Shrawan Kumar Dhungana – Andhyaroma Rang Ko Kunai Artha Chhaina

श्रवणकुमार ढुंगाना – अँध्यारोमा रंगको कुनै अर्थ छैन

जीवन
रंगहरूको मेल हो ।
जीवन
अँध्यारो र उज्यालोको खेल हो ।

अँध्यारोमा रंगको कुनै अर्थ छैन,
इन्द्रेणीमा जस्तै रंगहरूको तह
त्यहाँ हुँदैन ।

अँध्यारो
पर्दा Continue reading “Shrawan Kumar Dhungana – Andhyaroma Rang Ko Kunai Artha Chhaina”

Ajaya Paudyal – Timi Nai Bhana Sundari

अजय पौड्याल – तिमी नै भन सुन्दरी

मिलन पछि को एकै सालमा
मेरो लगाइ र खुवाइ नै बदलिदियौ सुन्दरी
फेरि दोश्रो साल भयो
प्रेमको सागरमा द्दुबाएर पथ नै बदलिदियौ सुन्दरी
तेश्रो साल त के भनौ
भक्त बनाएर अघि पछि नै घुमाइदियौ सुन्दरी
चौथो साल त अचम्मै भयो
मेरो झिल्के जुङा अनि दारी नै हटाइदियौ सुन्दरी

अब आज आएर म बदलिए भन्छौ
तिमी नै भन तिमीलाइ म कसरि सम्झाउ सुन्दरी?

Santosh Thapaliya – Ma Ra Timi

सन्तोष थपलिया – म र तिमी

ख्याल ख्यालैमा बिझाएं भने तिमीलाई
‘दुखायौ तिमीले’ भने भैहाल्थ्यो नि
मायाले सेकिदिन्थें, कहिले थाकें नभनी
एकैबारको जुनी हो माया लिने र दिने
बसेर त हेर आफ्नै ठानी
आँखा भित्रै राखी दिन्छु बिझायो नभनी !!!

मन त मेरो पनि ढुंगा हैन, माटो हैन
भेलले लछार्दै पछार्दै ल्याएको मुढा हैन
तिम्रो एक मुस्कान, हाँसोमा रम्छ मन
तिम्रो एक एक पिडामा अतालिन्छ मन
दुइ दिन त बाँकी छ जीवन यात्राको
दुइ शब्द यी फूल तिमीलाई मेरो अन्तरात्माको !!!

हाँस्ने अभिलाषामा कैले घाम, कैले पानी
बाँच्ने जिजिविषामा कैले विष, कैले ओखती
एउटा मुटुमा कैले चोट, कैले माया
यथार्थमै मेरो यात्रा अस्ताउनै लागेको छ
गोधुली नपर्दै थाप न माया एक मुठी
वदलामा मेरो मुटु पनि छामी हेर न एक चोटी !!!

Sijan Nayan – Sisa Ko Jharee Ra Asina Ka Pyramid Haru

सिजन नयन – सिसाको झरी र असिनाका पिरामिडहरू

सिसाको झरीमा
सिसाजस्तै फुटेर गयौ तिमी ।

जसरी सिसाको जिन्दगी लिएर जन्मिएथ्यौ तिमी
त्यसरी नै तिम्रा उन्मेषहरू
सिसाकै विहङ्गम भएर उडिरहँदा
मेरा हर्षका Continue reading “Sijan Nayan – Sisa Ko Jharee Ra Asina Ka Pyramid Haru”

