Radhika Guragain – Abhav Ma Mero Gaun

राधिका गुरागाई – अभावमा मेरो गाउँ
(मधुपर्क २०६६ चैत)

सु्न्दरता छाउने प्राकृतिक
बनोटहरू सँगै
गाँसिएर यतिबेला
आफ्नै परिवेशमा बाँच्नुको
वाध्यतासँगै
विपन्नताको वषर्ाद छिचोल्दै
ओरालो झरिरहेछ
अभावमा मेरो गाउँ ।
रित्तिएर खाली विचाररूप
टनाटन भरिएपछि
गाउँ अचेल
पीडाको दुखेसो पोख्छ
आँसु लुकाउँछ सुटुक्क
र हलुको बन्छ
मर्यादाभन्दा पनि अलिपर
वर्चस्व खेपेर सहिरहन्छ
अभावमा मेरो गाउँ ।
मेरो गाउँले नदेखेको जुन
धेरै टाढा रहेछ
मेरो गाउँले नसुनेको गीत
कोइली डाँफे मुनालमा पनि
रुखो सुनिदो रहेछ
पोल्टाभरि उज्यालोको भीख मागेर
अलिकति अलिनो
अलिकति नुन
भोको पेट र तिर्खाएको अनुहारलाई
रित्ता गाग्रीबाट प्यास मेटाउँदै
अनिश्चित भविष्य हिँडिरहेछ
अभावमा मेरो गाउँ ।
आखिर नछाड्नुको दुःख
नसाँच्नुको साँच्नुको सुख
विवशता र बन्धन
जतिसहे पनि
सन्त्रास नभेट्दै तलतल झरिरहेछ
क्रमशः
ओरालो लागिरहेछ
ओरालो झरिरहेछ
अभावमा मेरो गाउँ ।

Anu Shaha – Kalpana Ko Bahav

अनु शाह – कल्पनाको बहाव

सुकुमार कोमल पल्लवको आगमनले
बसन्त प्रवेश भइसकेको आभास दिन्छ।
झरनाको मिठो रोमान्चक झंकारमा
घनघोर वर्षादसँगै मयुर जस्तै भएर
मन आफ्नै आँगनमा नाच्न थाल्छ।
निस्फिक्रि कोइलीको कुहुकुहु र
पवनको सुगन्धित सुभास सँगै
गुन्जिरहेको जल तरंगको बीच
नृत्यमा पारंगत म चुर्लुम्म डुब्छु
सरगमको तालमा।
आफुलाई मधुवनको मीरा झैं ठानि
अंगप्रत्यंगको भावभंगिमाबाट
म प्रेमको निमन्त्रण दिइरहेछु।
मेरो मनमीत प्रियतमलाई
बिनम्र अनुरोध गरिरहेछु।
सजाएको छु मन्दिर श्रध्दाको फुलहरुले।
जगमगाई दिन्छु आस्थाको लाखौं दिपहरु
हजारौं सुमधुर घण्टाको आवाजहरुले।
पुलंकित मन भावविभोर हुनेछन
हाम्रो दुई आत्माको मिलनमा।
बर्सिने छन हजारौं रङहरु यस धर्तिमा।
हामी हुनेछौ प्रेमाभाव प्रेमालापमा।
अनि पूर्ण सन्तुष्टिको साथ
बिलिन हुन चाहन्छु चिर निन्द्रामा
सधैं सधैंको लागि।।।

Sita Asim – Timro Mero Doori

सीता असीम – तिम्रो मेरो दूरी
(मधुपर्क साउन, २०६७)

