Krishna Dev Rimal – Mech Nach

कृष्णदेव रिमाल – मेच नाच

वेपर्वाह नाच
नाच्दैछन् मेचहरु
संसारकै मन तान्ने
मनमोजी नाच
वाह ! क्या रङ्गीन
यो भुईँफुट्टे नाच ।
घरी पाङ्ग्रा गुडाउँदै
कैल्हे ज्यान मर्काउँदै
छारो छर्केर आँखाहरुमा
भुलाएर दुनियाँलाई
वाह ! क्या शानले
नाच्छ यो मेच ।

पाङ्ग्रा खुस्किए पनि
खुट्टा भाच्चिएर पनि
ज्यूँका त्यूँ तन्मयता
मादकता थै थै मा
मचकता पादहरुमा
वाह क्या गजवको
कर्कान छ मेचको ।

हल्लाउँदै हर भट्टीहरु
कल्लीका छमछमीले
टक्क रोकिएला कि
ब्रम्हाण्डै भने झैँ
वाह ! क्या वेहोस छ
असरल्ल नाच यो ।

मर्काउँदै कम्मर अनि
झिम्काउँदै आँखा पनि
त्यै पारीको लुठासँग
नाचिरा’छ हाम्रो मेच
वाह ! क्या लहसिँदै
नेपथ्यको निर्देशनमा
उफ्रीरेछ हाम्रो मेच ।

जामाको फहरानमा
पगरीको फुस्कानमा
यो मोजको मेच नाच
समिपकाले सनेत्र हेरे
दूरकाले दुर्विनले हेरे
कतै हजुर चैँ
छुट्नु भो कि भन्ने
यो ज्यानलाई
यत्ति एउटा खुट्को रह्यो ।

Hari Manjushri – Rupantaran

हरि मञ्जुश्री – रूपान्तरण

आफ्नो सामाजिक मान्यतालाई रूपान्तरण गर्न
उनीहरूले माया गरे र बिहे गरे
बिहे गरे र फेरि माया गरे
त्यो जीवन पनि नीरस लाग्यो उनीहरूलाई
र जीवनमा आमूल परिवर्तन ल्याउन
उनीहरूले सशस्त्र क्रान्ति गरिरहने रहर गरे
क्रान्तिबाटै शान्ति र आनन्द आउने ठहर गरे
एउटाले आफ्नो हतियार उठायो
र अर्कोमाथि प्रहार गर्यो
अर्कोले हार्न नमान्दा
उसबाट पनि जवाफी कारवाही भयो
यसरी कयौंपटक उनीहरूले
आक्रमण र प्रत्याक्रमणको रणनीति बनाए
र हाँसी हाँसी कार्यान्वयन गरे
उनीहरूकै क्रान्तिको फलस्वरूप
जन्म भयो नयाँ सत्ताको
छोरी र छोराको
शान्ति र आनन्दको
स्वास्नीले छोरीलाई माया गरी
लोग्नेले छोरालाई माया गर्यो
उनीहरूले सोचेजस्तै ल्याइदियो
क्रान्तिले जीवनमा आमूल परिवर्तन
अनि भयो जीवनको रूपान्तरण
तर छोराछोरीको चढ्दो उमेरसँगै
उनीहरूको माग पूरा गर्न नसकेर
अहिले लोग्नेस्वास्नी
हतियार बिसाएर मनमनै पछुताइरहेछन्
पुर्पुरोमा हात राखेर झोक्राइरहेछन्
उनीहरूले क्रान्ति गर्ने सोख यति धेरै पूरा गरिसके
कि अब उनीहरूमा क्रान्ति गर्ने कुनै रहर छैन
उनीहरूले जीवनमा यति धेरै सास्ती खाइसके
कि अब उनीहरूले काट्न बाँकी कुनै कहर छैन ।

Dipesh Lama Tamang – Sandesh

दीपेश लामा (तामाङ) – सन्देश

युद्ध त होईन बुद्धको खोजमा
अल्मली रहेछु म नेपाली
संसार जित्ने सहास तिम्रो
भन के भो गोर्खाली
आज के भो गोर खाली

आँसुले होईन मलाई
मौनताको एकै क्षण त आभाष दिलाऊ
कलिला हातहरूलाई रगतले होईन
शान्तिको रंगले पोति देऊ

