Krishna Joshi – Hiun Jhain Aayeu Hiun Jhain Gayeu

कृष्ण जोशी – हिउँझैँ आयौ हिउँझै गयो
(मधुपर्क बैशाख, २०६७)

हिँड्दा हिँड्दै
विष्फोट फाटेर
दोबाटोले तिमीलाई निलेको देख्थेँ
कहिले फेरि
अनजान मान्छेले जबर्जस्ती
अनजान ठाउँतिर लगेको पनि देख्थेँ

मेरा काला शङ्काहरूमा
तिमी हराउँथ्यौ पनि
देशको विस्थापित सीमास्तम्भ भएर
मेरो भूगोलबाट

देख्नु परेथ्यो कुनै दिन
नाम्चेको आरक्षणबाट निकुञ्ज भित्र नै
गोली लागेर मृत्यु छट्पटाइरहेको
एउटा कस्तुरी मृग

मायाले सुमसुम्याउनुबाहेक
कुनै उपाय थिएन मसँग
चिसो भयो त्यही क्षण हिउँ भयो कस्तुरी मृग
त्यो चिसो हिउँलाई
अर्थहीन मायाको अन्तिम सत्य प्रतीक सम्झेँ

अचानक
गोलीको रगताम्य घाउ लिएर
कस्तुरी मृगझै आयौ मसम्म तिमी पनि
त्रसित थिएँ उपचार गर्न नसक्ने
छरछिमेकलाई बोलाउन नसक्ने
बन्धित थिएँ काखमा सुमसुम्याउन नसक्ने

त्रसित मेरो मुटुमा
आवाजहीन भक्कानो फुटाउँदै तिमी पनि
चिसो भयौ त्यही मृगझैं हिउँ भयौ
अन्तिम उपहारमा मलाई
कस्तुरी वासना दिएर ।

Dharma Raj Aryal – Mofasalma Chharpasta Kavitaharu

धर्मराज अर्याल – मोफसलमा छरपस्ट कविताहरू
(मधुपर्क २०६६ मंसिर)