कुभिण्डोलाई खुट्टा लगाइदिएर
हिँड्न सक्तैन भन्ने मलाई थाहा छ
ढेंडुलाई पगरी पनि कति गुथाइरहनु र !
काम आफैंले गरेेको हो
मैले आफँैलाई सम्मान गर्न खोजेँ
त्यसैले अहिले तिम्रो मेरो दूरी बढेको छ ।
‘केही न केही लेख्नुपर्छ, लेखिरहनुपर्छ, अन्यत्र समय खर्च नगर्नु’
तिमीले भनेका थियो ।
मैले आफ्नो पेट मार्न सकिन
कहिलेकाहीँ घरमा अभिभावक भइदिएँ
सडकमा पसारिएका आँसुहरूमा पनि अलिअलि अल्मलिएँ
तिम्रो अनुरोध पालना गर्ने समय पुगेन
हप्ता-महिनामा त के वर्षदिनमा पनि
एउटै केही फलेन
केही नल्याई तिमीलाई के भेट्नु र !
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।
उचालेर काँधमा राख्नुपर्ने
काँधमा राख्दा पनि उचाइ नपुगे टाउकैमा टेकाउनुपर्ने
तिम्रो आशय हुँदो हो
भर्‍याङ्ग मात्रै बनेझैँ लाग्दा पनि मलाई त असहृय भो
चिल्लो-गुलियो पनि उपलब्ध गराउनै सकिन
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।
निधार खुम्च्याइ-खुम्च्याइ बाबुको नाम सम्झेर
गर्भे टुहुरो भाइको नागरिकता बनाएका तिमीले
जीवित आमाको वास्तै गरेनौं
महिला दिवसका अवसरमा डटेर भाषण गर्‍यौ
उनीहरूलाई स्वतन्त्रता, स्वामित्व, स्वनिर्णय र पहिचानको
अधिकार दिइरहेको कुरा गर्‍यौ
मैले प्रश्न उठाउँदा तुकहीन तर्क गरेर टार्‍यौ
मेरो चित्त बुझेन
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।

– पर्वत

Khagendra Thapa – Thukka Ma Pani

खगेन्द्र थापा – थुक्क म पनि

अचेल देश साह्रै दुख्यो भनेर
उफ्रिएँ कराएँ रोएँ आसुले मुहार धोए,
र पनि
कसैले हेरेनन् सुनेनन् मनमा गुनेनन्
कस्तो बेवकूफ थुक्क म पनि
व्यर्थैमा,
नउफ्री नाचे भैहाल्थ्यो निर्घृणी बाचे भैहाल्थ्यो
आसुले यो मन धोईहाल्थ्यो,
र पनि,
कसैको खुट्टा तानिन झुटको जाल हानिन
खुसीले जीवन धानिन
कस्तो उल्लू थुक्क म पनि।

लौन ल नि रु
काल फुक्यो भनेर चिच्याए, दाह्रा ङिच्याए,
गुहारे अनिष्ट छेक्न धेरैलाई पुकारे,
र पनि
सुन्नु पर्नेले सुनेनन्, मनमा गुनेनन्
कसैले बाटो थुनेनन्
कस्तो लठूवा थुक्क म पनि
बेक्कारमा,
नचिच्याई हासे भैहाल्थ्यो
अरु जस्तै बाचे भैहाल्थ्यो
आसुले यो मन धोईहाल्थ्यो,
र पनि
कसैलाई बैरी ठानिन स्वार्थले मन बानिन
सुखैसुख छानिन बाच्न पटक्कै जानिन,
कस्तो मूर्ख थुक्क म पनि।

Indra Mani Nepal – Shramik Ra Parishram

इन्द्रमणि नेपाल – श्रमिक र परिश्रम

बगाई पसिना सस्तो श्रमको गरी साधना
गरेर दुखमा खोजी सुखको मनकामना
बोकेर सपना भारी भौंतारिंदै वरिपरी
छुट्लान् खै कसरी पिडा सधैं चिन्ता मनैभरी

चराका बचरा जस्ता मिले Continue reading “Indra Mani Nepal – Shramik Ra Parishram”