दुई आँखा तिम्रो ति नियाली हेर्ने
चार प्रहर तिमी हामीलाई
झुकाउँन सकुँ मेरो शिर
सधैंसधैं आशिर्वाद तिम्रो लिनलाई

क्रोधको प्रहारले होईन
मायाको दुई शब्द योग तिमी बनिदेऊ
जल्न सकुँ दिप भई
सधैसधै तिम्रो प्रकाशले
लेख्न सकुँ इतिहास फेरी
नयाँ एउटा शिसा कलमले

Shrijan Animesh – Pardeshi Ko Katha

श्रीजन अनिमेश – परदेशीको कथा

आफ्नो जन्मभूमि रक्तपातमा मुछिएको बेला
जताततै विनाकरण लास ढलेको देख्दा
हजारौ आत्माहरु अशान्तिले छट्पटाउँदा
जताततै कोलाहाल मात्रै मच्चिंदा
खुशी त कसलाई लाग्छ र
श्रृष्टिकै नियम उल्टिएको बेला

जताततै भोकमरी र समस्याले तड्पिएको देख्दा
बेरोजगारीले पुरै देशै खाएको बेला
औषधी उपचार नपाई मर्नु परेको देख्दा
महंगिले आकाश छोएको बेला
बिदेशिनु परेको छ अहिले
रहर त कसलाई हुन्थ्यो र बाध्यताले

बम र बारुद संगै मन उडेको बेला
हरियाली डढेर कालो बनेको बेला
कल्पिएका सपनाहरु सबै अधुरा भैदिँदा
मनमा कुनै आशाका त्यान्द्राहरु बाँकी नरहंदा
मनमा शान्ति त किन हुन्थ्यो र
रुदै रुदै विदेशिनु परेको बेला

रुदै रुदै भएनी केही आशले आइयो
दश हन्डर खाँदा त झन झन्डै बहुलाइयो
फुट्नै लागेको मनलाई बलैबलै थामी
लागियो मन बुझाउन यस्तै रैछ जीवन भनी
जन्मभुमिमा त नपाको सुख किन पाइन्थ्यो र यहाँ
कठै बिचरा भन्ने समेत कोही छैनन जहाँ

Krishna Bause – Sambandha Yesto Pani Ta Huna Sakchha

कृष्ण बाउसे – सम्बन्ध त्यस्तो पनि त हुनसक्छ
(मधुपर्क भदौ , २०६७)

तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
कृपया मलाई निरपेक्ष रहन देऊ…..तटस्थ रहन देऊ ।
मनभरि
मुठ्ठीको माखो बनाउने माकुरेजाल बुन्दै
मलाई
अझ प्रगाढ मित्रता को मन्द विष नपिलाऊ ।
नियतिको सिकार भएको म
एक्लै रुन चाहन्छु
सान्त्वनाको निहुँ पारेर
मेरो मझेरीमा
तिम्रा कलुशित बुटहरू नबजाऊ ।
थाहा छ-
एकपल्ट आफन्त ठानेर
सहयोगको भीख मागें भने तिमीसँग
तिमीले मेरो सिरिखुरीमै आँखा गाड्नेछौ
र मलाई
मेरै घरमा
सधैँको लागि मगन्ते बनाउने छौ ।
त्यसै भएर
तिमीले चुम्बा खान खोज्दा पनि
विष-कन्याको गन्ध आएको हो मलाई
मौकामा घाँटी निचोर्न खोजेर
बेमौकामा अँगालो मार्न खोज्ने तिम्रो बानी सम्झँदा
एउटा सुधो गाई
र छट्टु ब्वाँसोको सम्झना भएको छ मलाई ।
तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
सम्बन्ध त्यस्तो पनि छ, हुनसक्छ
अपरिचितहरूको जस्तो सम्बन्ध ।
कृपया मलाई निरपेक्ष रहन देऊ……..तटस्थ रहन देऊ ।