अचेल मोफसलतिर
मौलाएको छ कविताको खेती
कवि मनहरूले चेतनाको दियो बालेर
अन्धकार विरुद्ध लडिरहेका छन्
चराजस्तै उन्मुक्त भएर
कवि मनहरूले
गाउँघरमा बास बस्न थालेका छन्
कुनै सिमाना छैन भावनाको
कुनै अन्तिम गन्तव्य छैन चेतनाको
जीवनका आरोह अवरोहहरूमा
दुःख सुखको साथी बनेको छ कविता
भारी बिसाएजस्तै
यहाँ मन बिसाउने चौतारी हुन्छ
त्यहाँ विभिन्न रङका
छन्दभङ्ग उन्मुक्त कविताहरू
तँछाड मछाड गर्दै
मनका प्रदेशहरू चहार्छन्
गोठाला दाइ र
गोठाल्नी दिदीको घाँसेगीत
आफैँमा एउटा जीवन्त कविता हो
अचेल कविहरू
यस्तै कविता लेखिरहेछन् मोफसलमा
शहरका कंक्रिट बस्तीहरूमा नभेटिने
आत्मीयता र न्यानो मायामा
यहाँ कविताहरू लुटुपुटु गरिरहेका छन्
स्वार्थरहित
पवित्र मायाको खेती गर्छ मोफसल
यही मायाको डोरीमा बाँधिएर
कविहरू निरन्तर गरिरहेछन्
कविताको खेती ।
असारे भाकाको गीत गाएर
धान रोपाइँ गरे भर्खरै किसानहरूले
कोमल मनहरूले
खेतको आलीमा उभिएर
उन्मुक्त कविताहरू सुनाए
जीवन र जगत्का
सुख र दुःखका
अनगिन्ती कविताहरू
अझै छरपष्ट छन् मोफसलमा
आऊ र त्यसलाई
टपक्क टिप कवि मनहरू ।
गाउँ गाउँमा खेती हुँदैछ कविताको
आऊ गोडमेल गर
स्याहार, संहाल
किनकि मोफसल पनि नेपाल नै हो ।
तर
गणतन्त्र घोषित नेपालको राजधानीले
मोफसललाई अझै माया गर्न जानेन
कहिल्यै आफ्नो ठानेन
यौटै नेपालभित्र पनि
किन होला भिन्न दृष्टि ? भनेर
मोफसल गुनासो गरिरहेछ ।
मोफसलमा अचेल
कविताको उर्वर खेती हुँदैछ
सुखमा नमात्तिने
र दुःखमा नआत्तिने बानी भएको कारण
यहाँका मानिसहरूमा
एक प्रकारको सन्तुष्टिबोध देखिन्छ
अँध्यारो चिर्दै
अग्रगमनको लागि
राजमार्गहरू निर्माण गर्दै
वर्तमानलाई हत्केलामा सजाएर
सुन्दर भविष्यको खोजीमा
लम्किरहेको छ मोफसल निरन्तर ।
परजीवी हुन छाडेको
आफ्नै सीप र पौरखमा रमाउने
स्वाभिमानी नेपालीजस्तै
चेतनशीलहरूको बस्ती भएको छ
अचेल मोफसलको मेरो गाउँ
आली आलीमा
डाली डालीमा
मनका मयूरहरू नाचिरहेछन् यहाँ
वियोग र वेदना
अनि हर्ष र विस्मातका कुरा
जीवनचक्र समान भएका छन् ।
कतार, मलेसिया र साउदी अरबका
निराश निराश चिठ्ठीहरू पढेर
वृद्ध बाआमाका अनुहारहरू
औंसीको रातझैं अँध्यारो हुन्छन् जब
त्यतिबेला
परदेशिएकालाई घर र्फकन आग्रह गर्दै
कविहरूको एक जमात
निरन्तर पेचिला कविताहरू
लेखिरहेछन्, संप्रेषित गरिरहेछन् ।
अभाव र मानवीय पीडाका
यावत कथा-व्यथाहरूबीच पनि
मेरो गाउँ
सूर्योदयको घामझैं मुसुक्क हाँसिरहेछ
हिलोमा कमल फूलेको कुरा
मेरो गाउँले राम्रोसँग बुझेको छ
त्यसैले मोफसललाई नहेप
ऊ विस्तारै विस्तारै शहरतिर आइरहेको छ ।

– भरतपुर १०, चितवन

Krishna Adhikari Chintit – Mero Kabita

कृष्ण अधिकारी ‘चिन्तित’ – मेरो कविता

जीवनको सेरोफेरोको घेरोभित्र
हराएर लेखिएको मेरो कविता
जीवनको कथा र व्यथाको अप्ठ्यारोभित्र
डराएर लेखिएको मेरो कविता
भावनात्मक देखिए पनि
कवितात्मक नदेखिन सक्छ
कविताले मेरो मन छोयो भन्दैमा
अरूको नछुन सक्छ
मेरो मन रोयो भन्दैमा
अरूको नरून सक्छ
छुनै पर्ने रूनै पर्ने
अनिवार्य सर्त पनि त छैन कवितामा
मनलाई कसिलो बनाएर लेखेँ
आँखालाई रसिलो बनाएर लेखेँ
मुहारलाई हँसिलो बनाएर लेखेँ
ममताको भोक हटाउन लेखेँ
आत्मीयताको तिर्खा मेटाउन लेखेँ
दुःखमा दुःखसँगै रमाएर लेखेँ
सुखमा सुख समाएर लेखेँ
मुटुभरि पीडाको घाउ बोकेर लेखेँ
पानाभरि मनको वेदना पोखेर लेखेँ
कवितालाई उत्कृष्टताको तराजुमा जोखिनँ
मैले रोजी–रोजी केही देखिनँ
खोजी–खोजी केही लेखिनँ
जे भेटिन्छ त्यसैलाई देखेँ
जे देखिन्छ त्यसैलाई लेखेँ
मान्छे भन्नु समयको दास न हो
समयले जता लान्छ त्यतै जानुपर्छ
समयले जस्तो दिन्छ त्यस्तै खानुपर्छ
समयले पस्किएर दिएको भागलाई
सहर्ष स्वीकार गर्न बाध्य छ मान्छे
वेदनाले जतिसुकै अचेटिए पनि
समयको गतिसँगै घचेटिनुपर्छ
समयले खटाएको ठाउँमा अँटाउनै पर्छ
खुसी र आनन्दमा रमाउने आश
निरन्तर त्रासमा परिणत भएको छ ।