Mani Lohani – Sambandha Sutra

मणि लोहनी – सम्बन्ध सूत्र

विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी
बाबु जलाएको खरानी बगाउने
निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक
र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो
सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक
यतिखेर मेरा सहयात्री बनेका छन् ।
अब आफ्नो भन्ने कोही बाँकी रहेनन्
अनि म निस्किएथेँ यात्रामा
कतै जाउँ भन्थेँ, उहिल्यै
आफ्नाहरूको मायाले सताउँथ्यो त्यतिखेर
मोहले भुतुक्कै पाथ्र्यो, पर हुँदा
यदाकदा कतै गइहाले पनि
सताउँथ्यो यादले
सँगै रहँदा पनि कहिल्यै मिलेन सुख
जन्ती आउँथे, हृदयमा हुँदैनथ्यो शुभकामना
विना समवेदना आउँथे मलामी
र गाह्रो साह्रोमा कहिल्यै हुँदैनथ्यो सरसहयोग ।
जब थपिँदै गयो
उमेरसँगै दुःखको पहाड
सम्बन्धको जालोसँगै एकाङ्कीपन
आफन्तको न्यानोपन
बतासियो, साँझका चराहरूसँगै ।
अडिएन पर कतै पुगेर
बतासजस्तो उनीहरूको माया
इन्द्रेनीजस्तो आफ्नो सपना
र यौवनजस्तो उनीहरूसँगको सम्बन्ध ।
नबग्नु खोलो बगिरहृयो
रोकिएन फिरन्ते ऋतु र मौसम
बेहिसाब हिँडिरहृयो अभिशप्त समय ।
र यात्रामा निस्किएपछि
एक-एक गरी भेटिए
बूढो पूजारी
उदास बालक
र असुरक्षित नागरिक ।

Kunta Sharma – Khola

कुन्ता शर्मा – खोला

खोला मौन थियो
शरद पूणिर्माका जुलेनीहरू
खेल्न पाएनन् छातीमा
नीर निलिमायुक्त आकाश
अटाउन पाएन वक्षमा
खोला निःशब्द थियो, क्लान्त थियो
खोला व्यथित थियो, मरणान्त थियो ।
विकृतिहरूले पत्रपत्र भएर छोपिदियो
यसको छाती
बिसङ्गतिले थुप्रा थुप्रा भएर ढाकिदियो
यसको वक्ष
मधुर सुसेली हरायो, मिठो बोली हरायो
जीवन्तता हरायो, प्रसन्नता हरायो
लक्ष्य हरायो, मिठो बोली हरायो
जीवन्तता हरायो, प्रसन्नता हरायो
लक्ष्य हरायो, गन्तव्य हरायो
चञ्चलता हरायो, गतिशीलता हरायो ।
एकदिन बाढी आएर सबै छताछुल्ल भयो
दर्गन्धहरू वगे, फोहोरहरू वगे
खोलाले फेरि सुसेल्यो
खोलाले फेरि मिठो बोली बोल्यो
खोला स्वच्छ भयो, खोला सुन्दर भयो
तर मलाई थाहा छ
जब वर्षा थामिनेछ
फेरि लामो समयसम्म खोला मौन रहनेछ
ऋतुहरू फन्को मार्दै जानेछन्
खोला छातीभरि भरि दुर्गन्ध बोकेर
हस्स गन्हाउँदै निःशब्द हुनेछ
मौन हुनेछ
त्यसैले खोला स्वच्छ हुन
खोलाको कलकल गीत सुन्न
खोला छोपिनु हुँदैन महत्त्वाकांक्षाका
रासहरूले
खोला पुरिनु हुँदैन आशंका र अविश्वासले ।

Bidhan Acharya – Chot Haru

विधान आचार्य – चोटहरु
(Source: मधुपर्क पुस, २०६७)

तिमीले दिएका चोटहरू
फूलभै”m सँगालेर
छातीमा नसमेटेको भए
म कसरी तिमीलाई
बारम्बार सम्भिmरहन सक्थैँ र ?
तिमी आगो बोल्थ्यौ
आँधी हिँड्थ्यौ,
र सुनामी उत्पातले
मलाई लथालि· पाथ्र्यौ
म त्यही आगोका शब्दमा
फूल सुम्सुम्याउँथे
आँधी हिँडाइमा
चाहनाकी देवयानी देख्थेँ
सुनामी उत्पातमा
पुनर्निर्माणको पे्ररणा पाउँथेँ ।
अवगालका पाइताला
बाक्लो जमेको रातको प्रीत
कल्पनामै मात्र रहिरह्यो
दुखेको कल्पना र
च्यातिएको सपना अनि
निमोठिएको विपना

मेरा अंशका चरित्रहरू ।
तिम्रो बाटोको चुम्बक
म कमजोर फलामको गन्तव्य
दन्त्यकथाका राक्षस पात्रहरू
आँखाको जाल विछ्याएर
सहर हल्लामा पौडिरहेछन् ।
मासुका मनचिन्ते व्यापारी
सहरभरि व्याप्त छन्
खबरदार आमाहरू
बालक लिएर खोपी पस
मेरो दुर्भाग्य
कटाक्ष व्यापारको सिकार छु
प्रत्येक चोटलाई
मनको खोपीमा
जतनसाथ राखेको छु ।
प्रतीक्षामा छु
चोटहरू स्नेहास्त्रमा परिणत हुने दिन
र हातका माला पहिरिने दिन ।
म खालि
चोट – पुष्पको प्रतीक्षामा छु
चोट – मालाको प्रतीक्षामा छु ।
मेरो मालाका लागि
एउटा फूल थपिदिन्नौ र मित्र ?