पोष्टबक्स नं.४५२५, काठमाडौँ

Kalyan Shrestha – Mero Thotro Bhatbhate Ko Khali Tyanki

कल्याण श्रेष्ठ – मेरो थोत्रे भटभटेको खाली ट्यांकी

सूत्र र प्रक्रियाका जाल नबुनी
मेरा साधा सपनामाथि कात्रो
अरबियन सीका वरिपरी
विश्वको कस्तो यो जात्रो
कुन देशको झेल, कहाँको तेल
टाउकेहरुको तालमेल;
अफिस, भेला, घर, मेला
नबुनियेका यी समय, बेला;
दोषी मेरा वायुपंखी
मरभुमीमा जल नपाए सरी
मेरो थोत्रे भटभटेको खाली ट्यांकी

सुन्दर बसन्तमा न्यानो घाम
प्रकितिले स्याहारेको मेरो तन;
उडीरहुन मस्त तालमा पुतली
गाउन अमृत स्वर लिएर चराचुरुंगी;
शितल आँखामा हरियो छाप
रहुन फूल रंगीचंगी;
जस्तै स्वर्गका झिल्का भएपनि
मनको चाप, नेताको पाप, दरिद्र राप
मेरो थोत्रे भटभटेको खाली ट्यांकी

Arun Bahadur Khatri ‘Nadi’ – Naya Barsha

अरुणबहादुर खत्री “नदी” – नयाँ वर्ष
(मधुपर्क बैशाख, २०६७)

नयाँ आशा नयाँ भावना
नयाँ इच्छा लिएर
आयो नयाँ वर्ष
शुभकामना बोकेर ।
गाउँगाउँ वस्तीवस्तीमा
अँध्यारो होइन
उज्यालो छाएर
पूणिर्माको जूनझैं
चम्किएर आयो नयाँ वर्ष
सहरमा बेरोजगारी
जङ्गलझैँ बढिरहेको छ
सुन्दर, शान्त, विशाल
हिम स्वच्छता उजिल्याउँदै
आˆनै देशको माटोमा बसेर
विकास, उन्नति र प्रगतिको
भावना जगाउँदै
रोजगार गरौं है सबैले
सम्पूर्ण व्यक्तिमा
बुद्धको शान्तिको
सन्देश घन्काउँदै
नयाँ वर्ष तिमी
नयाँ हुनुको गर्भको
महिमा गाएरै आयौ ।

सामाखुशी मार्ग, ९३५/५४,
काठमाडौँ

Radheshyam Lekali – Chandra Grahan Ko Kshan Bansuri Bajai Rahechhu

राधेश्याम लेकाली – चन्द्रग्रहणको क्षण बाँसुरी बजाइरहेँछु
(मधुपर्क माघ, २०६७)

कस-कसको चालले हो
स्थिति अराजक बनेको छ
भयैभयमा बाँच्नु पर्ने
चन्द्रग्रहणको यो क्षण
भयमुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
त्रिवेणी मुठभेडको स्थितिले
देश जलिरहेछ
एकातिर रगत पोखिएको छ
अर्कोतिर हुकुम तामेलीमा
भीड जम्मा भएको छ
यही क्षण सत्ता घोडा चढेर
शक्ति प्रदर्शन गरिरहेछ
अवाक् चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
तासमा तुरूपझैं अचुक ठानेर
ल्याउनेले अध्यादेश ल्याइरहेछ
यही अध्यादेश सडकमा जलिरहेछ
अर्कोले दुबैलाई गलत ठहराएर
आफ्नो आदेश फर्मान गरिरहेछ
देश जनताको हुनुपर्ने हो
विडम्बना
जनताको होइन जस्तो भएको छ
चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
आपसमा लडेर
देशसँग गद्दारी गरिएको छ
लडाउनेको चाल थाहा पाएर पनि
किन लेण्डुपको बाटो रोजिदैछ
एकपटक सोचौँ
देश नरहे हाम्रो अस्तित्वले
पाइला राख्ने धरातल कहाँ रहन्छ ।
बाँसुरी बज्छ कतिन्जेल
बाँसुरी बज्न छोडेको क्षण
भयानक हुनेछ
जनताले हटाई छाड्नेछन् ग्रहण
देशले शान्तिको सास फेर्ने छ ।
विडम्बना !
चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।

– काठमाडौं

Tanka Prasad Bhattarai – Ghatne Chha Arogyata

टंकप्रसाद भट्टराई – घट्नेछ आरोग्यता
(मधुपर्क साउन, २०६७)