– भरतपुर ७, चितवन

Saru Binda – Aghoshit

सरु विन्द – अघोषित
(मधुपर्क बैशाख, २०६७)

अब उप्रान्त
तिमी र मबीचको पर्खाल ढल्नेछ
पहाडहरू फुट्नेछन्
जेलहरू तोडिनेछन्
आकाश खस्नेछ र
हामी दुवैलाई ढाक्नेछ ।
न बन्देज रहनेछ सिन्दूरको ।
न भरोसा रहनेछ चुराको
फजुल कुराहरू नगर
वकवासहरू बन्द गर
म युद्ध निम्त्याउँछु प्रणयको !
प्रेम हो यही यो-
सिन्दूर र चुराहरको बार नलगाउ
जायज र नाजायजको प्रश्न नउठाउ
प्रणय हो यही यो –
मेरा दृष्टिबाट ओझेल नपर
जायज र नाजायज छुट्याउन
म तिम्रा निम्ति संविधान लेख्छु
हो, अघोषित संविधान !
जहाँ सूर्य अस्ताउँछ एकछिन, उदाउनका लागि ।
जहाँ ढोकाहरू बन्द हुन्छन् लुटेराहरूका लागि ।
पैले जन्माउन नसकेको
वीर छोराहरू छन् तिम्रो गर्भभित्र !
गर्भहरू तुहिन सक्छन्
हे सूर्य ! त्यतिञ्जेल नउठाऊ
हे आकाश ! मेरो प्रणयलाई ढाक
पि्रय, म तिम्रो गर्भबाट
अर्को सूर्य जन्माउँछु ।
भो चाहिँदैन-
रगतले लतपतिएको सूर्य !
अँध्यारोबाट पराजित सूर्य !
लुटेराहरूले कैद गरेको सूर्य !
भो चाहिँदैन
युगयुग समयसँग हारेको सूर्य ।
तिम्रो सगरमाथाले हमेसा छेक्ने सूर्य !
यसैले अघोषित जस्तै छ तिम्रो गर्भभित्र
पृथ्वीलाई पुरुषार्थ दिने मेरो सूर्य !
मेरो पृथ्वीलाई कायरहरूले चुरा पहिर्या ए
मेरो पृथ्वीलाई लुटेराहरूले सिन्दूर लगाए
मेरो पृथ्वीलाई नपुङ्शकहरूले युगयुग भोगे
ए सूर्य ! तिमी अस्ताऊ-
म अब
पृथ्वीसँग अघोषित सम्झौता गर्छु ।
हो, अब उप्रान्त पृथ्वीका गर्भबाट जन्मनेछ-
मेरो ब्रहृमाण्डको अर्को जीवित सूर्य !

पोखरा

Dhundi Raj Aryal – Phoksundo Taal: Prem Ko Saagar

ढुण्डीराज अर्याल – फोक्सुण्डो तालः प्रेमको सागर
(मधुपर्क मंसिर, २०६७)