Buddhi Sagar – Ek Dam Maun

बुद्धिसागर – एकदम मौन
(Source: Himal Khabar)

म फेरिएँ
पुरानो वर्षझैँ
झ्न् पुरानो वसन्तझै

म बिर्सिएँ
उराठ पहाडको
बिरानो देउताझै,

उदास-उदास तिमी
गयौ अगाडि
या पछाडि फर्कियौ
म त यतै छुटे
उही चिसो-चिसो
पुरानो बसपार्कझैँ।

मलाई खोज्दै-खोज्दै
कहिलेकाहीँ
मडारिँदै-मडारिँदै आउँछन्,
पहिलो बर्खाझैँ
तिम्रा धमिला झ्झ्ल्काहरू।

मेरा आँखाका दलिनमा
एकाबिहानै
त्यान्द्रा-त्यान्द्रा पुराना दिन
चुच्चामा बोकेर
ढुकुरझैँ एकैछिन् बिसाउँछन्
तिम्रा चञ्चल आँखाहरू।

मन बरालिन्न अचेल
आफ्ना सपनाका वनहरूमा
टाँसिन्छन्, वनकुरोझैँ शरीरभरि
तिम्रा अधुरा मुस्कानहरू।

म बिसाउँदिनँ
सिमलका रूखमुन्तिर जिन्दगी
खस्छन्, सुस्तसुस्त
सुकेका सिमलका फूलजस्ता
चहकिला र
भुवादार तिम्रा आवाजहरू।

तिमीसँग हिँड्दा रोजेँ
कत्ति छोटो गोरटो
तिमीसँग बोल्दा निफनेँ
कत्ति साना शब्दहरू
म गनिरहेछु
र गरिरहेछु हिसाब
तिमीलाई भेट्न
बोकेर आएँ झ्ोलाभरि
कत्ति थोरै दिनहरू।

केही हिक्का बटुलेर
सँगालेर केही ऐंठन
फर्कियौ तिमी नफर्किने गरी,
म निदाएँ
केही अंश जीवन
एकलाश वनको पुरानो चिहानझैँ
एकदम चिसो
एकदम मौन।

Chet Bahadur Kunwar – Rashtra Ek Dhikka

डा.चेतबहादुर कुँवर – राष्ट्र एक ढिक्का
(मधुपर्क बैशाख, २०६७)

कतै हामी हिन्दू कतै हामी बौद्ध
कुनै छौं किराँती कुनै हामी सिख
कोही छौं क्रिस्तानी कोही मुसलमान
जात धर्म खालि महिला पुरुष ।

चाहे हामी हिमाली चाहे मधेसी
चाहे छौं पहाडी सबै एक वासी
चाहे भिन्न धर्म चाहे भिन्न भाषा
अमूल्य सम्पत्ति नेपालका खासा ।

छुट्न किन चाहन्छौ एकार्कोबाट
एकै देश हाम्रो मिलेमा विराट
परेको छ चिरा छाती लौ आमाको
मेटौं है अवश्यै चीत्कार आमाको ।

किन सोंच्छौ व्यथै एकअर्को भिन्न
हात हात मिले सब छौं अभिन्न
बन्ने छ सुनको यो अमूल्य सिक्का
अटुट अवश्यै राष्ट्र एक ढिक्का ।

Purushottam Subedi – Satisaal

पुरुषोत्तम सुवेदी – सतिसाल
(मधुपर्क २०६६ असोज)

ठूलो वरको रूखको टुप्पोमा
काटिएको टाउको
आन्द्राभुँडी, कलेजो
र करङका लाप्सा
ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै
समयको बूढो गिद्ध
मुक्तियुद्धको पराजयको
साक्षी बसेको छ ।

युगले लडेको
विचारको कुरुक्षेत्रमा
सपनाको शरीरबाट
रगत बग्दैछ
र जम्दैछन्
राता रगतका पोखरीहरू
सडकमा
र घरघरमा ।