Biwash Wasti – Jaba Ghara Farkiyen

विवश वस्ती – जब घर फर्किएँ

जब घर फर्किएँ
उज्यालियो सेता र सपाट आँगन
छेउमै फुलिरहेको एकदशक पुरानो अज्ञात फूलले
गर्‌यो हार्दिक स्वागत
चम्किन नसकेका घरका नाङ्गो भित्ताहरूले
गर्न थाले अङ्कमाल
अभिवादन गर्न उभियो
मेरो सामुन्ने
एउटा सुव्यवस्थित ढोका
जब घर फर्किएँ
एक शब्द बाँकी नराखी
सुनाउन थाल्यो जीर्ण छानाले
आफ्नो पीडा
हरेक वर्ष
जाडोका क्रूर स्पर्शले कक्रिएको जस्केलो
सम्वेदनाहीन देखियो
र, निदाउन थाले चुपचाप
अलिकति विपद्य्रामा उभियो नजिकैको पर्खाल
जहाँ बसेर
वसन्तभरि चराहरू गाएँथे
आफ्नै वेदना/आफ्नै गीत

जब घर फर्किएँ
आँखाहरूमा
उभियो एउटा तस्वीर
जो भित्ताका माउसुलीझैं टोलाइरहेको थियो
अवाक
जसलाई हेरेर
धेरै वर्ष पहिले
एउटा चम्किलो बाटो कोरेका थिए आफन्तहरूले
जहाँबाट
सहजै पुग्न सकिन्थ्यो
हाम्रो आँसु निख्रिने ठाएँ
जब घर फर्किएँ
हाँसिरहेका थिए मन्दमुस्कानमा
खेतहरू
आँगनहरू
जो चढिसकेका छन् तमसुकका पानाहरूमा
निश्चित भाखा बोकेर
जब घर फर्किएँ
धेरै वर्ष पहिलेको दृश्य उभियो मेरो सामुन्ने
मानिसहरू
बिर्सेर आफ्ना मनमुटाव
सँगै मिलेर बस्थे जङ्गलमा
ओडारहरूमा
घर
के हो घर भनेको ?
बन्छ यो कसरी ?
थिएन उनीहरूको स्मरणमा
जब घर फर्किएँ
एकपटक आफैलाई सोधें गहिरिएर
ओडार छाडेर मान्छे
घरसम्म आए
घर छाडेर मान्छे
अन्त कतै जान सकेको छैन आजसम्म
जबदेखि बन्न थाले घर‘
लडिरहेछन्
त्यही समयदेखि घर नहुनेहरू
घरको निम्ति
घर हुनेहरू पनि लडिरहेछन्
घरको सुरद्य्राका निम्ति

-सिन्धुलीमाढी, हाल काठमाडौं

Shrawan Kumar Dhungana – Sankraman Kaal

श्रवणकुमार ढुंगाना – संक्रमणकाल

पानी रंगिन छ
बासना छ मिठो— विषको !
दुध रंगहीन÷स्वादहीन !

धमिलो नदी उकालो चढिरहेछ
सागर अग्लिंदैछ
सगरमाथाको गहिराई बढिरहेछ
हावा जड छ रुख झैं
रुख चलिरहेछ हावा भएर !

पुरुषहरू गर्भवान छन्
स्त्रीहरू गर्दैछन् विर्यदान !
सडकहरू भरिभराउ छन्
पसल, सभा, जुलुस र सम्मेलनले
मोटरहरू खाज्दैछन्
हिंड्ने बाटो— घर भित्र !

एघार–बाह्रका कुमार कुमारीहरू
सराप्दै हिंडेका छन् आफैलाई
आफ्नो दुर्भाग्यबस नतोडिएको कौमार्यलाई !

धारा हावा ओकालिरहेछ
विजुली अन्धकार
रगत प्यास मेटाइरहेछ
सत्ता भोक !

जिब्रो थुतेर बेचेका छन् कचिला
र लिएर हिंडेका छन्
बोल्ने लाठी, खुकुरी र बन्दुक !
गिदी पोलेर खाएका छन्
र खोलेका छन्
भाँषणका फोनबाजा !

गाई गधा बनेको छ
गधा गाई !
भनिरहेछ अगुवा
एउटै कुरा दोहो¥याई दोहो¥याई
…………….सुन्दा सुन्दा
मानिस बहुलाएको छ !

नग्न कुर्लिरहेछ नग्नताको विरुद्ध
कैलास पर्वत भैंm उभिएर !
सवस्त्रीहरू हिंडेका छन्
आँखा झुकाएर !