फोक्सुण्डो तालमा देख्छु नेपाली दृढ सौम्यता
गहिरो तालमा भेट्छु नेपाली दिलको कथा
ताल आफैँ बन्यो मान्छे, ताल मान्छे बनेर म
गीतका तालमा आफैँ तालजस्तै रमेर म ।
चौरीसँगसँगै खेल्छ लुकामारी हिमालमा
काखमा निलिमाजस्तै सजिएर बिहानमा
बोलाउँछ उषाकाल सम्झेर दिन सुन्दर
परीझैं स्वर्गकी लाग्ने मोहित कुन हुन्न र ?
‘क्याराभान’ बनाएर ठिन्ले डुल्छन् किनारमा
कौतुहलमय डोल्पोको रहस्य मिल्छ तालमा
प्रेमको शुद्ध यात्रामा निस्कनेहरूलाई यो
स्वागत मनले गर्छ प्रेमकै पथमा छ यो ।
रिग्मो गाउँसँगै आफ्नो अस्तित्व सल्बलाउँछ
कस्तुरी मृगको बास्ना फोक्सुण्डो मगमगाउँछ
सेताम्य झरना बग्दै गीत गाएर झर्झर
सुलिगाउँ बनी र्झछ भेरीमा मिल्छ निर्झर ।
बुकी फूलसँगै हाँस्छ प्रकृति नै हँसाउँछ
निलो सौन्दर्यमा रम्दा विश्वसारा अटाउँछ
सभ्यताको गुरु हो यो शान्तिको दीपज्योति हो
दुःखी, क्रन्दन, रोगीको औषधि उपचार हो ।
आम्ची आफैँ बन्यो ताल औषधि छ जटामसी
अमृततुल्य पानीमा कस्तुरी घोल्छ रे बसी
पाँचऔंले मिसाएर चिराइतो मिलाउँदै
यार्सागुम्बासँगै स्वस्थ सञ्जीवनी पिलाउँदै ।
यश कीर्ति फिजाएर आफैँमा हिमदूत भै
इतिहास सधैं खोज्छ कर्मशील सपूतझैं
प्रेमको दीप हो रिग्मो देशको प्यार बग्दछ
नेपाली दिलमा आज मुटु स्पन्दन बन्दछ ।
सलबलाउँदो पानी तरङ्ग चुम्न उत्सव
ताल नै प्रेमको छानो अन्यत्र पो कहाँ छ र ?
सिङ्गो आकाश फोक्सुन्डो छल्कने जलको कण
गहिरो मित्रता गाँस्दै मुस्कान जूनको बन ।

-गुल्मी
हाल काठमाडौँ

Bijaya Devkota – Shahar Natakma Byasta Chha

विजय देवकोटा – शहर नाटकमा व्यस्त छ

पश्चिमीकरणको भुवादार विजारोपणवाट हुर्केको
नग्नताको अन्तिम लक्ष्मणरेखा पार गर्दै
म बसेको शहरको केही गल्ली
मध्यदिनमा आधुनिकीकरणको रिहर्सल गर्दैछ
मानौं ;
दर्शनभित्रको Continue reading “Bijaya Devkota – Shahar Natakma Byasta Chha”

Bishwa Ram Khatri – Dui Atma Milayera Parewa Jhain Jodi (Nepali Gajal)

विश्वराम खत्री – दुई आत्मा मिलाएर परेवाझैं जोडी (गजल)
(मधुपर्क बैशाख, २०६७)

दुई आत्मा मिलाएर परेवाझैं जोडी
हुन आउने कहिले हो रेशमी घुम्टो ओडी

मानिसहरूको भीडभित्रै मान्छे अछुत भा छ
अब त उभिनु पर्छ सारा बन्धन तोडी

हामीलाई हेर्ने हजार आँखा हजार रूप देख्छ
टोक्न खोज्ने आँखाहरूलाई आऊ अन्तै मोडी

तिम्ले मैले खेल्ने ठाउँ जेल बन्यो भने
जसरी नि मिल्नुपर्छ ताला सिक्री फोडी

कुल्चिएर, छिचोलेर सारा बाधा अड्चन
सँगै बस्ने बाचा गरौं बरु स्वर्ग छोडी

नँखेल, भक्तपुर

Manoj Neupane – Manchhe Bhitra Ajhai Jangal Jibit Chha (Gajal)

मनोज न्यौपाने – मान्छेभित्र अझै जङ्गल जीवित छ (गजल)
(Source: मधुपर्क असार, २०६८)