जानैपर्छ उहीँ बदल्न सकिने देखिन्न सामथ्र्यता ।
के फुल्छौ मनमा सँगाली धमिलो जान्दिन केही मता ।।

युगौंयुग हुने यसै नबुझने के गर्नु तिम्रो धन ।
कालो बादल छाडिदेउ मनको मायालु सब्को बन ।।

पैसाले कहिल्यै बनिन्न मनितो चाहिन्छ आचरण ।
पानी नै पिउनु परेन सबचीज आहा ! सफा जीवन ।।

घोचीघोची दिनै रिसालु मनले के धेर पिर्ने मन ।
पैसामात्र कवै हुँदैन सब नै चाहिन्छ सद्भावना ।।

दिलै टुट्नु थियो रसान नहुँदा पाएनि जोड्थें बरु ।
नाताको गणना धनै हुन गए को हुन्छ आफ्नो अरु ।।

सक्दाखेरी दिलै निठूर हुन गो कस्तो अहाँ ! जीवन ! ।
आफ्नो गाँस उमारी सास दिइने धर्ती बुझेनौं किन ।।

ठूला मानिसको बसाइसँगको कस्तो मजाको गति ।
साहित्यै पनि फुर्छ साच्चि उसको जस्तो छ मन्को गति ।।

झोलीतुम्बि सँगाली राख बबुरा जान्छु सबेरै उठी ।
के गर्नु मनमा दयै उडिगयो खानुछ ढुङ्गा कुटी ।।

मेरो जीवन यो रहेन अवता खाईदियौ कप्कपी ।
तीम्रो आयू बढोस् जमेर धनले मेरो भयो दुर्गती ।।

कान्ति ल्याऊ उमारी भित्री मनमा फालेर वैराग्यता ।
इश्र्याले कहिल्यै बनिन्न मनितो घट्नेछ आरोग्यता ।।

Krishna Binod Lamsal – Lekhak

कृष्णविनोद लम्साल – लेखक
(मधुपर्क २०६६ भदौ)

ऊ लेखिरहन्छ
अक्षरभित्र सुन्दर संसार देखिरहन्छ
खिपेका शब्दले बनिएका वाक्यवाक्यमा रमाएर
उद्वेलित उताल तरङ्गलाई छेकिरहन्छ
ऊ लेखिरहन्छ ।
उसले जाति, भाषा, सभ्यता र संस्कृति लेख्यो
पुराण र इतिहास लेख्तालेख्तै
समाजमा विविधता देख्यो
जातीयताको सुरक्षा भए
राष्ट्रियता प्यारो हुने बहस लेख्यो
शुकरातले पिएका विषका प्याला लेख्यो
भास्कोडिगामासँगै ऊ थियो
कोलम्बसका पाइतालालाई
उसले लेख्यो ।
क्यानभासमा अरनिको भेटेर
काव्यकवितामा देवकोटा समेटर
पुलकित भएको छ ।
ऊ अतृप्त चाहना लेख्छ
उत्तेजक रोमाञ्चक कामवासना लेख्छ
अगणित व्यथापूर्ण कथालाई च्याप्प समातेर
सार्थकतामा परिणत गराउँछ
ऊ स्रष्टा हो सिर्जनामा रमाउँछ ।
मनभित्रका भावनालाई सकारात्मक बनाएर
ऊ संसार देखिरहन्छ
ऊ लेखिरहन्छ ।
सर्जकहरू
असमानताका विरुद्ध लेखिरहन्छन्
अन्यायका विरुद्ध भोकै प्यासै लेखिरहन्छन्
चेतनापुञ्ज बाल्न अहोरात्र लेखिरहन्छन्
समाज सुधार्न भ्याई नभ्याई लेखिरहन्छन् ।
लेख्नु सृष्टिको यात्रा रहेछ
ऊ लेखिरहेछ
सुन्दर संसार देखिरहेछ ।

-इटहरी, सुनसरी

Prakash Sapkota – Afanta Le Afanta Kai Khushi Haru Khosna Thale

प्रकाश सापकोटा – आफ़न्तले आफ़न्तकै (गजल)

