गीता त्रिपाठी – अदृश्य बगिरहनुको अभिलाषामा
ओइलिँदै झरिरहेछ घाम
ओसिँदै बहकिरहेछ बतास
ओर्लिँदै खसिरहेछ दिन
र
खसिरहेछ यहीँ कतै
मैबाट मेरो जिन्दगी
तिमी पलाउँदैछौ
थपिँदो छ जीवन तिमीमा
उठाएर मेरा हरक्षणहरु
मागिरहेछौ मसँग
मेरो अस्तित्वको अन्तिम अर्थ
म दिन चाहन्छु तिमीलाई
मेरा रगतले कोरेका
विश्वास र आस्थाले उभ्याएका
सारा संस्कार र चेतनाहरु
अग्लो हिमालजस्तो मस्तिष्क
र
फेवाजस्तो फराकिलो हृदय पनि
तर
समयको रहस्यपूर्ण आकृतिमा
दुर्घटनाग्रस्त छन् यात्राहरु
मलाई माफ गर
अस्पष्ट मेरो समयमा
जडवत् उभिएको छ छाया स्वयम् पनि
तिमी साक्षी हौ-साक्षात्कार छौ
निशब्द निस्पृह म
पहाडहरुको चेपबाट
भासिँदै-भासिँदै बगिरहेछु
गतिहीन हुनुभन्दा
अदृश्य बगिरहनुको अभिलाषामा
धेरै छालहरु सहेको छु