मान्छेभित्र अझै जङ्गल जीवित छ
र त पाइलैपिच्छे ऊ विभाजित छ ।
दुनियाँ बदलियो भन्नु मात्र हो
पुरानै दुःखले जो कोही आजित छ ।
किताब लेख्न जनावरले जान्दैन
यसै कारण मानिस सम्मानित छ ।
ब्याटरी सकिएपछि ऊ चुप लाग्नेछ
अहिले रिमोटबाट सञ्चालित छ ।
अरुलाई दोष दिने बानी नराम्रो
मान्छे आफ्नै कर्मबाट प्रताडित छ ।

Shakuntala Joshi – Abhiyukta Samaya Ra Sapana Ko Taltal

शकुन्तला जोशी – अभियुक्त समय र सपनाको तलतल
(मधुपर्क पुस, २०६७)

झरी थामिएपछिको झिसमिसे
पीडाको धराप साँघु बिछ्याएर छातीमा
निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा
कोही फर्केर आउने आशाको
साँघुरो गल्छेडीतिर
उन्मत्त वैंश उम्लिएको
घोडा युगलाई कोर्रा मार्दै
आगोका झरिला कोइला चबाउने
तरुनी अनुहारहरूले
थुन्सेभरि लिएर आउने उज्यालो हेर्न
धमिलो आँखा मिच्दै
पर्खिरहेछ ऊ आतुर मन लिएर
के आउलान् त तिनीहरू ?
चिसो आङहरूमा न्यानो स्पर्श लिएर
वा कस्ता होलान् ती सपनाहरू ?
उसको आदिम बस्तीमाथि
पिरामिड उभिएको
अभियुक्त समयको टाउकोमा टेकेर
हिँडिरहेका जवान छोराहरू हेर्दै
नियाल्छ सुस्तरी
आकाश चुहिएको छाप्रोको छानो
कहिल्र्य नभरिने अभावको मानो
धनुकाँड खोसिएका रित्ता काँध
सभ्यताको पोल्टाबाट लुछिएका
झुलो, चकमक र दल्छिन् ढुङ्गाहरू
ढुङ्गासँगै टुक्रिएका विश्वासहरू
विश्वाससँगै भत्किएका जीवनहरू
यस्तै-यस्तै होलान् ?
या कस्ता होलान् ती सपनाहरू ?
ऊ नागरिकता पाएर अनागरिक बाँचेको मान्छे
तिम्रो आश्वासनको जीवन्त अभिनय
हेरिरहेछ ध्यानपूर्वक
आफ्नै आँगनमा परदेश उभिएका
मेची र महाकाली
आफ्नै धारमा बेधार बग्न विवश
कोशीका छालहरू हेर्दै
सोचिरहेछ ऊ
के फेरि फुल्छन् बागहरूमा निर्भयफूल ?
या कस्ता होलान् ती सपनाहरू ?

Suyarma Rai – Oh Buddha

सुयर्मा राई – ओ बुद्ध … !

एक भीड मान्छेहरू
भर्खरै युद्धपोतबाट फर्केर
एकजोडा परेवा
उडाए आकाशमाथि- भुर्ररर
शान्तिको नाममा ।

म सधैंजसो देख्ने गर्छु
मान्छेहरू जीवनको लामोखण्ड
गोलावारुदमा बिताएर
एकनिमेष फूर्सद
परेवा उडाउन भीड गर्छन् यो ठाउँमा ।

लामो कालदेखि
मैले यो भीड
देख्दैभोग्दै र, यी मान्छेहरू पढ्दै आएको छु ।
एक क्रुर
तर उदासीन-आँखा ।
एक कठोर
तर नैराश्य-आत्मा ।
एक हिंस्रक
तर दिशाहीन-मानवता ।
सहसा बोकेर जसै पाइला राख्छन्-यो ठाउँमा ।
र्फकदा उज्यालो चेहरामा
असीम खुशी र चरम आनन्द
पोल्टाएर र्फकन्छन- शान्ति अनुभूतको मृदु मुस्कान लिएर ।

ओ बुद्ध…. ।
हरेक अमानव र क्रुर आत्माहरू
तिमीलाई एकजोडा परेवा उडाएकै भरमा
शान्ति प्राप्त गर्न सक्छ यदि भने
के भो र ? तिम्रो नाममा
हजारौं परेवा उडाउन तत्पर छु – आकाशमा
म एक्लै- ती सम्पूर्ण मान्छेहरूको यादमा ।

