यो भन्दे

आबो मैले यत्ति सम्झें,तेरो खबर थपथाप गरेस
ब्यबहारको चटारोले, तेरो आमा हार्यो भन्दे!!!

अफगानिस्तान,२९/०१/२०१३

Gopal Kawali – Bihana Hos Wa Beluka

गोपाल कवाली – बिहान होस या बेलुका

बिहान होस् वा बेलुका
चिसो सिरेटोले हानेको बेला
मेरी आमाले,
खरानीमा खट्खट् पकाएर
मुङ्ग्राले डङ्ग डङ्ग पिट्दै धोएर
घाममा सुकाएको रेडिको खास्टो
याद दिलाउँछ यो जाडो

खाना Continue reading “Gopal Kawali – Bihana Hos Wa Beluka”

Gopal Kawali – Hamra Susupta Pratibha Tusuane

हाम्रा सुसुप्त प्रतिभा टुसाउने मुहानहरुमा
बाक्लो लेउले डम्म डेरा जमाए जस्तो छ
केहि हटाउनु छ केहि पन्छाउनु छ
कतै फोड्नु छ कतै जोड्नु छ
कैयौं अवसरका गोरेटाहरु आफैंले कोर्नु छ
चोट त्यहीं तुकपूर्ण हुन्छ
जहाँ Continue reading “Gopal Kawali – Hamra Susupta Pratibha Tusuane”

Gopal Kawali – Besura Drut Raag Ma

बेसुरा द्रुत रागमा डिस्कोमा मच्चिनु भन्दा
एकान्त वागमा गई एकछिन एकाग्र बन
भमराको भुन भुन कति कर्ण प्रिय हुन्छ
कल्पनाका कथाहरुमा आधारित
कृत्रिम चलायमान चित्रहरुमा अल्झिनु भन्दा
पर्तिर जंगलमा गई एकछिन सुस्ताउ
कोइलि कण्ठको आवाज कति मधुर हुन्छ
आधुनिकताको हावा, यो त सरुवा रोग हो
कुनै रोकथाम बिनाको,कुनै निदान बिनाको
छिमेकीलाई ग्रस्त बनायो भनेर
काखी बजार्नु मिथ्या हो
कुनैपनि पल तिम्रो घर छिर्न सक्छ
सुटुक्क, कुनै चाल बिना
महंगा होटल र रेस्टुरेन्टमा गएर
पिज्जा र बर्गरमा रमाउनुको सट्टा
आफ्नै घरको कनिकाको चाम्रे चाख त
त्यसमा जिब्रो निलिने मिठास हुन्छ
आवस्यकता अनि बिलासिता फरक बस्तु हुन्
आफ्नु पन भनेको आफ्नै हुन्छ
यसो भन्दा, बिज्ञान को बिकाश नमान्नु भनेको कहाँ हो र
कसैकापनि थिति र संस्कार दुधले धुलियेका छैनन्
स्वीकार्ने र त्याग्ने बस्तुहरु पहिचान गर्न सक्नु पर्छ
अर्थ यहि हो,……….
उखु खाने हो भने
निल्ने रस र फ्याँक्ने खोयिला छुट्याउन सक्नु पर्छ!!!

जुलियन,अफगान,१८/१२/१२

Gopal Kawali – Ram Bheda Ko Kheti Garchhu

गोपाल कवाली – रामभेडाको खेति गर्छु

रामभेडाको खेति गर्छु,कुरिलो पो रोप्छु म त
विदेश बसी पुगो गाउँले,देशमै पैसा छोप्छु म त

प्रकाश दिपक विदेश गए, त्यहि भाउँतामा हिंडीएछ
आफ्ना बारी रुखै होलान,गोबर मल पो बोक्छु म त

थाहा पाइयो विदेश पनि, पराईको गुलाम न हो?
चाहीएन भो बर्गर पिज्जा, ठेट्ना मकै टोक्छु म त

सोह्रै आना पसिनाको, सुक्का मोल तोक्छन यहाँ
हाम्रो श्रम भतुवा नहोस, सिमा भित्रै रोक्छु म त

बाल-बच्चा एकातिर,एक्ले ढेडु जस्ता भाछन
संगै बस्छु खोले खान्छु, सिप उतै पोख्छु म त

हँसिया हलो कोदालोले,आइज आइज भन्दै होलान्
नाङ्गो संगीत डिस्को भुल्छु,आफ्नै मादल ठोक्छु म त!!!

जुलियन,अफगान,०५/०१/२०१३

Gopal Kawali – Bhanna Lai Ta Bhanthe Paka Haru

गोपाल कवाली – भन्नलाई त भन्थे पाकाहरु

भन्नलाई त भन्थे पाकाहरु,..
ति दिन गए यी दिन आए,
म्वाई खाने ठाउँमा रौँ पलाए,
आँगन भयो परदेश,
घुँडाका भए सिंग,
हो छ झैं लाग्यो
बितेछन अब ति दिनहरु
जहाँ परेलीहरु फर्फराउँथे अनिन्द्राका
तर्किएछन अब ति पलहरु
जहाँ ढुकढुकीहरु सल्बलाउँथे कुत्कुतिका
एकान्तका कुनै सुनसान फलैंचामा
शितल संगै छेलिएर
मन खाने संग कैयौं घण्टा बिताउने क्षणहरु फोस्रीएछन
यादका सिन्कौलीहरुमा,
फूल गुच्छाझैं उनिएका रहरहरु थोत्रीएछन
पारी गाउँमा चुड्के मादल बज्दा
आफ्नै पाराले ताल चाल्ने यी मेरा गोडा
आफ्नै भाखामा मर्किने मेरो कम्मर
शारंगी र बिनायो बिर्साउने,अन्तर आत्माका धुनहरु
उमेरको खुड्किला संगै गल्दै गएछन
नयाँ नाना लाउंदा,मिठो खाना खाँदाका अनन्त आनन्द
नयाँ ठाउं भ्रमण गर्नु पूर्व मनमा उठ्ने तरङ्ग
ब्यबहारको बोझ संगै थिचीएछन
टार्ने पुर्याउने आफैं भएपछि
अविभावकत्व बहन गर्न थालेपछि
सारा सपनाहरु टुट्दै गएछन
अनेक चाहनाहरु उड्दै गएछन
जवानीको रंग पनि ओरालो भाग्दै गएछ
ए साँच्चै हो कि क्या हो……?
अब त बुढेशकाल पो लाग्दै गएछ!!!!

जुलियन,अफगान,२०/१२/१२