ड्राइभर भारा उठाउँदैछ
कन्डक्टर चालाउँदैछ बस
यात्रु लिंदैछन् मोबाइलमा
आफन्तसँग अलविदा !

छोराहरू सुतेकाछन्
चितामा लम्पसार
बाउहरू दिंदैछन् दागबत्ती !
अबोध नाति–नातिनाहरू
लुकेका छन् घर भित्र
छेस्किनी लगाएर
सरकारको डरले !

यहाँ इतिहाँस भन्नेहरू छन्
बुझ्नेहरू छैनन्
यहाँ भविष्य गन्नेहरू छन्
सोंच्नेहरू छैनन्
यहाँ वर्तमान भोग्नेहरू छन्
बोक्नेहरू छैनन् ।

कसले भन्ला र ?
एकान्तमा मानिसको आवाज मात्रले पनि
मन ढुक्क हुन्छ—
यो भूतकाल होइन
कसले भन्ला र ?
हामी स्वर्णिम ईतिहाँस निर्माण गर्न
लागिपरेका छौं—
यो वर्तमान काल होइन
कसले भन्ला र ?
मानिस फेरि समाज तिर फर्कंदै छ—
यो भविष्यकाल होइन
अहिले त
एकान्तमा मानिसको आवाज मात्रले पनि
मन ढक्क फुल्छ—
यो त संक्रमणकाल हो !!

Dhruab Silwal – Uslai Bhaneko

ध्रुव सिलवाल – उसलाई भनेको

भैगो जिन्दगीलाई नभनौं
उसलाई बरु केही भनौं
असाध्ये कहिल्यै दिँदैनदे
परिश्रमको दुइ छाक खान दे ।

भोग बिलास त अन्धो न हो
ठूला साना दुवैका बीचको
थेग्नै नसक्ने भो दिँदै नदे
नग्न नहुने गरी छोप्न दे ।

कसलाई भन्दा के हुन्छ र
नहुनेलाई कसले छुन्छ र
अपकारीलाई दिँदैनदे
उपकारीलाई मात्र धान्न दे ।

जिन्दगी त कर्म हो न कमाई
अकाट्य यो नीतिको भनाई
अबुझक्कीलाई छुनै नदे
मर्मज्ञलाई बरु छान्न दे ।

लामो भन्छ जिन्दगी कर्महीन
भन्छ छोटो जिन्दगी मर्महीन र्
कर्म र मर्म नबुझाइनदे
त्यो मौका दुवैलाई बुझन दे ।

कमाई हो जिन्दगी अघिको र्
कर्म हो मीठो फल हो पछिको र्
कर्मविनाको जिन्दगी नदे र्
कर्मयोगी जिन्दगी रम्नदे ।

जिन्दगी त एउटा कमाई
कोही बाँच्छन् त्यसमै रमाई
स्वभाग नमान्नेलाई नदे
सम्झौता गर्नेलाई छान्न दे ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Tanka Wanem – Asurakhshya

टंक वनेम – असुरक्षा

ओजनतह ओर्लेर
आँधी निम्त्याई रहेछ
आगोका लप्काहरु
जयगान गाइ रहेछन्
विध्वंसको घडामा
बारुद भरिएर
बन्दुक पड्काई रहेछ
तोप नारि रहेछ
बाइलोजिकल
केमिकल र
न्यूल्कियरको भट्टीबाट
बिनासको
दुर्गन्ध उडी रहेछ ।

रक्त रञ्जित
वर्तमानको घाउमा
दलेर नुनचुक
आतङ्कको बरर्ना सार्दै
महासमरको बृक्ष
अग्लि रहेछ आकास छुन
ताकि रहेछ बन्दुक
सुरो निशाना
मरि रहेछन् मान्छे
बाँची रहेछ भोक
फस्र्टाई रहेछ शक्ती
बौलाई रहेछ
बजाउदै मृत्युको घुँगुरा
कहाँ रहर्यो र – अब
बाँच्नुको मज्जा
जीवन भोग्नुको अर्थ ।