उन्मादको यो क्षणमा पनि
प्रयत्नरत छ समय
सत्तासुखको
कालो जादुले
बारम्बार खोस्न खोजेको
जीवनको गीत गाउन ।

-कलङ्की, काठमाडौँ

Deep Raj Neyong-Hang – Poorba Astaundai Gareko Ghaam

दीप राज नेयोंगहांग – पुर्व अस्ताउदै गरेको घाम

साँगुरी भञ्याङ्गपारि क्षितिजबाट
उदयमान् घाम
चिसो आङ्ग सेकाउदै निस्कन्छ
घुँगी सिपीको हराउँदो बास
छेपारोको कथासँगै
राउटे र कमैयाका गाँउहरुमा
गल्लीहरु Continue reading “Deep Raj Neyong-Hang – Poorba Astaundai Gareko Ghaam”

Dhruba Madhikarmi – Maile Hidne Batobhari

ध्रुव मधिकर्मी – मैले हिँड्ने बाटोभरि
(युवामञ्च)

मैले हिँड्ने बाटोभरि
हारहरूको लाम थियो

मरी मरी बाँच्नुपर्ने
जीवनको यै नाम थियो

झुक्छ किन श्रद्धाले शिर
सायद यता धाम थियो

सम्झी सम्झी आफैँ रम्छु
कति रसिलो याम थियो

एक्लै तरें जङ्गल जङ्घार
मनमा कतै राम थियो ।

Ram Sharan Sedhain – Maya Saatdaa

रामशरण सेढाई – माया साट्दा
(नेपाल साप्ताहिक ३९९)

माया साँट्दा तिमीसँग मुटु साँटिएछ
फिर्ता मागूँ भनी खोज्दा मनै भाँचिएछ

माया साट्दा तिमीसँग मुटु साटिएछ…

धेरै प्रयास गरे पनि जोड्न सकिएन
चोट लाग्यो हृदयमा मेट्न सकिएन

माया साट्दा तिमीसँग मुटु साटिएछ…

टाढिएको जस्तो लाग्छ सपनीमै पनि
आँखा बस्छन् प्रतीक्षामा कहिले देखूँ भनी

माया साट्दा तिमीसँग मुटु साटिएछ…

मैले जान्न सकिनँ कि तिम्ले भुलेकी हौ
तिमी साँच्चै हरायौ कि कतै डुलेकी छौ

माया साट्दा तिमीसँग मुटु साटिएछ…

Murari Parajuli – Mero Bimati

मुरारी पराजुली – मेरो विमति

सहस्र अँध्याराको ओढारबाट
निस्किदैन जबसम्म ऊ
र मिल्क्याइँदैन मुकुट उसको
मेरो विमति
तिम्रो सत्तासँग भइरहनेछ
र तिमीहरुले पहिनिरहेका
स–साना श्रीपेच विरुद्ध पनि
मेरो वितृष्णाको बज्र बजि्ररहनेछ
र जतिन्जेलसम्म उसको छाया
हाम्रो घरवार उजाडेर ठड्याइरहेको
उसको दरबारमा भइरहनेछ
मेरो विमति
जतिसुकै तिम्रो गालामा रंग चढे पनि
मेरो लोकतन्त्रको शिर ठाडो हुन सक्दैन
मेरो आस्थाको नूर उठ्न सक्दैन
मैले साफ–साफ भनिसकेको छु
अब पनि उसको लगौंटी धुन
मैले नामञ्जुर गरिसकेको छु
र प्रशस्तीमा भुरा नानीहरु बटुलेर
उसको गाना गाउन्न भनेको छु
मैले तिमीलाई
हाम्रो रोजाइ चिन भने
कहिल्यै तिमीसँग मेरो सुख मागिनँ
मैले तिमीलाई
हाम्रो भोगाइ बुझ भने
कहिल्यै तिमीसँग सत्ताको स्वाद मागिनँ
यसैगरी तिमी निदाइरहन्छौ भने
एकनास मुर्कट्टा आसनमा
हाम्रो खिलापमा आफ्नो आनन्द साट्छौ भने
मेरो विमति
तिम्रो सिंहासनसँग भइरहने छ
यतिन्जेल
मात्र हाम्रो प्रहार
नारायणहिटीसँग थियो
अब तिमीले बुझे हुन्छ
हाम्रो प्रहार
सिंहदरबारसँग पनि हुनेछ
हाम्रो निशाना
तिम्रा कल्कीमाथि पनि खनिनेछ।