आफ़न्तले आफ़न्तकै ख़ुशीहरू खोस्न थाले
मायालुले मायालुलाई जिउँदै आगो झोस्न थाले
नठोसी त अगुल्टो नि बल्दैन भन्छन तर
अगेनूमा नठोसेर आँङ्गतिरै ठोस्न थाले
नाता-गोता, इष्टमित्र मर्दा, पर्दा काम लाग्थे
के ज़माना आयो यस्तो, तिनैले पो सोस्न थाले
धरोधर्म पाल्छु भनी कसम खाने खसमले
घरकीलाई निकालेर अर्कीलाई पोस्न थाले
(देशमा ब्याप्त हिंसाबिरुद्ध ऎक्यबद्धाता !)

– शुक्रबार, ११ जनवरी, २०१३ (ट्रोम्सो, नर्वे)

Meena Subba – Jindagi Anek Rangharuma

मीना सुब्बा – जिन्दगी अनेक रङ्गहरूमा

जिन्दगीलाई कुन रङ्गमा ढालुँ?
जिन्दगीलाई कुन अर्थमा मानुँ?
कहिले चहुने भएर रित्तो भई बज्दछ जिन्दगी
कहिले बेसी भएर भाँडाबाट पोखिन खोज्दछ जिन्दगी
कहिले चञ्चल बतास भएर उडान भर्न चाहान्छ जिन्दगी
कहिले चुचाप निश्चल दह भई एकै ठाउँ जम्नखोज्छ जिन्दगी
कहिले विक्रमादित्यको सिंहासनको खोजीमा पराजित भएर
सर्वत्र कहालिहिँड्ने मन गर्छ जिन्दगी
कहिले हिरोशिमाको नील पल्टेको भूमिमा दुबो भई
पलाउने मन गर्छ जिन्दगी
कहिले मर्यादा र आदर्शको प्रश्नचिन्हमा चुनौती बन्छ जिन्दगी
कहिले महँगाइको भाउ भएर त्यसै तर्सिदिन्छ जिन्दगी
जिन्दगीलाई म कुन दृष्टान्तमा सजाउँ?
जिन्दगीलाई म कुन उद्वेगमा समाउँ?
कहिले फुर्सदको अभिशप्त घडीभित्र निस्सार लाग्छ जिन्दगी
कहिले हतारको आँधीभित्र आफ्नोसित पराई हुन्छ जिन्दगी
कहिले एकैक्षण रमाउन निकै इन्तजार गर्छ जिन्दगी
कहिले रातमा कसैको याद बनेर गालाबाट बगिदिन्छ जिन्दगी!

Sijan Nayan – Gham Ko Lagam Samatera Dhwaje

सिजन नयन – घामको लगाम समातेर ध्वजे

हावाको लिगमा घिस्रिँदै घिस्रिँदै
आइपुगेको छ,
ठ्याक्कै ढुङ्गाजस्तो आकृति
ध्वजेको थाप्लोमा
समात्न– घामसँगको प्रिय आलाप

संसर्गको अमूर्त पृष्ठभूमिबाट
भर्खरै जन्मिएको बछेडो गुराँस
चोरेर त्यही आलापको पोको
नाघेर जान्छ–
कुन क्षितिज ?

मरुभूमिको सफरमा निस्केको ध्वजे*
बीच बाटोमै अल्मलिएको छ
उसले जाँदाजाँदै भेटेको
ईश्वरको दुुुर्लभ हस्ताक्षर
कुन गर्तमा ?
लुकाएर जान्छ

मलाई नै बिर्सेर ध्वजे
मेरै छेउबाट
पगालेर जान्छ
ध्वनिको– कुन आवृत्ति ?

अझ
मैले नै रङ्गाएको उन्मक्त परिवेशमा
घामको लगाम समातेर ध्वजे
दौडन्छ– कुन दिशा ?
– कति कोस ?
उक्लन्छ– कुन पहाड ?