बुझेको हुनु पर्छ
युद्ध हाँक्ने
युद्ध सरदारहरुले
बन्दुक द्धारा
इतिहास मात्र बङ्ग्याउन सकिन्छ
सभ्यतामात्र भत्काउन सकिन्छ
मान्छेको –
टाउको मात्र गेड्न सकिन्छ
बङ्ग्याएर, भत्काएर, गेँडेर
कुरुक्षेत्रमा नउम्रेको
शान्तिको कल्प बृक्ष
उम्रिन्दैन भने-
युद्ध गर्नुको के औचित्य
बिना अर्थको विध्वंस
घाँटी रेटेर –
कस्तो विजयको उच्छ्वास
तर पनि-
बार्बेर्इअन् द्धन्द्धमा आतिन्दै
श्वास फेरि रहेछौं
जीवन र मृत्युको दोबाटोमा
जीवनको रथ गुडी रहेछ
खस्न लागेको
आकास मुन्तिर
ओत लागि रहेछौं
आफै प्रश्न गरौं
कस्तो संसारमा बाँचेका छौ हँ ?

दिन दहाडै मृत्युको
तान्डव नृत्य नाच्छ
समसाँझै-
मृत्युले भुत्ते धार उध्याउछ
विज्ञानको अविस्कारमा
युद्धको पाठ घोकाइने समय
दर्ुयाेधनको दाउ पल्टी रहँदा
असुरक्षित छ समय
असुरक्षित छ हावा
असुरक्षित छ पानी
असुरक्षित छ आकास
असुरक्षित छ धर्ती
असुरक्षित छौं
संसारमा भएका
सून्दर
सृष्टिका रचनाहरु ।

Krishna Prasad Bhandari – Hamro Chahana

कृष्णप्रसाद भण्डारी – हाम्रो चाहना
(मधुपर्क बैशाख, २०६७)

नव्य नेपालको कल्पना गर्दथ्यौं
लोकतन्त्रसँगै जीविका गर्दथ्यौं
सोच यो पूर्ण भो राजतन्त्रै ढल्यो
फेरियो शासनै क्रान्तिले त्यो गल्यो ।

पच्चिसै Continue reading “Krishna Prasad Bhandari – Hamro Chahana”

Sharmila Pokhrel – Pardesh Ma Mero Desh

शर्मिला पोखरेल – परदेशमा मेरो देश

मेरो देश
मसँगै प्लेनमा चढ्यो
र मेरै छेउको सिटमा बस्यो
मेरो देश मैले लाउने
रातो टिका र पोतेमा आयो
मैले बोल्ने नेपाली भाषामा आयो
मेरो देश
गायत्ती मन्त्रमा आयो
पुजाको Continue reading “Sharmila Pokhrel – Pardesh Ma Mero Desh”

Balkrishna Magar – Dukhad Niyati

बालकृष्ण मगर – दुःखद नियति

यी मध्यान्ह जति
आत्महत्या गरिरहेछन्।
दिउसै दिन डूबे पछि
सडक आफ्नो स्वतन्त्रतालाई खुम्च्याएर
जीबन संगत बन्न खोजिरहेछ।
यतिखेर,
कैदि भएका छन्
नेल्सन मण्डेला र महात्मा Continue reading “Balkrishna Magar – Dukhad Niyati”

Tulsi Diwas – Awaz, Nadi Ra Ma

तुलसी दिवस – आवाज, नदी र म
(मधुपर्क माघ, २०६७)

