Chandra Ghimire – Dont Touch Me Oh Kabita Haru

चन्द्र घिमिरे – डन्ट टच मी ओ कविताहरू !

बिहान
चिऽऽऽसो स्वप्नदोष सुरुङबाट म उम्कन्छु जब
दुर्गन्धित अन्डरवेयर अनुहार पखाल्छु
जन्डिस स्टोभ सल्काउँछु
चिया उमाल्न
धुजिएको अखबार मार्का कमिजमा आइरन कुदाउँछु
सरकारी वनजस्तो पातलो दारी मिलाउँछु
छिमेकी घर हेर्छु
झ्यालमा ओएसिस युवती देखे
पैले, कपाल मिलाउथँे
बैँस सुसेल्थेँ
कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !

दिउँसो
स्लो पोइजन खाना होटेलमा उधारो खान्छु
एउटा श्रम–शिविरजस्तो जागिर
जहाँ धाउँछु
दिनभरि स्वाभिमानको छाला काढ्छु
घरी–घरी घडीमाथि शंका उमार्छु
गर्भवती टाइपिस्टबारे
सामाजिक प्रदूषण फैलाउँछु
र पनि कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !

बेलुका
अल्छे ढोका मेरो स्पर्शले
ब्यूँझन्छ आङ तानेर क्यारऽऽऽ
ओछ्यानमा पल्टेर
आरक्षित दुर्भाग्यजस्तो सिलिङको कालो माकुरो ताकेर
गाउँमा उमेरले लखेटेका बाआमा सम्झन्छु
बैँसले बहिष्कृत
र पनि अविवाहित ठूल्दिदी कल्पन्छु
नपढेर गाउँमा साइरन बजाउँदो भाइलाई सम्झन्छु
कर्तव्यबोधले मैलाई लात हान्छ कस्सेर
र पनि कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !

साँझपख
पसलको एक छेउ
ट्रान्जिस्टर नारायणगोपाल सुसाइरा’ हुन्छ
“जीवनदेखि धेरै धेरै नै थाकेर……”
अर्को छेउ म
मृत्युभन्दा तीऽतो रक्सी खिप्दै उक्लन्छु
मतालु सिंढी टक–टक–टक–टक
साँघुरो गल्ली
अतिक्रमण गर्छु एकाएक जब
सडकछाप कुकुर गाली भुक्छ ‘साऽऽऽला’
जति बेला पुग्छु डेरा
घरपट्टिकी छोरी कविता
मैले म्वाइँ खाएदेखिन् मकहाँ धाउन छाडेकी छे
कौसीबाट लुकेर
सिमसिमे नजरको टर्चलाइटले
चियो गरिरा’ हुन्छे ।

आजभोलि
कविताहरू मदेखि रुष्ट छन्
मेरा नियतिसँग असन्तुष्ट छन्
ओ कविताहरू !
नटोक मलाई
अरू मात्न देऊ
क्रमशः स्खलित हुन देऊ
मर्लिन मुन्रोले आत्महत्या गर्दा
रात मलाई हाराकिरी गर्न देऊ
बिन्ती !
तिम्रो टापूमा मलाई डाक्ने नगर
मेरो दुःस्वप्नको हाट तिमी नभर
प्लिज, समान्था फक्स बजाउने नगर “टच मी…”
महंगीमा मेरो माया
कवितासरि सस्तिएछ
अस्वीकृत कविताको लाम
बजारमा सूचिकृत हुन सकेन
अस्ति भट्टीमा धरौटी बस्न सकेन
भिसा नमाग, ओ कविताहरू !
आइन्दा कविता लेख्दिन
डन्ट टच मी ओ कविताहरू !

Chandra Ghimire – Aalekh Ma Sunil Bastakoti

चन्द्र घिमिरे – आलेखमा सुनिल बस्ताकोटी

ट्यामचरो बासे
जो कोही फकिन्छ
तन्नेरी टाँगा चढेको
सुनिल बस्ताकोटी पनि सल्कियो
जूनको म्यानहटनमा गुँड लाउने
‘ठूलो मान्छे’ बन्ने लोभमा
छिरेथ्यो राजमार्गको पाइपमा
बिसौनीमा भो जम्काभेट
ऊ र झल्लु साहुजी सहरको
त्यो पैलो एपिसोड ।

दोस्रो एपिसोड
सुनिल जुहारीमा
गरिखान सडकदेखि सडकसम्म
फलेन जीविकायोग्य धुन
दगु¥यो ऊ धावक झैँ
न मौलायो कुरिलोझैँ सुरिलो धुन
हरेश गुमे के गर्छ मान्छेले ?
….निस्सारताको तातो कुण्डमा स्नान ।

तेस्रो एपिसोड
बारीको लाईकिरा लागेको घाम
बाँझो तिघे्र दिन
थुइक्क…केही गर्न सकिनँ
एउटाको भिसा गँुथेर
उड्यो सुनिल रकेट गतिमा— अन्जान देशतर्फ ।

काफ्का भए किन्थे होलान्
अरूले किन किन्थे ?
डालामा नबिकेका
सुनिलका नैराश्य शेयरहरू ।

अन्तिम एपिसोड
पानी थाप्दा
भर्छ पँधेराले गलाउने प्रश्नहरू
सुनिल कहाँ छ अवतरित ?
दुखिया वा सुखिया टापूमा ?

विदुर ‘बस्ताकोटी बा’ र
बाइफोकल ‘बा–चश्मा’लाई
रिप्ले भैरहन्छ
दुःखले हुर्काएको छोरो ।

नगरवधु रेनुकाकहाँ
लाभ–खातालाई भा छ पिनास
गाउँदेखि सुनिल निक्लेदेखि ।

सुनिल…हुन्थ्यो कि आइन्स्टाइन !
चमडा उतारेर के छ गर्दै ?
सब–वेमा शरणार्थी उङदै ?
वा म्याकडोनाल्डमा उमेर ठुङदै ?

Chandra Ghimire – Feri Arko Aaitabar

चन्द्र घिमिरे – फेरि अर्को आइतवार

सुदूर पूर्वको क्यासिनो रात स्थगन गरेर
लावारिस सालका पातहरू
बज्ने सल्र्याङ–सल्र्याङ
सन्त्रास बजाउँदै
आयो अर्को आइतवार ।

बज्यो
सुर्ताको सुर्ती मल्दै
मलेशियामै हात छुटेको
रघुवीरको खुइयऽऽऽ तन ।

बज्यो
अरबबाट घर फिर्दा
मालिकबाट
अरबी छोरो आर्जेकी
छब्बिस वर्षे धनकुमारी
र उनको जोगी मन ।

बज्यो
यत्तिनै खेर
चियापसले रामदुलारीको कितली हुँदै
सर्लाहीबाट
अइयाऽऽऽ समाचारको फुस्सऽऽऽ बाफ
‘अपहरित रामस्वरूपको फिरौतीपछि हत्या’
नथामेर त्यो ‘ओभरडोज’
दुर्घटनाग्रस्त चिया गिलासहरू
भिखमपुरमा चुडियो धु्रवेश दाको सितार
बच्चे साह तेली बसाइँ हिँड्ने
लू चल्छ ।

बग्दो नदीको पइँ्या अररियो
सहनै पर्ने भो
फेरि अर्को लोधर आइतबार
भोग्नै पर्ने भो
फेरि अर्को गद्दार आइतबार !