Badri Palikhe – Rastra Pida

बद्री पालिखे – राष्ट्रपिडा

शरीर
राष्ट्रपिडाको ज्वरोले निष्लोट छ ।
शरीर राष्ट्रनै त हो,
सगरमाथा शिर निहुरिएको छ ।
सँधै घाम उदाउने उज्यालो अनुहार
अँध्यारो देखिन्छ ।
शरिर ज्वरोले निष्लोट छ ।
तनमा ज्वरो छ,
मनमा ज्वरो छ ।
ज्वरो चढेको चढै छ ।
राष्ट्र
पराधिनताको भयस्वास फेरिरहेछ,
जिवन
प्रत्येक साँझ बिहान
मृत्युभय बाचिरहेछ ।
हामि प्रत्येक क्षण र पलहरुमा
भयमिश्रीत गाँस र पिडादायक बासका लागि
ज्वर पिडा भोगीरहेछौ,
राष्ट्र
दुशासनको हातमा परेको छ,
राष्ट्र कुशासनको जालमा फसेको छ ।
शरीर
राष्ट्र नै त हो,
हामी राष्ट्रपीर भोगीरहेछौ,
राष्ट्र
नदीहो जोखिम तिरमा हिडिरहेछ,
शरिर
राष्ट्रपिडाले ज्वरग्रस्त छ,
राष्ट्र
शरीर नै त हो,
शरिर ज्वरोले निस्लोट छ ।

Padma Prasad Mainali – Jastako Tasto

पद्यमप्रसाद मैनाली – जस्ताको तस्तो

कोही उड्छन् गगन विचमा कोही गुड्छन् धरामा ।
कोही रुन्छन् पथ अपथमा नाङ्गीदै यो धरोमा ।।

कोही रम्छन् महलहरुमा शानले भर्भराई ।
कोही घुम्छन् जततत कतै गाँस बास नपाई Continue reading “Padma Prasad Mainali – Jastako Tasto”

Muktinath Sharma – Sahitya

मुक्तिनाथ शर्मा – साहित्य
(Source: मधुपर्क जेठ, २०६९)

पाकेका स्याउका दानाभित्रको रसमाधुरी
काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी
जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ
साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।।
के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ
क्रोधको बेग जो रोक्छ सभ्य शान्त बनाउँछ
शान्ति क्रान्ति यही बोल्छ बेला मौका उदाउँछ
साहित्य जीवनीभित्र स्वादिलो पन ल्याउँछ ।।
वन काफलमा जस्तै वासना मग्मगाउँछ
छल्छल्कल्कल खोलीको बोलीमा कल्कलाउँछ
चिर्बिर् चरी जुरेलीको बोल्छ माया लगाउँछ
खाना समाजको हो यो स्वादिलो पन ल्याउँछ ।।
ज्ञानको भोक मेटिन्छ भेटिन्छ चेतना सफा
सच्चिदानन्द सौन्दर्य भावना उच्च निर्मल
उन्नति प्रगति निम्ति ज्ञान विज्ञान छाउँछ
साहित्य चेतना छर्दै स्वादिलो पन ल्याउँछ ।।
भाषाको जननी हो यो मान्छेको श्रेष्ठ मित्र हो
जिन्दगीको उचाइ यो भोगको स्वाद एहि हो
स्रष्टा द्रष्टा यही नै हो समाज मन्पराउँछ
विशाल क्षेत्र साहित्य स्वादिलो पन ल्याउँछ ।।

Tirtha Yatri Paudel – Maane Danda Chautariko (Nepali Gajal)