समय थुनिएको बुइगलको भत्किएको पाखामा
शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो
अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई
दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज,
युगको आफ्नै छिंडीको चिसो भुइँतलामा
युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज,
बन्दीघरमा थुनिएका तर नसुनिएका घरभरिको पातलो आवाज,
द्वन्द्व र सङ्घर्षको पहिरोमा परेर बगी
आफैँबीच चेप्टिएर पुरिएको आवाजहीन शून्य आवाज,
अनियन्त्रित राजनीतिक भ्रष्टाचारको मेदभावयुक्त बाढीमा बगेर
यत्रतत्र खण्ड खण्ड छरिएर टुक्रिएका मौन आवाज,
भोकमरि र सङ्क्रात्मक रोगको भुइँचालोले थिलथिल्याएको
कहिल्यै नसुनिएको भूमिगत कोलाहलको आवाजहीन आवाज
चुरा फुटेर सिन्दूर पुछिएको सेतो लुगाको रङ्गीन आवाज
अपहरण, बलात्कार र हत्याको मलिलो माटोमा उगि्रएको
भूमिगत पीडाको बाक्लो भित्रभित्रै चर्किएको
पोल्ने एकान्तबाट निसृतः जलिरहेको आवाज,
संवेदनारहित शक्ति र सत्तामा केन्दि्रत विभाजित दलगतस्वार्थ हो
पुरेको मान्छे मात्रको नसुनिने दबाइएको सेतीको दबेको आवाज,
सबै चेतनाको उज्यालो भरेङ चढेर
तला, बार्दली र कौशीमा क्रमशः उक्लिरहेका,
र निस्किरहेका छन् -हूल हूलमा घाम ताप्न
बन्दीगृहको युद्ध मोर्चामा मात्र सीमित छैनन् ती,
हरेक घरका मूलढोकाबाट खिया लागेको
फलामे गजबार तोडेर सडकमा ओर्लेका छन् ती
सानो-ठूलो बाटो हुँदै निस्केका ती आवाजहीन आवाजहरूको नदी
एउटा बाढी भएर मूलसडकमा अनियन्त्रित रूपले बगेका छन्
र आवाजहरूको उर्लंदो जुलुस भएर उर्लेका छन्
समूह-समूहमा बाँडिएर बेलाबखत ती
असन, इन्द्रचोक, भोटाहिटी र रत्नपार्कमा कोणसभा गरिरहेछन्
साँझ ओर्लंन नपाउँदै फेरि नयाँसडकमा मसाल जुलुस पनि निकालिरहेछन्
समावेश हुन नसकेको तर आक्रोशित कहिल्यै नसुनिएको
मैदानबाट उठेको भुइँ कुइरोको हूल
यही नदीको ओछ्यान र बगरबाट माथि पहाडमा उठेको छ
सडकमा आएको अप्रत्यासित तर योजनाबद्ध दमित
आवाजहरूको यो बाढीले पैदल हिँड्ने दुबै किनार ढाकेर
नाङ्ले पसलदेखि ठूला डिपार्टमेन्टल पसलसम्म
साना-साना घरदेखि गगनचुम्बी ठूला दरवारसम्म भेटिसकेका छन्
ती चर्किसकेका छन्, भत्की, लडिसकेका छन्
तर हूल-हूलमा बाँडिएर सडकमा कुद्ने यी आवाजका भुइँ कुइरोहरू
आकाशको अज्ञात कुन दिशातिर घुँडामाथि उडिरहेछन्
ध्यान मग्न भई फेरि पनि आफ्नो कोठामा म सोचिरहेछु-
एकता, स्थिरता र मेलमिलापको विषयमा,
सहमति, शान्ति र संविधानको विषयमा
यसरी सोच्दा-सोच्दै आफ्नै आवाज पनि फुत्त निस्केर
आवाजहरूकै बाढीमा मिसिएर बगेको देखिरहेछु
रस्वयं म पनि आवाजहीन आवाज भएर बगिरहेछु ।

Kailash Shikar – Akhtiyar ra Bhrastachar (Gajal)

कैलाश शिखर – अख्तियार र भ्रष्टाचार (गजल)

अख्तियार र भ्रष्टाचार ,उस्तै उस्तै लाग्छ।
राजनीति र सरकार , उस्तै उस्तै लाग्छ।।

फरक निर्जिवता र विचारको न हो
क्रान्ति र हतियार ,उस्तै उस्तै लाग्छ।।

पुरानै Continue reading “Kailash Shikar – Akhtiyar ra Bhrastachar (Gajal)”