*ध्वजे— धनकुटाको डाँडाबजार गाविसमा अवस्थित प्रसिद्ध डाँडा । जहाँबाट सूर्याेदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

Balika Thapaliya – Ruwaidinchha Mayale

बालिका थपलिया – रुवाइदिन्छ मायाले
(Source: मधुपर्क जेठ, २०६९)

कि त रुवाइदिन्छ मायाले
कि त हँसाइदिन्छ मायाले
मनमा मायालुको तस्बिर
कि त बसाइदिन्छ मायाले ।

कि त उडाइदिन्छ मायाले
कि त खसाइदिन्छ मायाले
अपार जञ्जालको बीचमा
कि त फसाइदिन्छ मायाले ।

कि त छुटाइदिन्छ मायाले
कि त टसाइदिन्छ मायाले
घरि स्वर्ग घरि नर्कभित्र
कि त पसाइदिन्छ मायाले ।

Damodar Batuwa – Kasto Fohor Yo Kathmandu

दामोदर ‘बटुवा’ – कस्तो फोहर यो काठमाडौँ
(नेपाल साप्ताहिक ३८७)

जताततै दुर्गन्ध सहरमा
वाग्मतीमा ढलको गु (गुहु)
लाजै मर्दो, धत्तेरीका
कस्तो फोहर यो काठमाडौँ ।

यही खाल्टोमा थुप्रेको छ
भएजतिको विकृति
गुन्डागर्दी, उच्छृंखलता
मसल, मनीको संस्कृति ।

मै हुँ भन्दै भाषण ठोक्छन्
नाक नभा नकच्चराहरू
लाजै मर्दो …

धोबीखोला, विष्णुमती अनि
रोएका छन् मनोहरा
भानुभक्तको अलकापुरीको
भयो दुर्दशा कठैबरा ।

राजनीतिका खलनायकले
झन् आगोमा थप्छन् घिउ
लाजै मर्दो …

गाडी मानिस ठेलमठेल
सडकपेटीमा हाट सधैँ
धूवाँ, धूलोले आँखा पोल्ने
अस्तव्यस्त छ सहर लहै ।

छरपस्ट छ मलमुत्रादि
हिँड्नुपर्ने गरी थुःथुः
लाजै मर्दो … ।

Krishna Upadhyaya – Nirwan Niyatra

कृष्ण उपाध्याय – निर्वाण नियात्रा

बिवर्ण वर्तमानका बग्रेल्ति बाटाहरु
बौद्धका बिरान बस्तिहरु
स्वयमभूका सिँढीहरु
मानसका मानचित्र हुन्
निर्वाण नियात्राकार

निर्वाण नियात्रामा मानस
स्वयम्भूका सिँढीबाट
कान्तिपुर र्हेछ,
उज्यालोमा उत्साहित हुन्छ ।
फेरी र्हेछ
टकिल्एको जूनमा
बागमती देख्छ
रगताम्य रातो बागमती
अब ऊ
स्वच्छ सजल बागमतीको कामना गर्छ ।

अलि माथि उक्लिन्छ
सुन्दर सुरम्य हिमाल देख्छ
डाँडाकाँडा देख्छ
गुम्बाका गायन सुन्छ
गौरवान्वित हुन्छ र
डाँडामा आँखा पूर्व पश्चिम कुदाउँछ
दक्षिणी फराकिला फाँटहरुमा आँखा कुदाउँछ
हूलका हूल आक्रोशित आकार देख्छ
डाँडाकाँडा फराकिला फाँट
अंशबन्डा गर्न उद्दत भिड देख्छ ।

निर्वाण नियात्राको मानस
बुद्ध बसाइ र्सान उद्दत भिड पनि देख्छ ।
उ दौडन्छ
कपिलबस्तु र लुम्बिनीमा पुगेर
उ बुद्धको पाउ कस्सिएर समातेर
उ त्यहिँ लडी रहन्छ ।

निर्वाण नियात्राको मानस
उज्यालो जूनको उज्यालोमा बर्बराउँछ
बुद्ध न वाड
फाट न वाड
डाँडाकाडा न वाडर

मानस
बुद्धको पाउ छोएर बर्बराइरहँदा
बुद्धका प्रेमपूर्ण आर्शिवादका हात
उसको शिर लक्षित गरिरहे
पूर्णिमाको जूनको प्रकाशमा ।