Palpasa – Sapana Haru

पल्पसा – सपनाहरु

सपनाहरु त मीठा थिए
ब्युँझि उठेछु कता गए
आफुलाई फेरि त्यहिँ पाएँ
निदाउनु अघि जहाँ थिएँ

पलाउँदै थिए रहरहरु
डढेलो लागी सबै जले
चुलिँदै थिए विश्वासहरु
नउठने गरि सबै ढले

नखेले हुन्थ्यो यति धेरै
ढुँगाको मुटु कसको हुन्छ
हाँसी हाँसी नै रेटेपनि
दुखाई त आखिर उस्तै हुन्छ

Krishna Thapa – Jahan Singo Desh Aljhiyeko Chha

कृष्ण थापा – जहाँ सिंगो देश अल्झिएको छ

नाघ्दै भूगोलका नक्शाहरु
छिल्चोल्दै राष्ट्रका सिमानाहरु
बेहिसाब तन्न्नेरीहरु यहाँ
मुगलान पसेका छन
हराएका सपनाहरु संगाल्न
म त्यही युवा प्रतिनिधि
जो युगीन परिवर्तनका आयामहरु भित्र्याउने
भ्रमको रेखा कोरिरहेछ ।
विरानो प्रवासको व्यस्त परिवेशबाट
सधै सधै चियाएर हेर्ने गर्छ उ
कतै खुलेको छ कि मेरो देशको आकाश
कतै देखिन्छ कि मेरो देशको छाया ?
उसलाई पनि यसरी – अरुकै घरमा
दोश्रो दर्जामा उभिन कहाँ मन थियो?
कहाँ मन थियो अरुकै पहरेदार, खेताला वा स्याहारे हुन?
कहाँ मन थियो प्रवासलाइ आफ्नो भन्न ?
तर भोक प्यास र अभाव ,
अव्यवस्था र वेरोजगारी ,
भावनाहरु भन्दा धेरै गहिरा हुन्छन्
हो त्यही विरुद्ध संघर्षको पाइला हिड़दैछ उ ।
पलायनवादको संज्ञा दिनेहरू सुन !
भोकको वहानामा उ कसैसंग भीख माग्दैन
प्यासको बहानामा उ मान्छेको रगत पिउदैन
जाड़ोको वहानामा उ सल्काउदैन आफ्नै झुपडी
न ढुकुटी हत्याउन फुटाउछ भाइहरूलाइ,
अभावको वहानामा उ बाटोघाटो, माटो र नदीनाला बेच्दैन ।
यदि यही वहानामा
घर छाडनु गलत हो हो भने
म त्यही गलतहरुको प्रतिनिधि
यद्यपि जसभित्र माटोको माया सागरमाथा जस्तै हुर्किएको छ
जसको चेतनाको आकासमा राष्ट्रप्रेम चन्द्र र सूर्य जस्तै स्पष्ट छ ।
कहाली लाग्दो नियति बनेर
परदेश बिझेको बेला उसका वर्तमानहरुमा
भो नसोध खै तेरो देश ?
भो नसोध खै तेरो परिचय ?
देश भन्नु मन रहेछ
घर भन्नु मन रहेछ
माया भन्नु मन रहेछ
भो नसोध खै कहाँ छ तेरो घर ?
उसले जरुर भन्न सक्छ पहाड़ जत्रो विशाल मेरो मनभित्र
त्यही मन भित्र अटाएको छ सबै सबै उसले, यसबेला ।
तर उसलाई थाहा छैन मन उसंग छ की छैन?
मन र माया कंप्यूटरको स्क्रीन स्क्रीन चहार्ने यो युग
जसले आसू पिएर झूठ हास्न सिकाएको छ
जसले मन बाधेर कृत्रिम जिउन सिकाएको छ
म त्यही युग को प्रतिनिधि ।
पुराना समयका धागोहरु बटुल्दै
मन सम्झनाका जालहरु बुन्छ
मन सम्झनाका जालहरुमा अल्झन्छ ।
सम्झनाहरु संगाल्नु यो भ्रम हो,
म त्यही समझनाहरुको प्रतिनिधि ,
म त्यही मनहरुको प्रतिनिधि ,
जो भ्रम बाचिरहेछ ।
मन
अब त धेरै भयो नडुलेको
लेक बेसी मेला र हाटबजारहरु
धेरै भयो नगाएको चंचल हुदै
रोदीका लैबरी र झ्याउरे भाकाहरु ।
गतेहरु चिनो लाउदा लाउदै चाडवाडका
आँखा क्यालेंडरका पत्रहरुमै अल्झन्छ
जब मानेभंज्यांङमा रोटे पिङ घुम्न थाल्छ
जब सयपत्री मखमली फुल्न थाल्छ ।
जब देउसी भैली र मादलको स्वर पारी गाऊंसम्म सुनिन्छ
उफ़ समय किन यसरी विवश भएको? उडेर मन त्यही जाउँ भन्छ।
चाडवाड र दौतरीका यादहरु मात्र हैनन
अरु धेरै कुरामा उसको छाती पोल्ने गर्छ ।
जब भोक प्यास र अभाव दुख्छ देशमा
हिमाल दुख्छ, मधेश दुख्छ, राजधानी नजिकै चेपांगको प्रदेश दुख्छ
बाढीपहिरो वा खडेरीजस्तै राजनीति, गृहयुद्ध र तिनका अवशेष दुख्छ ।
महेशपुर सुस्ता र कालापानी दुख्छ ।
उसको छाती पनि बिझाउछ
हो जातीय स्वाभिमान बाँचेको
म त्यही छातीहरुको प्रतिनिधि,
जहाँ देशको माया बल्झिएको छ ।
जहाँ सिंगो देश अल्झिएको छ।