Umesh Upadhyaya – Myad Sakiyo Maharaj

उमेश उपाध्याय – म्याद सकियो महाराज

यसपाली पनि मसाल बिसाउन पाईएन
जितिएको युध्द कति कतिपल्ट बल्झिएर फेरी आईलाग्छ
निको हुनै नसक्ने ज्यानमारा घाउजस्तो बल्झन्छ
चर्कन्छ दुख्छ मरणान्त पीडा
निचोरेर असह्य Continue reading “Umesh Upadhyaya – Myad Sakiyo Maharaj”

Nishprav Saji – Sapana Akash Ra Basti Haru

निष्प्रभ सजी – सपना, आकाश र बस्तीहरू

यी टुक्रा टुक्रा बादलहरु
जोडीए हुन्थ्यो एकै चोटी

जे हुनु छ
भए हुन्थ्यो छिट्टै
भोली सखारै खुले हुन्थ्यो आकाश
धेरै भयो
क्षितिजमा नपोतिएको इन्द्रेणी

पर्नै खोजेको भए
परे हुन्थ्यो चट्याङ
बग्नै खोजेको भए
बगे हुन्थ्यो पहाड

म होश मै छु
र मलाई यो पनि थाहा छ
हामी
पहाडकै जरा समातेर झुण्डिएका छौं

हुन त, यो अँध्यारोमा
कहाँ जिउँदा छन् र बस्तीहरु !

हेमजा, कास्की, हाल: अष्ट्रेलिया

Sharu Bhutiya – Usle Kehi Garna Sakena hola

शरु भुटिया – उसले केही गर्न सकेन होला

भीडमा थियो ऊ
खुलेर रुन सकेन होला,
मलाई बिश्वास छ
कि ऊ एकपल पनि
सुत्न सकेन होला

त्यो मान्छे
जसलाई बुझ्न
मलाई
पुरै उमेर लाग्यो,
बिछोडिएर मसँग
अरु कसैको
हुन सकेन होला

कामेका हातहरु
कमजोर
धागो सासको,
त्यो सुकेको फूल
उन्न सकेन होला

धेरै उजाड थियो
गहिराइ
उसको आंखाको,
त्यो आंसुले छाती
भिजाउन सकेन होला

मेरो लागि ऊ
सबै सुख सयल
छोडेर आउँथ्यो ,
मलाई बिश्वास छ
उसले यो गर्न सकेन होला ।

रचना समय :- ५ जूलाई २०१०

Saru Subedi – Prem

सरु सुवेदी – प्रेम

निरन्तर समयको रफ्तारसँगै
घरि आगो घरि हिउँसँग
पौठां जोरी खेल्दै
सुस्किदै सुसेल्दै
कति उकाली काटिएछन्
कति देउराली र भञ्ज्यांग सुतिएछन्,
तरिएछन् थुपै्र चीसा जंघारहरु
पत्तै भएन Continue reading “Saru Subedi – Prem”

Hari Ghimire – Swadhinata

हरि घिमिरे – स्वाधीनता

मनुष्यको स्वाधिनताको महान सपना हुन्छ
बिहान फक्रेर बेलुका ओइलिने
एउटा फुल फुले जस्तो होइन
पत्थरका कुना-कुनामा किराहरु
आफ्नो साम्राज्य फैलाएर
स्वाधीनताको गीत गाइरहेका हुन्छन्
आकाससँग उन्मुक्तिको साइनो गाँसेर
म कठघरामा उभिएर भए पनि
तिमीसँग स्वर मिलाउँन चाहन्छु
एक दिनका लागि होइन
एक छिनका लागि होइन
तिम्रा-उसका रगतका थोपाले
सिञ्चिएको हरियो दुबोको चौरमा
गाउँका बच्चा खेल्न पाउँन्
बेरोकटोक हाँस्न पाउँन्
मुजा परेका जेष्ठनागरिकले आफ्नो लठ्ठी दह्रोसँग टेक्न पाउँन् ।