वेम्बली, लण्डन

Binod Roka – Kasto Jeevan

विनोद रोका – कस्तो जीवन

पछाडी हेरुँ त डर लाग्छ
फेरी तेही घडी दोहोरिन्छकी भनि
अगाडी बढ्ने कताहो कता
हिड्दै छु बर्तमानको पाइला गनी ||
मिहेनत पसिना कसको लागी
सोद्छु आँफैलाई प्रश्न गरी
छैन उत्तर आँफैसंग पनि
धिकार्छु आँफैलाई छक्क परी ||
दुलौदै प्याला आँखाहरु
सहाराको छागा भाच्दैछु
लुकी आफ्नो यौवनलाई
प्रकृतिको निम्ति साँच्दै छु ||
कस्तो जीवन रैछ मेरो
टुक्राई ह्रदय बच्दै छु
टुक्राई ह्रदय बच्दै छु ||

Krishna Pradhan – Andhyaro Raatsita Ek Chhin

कृष्ण प्रधान – अँध्यारो रातसित एकछिन
(मधुपर्क २०६६ माघ)

अँध्यारोमा
जे पनि हुन्छ ।
लेनदेन
वार्तालाप
विच्छेद ।
अहिले यस्तो अँध्यारो छ-
झलमल्ल बत्ती बालेर पनि देखिन्न ।
मैले तिमीलाई
तिमीले मलाई
केही गरे पनि देखिन्न
भेट भएकै छ ।
संवाद भएकै छ ।
तर सम्वादहीनता जस्तो
अँध्यारो अँध्यारो,
तिमी र मबीच उभिरहेछ ।
न तिमी चिर्न सक्छौ
न म नै चिर्न सकिरहेछु ।
यो कस्तो अँध्यारो र
अँध्यारो शृङ्खला ?
गतिहीनताको पदचाप
एकतमाससित
अँध्यारोसितै बढिरहेछ ।
कोही द्यौरालीमा टुकी बालेर
अँध्यारो हटाउन खोज्दैछन् ।
कोही गाम बेंसीतिर दियालो बालेर
अँध्यारो चिर्न खोज्दैछन् ।

कहाँबाट आउँछ फेरि अँध्यारोकै शृङ्खला ?
हावाको एक झोक्का सितै त्यो टुकी पनि निभ्छ ।
दियालोमा अर्को रात
फेरि छिप्पिन्छ ।
अँध्यारोमा बस्ने बानी भएपछि
उज्यालो निको लाग्दैन ।

अँध्यारोमा जे पनि हुन्छ ।
वार्तालाप
महाप्रस्थान ।
सुन्यताका पदचापहरू
उज्यालोबाट अँध्यारोमा छन्,
यो बेला शुभ छैन
अँध्यारो हेनर्’ ।

अँध्यारोमा छन् पाइलाहरू
अँध्यारोमा छन् गतिहरू
पहाड
मधेस
हिमाल
उज्यालोको आकाश
उघ्रेको छैन ।
म उज्यालो
पर्खिरहेछु ।

– ८४, संगमगल्ली, काठमाडौँ

Hemanta Shrestha – Natak Rangamanch Ra Prachanda Haru

हेमन्त श्रेष्ठ – नाटक रंगमन्चमा प्रचण्डहरु

धेरै जीवन फेर्यो
रङ्गहरुले
राता नीला हरिया
सेता काला पहेँला
निरन्तर उत्साहित भईरहे
सेलोफेनहरु स्पटलाईटमा
उज्याला क्षणहरु कति भए
कति क्षणहरु अँध्यारोमा डुबे
रंङ्गमाचको त्यो कुना
अझै जीवन्त छ
प्रचण्डको सास जस्तै

जुगुप्साहरुलाई उभ्याएर
चौखुडामा
नाटकलाई जीवनमा बुन्दै
जीवनलाई नाटकमा उन्दै
कति समाप्त भए
अभिनयका स्रेस्ताहरु
कति च्यातिए नाटकका पन्नाहरु
परिष्कारको क्रान्तिमा
कति निर्देशन भए
नवरसका अभिव्याजन
मृत्यूमा हत्यामा बिध्वँशमा

रचना र सँरचनाहरु
घटन र विघटनहरु
लहर जस्तै
उडिरहेको बादल जस्तै
दृश्यमा
कङ्कालको मुख माथी
ख्वापा लाएर
कति पटाक्षेप भए
कति उघ्रिएर