तिर्थ ‘यात्री’ पौडेल – माने डांडा चौतारीको

माने डांडा चौतारीको बर याद आयो
दुई खोलीको बीचको मेरो घर याद आयो

बर्खा लाग्यो खोला नाला बौलाएरे भन्छन्,
पैरो जादा घर छोडेको डर याद आयो

बन पाखा भीर पहरा खोल्सा खोल्सिहरुमा,
घर छाउन शीला खोज्या खर याद आयो

बासी खादै दिन काट्दा बिदेशमा आज,
खुशी साट्दै मिलि खा’को दर याद आयो ॥

लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन

Narayan Dutta Shastri – Desh Lai Nabirsaun

नारायणदत्त शास्त्री – देशलाई नबिसौँ
(मधुपर्क जेठ, २०६९)

हामी सक्छौँ वरपर डुलौँ, ज्ञान विज्ञान खोजौँ
शिक्षा-दीक्षा हितकर हुने भावना स्वच्छ रोजौँ
हामी हाम्रो मुलुकभरको दुःख देखी नतर्सौँ
छाडौँ अल्छी, कुनियत सबै देशलाई नबिर्सौँ ।
हेरौँ हाम्रा नजर भरका उच्च आदर्श देश
हामी लागौँ प्रगति पथमा बन्छ नेपाल बेस
स्वार्थी नेतागण किन भए ? मात्र तीदेखि तर्सौँ
ज्यानै अर्पौँ तर पनि कठै ! देशलाई नबिर्सौँ ।
जे जे पर्ला ! अब अघि बढौँ, क्रान्तिदेखि नतसौर्ँ
मौका हेर्दै, गतिविधि बुझौँ, देशलाई नबिर्सौँ ।
खोजौँ आˆनो हक, बिहकमा भित्रभित्रै नपिल्सौँ
प्राणै त्यागौँ तर पनि यहाँ, देशलाई नबिर्सौँ ।

– चुँदीरम्घा, तनहूँ ।

Pratirodh Karki – Chhaya

प्रतिरोध कार्की – छायाँ
(मधुपर्क साउन, २०६७)

पछ्याइरहेको छु छायाँलाई
बढेको छ दूरी नजरको
छायाँसँग मेरो
आत्मीयताको आदिम
प्रेमबस्ती बसालेको छु
छायाँविहीन छायाँको
निर्माणाधीन महलमा
मायाको आकृति Continue reading “Pratirodh Karki – Chhaya”

Rajan Karki – Maile Umareko Pani Ko Thopa

राजन कार्की – मैले उमारेको पानीको थोपा

एक हुल बिम्बहरु
तँ छाड् म छाड् भन्दै
जब
क्यान्भास् माझ
पहिले म
पहिले म
भन्दा
जिल्ल परेको रङकर्मी जस्तै

भर्खर फुकेको भुङ्रोमा…..
कस्तो भोजन पकाँउ?
जुनदिन यो भोजनको भोक,
म,
तिमी,
तँ
पानीको थोपालाई थाहा दिन सफल हुन्छौं
तिनीहरु आँफै
रङ भर्नेछन्
जनजनका पोल्टोमा फेरी नयाँ भोक राख्नेछन्,
अनि म तिमीतिर
फर्केर
बिजेताले जस्तो हाँस्नेछु
अनी सोध्ने छु
मैले
उमारेको पानीको थोपाले सिँचेको
तिम्रो आँगनिले
बाह्रमासे फूल फुलाए ?