Bhaskar Kaji – Hajurba Ra Nani

भाष्कर काजी – हजुरबा र नानी

आँगनको डिलमा बसेर
दाम्लो बाट्तै गरेका पाका मान्छे
जस्ले जीवनमा यस्ता धेरै कामहरु गरे
गरे, कहिले खुकुरी र बन्चरो बोकेर हिँडे
कहिले नाम्लो बोकेर हिँडे
तर उद्देश्य भने एउटै थियो —
हातमुखको समस्या टार्नु
खुकुरीले दाउरा काट्तै
नाम्लोले भारी बोके पीठ्युका छाला उप्कीउन्जेल ।
यस्ता धेरै काम गरे
उकाली चढे, ओराली झरे यस्तै परिस्थीतिभीत्र
पाकीसके उनि उमेरले
घामले अनि सबै किसीमले
थाकीसके उनी अनुभव बटुल्दा बटुल्दा
किनकी उनको अनुभव
कतै काम लागेन
कतैबाट मागै भएन
कतै पनि प्रयोग गर्न पाएनन् उनले
आफ्ना सीपहरु ।

तर अब समय फेरीएको छ
मन्त्रीले भाषण गरे अनुसार
उनले पनि सर्टिफिकेट प्राप्त गर्नेछन्
उनी खुशी नै देखिन्छन्
तर, पिर छ उनलाई
‘के गर्ने यो सर्टिफीकेटले ? ’
उनका समस्या जहिँका तहिँ छन्
उनले गर्ने त्यहि नै हो
फरक यत्ति छ —
उनले बोक्ने खुकुरीले
आज दाउरा होइन
मान्छेको घाँटी छिनाएको छ
नाम्लोले भारी होइन
मान्छे झुन्डयाउने पासोको काम गरेको छ
हातमुख जोर्नलाइ अब
पीठ्यूका छाला फेर्नुपर्दैन
तालुको रौँ खुइल्याउनुपर्दैन
दलको नाम बेची चन्दा मागे पुुग्छ
धरौटी स्वरुप अलि बढि पैसा असुले हुन्छ
गाडी रोकी सम्झौता गरे हुन्छ
बन्दुक बोकी रोटी मागे पाइन्छ ।

कुरो त यी पनि बुझ्छन्
नबुझुन् पनि किन ?
यी पाका मान्छे —
मेरा अग्रज हुन्
तिम्रा अग्रज हुन्
हाम्रा अग्रज हुन् ।