तथापी
हरेक समाप्तीमा
उभिन्छन्
पर्दा अगाडि पंक्तिबद्ध
अभिवादनरत्
यावत् पात्रहरु
मदन मालती
कृष्णमोहन कृष्णसेन
जीवन्त हुन्छन्
र हुन्छन्
प्रचण्ड तालिका ध्वनीहरु

प्रचण्ड हो कि नाटक हो
नाटक हो कि प्रचण्ड हो
छुट्याउनै नमिल्ने गरी
रंगमंचमा टाँसिएका
जवानीहरु
उप्काउन प्रयाशरत्
बूढो प्रचण्ड
कमलादीको प्रज्ञा परिसरमा

हो प्रचण्ड मल्ल
कयौं पटक रोएको छ
ध्वस्त नाटक छ
रक्सीमा डुबेर
कयौं पटक रोएको छ
सफल नाटक पछि
खुसीको आँसुमा डुबेर

निरन्तर
इतिहाससँगै लिप्त
प्रचण्ड र उर्फ प्रचण्डहरु
सास्वत छन्
रंगमंचहरुमा
डबलीहरुमा
नाटकहरुमा
यथार्थहरुमा
आत्मसात गरेर एउटै अभिष्ट
सुन्दर सृजनाको
सुन्दर परिवर्तनको
मान्छेलाई मान्छे बनाउने युद्धको

फेरि पनि
पटाक्षेप भएको छ
नाट्शालामा
भयावह शिशिरको रात
भावबिभोर छन्
खुसीमा अनुदित सन्नाटाहरु
रंङ्ग र प्रकाशको सँयोजनमा
समाधिस्त छ प्रचण्ड
र हरियो खोजिरहेका आँखाहरु
प्रतिक्षारत् टोल्हाईरहेछन्
के सँधै झैं
अभिवादनार्थ
जीवन्त उभ्याउन सक्लान्
प्रचण्डले
नाटकका
यावत् मृत पात्रहरुलाई

कुन भेषमा
कुन पात्रसंग
उभिनेछ
प्रचण्ड आफै
पंक्तिबद्ध

दृश्यमा
लासमाथि चढाईएका
फूलहरु उडिरहेछन्
प्रतिध्वनित् भईरहेछन्
सहादत चित्कारहरुको कोलाज
कम्तीमा
संकल्पहरु जिउनु पर्छ
कम्तीमा
चोटहरु पुरिनु पर्छ

नाटक छ
रंङ्गमाच छ
र छन् प्रचण्डहरु
रक्सी छ
षडयन्त्र छ
र छन् खुसीका आँसुहरु
हेरिरहेछन् दर्शकहरु
प्रचण्ड अब कहाँ डुब्छ

खुसीको आँसुमैं डुबोस्
यावत् प्रचण्डहरु
कामना एउटै बाँकी छ

Uttam Bhaukaji – Anurodh

उत्तम भौकाजी – अनुरोध

समाऊ-
मेरा यी हातहरू समाऊ
मलाई तिमी
आफूजस्तै निष्कपट बनाऊ ।
सङ्घारमा-
शकुनको दियो बलिरहेछ
दियो सँगसँगै
चलमल चलमल
मेरो मन
बत्ती र पुतलीजस्तै
चञ्चल-चञ्चल भइरहेछ ।
जीवनको-
यस उल्लासमय घडीमा
तिम्री अर्धाङ्गिनी
अर्थात्, यो नवदुलही
श्रृङ्गारको स्वरूप बोकेर
तिम्रै हातमा हात मिलाउँदै
सपनाको नौलो संसार
भोग्न आँतुर छे,
राजी छे ।
लैजाऊ-
सँगसँगै लैजाऊ मलाई
… र कस, आफ्नो बाहुपासमा
वेस्सरी कस !
मेरा यी अङ्ग-प्रत्यङ्गबाट
निस्कने प्रिय धुनमा
मेरो जीवनको लय भेट्टाउन सकूँ,
खुसीखुसी
रोमाञ्चक यो क्षणमा
मेरा सारा तिर्सनाहरू
चुपचाप ! मेटाउन सकूँ ।