Kabitaram Shrestha – Japan

कविताराम श्रेष्ठ – जापान

फेरी एकपल्ट एकान्ततिर आमूख भएँ ।
घण्टौसम्म आफैँमा हराउन फेरि लालायित हुन लागेँ ।
कलमसँग आसक्ति बढ्यो ।
कलमहरु फेरी रसाउन लागे ।
कुनै पनि सुगन्धित मिठो खानाले अब लोभ्याउन छाड्यो ।
सडकमा लुढ्किएर हिँड्ने गह्रौँ नितम्बले आकार्षित गर्न छाड्यो ।
ती स्वच्छन्द आँखाहरु अब सडकका पेटीहरुमा दौडन छाडे ।
आफैँ आफैँमा हराएर आफ्ना गन्तव्यतिर त्यो यन्त्रवत साचालित हुन लाग्यो ।
मसँग अरु कोही छैन ।
केही छैन ।
पातला शरीरको त्यो तातोपना
चिम्सा आँखाको त्यो सरसता
मात्र त्यो अनुभूति ।
आफूलाई भूलाउन आज मोटरसाइकल मरम्मतमा लागेँ ।
तिमी त्यो व्यक्तित्व मेरै सामू रहेर मेरा हर्कतलाई हेर्दैरह्यौ ।
अनेक अनुभूतिका अभिव्यक्तिहरु नेपथ्यबाट पोखिरह्यौ ।
आज मीटिङमा पनि तिमी धेरैपल्ट चिहाउन आयौ ।
प्रत्येकपल्ट तिमीले मलाई मीटिङबाट पर
इन्द्रावतिको किनारमा खिच्यौ ।
माछा मार्न तानिरह्यौ ।
आफ्ना सुकोमल हातहरुले खुट्टाका मयलहरु माडिरह्यौ ।
मीठा खानाका स्वादसँग तिमी मेरो अन्तस्करणमा आइरह्यौ ।
मोटरसाइकलको प्रत्येक साचालनमा तिमी हलुङ्गोसँग त्यसमा चड्यौ ।
पछाड्बिाट कुमभरि आफ्ना ओठका लिप्सटिकले माया छापिरह्यौ ।
लामा सुडौल हातहरुले मलाई बेरिरह्यौ ।
अगप्रत्यङ्गमा छामेर विजुली साचार गरिरह्यौ ।
मेरी पि्रय प्रत्येक क्षण तिमी आयौ ।
सडकमा
बाटोमा
बाटो नाप्ने प्रत्येक पातलीहरुका झलकमा
तिमीले मलाई चिमोटिरह्यौ ।
प्रत्येक चिम्सा आँखाहरुमा तिमीले मलाई कचोटिरह्यौ ।
मेरी पि्रय कुनै पनि क्षण तिमी मबाट अलग्ग भइनौ ।
मभित्र तिमी हर्दम हलुका सुगन्धका रुपमा मसमसती छाइरह्यौ ।
मेरी पि्रय
म तिमीलाई कति माया गर्छु ।
कति चाहन्छु ।

Madan Rai – Chyangba Ko Man

मदन राई – च्याङ्गबाको मन

कैलेकाही त,
च्याङ्गवाको मन भताभुङ्ग फाट्छ
कुईरोमा अलमलिन्छ उस्को मन
धेरै टाढा.. टाढा सम्म डुलेर,
फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा,
अनि हिमाल देखी पनि पारी.. सम्म
डुलाउन चाहन्थ्यो च्याङ्गबाले आँखा
तर, बाधक भैदिन्छ निर्मम् उभिएका टाकुराहरू
घुपिका पोथ्राहरूसँग औंधि रीस उठ्छ उसलाई
किनकि जैले तैले पनि उस्कै अगाडि
आँखा तरिरहन्छ ।
कैलेकाही त बिद्रोह पनि जाग्छ उस्लाई
कि भताभुङ्ग पारीदिऊ यी हिमालहरूलाई ?
ति खोंजका श्रृङ्खलाहरूमा
पत्रपत्र पल्टाउदै च्याङ्गबाको मन
कहिलै नभरीने माना पाथि जस्तो
खाल्डा परेको उस्को मन
अब ता थामिनसक्नु जत्तिकै भएकोछ
कि अब त आँखाको झटाराले छिटोछिटो
उक्लिएर माथि टाकुरामा
अनि गजधम्म उभिउं सगरमाथा भएर …।

Bijaya Pun – Ekai Chhin Ko Kuro

विजय पुन – एकै छिनको कुरो

एकै छिनको कुरो त थियो,
तिमीले हुन्छ भनेको भए,
त्यो कफीको बाफ
यो चिसो साझमा हराउने थिएँन,
डारलिंग हार्बर* को त्यो बिघ्न
अल्लारे मौसम,
किन चौपट्टको सन्नाटा हुन्थ्यो र,
हुनत,
अत्ताउने Continue reading “Bijaya Pun – Ekai Chhin Ko Kuro”