अहिले भर्खर विद्यालयबाट फर्केको नानीले
‘ हजुर बा, के गर्ने यो दाम्लो?’ भनि सोधेपछि —
उनि झस्कीए आफ्नो अतितसङ्ग
थुप्रै मौन अनुत्तरित प्रश्नहरु गर्दै ।

– रुँघा ७, रुकुम,हाल:त्रि. वि. कीर्तिपुर

Dr Madhav Prasad Pokhrel – Mero Desh Harayo

डा. माधवप्रसाद पोखरेल – मेरो देश हरायो

‘तेरो जन्म कहाँ?’ भन्दा ‘धरान’ आइहाल्दछ,
‘तेरो जन्म कहाँ?’ भन्दा ‘नेपाल’ आइहाल्दछ ।

अनेक चोक्टामा मेरो देश टुक्र्याउने अरे !
झगडा गर्न जान्नेकै भागमा सिद्धिने अरे !

म जन्मेको घडेरी नै अर्काकै राज्यमा पर्‍यो !
मेरो आङनको बारी अर्काकै राज्यमा पर्‍यो !

मेरो पाटो कतै छैन पाखो, बगर, प्याङ्खर
मेरो माटो कतै छैन, सुकुम्बासी म बेघर ।

पैतालो म कहाँ टेकूँ मेरो मुलुक भित्रमा ?
जहान म कहाँ राखूँ कुन ओढार भित्रमा ?

इस्कुल जाँदा नातिले भिसा पो लिनुपर्छ कि !
आफ्नै जन्म थलो पुग्न राहदानी बनाऊँ कि !

मेरो भाखा भयो पाखा बोल्ने धेरै भए पनि
लाखापाखा भयो धर्म मान्ने धेरै भए पनि

मेरा साथीहरू बेग्ला बेग्लै मोर्चा बनाउँदै
आँखा तरेर बस्तैछन् हतियार उजाउँदै

मेरो पोसाक च्यात्तैछन् धुजाधुजा हुने गरी
आफू चिनाउने झन्डा खोसिएला त्यसै गरी

एक-ता-का सबै मूर्ति फोरिँदैछन् खुरुखुरु
हातमा ताल मार्नाले मूर्ति रुन्छन् धुरुधुरु

Narayan Nirasi – Maanchhe

नारायण निरासी – मान्छे
(मधुपर्क २०६६ भदौ)

मान्छेको मन पढ्न, चिन्न नसकी मान्छे यहाँ फस्दछ
आफ्नो यो बुइँमा चढाइ भुइँमा मान्छे स्वयं फाल्दछ
हेर्दा बाहिर जे छ भित्र पनि त्यो उस्तै कहाँ हुन्छ र
मान्छेको मन पढ्न चिन्न कहिल्यै मान्छे कहाँ सक्छ र ।
मान्छेको व्यवहार सङ्गतगुना बन्नेछ जस्तो पनि
मान्छे शील-स्वभाव, आचरणले छुट्टिन्छ कस्तो भनी
आफ्नो स्वार्थ अपूर्ण पूर्ण नगरी मान्छे कहाँ छाड्छ र
मान्छेकै भर, आड फेरि नमिले मान्छे कहाँ बाँच्छ र ।
वाचा गर्दछ जो भुलाउँछ उही गर्दै अनेकौँ भुल
चिप्लो घस्तछ जो फसाउँछ उही भन्ने सबैले बुझ
खोजेझैँ सब लोकको हित हुने मान्छे कहाँ मिल्छ र
मान्छेले सुख-दुःख बाँड्न नसके यो जिन्दगी चल्छ र ।
बिग्री हाल्दछ मेल यो बढिरहे सम्बन्ध राम्रो पनि
मान्छे बन्दछ शत्रुझैँ नजिकको सम्बन्ध बिग्रेपछि
मान्छेको मनभित्र कल्मष भए धोएर फालिन्छ र
मान्छेकै मन भाँचिएपछि कतै जोडेर जोडिन्छ र ।
मान्छेले डर मान्नुपर्छ किन हो देखेर मान्छे पनि
मान्छेको भीडमा हराउँछ यहाँ भेटेर मान्छे पनि
आफ्नो भिन्न स्वरूप धारण गरे मान्छे यहाँ बन्छ र
मान्छेले सुख-दुःखमा भिजिरहे संसार चल्दैन र ?

-घुर्कौली-८, सर्लाही