धृतराष्ट्रले धर्तीलाई चिन्न सक्तैनन्
केवल अगाडि दुर्योधन हुन्छन्
फलामको मूर्तिलाई चकनाचूर पार्नेले
मान्छेको स्वतन्त्रताको गीत गाउँनेको गला निमोठ्न
मान्छेको भविष्य हेर्दैनन्
तैपनि स्वाधीनताको सङ्लो सपनामा
सपूतहरु निरासाको कथा भन्दैनन् ।

भर्जिनिया, अमेरिका

Manju Niraula – Yo Baini Ko Maya

मन्जु निरौला – यो बैनीको मायाँ

अम्बर, अबनी, चारैतिरको दिशामा
बैनीको सुकोमल, चोखो, गहीरो मायाँ

गुनकेशरी, सुनकेशरी, मखमली जताततै
यो बैनीको अगाध स्नेह र सम्झना

मखमली फुलले उनिएको मालामा
सुवास छैन तर बैनीको औधि मायाँ

सयपत्री, लालुपाते अनि शीतको थोपामा
दुबो झैं पवित्र बैनीको सुकोमल मायाँ

भैली, देउसी, मारुनीको नाचमा
छ परदेशी बैनीको प्रखर छायाँ

यम र यमिकाको भूमिका निभाउने
आशीर्वादमा झुक्ने बहिनीको काया

हिमालपारी देउराली चौतारीको गाउँमा
बैनीको माइती कति झिलिमिली होला

कमेरो, रातो माटोले पोतेको माइतीको आँगन
दाजै र भाइको मायाँले लतक्कै भिझेको होला

मन मेरो रुन्छ, तन मेरो पुग्छ माइती मझेरीमा
कति नै बिर्सु भन्छु देउराली मन मेरो मान्दैन

बाबा र आमाको काखबाट भागेर आएँ पराइ भएर
दाजु, दिदी, भाइको बाल्यपन ताजै छ मनभरि

मखमली फुलले सजाऊं यो बैनीको तिहार
हिमाली छायाँ यो मेरो मायाँ तिम्रै हो उपहार

चाहिंदैन यो बैनीलाई कुनै लोभलाग्दो उपहार
आशीर्वाद, सम्झना मात्रै गरे यो मन प्रफुल्ल

तीज, दशैं, तिहार आयो कि माइतीको सम्झना
जति नै रमाए पनि पतिको घरमा यो मन माइतिकै माझमा

आशीर्वाद लेउ आज परदेशी बैनीको
दीर्घायु होउ तिमी यही आशीष बैनीको

दीयो बत्तीले झिलिमिली होस् तिम्रो आँगन
अटल रहोस बैनीको मायाँ यही छ शुभकामना

Rishi Bastakoti – Farkun Farkun Lagyo Kina (Nepali Gajal)

ऋषि बस्ताकोटी – फर्कुं फर्कुं लाग्यो किन

फर्कुं फर्कुं लाग्यो किन आधी बाटो हिडेपछि,
अरू भन्नु छैन अब, भित्रैदेखि चिनेपछि

बेमौसमी फूल फुल्यो, नफक्रदै झर्यो तर ,
आफ्नो भन्नु के रह्यो र मनकै डोरो छिनेपछि

हुँदा खाँदा सबै साथी, नहुँदाको को रह्यो र !
लावालस्कर सबै हुन्छन दिउन्जेल दिनेपछि

मनको कालो फेरिंदैन, तीर्थ ब्रत जे जे गर ,
मुहार त चम्किएला बजारको किनेपछि

फर्कुं फर्कुं लाग्यो किन आधी बाटो हिडेपछि,
अरू भन्नु छैन अब, भित्रैदेखि चिनेपछि

२५ जून , २०१०
भ्यानकुभर, क्यानाडा